http://www.abhiyan.com.np/new/Articles/view/99027
२०७४-०२-२४ मा प्रकाशित २५६ पटक पढिएको ० बिचार / प्रतिक्रिया
विनय रेग्मी
नेपाल विद्युत् प्राधिकरणले पछिल्लोपटक
२०७३ साल साउन २७ गते साप्ताहिक ४८ घण्टा ३० मिनेट विद्युत् आपूर्ति बन्द
हुने सूचना प्रकाशित गरेको थियो । त्यसपछि हालसम्म पुनः त्यस्तो सूचना
पढ्नु परेको छैन र विद्युत् उत्पादन, प्रसारण तथा विक्रीवितरणसमेतको
एकाधिकार प्राप्त सार्वजनिक संस्थान नेपाल विद्युत् प्राधिकरणले कुशल
व्यवस्थापक पाएकाले नै उल्लिखित मितिपछि समान प्रकृतिको अर्काे सूचना पढ्नु
नपरेको करीब १० महीना व्यतीत भइसकेको छ । नियमित विद्युत् आपूर्तिबाट
विद्युत् जडान गरेका सबै ग्राहक सामान्य घरेलु कामदारदेखि थोरै सङ्ख्याकै
भए पनि ठूल्ठूला व्यावसायिक घरानासम्म लाभान्वित भएकै छन् । एउटा सिङ्गो
पुस्ताले नै हाम्रो देशमा पनि नियमित विद्युत् आपूर्ति हुन सक्छ भन्ने
विश्वासै गर्न छाडेको अवस्थामा यही नियमितताका कारणले कति वर्षपछि
उत्पादनशील क्षेत्र (म्यानुफ्याक्चरिङ सेक्टर) यसै अवधिमा ५० प्रतिशतभन्दा
माथि क्षमतामा सञ्चालन भएको पढ्न पाउनु सबैका लागि सुखद समाचार नै हो ।
कतिपयको हकमा यो वर्षको इन्धन खर्चमा आएको भारी कटौतीले वासलातकै प्रारूपमा
उल्लेख्य परिवर्तन आउन सक्ने सम्भावना पनि छ, यदि व्यावसायिक इमानदारी
कायम रहेमा । यस अवधिमा यदाकदा विद्युत् आपूर्तिमा अवरोधै नआएको भने होइन ।
तर, विगतको दैनिक १६ घण्टासम्म विद्युत् आपूर्ति नहुने इतिहासलाई हेर्दा
यो अवरोध औसत रूपमा नगन्यमै पर्छ र विद्युत् प्राधिकरणको नेतृत्वलाई
शङ्काको सुविधा दिनैपर्छ । विद्युत् आपूर्तिमा आएको नियमितताले कसैलाई घाटा
पुगेको छ भने वैकल्पिक सामग्रीको आयात र अन्धाधुन्ध मूल्यमा विक्रीवितरण
गर्न पल्किएका व्यक्तिहरूको हकमा यो विद्युत् आपूर्तिको नियमितता सौता भएको
सजिलै अनुमान गर्न सकिन्छ ।
हुन त यसै अवधिमा घरेलु उत्पादन १ सय १७
मेगावाटले वृद्धि भएको छ भने आयातमा पनि वृद्धि भई ३ सय ८५ मेगावाटसम्म
पुगेकाले नेपाल विद्युत् प्राधिकरणको आपूर्ति गर्ने कार्यमा राम्रै सघाउ
पुगेकै हो । तथापि १ हजार ४ सय ६२ मेगावाट उच्चतम बिन्दु माग र जडित क्षमता
७ सय ६२ मेगावाट मात्र भएको अवस्थामा आयात भएको परिमाणलाई जोड्दासमेत अझै ३
सय मेगावाटभन्दा बढी न्यून आपूर्ति रहेको अवस्थामा विद्युत् आपूर्तिमा
हुने कटौतीलाई न्यून बिन्दुमा अर्थात् काठमाडौंबाहिर अधिकतम २ घण्टा मात्र
आपूर्ति नहुने गरी व्यवस्थापन गर्न सक्नुलाई नेपाल विद्युत् प्राधिकरणको
कुशल व्यवस्थापकीय नेतृत्वको देन नै मान्नु पर्छ । राम्रो कुराको सराहना
गर्नै पर्छ र राम्रो कुराको सराहना गर्न नजान्नेले कुण्ठा पालेर बस्छ,
अन्ततः आफै सकिन्छ ।
तर, कुरो यत्तिकैमा सकिँदैन । वर्तमान
सरकार, जसले कुलमानजीलाई नेपाल विद्युत् प्राधिकरणको नेतृत्व सुम्पियो, ले
सत्ताबाट बाहिरिने निर्णय गरिसकेको छ र सरकारका नेता प्रधानमन्त्रीले
राष्ट्रपतिसमक्ष राजीनामा दिई स्वीकृत पनि भइसकेको छ । अन्य कुराहरू यथावत्
रहेमा (अदर थिङ्स रिमेनिङ द सेम) अब केही दिनमा देशले नयाँ प्रधानमन्त्री
पाउने छ, तथापि हुनेवाला प्रधानमन्त्रीको बाहिरी तन र भित्री मन किन पुरानै
नहोस् १ सरकार परिवर्तनको औपचारिक सूचनाले कति जना नयाँ सरकारको मण्डलीमा
