Thursday, June 1, 2017

अघि बढ्यो बाहिरी चक्रपथ आयोजना

पत्र पत्रिका बाट  -साभार   

http://www.abhiyan.com.np/new/Articles/view/98733

 २०७४-०२-१९ मा प्रकाशित      २३१ पटक पढिएको     ० चोभार–सतुङ्गल खण्डको डीपीआर स्वीकृत,   बाँकीको आगामी आवसम्म तयार
अघि बढ्यो बाहिरी चक्रपथ आयोजना
जेठ १८, काठमाडौं । करीब १३ वर्षदेखि घोषणामै सीमित काठमाडौंको बाहिरी चक्रपथ निर्माणले विस्तारै गति लिन शुरू गरेको छ । बाहिरी चक्रपथ निर्माणको पहिलो चरणमा शुरू हुने भनिएको चोभार–सतुङ्गलको ६ दशमलव ६ किलोमिटर निर्माणको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) यही सोमवार राजपत्रमा प्रकाशित भएसँगै उक्त आयोजना निर्माणले गति लिएको हो ।
शहरी विकासमन्त्री अर्जुननरसिंह केसीले गत वैशाख १३ गते नै चोभार–सतुङ्गल खण्डको निर्माण प्रक्रियालाई स्वीकृति दिइसकेका थिए । त्यसको करीब १ महीनापश्चात् राजपत्रमा सूचना प्रकाशित भएपछि बाहिरी चक्रपथ निर्माणको कामले औपचारिकता पाएको हो । पछिल्लो समय बढ्दै गएको अव्यवस्थित शहरीकरणलाई व्यवस्थित गर्दै काठमाडौं उपत्यकालाई एउटै सडक सञ्जालमार्फत जोड्ने उद्देश्य राखिएको उक्त आयोजनाले गति लिनु सुखद मानिएको छ ।
अब यसै हप्तादेखि चोभार—सतुङ्गल क्षेत्रको जग्गा अधिग्रहण शुरू गरिने बाहिरी चक्रपथ आयोजनाका अधिकृत धुव्र सापकोटाले जानकारी दिए । ‘जग्गा प्राप्ति ऐन २९३४ अनुसार चक्रपथ निर्माणका लागि जग्गा अधिग्रहण गरिनेछ,’ उनले भने, ‘चक्रपथमा जग्गा एकीकरण आयोजनामा केन्द्रित रहेर शहरहरू निर्माण हुनेछन् ।’ शहरी विकास मन्त्रालयका अनुसार हालसम्म जग्गा एकीकरण आयोजनाअन्तर्गत १३ ओटा शहर विकास भएका छन् ।
उक्त आयोजनाले चालू आर्थिक वर्ष २०७३/७४ का लागि जग्गा मुआब्जा वितरणका अतिरिक्त ट्र्याक खोल्न रू.३ करोड विनियोजन भएको उनले बताए ।
कुल लागत रू.६ अर्ब अनुमान गरिएको बाहिरी चक्रपथ निर्माणका निम्ति आगामी आव २०७४/७५ का लागि रू.७० करोड बजेट पाएको आयोजना अधिकृत सापकोटाले बताए । उनले भने, ‘बाहिरी चक्रपथ आयोजनाको डीपीआर सम्पन्न भएको छ, चोभार–सतुङ्गलबाहेक बाँकी रहेको ६८ किलोमिटर निर्माणको डीपीआर आगामी वर्ष स्वीकृत हुनेछ ।’
उक्त क्षेत्रमा निर्माण भएका घरहरूका लागि मात्रै मुआब्जा दिइने आयोजनाले जानकारी दिएको छ । मन्त्रालयका अनुसार बाहिरी चक्रपथको कुल लम्बाइ ७१ दशमलव ९३ किलोमिटर रहेको छ । प्रथम चरणको निर्माण खण्ड चोभार–सतुङ्गलमा करीब ८ हजार रोपनी क्षेत्रफल र १४ हजार जग्गाधनी रहेका छन् ।
त्यसो त, सीतापाइलाबाट हलचोक, गैह्रीगाउँ (इचङ्गुनारायण बाहिर), दौडिनेपानी, नेपालटार, फुटुङलाई चिर्दै १३ किलोमिटर क्षेत्रको टोखा–सरस्वती क्षेत्रमा मिलाउने गरी थप १५ किलोमिटर सडक निर्माण गर्ने योजना रहेको अवस्थामा बाहिरी चक्रपथको कुल लम्बाइ भने ८६ किलोमिटरभन्दा बढी हुने मन्त्रालयले बताएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार बाहिरी चक्रपथको कुल लम्बाइमध्ये काठमाडौंमा ३५ दशमलव ०८ किलोमिटर, ललितपुरमा १५ दशमलव ८० किलोमिटर र भक्तपुरमा २१ दशमलव ०५ किलोमिटर हुनेछ ।

No comments:

Post a Comment