Monday, June 12, 2017

बाहिरी चक्रपथ आयोजना कार्यान्वयनतिर : जग्गा प्राप्तिका लागि यसै साता सूचना

http://www.abhiyan.com.np/new/Articles/view/99312
२०७४-०२-२९ मा प्रकाशित     १२६२ पटक पढिएको    ० बिचार / प्रतिक्रिया
बाहिरी चक्रपथ आयोजना कार्यान्वयनतिर : जग्गा प्राप्तिका लागि यसै साता सूचना
जेठ २८, काठमाडौं । बाहिरी चक्रपथ आयोजना कार्यान्वयनको चरणमा पुगेको छ । पहिलो चरण निर्माण गरिने चोभार–गम्चा–सतुङ्गलको ६ दशमलव ६ किलोमिटर निर्माण कार्य अघि बढाउन सरकारले यही साता जग्गा प्राप्तिका लागि ३५ दिने सूचना सार्वजनिक गर्ने भएको छ ।
जग्गा एकीकरण (ल्याण्ड पुलिङ) प्रणालीबाट निर्माण गरिने बाहिरी चक्रपथको शहर तथा पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा प्राप्तिका लागि सूचना सार्वजनिक गर्न लागिएको बाहिरी चक्रपथ आयोजनाका आयोजना अधिकृत ध्रुव सापकोटाले जानकारी दिए । उनले भने, ‘बाहिरी चक्रपथ निर्माणको पहिलो चरणमा निर्माण गरिने भनिएका उक्त स्थानमा पर्ने शहर निर्माण तथा पूर्वाधार विकासका लागि स्थानीय बासिन्दाको जग्गा प्राप्तिका लागि सार्वजनिक सूचना जारी गर्न लागिएको हो ।’  
विगत १३ वर्षदेखि चर्चामा रहेको उक्त आयोजनाको पहिलो चरणमा निर्माण हुने भएको उक्त खण्ड निर्माणका लागि राजपत्रमा सूचनासमेत प्रकाशित भएपछि निर्माण कार्यले गति लिएको छ । उक्त खण्डको डीपीआर स्वीकृत भएपछि व्यवस्थित शहर निर्माण गर्न र आवश्यक पूर्वाधार विकासका लागि जग्गा प्राप्तिको प्रक्रिया शुरू भएको हो । आयोजना अधिकृत सापकोटाले बाहिरी चक्रपथमा पर्ने जग्गाका घरधनीहरूको जग्गाका लागि मुआब्जा वितरण नगरिने स्पष्ट पारे । उनले भने, ‘हामीले बाहिरी चक्रपथमा पर्ने क्षेत्रमा जग्गा विकास गरी पूर्वाधार निर्माण गर्ने हो, मुआब्जा दिने होइन ।’
उनले बाहिरी चक्रपथ क्षेत्रमा पर्ने स्थानीय बासिन्दाको कम्तीमा २० देखि ४२ प्रतिशत जग्गा अनुदानमा लिने बताए । व्यवस्थित शहरीकरणको लक्ष्य राखेर निर्माण हुन लागेको उक्त आयोजनाअन्तर्गत स्थानीय बासिन्दाको जग्गा अनुदानमा लिने भएको हो । व्यवस्थित शहरीकरणका लागि उक्त पुरानो जग्गा (खेतबारी, घर)लगायतका जग्गा एकीकरण गरी नयाँ प्रक्रियामा जाँदा सबैभन्दा धेरै आन्तरिक बाटो (सडक) निर्माणमा खपत हुने देखिएको छ ।
उक्त सडक सञ्जालका लागि १५ देखि २५ प्रतिशत जग्गा अनुदानमा लिनुपर्ने आयोजनाले बताएको छ । यस्तै बाहिरी चक्रपथ निर्माणका लागि ७ दशमलव ८ प्रतिशत, खुला स्थान र पूवार्धार विकासका लागि क्रमशः ५/५ प्रतिशत जग्गा लिनुपर्ने सापकोटाले बताए । जग्गा एकीकरण गर्दा प्रत्येक स्थानीय बासिन्दा तथा घरधनीको क्षेत्रफलमा कमी आए पनि जग्गाको मूल्य भने वृद्धि हुने उनले बताए ।
उनले भने, ‘अहिले साधारण खेतीपाती गर्दै आएको जमीनको हालको मूल्य स्थान हेरी प्रतिरोपनी रू. २० देखि ३२ लाख पर्छ, तर जग्गा एकीकरण भएपछि उक्त जग्गाको मूल्य रू. ४ करोडभन्दा माथि हुन्छ ।’ चोभार–सतुङ्गलबाहेक बाँकी रहेका ६८ किलोमिटर निर्माणको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृतका लागि गृहकार्य भइरहेको आयोजनाले बताएको छ ।  उक्त आयोजनाका लागि जग्गा प्राप्ति ऐन २०३४ अनुसार जग्गा प्राप्ति गरिनेछ ।

No comments:

Post a Comment