Tuesday, June 6, 2017

बाहिरी चक्रपथ पहिलोखण्ड निर्माणको तयारी

पत्र पत्रिका बाट  -साभार

http://annapurnapost.com/news/72557

राजु बास्कोटा । मंगलवार, जेठ २३, २०७४ 0 20768 पटक पढिएको


काठमाडौं : उपत्यकाको बाहिरी चक्रपथको पहिलोखण्ड निर्माणको काम अगाडि बढाउने तयारी गरिएको छ । यसका लागि बाहिरी चक्रपथ विकास आयोजनाले आगामी एक साताभित्र १३ हजार सात सय ६४ कित्ता जग्गा अधिग्रहण गर्ने भएको छ । ‘जग्गा अधिग्रण गर्न सरकारले यही जेठ १५ गते राजपत्रमा सूचना प्रकाशित गरिसकेको छ', बाहिरी चक्रपथ विकास आयोजना शाखा अधिकृत ध्रुवप्रसाद सापकोटाले भन्नुभयो । उहाँका अनुसार आवश्यक सबै प्रक्रिया पूरा भएको छ । यो आयोजनाको ६.६ किलोमिटर दूरीमा अवस्थित चोभारदेखि सतुङ्गल खण्डको निर्माण जग्गा एकीकरणको माध्यमबाट गर्न भौतिक विकास योजना स्वीकृत गरेको छ ।
बाहिरी चक्रपथ निर्माण हुने क्षेत्रको चार किल्लाभित्रको सीमा तय भएको छ । सोही सीमाभित्रको आठ हजार नौ सय ५६ रोपानी जग्गा अधिग्रहण भएको सूचना एक सातामै सार्वजनिक हुने सापकोटाले बताउनुभयो ।उहाँका अनुसार बाहिरी चक्रपथ आयोजनाले ओगट्ने उक्त क्षेत्रको सूचना सार्वजनिक भएकै दिनबाट बिक्रीवितरण तथा कित्ताकाट रोकिन्छ । सबै जग्गा सरकारले प्राप्ति गरी दुई वर्षभित्रै जग्गा विकास गरेर सम्बन्धित क्षेत्रका स्थानीयलाई नै फिर्ता दिनेछ । यो जग्गा अधिग्रहणपछि निर्माण हुने बाहिरी चक्रपथ योजनामा करिब दुई सयवटा घरपर्ने भएका छन् । यी घरका लागि सरकारले उचित क्षतिपूर्ति दिने सापकोटाको भनाइ छ।
काठमाडौं, ललितपुर र भक्तपुरलाई जोडेर बन्ने ७२ किलोमिटरको यो बाहिरी चक्रपथको १० वर्ष अगाडिको लागत २४ अर्ब मात्रै थियो । हाल यसको अनुमानित लागत ७२ अर्ब रुपैयाँ पुगेको छ । महँगी, जग्गाको भाउ, प्रविधि र विदेशी मुद्रा विनिमयसहितको सम्पूर्ण पक्षबाट भएको मूल्यांकनले यो आयोजनाको एक दशकमै झण्डै तेब्बर भएको हो ।
एकैपटक ६ स्थानबाट निर्माण सुरु
कीर्तिपुर र चन्द्रागिरि नगरपालिकामा पर्ने यो खण्ड विभिन्न ६ स्थानबाट एकैपटक काम सुरु हुँदैछ । सरकारले १३ वर्ष अगाडिनै निर्माण गर्ने औपचारिक घोषणा गरेको यो बाटोको मूर्त रूप दिने काम पहिलो खण्डको ६ किलोमिटरको ६ ठाउँबाटै हुँदैछ । सरकारले २०६१÷०६२ बाट सुरु गरेको यो आयोजनाको पहलिो खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएर भौतिक विकास नै अगाडि बढाउने गरी राजपत्रमा सूचना जारी भएको सापकोटले अन्नपूर्णलाई जानकारी दिनुभयो ।
सापकोटाका अनुसार चोभार, भत्केपाटी, मच्छेगाँउ, सतुगङ, गुर्जुधारा र धवलागिरि आवास आसपासका विभिन्न ६ स्थानबाट एकैपटक बाहिरी चक्रपथ निर्माण सुरु हुँदैछ । एउटा खण्डभित्र पनि हरेक १÷१ किलोमिटरको ब्लक हुनेछ । हरेक ब्लकमा आगामी असारभित्र छुट्टाछुट्टै उपभोक्ता समिति गठन गरेर भौतिक निर्माणको काम अगाडि बढाउने तयारीमा आयोजनाको छ ।
