Tuesday, June 6, 2017

कुकुर बेचेर आम्दानी

पत्र पत्रिका बाट  -साभार

http://kantipur.ekantipur.com/news/2017-06-04/20170604172002.html
- शाहीमान राई, फालेलुङ (पाँचथर)

जेष्ठ २१, २०७४- गाउँघरमा आयआर्जनको निम्ति भेंडा, बाख्रा, बंगुरको पाठो बिक्री गर्नु सामान्य हो । तर, पाँचथरको फालेलुङ गाउँपालिका ४ स्थित चारराते, फालोट, सुर्केथाम, सन्दकपुर आसपासको बासिन्दाले कुकुरको छाउरा बेचेर पनि वर्षेनी लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् ।
नेपाल र भारतको दार्जिलिङसित सीमा जोडिएको पाँचथर सदरमुकाम फिदिमदेखि २३ कोस सुदूर उत्तर मेमेङ, फालोट, प्राङबुङ, चारराते, सुर्केथाम आसपासको क्षेत्रमा भेंडा, चौरीसँगै कुकुर समेत पाल्दै आएका छन् । उन्नत जातको कुकुरको पहिलो कार्य भेंडीगोठ र चौंरीगोठको सुरक्षा गर्नु हो । यसबाहेक कुकुरको छाउरा बेचेर आयआर्जन हुने गरेको चौरीपालक व्यावसायीहरुले बताएका छन् । विशाल जङ्गलको बीच एकान्तमा भेंडीगोठ र चौंरीगोठमा बाघ, भालु, स्याललगायत वन्यजन्तुको आक्रमणबाट सुरक्षा, खबरदारी र सूचना प्रदान गर्ने भएकोले कुकुर पाल्ने गरेको प्राङबुङस्थित चाररातेका ४८ वर्षीय छविलाल राईले बताए । ‘कुकुरले आसपासको गतिविधि सजिलै थाहा पाउँछ, गाईवस्तुलाई आक्रमणबाट जोगाउँछ,’उनले भने, ‘मान्छेभन्दा धेरै काम गर्छ, आम्दानी पनि दिन्छ, त्यसैले पाल्छौं ।’
 
फालेलुङ गाउँपालिकामा पर्ने सिदिन, मेमेङ, प्राङबुङ, याङवरक गाउँपालिकाको फलैंचा, च्याङथापू आसपासको क्षेत्रमा चौंरीपालन हुने गरेको छ । समुद्र सतहदेखि ३ हजार ५ सय १५ मिटर उचाईंमा रहेको सुर्केथाम र चाररातेको खुल्ला चौर, फालोटसम्म तीन दर्जनभन्दा बढी चौंरी गोठ छन् । हरेक चौंरीगोठमा तीन/चारवटा भाले, पोथी भोटेकुकुर पाल्ने गर्छन् । पोथी कुकुरले हरेक वर्ष एक दर्जन छाउरा पाउँछ । हरेक छाउरा प्रतिगोटा भारु दस हजार रुपैंयाँ (नेरु १६ हजार)मा बिक्री हुने गरेको सुर्केथाममा चौंरीगोठमा बस्दै आएकी भिममाया राईले बताइन् । उनले वर्षेनी कुकुरको छाउरा बेचेर एक लाख ५० हजार रुपैंयाँसम्म आम्दानी गर्दै आएको बताइन् । उनका अनुसार झापा, मोरङ, काठमाडौं, भारतको दार्जिलिङ सिक्किम, गुमपहाड, मिरिक, कालेम्पोङ, खर्साङ, सिलगुढीलगायत विभिन्न ठाउँबाट कुकुरको छाउरा किन्न आउने गरेका छन् । अरुभन्दा ठूलो हुने भएकोले ठूलो स्वरमा कुकुर भुक्ने भएकोले टाढासम्म आवाज पुग्ने, थर्किने भएकोले अन्य जनावर भाग्ने गर्छन् । 


No comments:

Post a Comment