Wednesday, June 21, 2017

बर्सेनि अर्बौंको बीउ आयात

http://www.karobardaily.com/news/80121

    supervisor_accountकारोबार संवाददाता   visibility245
समाचार प्रतिनिधि तस्विर

उत्पादन बढाउन ‘ब्रिडर’को खाँचो : व्यवसायी  

बुटवल: सरकारले स्वदेशी बिउ उत्पादकलाई प्रोत्साहन गर्न नसक्दा बर्सेनि अर्बौं रुपैयाँको खाद्यान्न तथा तरकारीको बीउ विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको व्यवसायीले गुनासो गरेका छन् ।
आयात प्रतिस्थापन गरी बीउमा आत्मनिर्भर बन्न र निर्यात गर्न समेत सकिने प्रचुर सम्भावना भएपनि सरकारको प्राथमिकतामा नपर्दा बर्सेनि बीउ आयातको मात्रा बढ्दै गएको बिउ उत्पादक र  व्यवसायीहरूले बताएका छन् । 
नेपाल बीउ व्यवसायी संघ काठमाडौंले प्रदेश नं. ५ का बीउ उत्पादक र व्यवसायीसँग ‘गुणस्तरीय बीउ उत्पादन र बजारीकरण’ विषयमा गरेको अन्तरक्रियामा व्यवसायीहरूले देशलाई बीउमा आत्मनिर्भर बनाउन सरकारले अघि सारेको ‘सिड भिजन’ कार्यक्रमलाई यथाशीघ्र कार्यान्वयनमा ल्याउन र हाइब्रिड बीउ उत्पादन गर्न प्रजनक ( ब्रिडर) को व्यवस्था गर्न माग गरेका छन् । 
नेपाल बीउ व्यवसायी संघका अध्यक्ष लक्ष्मीकान्त ढकालका अनुसार अहिले नेपालमा ९० प्रतिशत तरकारीको बीउ भारत, चीन, बंगलादेश, कोरिया लगायतका देशबाट आयात भइरहेको छ । यस्तै हाइब्रिड धान र मकैको बीउ दुबै २५ सय मेट्रिक टनकै हाराहारीमा विदेशबाट आयात हुन्छ । विभिन्न जातका तरकारीको बीउ वार्षिक १६ सय मेट्रिक टन आयात हुने गरेको अध्यक्ष ढकाल बताउँछन् ।
सामान्यतया हाइब्रिड बीउको मूल्य प्रति केजी न्यूनतम ३ सय रुपैयाँ हुन्छ । गोलभेंडाको बीउको मूल्य त प्रतिकेजी करिब १ लाखको हाराहारीमा हुन्छ । नेपालमा वार्षिक ७६ हजार मेट्रिक टन धानको बीउको माग छ भने ९ हजार मेट्रिक टन मात्रै उत्पादन हुने गरेको नेपाल बीउ व्यवसायी संघका उपाध्यक्ष सुभाषराज उपाध्यायले बताए । यस्तै तरकारीको बीउको माग वार्षिक २५ सय मेट्रिक टन छ भने उत्पादन १ हजार मेट्रिक टन हुने गरेको उपाध्यायले जानकारी दिए । 
तरकारीको बीउ आयात र वितरण शतप्रतिशत तथा  खाद्यान्न बीउको ९५ प्रतिशत कारोबार नीजि क्षेत्रले गरिरहेको नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रका संयोजक डा. दिनेशप्रसाद पराजुलीले  बताए । उनले बीउमा नेपाललाई आत्मनिर्भर बनाउन र निर्यात गर्न सरकारले नीजि क्षेत्रलाई प्रोत्साहन र अध्ययन अनुसन्धानमा लगानी गर्नुपर्नेमा जोड दिए ।  
किसानका लागि उन्नत बिउ बिजन कार्यक्रमका कार्यक्रम व्यवस्थापक कौशलकुमार पौडेलले बीउको उत्पादन बढाउन सरकारले घोषणा गरेको ५ प्रतिशत ब्याजदरमा किसानलाई सहुलियतपूर्ण ऋण दिने घोषणा तत्काल लागु गर्नुपर्ने, इनब्रिड लाइन व्यवस्था गरिदिनुपर्ने, उत्पादित बीउको बजारीकरण, प्राविधिक ज्ञान, सीप र प्रविधि हस्तान्तरणमा सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए ।  
सो अवसरमा कृषि विकास मन्त्रालयका प्रवक्ता डा. योगेन्द्रकुमार कार्की, कृषि विभागका महानिर्देशक डिलाराम भण्डारी, कृषि विकास कार्यालय रुपन्देहीका वरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटा लगायतले अनुपम भौगोलिक विविधतताका कारण  नेपाललाई बीउमा आत्मनिर्भर मात्र नभई निर्यात गर्न सक्ने मुलुकका रुपमा विकास गर्न सकिने औंल्याउँदै सरकार र नीजि क्षेत्रबीचको सहकार्यमा जोड दिए ।

No comments:

Post a Comment