यो खण्ड निर्माण गर्न करिब ६ अर्ब २० करोड रुपैयाँ खर्च हुने अनुमान आयोजनाले गरेको छ । निर्माण प्रक्रिया अगाडि बढाउने सरकारी निर्णय नै ढिलो भएकोले १० वर्ष अगाडि आठ हजार कित्ता मात्रै रहेको यो क्षेत्रको जग्गामा हाल १३ हजार ७६४ कित्ता पुगेको छ । त्यतिबेला जम्मा १४ वटा मात्रै घरपरिवारलाई स्थानान्तरण गर्नुपर्ने भए पनि अहिले करिब दुई सय वटा घर पुगिसकेको आयोजनाले जानकारी दिएको छ । १० वर्ष अगाडि जम्मा दुई अर्बको लागत अनुमान रहको यो खण्ड निर्माण चरणमा जाँदा महँगी र बजार बढेका कारण करिब ६ अर्बको लागतमा अनुमान पुगिसकेको छ ।
स्थानीयलाई विस्थापित नगर्ने
आयोजनाका अधिकृत सापकोटाका अनुसार यो आयोजनाले कसैलाई विस्थापित गर्दैन र कुनै पनि नागरिक सुकुम्बासी पनि हुनु पर्दैन । अहिलेको तुलनामा बाहिरी चक्रपथ बनेपछि १० गुणाले मूल्य बढ्ने यो क्षेत्रका घरजग्गा दुई वर्षपछि फिर्ता गर्दा समान व्यवहार हुने उहाँले बताउनुभयो । उहाँका अनुसार ५० मिटरको मूल सडकमा पर्ने घरको लागि सरकारले तत्कालै उचित क्षतिपूर्ति दिएर स्थानान्तरण गर्ने भएको छ ।
जग्गा विकास गरिसक्दा र व्यवस्थित प्लटिङपछि पनि कम्तीमा चार आनाको जग्गा हुने भएको छ । चार आनाभन्दा कम हुनेका लागि सहुलियत दरमा थपेर दिइनेछ भने यो अयोजनाका लागि गर्नुपर्ने जग्गाको योगदान सबैलाई समान रूपमा गरिने पनि उल्लेख छ । यो योजनका लागि सबै स्थानीयले बाटो बनाउन न्युनतम पाँच प्रतिशत जग्गा पूर्वाधार निर्माणमा योगदान गर्नुपर्छ भने सात दशमलव आठ प्रतिशत जग्गा बाहिरी चक्रपथ निर्माण गर्न योगदान गर्नुपर्छ ।
काठमाडौं, ललितपुर र भक्तपुरलाई जोडेर बन्ने ७२ किलोमिटरको यो बाहिरी चक्रपथकै लागत पनि बढेको छ । २०६४ सालमा गरिएको लगत अनुमान करिब २४ अर्ब मात्रै भए पनि अहिले भने ७२ अर्ब रुपैयाँ अनुमान गरिएको छ । १० वर्षमा बढेको महँगी, जग्गाको भाउ, प्रविधि र विदेशी मुद्रा विनिमयसहितको सम्पूर्ण पक्षबाट भएको मूल्यांकनले यो आयोजनाको लागत झन्डै तेब्बर हुन पुगेको हो ।
चक्रपथ १२ वटा खण्डमा
बाहिरी चक्रपथको पूर्ण दूरी ७२ किलोमिटर भने १२ वटा खण्डमा तयार हुँदै छ । हरेक खण्ड ६किलोमिटरका दरले १२ वटासम्म प्याकेज निर्माण हुने उल्लेख छ । यो आयोजनका लागि हरेक चरणको काम सुरु भएको दुई वर्षमा पूरा हुने पनि उल्लेख छ । अहिले पहिलो चरणको भएको जम्मा ६ किलोमिटरको मात्रै दूरीमा काम भएको छ । अर्को वर्ष दुईभन्दा बढी खण्डमा एकैपटक काम हुने पनि आयोजनाको भनाइ छ ।
यो आयोजनामा चार वटा फ्लाइओभर हुन्छ । आयोजना सुरू भएको १० वर्षमा सबै ७२ किलोमिटरकै दुरीको निर्माण पूरा हुने उल्लेख छ । फ्लाइ ओभरमा पूर्वमा अरनिको राजमार्ग, पश्चिममा त्रिभुवन राजपथ, दक्षिणमा फास्टट्र्याक र उत्तरमा केरुङ जाने बाटोमा हुनेछ ।
५० मिटरको आठ लेन सडक
यो बाहिरी चक्रपथ निर्माण हुँदा ५० मिटरको आठ लेनको सडक हुनेछ । बाटोको केन्द्रबाट दायाँबायाँ २५०÷२५० मिटर दायाँ बायाँको जग्गा अधिग्रहण हुँदैछ । सडकको दाया बायाँको उक्त जग्गामा ११ मिटर, आठ मिटर र ६ मिटरको बाटो हुन्छ । यसका कारण यो क्षेत्र व्यवस्थित वस्तिसहितको आकर्षक घडेरी पनि हुन्छ ।
सडकका लागि बाहिरी चक्रपथ विकास आयोजनाले आगामी एक साताभित्र १३ हजार सात सय ६४ कित्ता जग्गा अधिग्रहण गर्ने भएको छ ।

No comments:

Post a Comment