आफू पनि पर्न सक्ने सम्भावनालाई आँकलन गर्दै दौरा सुरुवालमा इस्त्री गर्दै
होलान् भने बहिर्गमित हुनुपर्नेहरू बाटो खर्चको थपथाप जोगाड गर्दै होलान् ।
यो चलिआएकै र सबैले बुझेकै कुरा हो । यो सबै कुरामा पङ्क्तिकारजस्तो
सामान्य नागरिकले गर्न नै के सक्छ र । तर, सामान्य नागरिकको चिन्ताको विषय
अर्कै छ ।
सरकार परिवर्तनसँगै योजना आयोगदेखि
सार्वजनिक संस्थाका प्रमुखहरूको परिवर्तन पनि २०४९/५० सालदेखि नै हाम्रो
समाजले भोग्दै आएको तितो अनुभव हो । ‘हाम्रा’ र ‘राम्रा’का बारेमा जतिसुकै
विद्वत्ता छाँटे पनि मन्त्रालयको भागबण्डा सँगसँगै कर्मचारीको भागबण्डा पनि
देखे–भोगेकै हो र अलिकति सिद्धान्तमा टिक्न खोज्ने कर्मचारीलाई कार्यालयकै
शौचालयमा थुनेर क्रान्तिकारी सजाय दिने प्रचलन बसिसकेकै छ । सेवाबाट
निवृत्त गर्दा अदालतबाट निर्णय उल्टी हुन सक्ने सम्भावनालाई हेर्दै पछिल्लो
कालमा कूटनीतिक रूपमा ‘योग्यता, अनुभव र कुशल नेतृत्व’को अधिकतम उपयोगको
निमित्त राम्रालाई सिंहदरबारको कुनै कुनामा थन्काउने र हाम्रालाई आफू
अनुकूलको कुर्सीमा विराजमान गराउने परिपाटी पनि चलेकै हो । यस्तै कूटनीति र
झूटनीतिको सेरोफेरोमा कतै नेपाल विद्युत् प्राधिकरणको वर्तमान नेतृत्व पनि
पाखा लागिने र सामान्य नागरिकले फेरि विगत १० महीनादेखि बन्द भएको
‘विद्युत् आपूर्ति बन्द हुने तालिका’सँग पुनः साक्षात्कार गर्नुपर्ने हो कि
? चिन्ताको विषय यही हो ।
घटनाक्रमले सरकारसँगै नेपाल विद्युत्
प्राधिकरणको नेतृत्व परिवर्तन हुने सम्भावना प्रबल हुँदै गएको देखिन्छ ।
हाम्रो जस्तो देशमा एउटा कुशल, दक्ष र अनुभवी व्यवस्थापकको स्थिति कस्तो छ
भन्ने जान्न अन्त जानै पर्दैन । गुण्डा र पण्डाको पङ्क्तिमै राखेर एउटा
पहेँलो धातुको मोलम्बा लगाएको ढ्याक झुण्डिएको माला पहिराइदिएर कुशल
व्यवस्थापकीय शीप र ज्ञानको सम्मान गरेको ठान्ने ताजा घटनाले छर्लङ्ग हुन्छ
। यस्तो राजनीतिक नेतृत्वबाट सामान्य जनताले के नै आशा गर्न सक्छ । नेपाल
विद्युत् प्राधिकरणको वर्तमान नेतृत्वलाई राज्यले ठूलो सम्मान गरिसकेको छ र
यो सम्मानले विद्युत् प्राधिकरणमा उनको अब आवश्यकता छैन भन्ने सन्देश पो
दिन खोजेको हो कि भन्ने आशङ्का पनि जन्माएको छ । सबैलाई आलोपालो भागबण्डा
पुर्याउनुपर्ने संस्कारले जरो गाडेको राजनीतिक संस्कार बोकेको ठाउँमा
वर्तमान ऊर्जामन्त्रीले नै नयाँ मन्त्रिमण्डलमा पुनः निरन्तरता पाउलान्
भन्ने आशा त छैन, तैपनि यिनैले निरन्तरता पाइहालेको अवस्थामा बाहेक
विद्युत् प्राधिकरणको नेतृत्व परिवर्तन नहोला भन्न सकिँदैन र नेतृत्व
परिवर्तन भएपछि तकनिकी बाध्यताका आधारमा नेपाल विद्युत् प्राधिकरणले १०
महीनादेखि प्रकाशन गर्न बन्द गरेको विद्युत् आपूर्तिमा कटौती हुने सूचनालाई
कुन ढङ्गबाट स्वागत गर्ने बेलैमा सोचौं ।
अन्त्यमा, सरकार त परिवर्तन हुन्छ नै,
केही दिनको कुरो मात्र हो । तर, आशा गरौं विगतमा जस्तो मध्यरातमा कसैले
‘देऊ बा’ भनेर नभन्ला र पुरानै आनीबानीलाई कायम राख्दै सरकारको नयाँ
नेतृत्वले पनि हालसम्मको राजनीतिक उपलब्धि ‘लाउबा’ भनेर नबुझाउला ।
लेखक अधिवक्ता हुन् ।
(यो लेख केही दिनअघि नै प्राप्त भएको हुँदा सरकार परिवर्तनको पुरानै सन्दर्भ यथावत् राखिएको छ ।)
No comments:
Post a Comment