Sunday, June 18, 2017

मधेसको आडमा थरूहट

पत्र पत्रिका बाट  -साभार

http://www.nagariknews.com/news/22038/

आइतबार, ०४ असार २०७४, ०८ : ०७ देवेन्द्र बस्नेत
दाङ- मधेसबाट सुरु भएको 'एक मधेस एक प्रदेश' आन्दोलन बिरुद्ध पश्चिम तराईबाट उदाएको 'थरूहट' आन्दोलन अन्ततः मधेसकै आडमा निर्भर हुन पुगेको छ। नेतृत्वमा आएको 'छिन्नभिन्न' ले अधिक कमजोर बनेको थरूहटले आफ्नो एकल आन्दोलनको सामर्थ्य पूर्णरूपमा गुमाइसकेको छ। अन्ततः 'मधेसको आड' उसको आन्दोलनको एकमात्रै विकल्प जस्तै बनिसकेको छ।
'थरूहट आन्दोलन अब मधेससँगको सहकार्यबिना टुंगोमा पुग्न पक्कै सक्दैन,' थरुहठ आन्दोलनका अगुवा तथा फोरम लोकतान्त्रिकका सचेतक योगेन्द्र थारूले भने, 'थरुहट आन्दोलनले उठाएका मुद्दाहरूको निष्कर्षमा पुग्ने हो भने मधेस आन्दोलनसँगको सहकार्य अनिवार्य जस्तै बनिसकेको छ।' यसर्थ थरूहटले मधेसमा आन्दोलतरत राष्ट्रिय जनता पार्टीले थालेको आन्दोलनलाई जायज देखेको छ। साथै सोही आन्दोलनमा 'विलय' भएर मधेस आन्दोलनको आडमा आफ्ना मुद्दा स्थापित गराउने योजना थरूहटले बुनेको छ। राजपाकै अडान सरह  निर्वाचन अघि 'सहमति' हुनुपर्ने थरूहटले पनि दुई नम्बर प्रदेशमा निर्वाचन सारिनु सकारात्मक देखेको छैन। 'सबै समस्या समाधान गरेर निर्वाचन एकैपटक गरिनुपर्छ भन्ने हाम्रो पनि मान्यता हो,' सांसद चौधरीले भने, 'यसर्थ राजपाले उठाएको आन्दोलनको बिषयमा थरूहट पूर्ण सहमत छ।'
थरूहटलेे संविधान संशोधन र स्थानीय तहको संख्या थपलाई मुख्य मागका रूपमा प्रस्तुत गरेको छ। संविधान संशोधन गरेर मात्रै निर्वाचन गरिनु पर्ने अडानलाई कायमै राखेको थरूहटलेे यो बिषयमा सहमति नहुँदासम्म निर्वाचनको पक्षमा जान नसकिने बताउँदै आएको छ। यसैगरी जनसंख्याका आधारमा स्थानीय तह थप गरिनु पर्ने मुद्दालाई प्रमुख रूपमा उठाएको छ। 'स्थानीय तह थप भयो भने स्थानीय तहका जनताका लागि हरेक दृष्टिले फलदायी हुने कुरा हो,' थरूहटआन्दोलनकी अर्की अगुवा तथा सांसद रुक्मिणी चौधरीले प्रश्न गरिन्, 'जनताकै हितका लागि हामीले बोलेको कुरा किन नसुन्ने? यो मुद्दा के थारू समुदायको मात्रै हो?'
तथापी यी माग पूरा गर्न थरूहटएक्लै सक्षम छैन। अन्ततः उही माग उठाउँदै आएको राजपा थरूहटको बलियो आड बनिदिएको छ। 'उहाँ (राजपा) र थरूहटकाबीच यी मुद्दा साझा बनेका छन्,' उनले भनिन्, 'तर बाँकी मुद्दामा हामी फरक छौँ।' राजपासँगको सहकार्यमा आन्दोलन गरेर थारु मुद्दा स्थापित गर्न चाहेको थरूहटलेे यसका लागि औपचारिक निर्णयको पहल समेत गरिरहेको छ।
थरूहट आन्दोलनका घटक र राजपाबीच अहिले दुबै पक्षको 'एक आन्दोलन' गर्ने भन्नेबारे छलफल चलिरहेको र औपचारिक निर्णय हुन सके सहकार्य गरेर आन्दोलनमा जाने चौधरीले बताईन्। आन्दोलनमा सहकार्य गरेर जान सकिने बिषयमा भैरहेको प्रयास सकारात्मक भैरहेको बताइएको छ। मधेस मुद्दालाई मात्रै उठान गर्दै आएका राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले पनि थरूहठको मुद्दालाईसमेत उठाएर आन्दोलन गर्ने जनाउ दिनुलाई पनि मधेस आन्दोलनमा थरूहट पनि मिसिने बलियो आँकलन गर्न सकिन्छ।
