Thursday, June 22, 2017

धोबीखोला करिडोर सुस्त

पत्र पत्रिका बाट  -साभार   http://www.abhiyan.com.np/new/Articles/view/99989 

२०७४-०३-९ मा प्रकाशित     ९७ पटक पढिएको
धोबीखोला करिडोर सुस्त
काठमाडौं । काठमाडौं उपत्यकामा शहरी सवारी चाप व्यवस्थापन गर्ने उद्देश्यले उत्तर दक्षिण जोड्न निर्माणाधीन धोबीखोला करिडोरको काम सुस्त देखिएको छ । धोबीखोलाको दायाँ/बायाँ गरी कुल २४ किलोमिटर सडक निर्माण गर्न आर्थिक वर्ष ०६७/६८ देखि चलिरहेको आयोजनामा ५ वर्षपछि बल्ल कालोपत्र शुरू भएको छ ।
असार पहिलो साता बागमती र धोबीखोलाको दोभानबाट बिजुली बजारसम्मको जम्मा १ दशमलव ३ किलोमिटरमा मात्रै कालोपत्र भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ढल निर्माणमा विलम्ब गर्दा करिडोरको काम सुस्त भएको काठमाडौं उपत्यका विकास प्राधिकरणले बताउँदै आएको छ । करिडोरको सडक कालोपत्र हुन नसके पनि अधिकांश भाग ग्राभेल भइसकेकाले बजेट भने रू. १ अर्ब ६६ करोड ९३ लाख खर्च भएको आयोजनाले जानकारी दिएको छ ।
चक्रपथभित्र सवारी चापलाई न्यूनीकरण गर्दै काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकालाई जोड्ने उत्तर दक्षिण सडक तयार गर्ने आयोजनाको लक्ष्य छ । साथै, दुवै किनारामा सडक निर्माण गरेर नदी अतिक्रमणसमेत रोक्ने लक्ष्यसहित आयोजना शुरू भएको हो । आर्थिक वर्ष ०७४/७५ सम्ममा करिडोर निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि अहिलेसम्मको प्रगति हेर्दा तोकिएको मितिमा आयोजना सम्पन्न नहुने प्राधिकरण स्रोतको भनाइ छ ।
प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त इञ्जिनीयर दीपक श्रेष्ठले आयोजनाको काम सम्पन्न गर्न अब कम्तीमा ३ वर्ष लाग्ने बताए । उनले भने, ‘मुख्य समस्या भनेको ढल निर्माणको कार्य हो र अर्काे विषय भनेको बजेटको कुरा हो । हामीलाई समितिले असोजसम्ममा ढल निर्माणको काम सक्ने प्रतिबद्धता दिएको छ । ढल निर्माणको काम सम्पन्न भएसँगै करिडोरको कामले तीव्रता पाउनेछ ।’
करिडोर क्षेत्रको सडक ग्राभल भइसके पनि ढल निर्माणमा ढिलाइ हुँदा कालोपत्रको काम सम्पन्न गर्न समस्या भएको उने बताए । ‘ढल निर्माणको जिम्मा हामीलाई दिएमा २ वर्षमा करिडोरको काम सम्पन्न हुन्छ,’ उनले थपे ।
प्राधिकरणले आव ०७४/७५ मा आयोजनाका लागि रू. ४५ करोड ५० लाख बजेट दिएको छ । करिडोरमा अझै करीब ५ देखि ७ सय मिटर ट्र्याक खोल्न बाँकी रहेकाले आगामी आवमा त्यसैलाई प्राथमिकतामा राखिएको श्रेष्ठ बताउँछन् । ‘कपनको कामीडाँडामा गएको पहिरोका कारण ट्र्याक खोल्ने काममा अवरोध सृजना भएको छ,’ उनले भने ।  
कार्यालयका इञ्जिनीयर सज्जन कुँवरले चालू आव ०७३/७४ मा रू. ३५ करोड बजेट विनियोजन भएकोमा जेठसम्म रू. ३० करोड ३० लाख खर्च भएको बताए । उनले बैजनी पुलदेखि खैरो पुलसम्मको ट्र्याक खोल्ने काम सम्पन्न भएको भन्दै अब त्यहाँ पीच र फुटपाथको काम बाँकी रहेको उल्लेख गरे । धोबीखोलाको किनारालाई हरियाली बनाउन पनि करिडोरको साइड–साइडमा ५० सेण्टीमिटरमा वृक्षरोपणको काम भइरहेको आयोजनाले बताएको छ ।
पहिलो चरणअन्तर्गत रहेको बैजनी पुल (चाबहिल)देखि खैरोपुल (बागमती दोभान)सम्म दुवैतर्फ गरी जम्मा ११ किलोमिटर लम्बाइ रहेको छ । यस खण्डअन्तर्गत ९ मिटर चौडा सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएको आयोजनाले बताएको छ । यसअन्तर्गत ९ किलोमिटर फुटपाथ निर्माण, ८ किलोमिटर रेलिङ निर्माण र ७ किलोमिटर सडक कालोपत्र गर्ने कार्यका लागि बोलपत्र आह्वान गरिएको आयोजनाले उल्लेख गरेको छ ।
दोस्रो चरणअन्तर्गतको बैजनी पुलदेखि कपन भङ्गालसम्म खोलाको दुवै साइडमा गरी ९ मिटर चौडाको ८ किलोमिटर ट्र्याक खोल्ने कार्यको ८० प्रतिशत काम सम्पन्न भएको छ । यसैगरी तेस्रो चरणअन्तर्गतको कपन भङ्गालदेखि राममन्दिर (खड्ग भद्रकाली)सम्मको २ दशमलव ५ किलोमिटरको निर्माण कार्यका लागि भने सम्भाव्यता अध्ययन भइरहेको आयोजनाले बताएको छ ।
नदीको दुवैतर्फ व्यवस्थित व्यापारिक तथा आवासीय क्षेत्रको विकास भई स्थानीय उपभोक्ताहरूको सामाजिक तथा आर्थिक व्यवसाय वृद्धि हुन जानेलगायत उद्देश्य राखी करिडोर निर्माणलाई सुचारु गरिएको थियो । त्यसो त, काठमाडौं उपत्यकाको भित्री रिङ्रोड विकास गरी सवारी व्यवस्थापन तथा शहरी विकासका लागि जाइकाको अध्ययन प्रतिवेदनबाट सन् १९९३ मा धोबीखोला करिडोर निर्माणको प्रस्ताव गरिएको थियो । तर, उक्त आयोजनाले २०५९ वैशाख १ गतेदेखि करीब ६ वर्ष काठमाडौं महानगरपालिकाको मातहतमा आए पनि पूर्वाधार विकासका लागि बजेट अभावलगायत कमजोरीले करिडोर निर्माणमा विलम्ब देखिएको थियो ।

No comments:

Post a Comment