Sunday, June 25, 2017

बाहिरी चक्रपथ निर्माण : चिनियाँ कम्पनीको चासो

पत्र पत्रिका बाट  -साभार  http://www.abhiyan.com.np/new/Articles/view/100145

२०७४-०३-१२ मा प्रकाशित     ४०७ पटक पढिएको  
बाहिरी चक्रपथ निर्माण : चिनियाँ कम्पनीको चासो
काठमाडौं । हाल कार्यान्वयनको चरणमा रहेको बाहिरी चक्रपथ आयोजना निर्माणका लागि चिनियाँ कम्पनी ‘चाइना हुम्यानिटी डिप्लोम्याटिक प्रोमोशन एशोसिएशन’ले चासो देखाएको छ । कार्यान्वयनको पहिलो चरणमा रहेको चोभार–गम्चा–सतुङ्गलको ६ दशमलव ६ किलोमिटरमा पर्ने जग्गा प्राप्तिको प्रक्रियागत अवस्थामा रहेको आयोजनाले बाहिरी चक्रपथ निर्माणका लागि उक्त चिनियाँ कम्पनीले आशयपत्र (इण्टेण्ट लेटर) उपलब्ध गराएको जानकारी
दिएको छ ।
अव्यवस्थित रूपमा बढिरहेको शहरीकरणलाई व्यवस्थित गर्ने मुख्य लक्ष्य राखेर शुरू हुन लागेको उक्त आयोजना निर्माणका लागि चिनियाँ कम्पनीले ७० प्रतिशत अनुदान र ३० प्रतिशत सहुलियत ऋण उपलब्ध गराउने आशयपत्रमा उल्लेख गरेको आयोजना अधिकृत धु्रव सापकोटाले जानकारी दिए । उनले भने, ‘निर्माणको प्रक्रियागत अवस्थामा रहेको आयोजना निर्माणमा लागि चिनियाँ कम्पनीले मात्रै हालसम्म चासो देखाएको छ ।’ उक्त आयोजनाको कुल लागत रू. ६ अर्ब रहने अनुमान छ ।
बाहिरी चक्रपथ निर्माणका लागि सरकारले विदेशी ऋण तथा अनुदानको अपेक्षा गरे पनि कुनै लगानीकर्ता नआएमा नेपालकै लगानीबाट आयोजना निर्माण गर्ने तयारी गरेको छ । त्यसो त, बाहिरी चक्रपथ आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । तर, पहिलो चरणमा निर्माण हुने भनिएको चोभार–गम्चा–सतुङ्गलको ६ दशमलव ६ किलोमिटरको मात्रै डीपीआर स्वीकृत भएको छ भने बाँकी आगामी आर्थिक वर्षमा स्वीकृत हुने आयोजनाले बताएको छ ।
गत हप्ता नै जग्गा प्राप्तिका लागि ३५ दिने सार्वजनिक सूचना जारी गर्ने तयारी गरिरहेको आयोजनाले सूचना भने जारी गर्न सकेको छैन ।
आयोजनाका अनुसार केही प्राविधिक कारणले जग्गा प्राप्तिका लागि सूचना जारी गर्न ढिलाइ भएको छ । आयोजनाका आयोजना अधिकृत सापकोटाले भने, ‘डीपीआर र जग्गा प्राप्तिमा देखिएको केही अन्योललाई स्पष्ट पार्न मङ्गलवारसम्ममा बाहिरी चक्रपथ आयोजना निर्माणको प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गरिने छ ।’ उनका अनुसार जग्गा एकीकरणपछि विकास गरिएका जग्गाहरूको वितरण प्रक्रियालाई पनि थप सरलीकरण गरिनेछ ।
बाहिरी चक्रपथ निर्माणका क्रममा विकसित हुने जग्गालाई पुनः जग्गाधनीलाई नै उपलब्ध गराउने विषयलाई थप स्पष्ट पार्न र डीपीआरमा भएको विषयलाई सरलीकरण गर्न प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी भएको हो । बाहिरी चक्रपथको कुल लम्बाइ ७१ दशमलव ९३ किलोमिटर रहेको छ । पहिलो चरणको निर्माण खण्ड चोभार–सतुङ्गलमा करीब ८ हजार रोपनी क्षेत्रफल र १४ हजार जग्गाधनी रहेका छन् ।
त्यसो त, सीतापाइलाबाट हलचोक, गैह्रीगाउँ (इचङ्गुनारायण बाहिर), दौडिनेपानी, नेपालटार, फुटुङलाई चिर्दै १३ किलोमिटर क्षेत्रको टोखा–सरस्वती क्षेत्रमा मिलाउने गरी थप १५ किलोमिटर सडक निर्माण गर्ने योजना रहेको अवस्थामा बाहिरी चक्रपथको कुल लम्बाइ भने ८६ किलोमिटरभन्दा बढी हुनेछ । आयोजनाका अनुसार बाहिरी चक्रपथको कुल लम्बाइमध्ये काठमाडौंमा ३५ दशमलव शून्य ८ किलोमिटर, ललितपुरमा १५ दशमलव ८० किलोमिटर र भक्तपुरमा २१ दशमलव शून्य ५ किलोमिटर हुनेछ ।

 

No comments:

Post a Comment