तथापी राजपाको अहिलेको आन्दोलनप्रति आफूहरूको सहमति भएपनि थरूहट स्वयं आन्दोलनमा निस्कने मनस्थितिमा भने छैन। उसले दुईपक्षिय वार्ताको औपचारिक निर्णय खोजेको छ। 'हामीहरूसँगै आन्दोलन गरेर जाने भन्ने बिषयमा केन्द्रीत बनिरहेका छौँ, यो बिषयमा राजपाका नेताहरूसँग पनि अहिले छलफल भैरहेको छ,' उनले भनिन् 'मधेससँगसँगै आन्दोलन गरेर जाने भन्ने बिषय असम्भव होइन।' कित्ताकित्तामा निर्वाचन गरेर विखण्डनको बिजारोपण गर्न खोजिएको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरूहटकी अध्यक्ष समेत रहेकी रुक्मिणीले भनिन् 'दुई नम्बरमा मात्रै होइन, तराईको पूरै भूभागमा निर्वाचन एकै पटक गरिनुपर्छ।' वर्तमान सरकारले थरूहटका मुद्दा सम्वोधन गर्ने लिखित सहमतिसमेत गरेको उल्लेख गर्दै त्यो सहमति कार्यान्वयनको पर्खाइमा पनि आफू रहेको बताइन्। संविधान संशोधन, स्थानीय तहको संख्या थप, तथा थरूहट आन्दोलनका पीडितलाई राहत दिएर तीन बुँदे सहमति आफूसँग भएको उनको भनाइ छ।
मधेसको निर्भरतामा रहेको थरूहट आफू विलय भएकै कारण एकल आन्दोलनबाट पूर्णरूपमा असक्षम भएको यो आन्दोलनकै अगुवा स्वयं बताउँछन्। आन्दोलनकी अगुवामध्येकी सांसद गंगा थारूले भनिन्, 'सरकारमा जानका लागि खुट्टा उठाउँने प्रवृत्तिकै कारण थरूहटआन्दोलन विलय भएको हो।' फोरम लोकतान्त्रिकका सचेतक योगेन्द्र चौधरीप्रति इंंगित गर्दै उनले थपिन्, 'थारू मुद्दाको कुरा चाहिँ गर्ने, अनि सरकारवादी भएपछि कसरी आन्दोलन सफल बन्छ?' एकल आन्दोलन सफल हुन नसक्ने भएकै कारण मधेश आन्दोलनसँगको सहकार्य गंगाले पनि आवश्यक देख्छिन्। केही मुद्दा समान रहेकाले पनि आन्दोलनमा सहकार्य उपयुक्त हुने उनको बुझाइ छ। 'उहाँहरूले सहकार्य गरेर आन्दोलनमा जाने बिषयमा पहल थाल्नु पर्थ्यो,' गंगाले भनिन्, 'तर मसँग अहिलेसम्म उहाँहरूले संयुक्त आन्दोलनका बिषयमा कुराकानी गर्नुभएको छैन।'
एक मधेस प्रदेशको माग राख्दै मधेसमा गरिएको आन्दोलनले तराईबासी थारूलाईसमेत मधेसमा गाभ्ने नियोजित षडयन्त्र हुन थालेको भन्दै २०६४ देखि थरूहट आन्दोलनको उदय भएको थियो। एक मधेश प्रदेशको आन्दोलनलाई काउन्टर गर्न थरूहटक्षेत्र पश्चिम तराईबाट थरूहट स्वायत्त प्रदेशको मागसहित आन्दोलन थालिएको थियो। यही आन्दोलनकै क्रममा दर्जन नागरिकको मृत्युसमेत भयो।  थरूहट आन्दोलनकै नाममा थरूहटलेाई जोडेर विभिन्न पार्टीहरू समेत निर्माण भए। तर ती दलहरू अधिकांश अहिले विलय भैसकेका छन्। थरूहटका नाममा खोलिएका पार्टीको नामोनिसान नै मेटाएर नेताहरू अधिकांश मधेसवादी दलमै विलय भएका छन्। यसर्थ पनि थारूहरूको मुद्दा कमजोर बन्दै गएको जानकाहरू बताउँछन्।
रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरूहटमात्रै आन्दोलनको नाममा खुलेको पार्टी जीवित छ। थरूहट आन्दोलनको नेतृत्व योगेन्द्र चौधरी, र लक्ष्मण थारूले गरेका थिए। यो आन्दोलनका कारण नै राजनीतिमा स्थापित बनेका उनीहरू दुबै जना मधेसवादी दल बिजयकुमार गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिकमा प्रवेश गरे। अहिले योगेन्द्र फोरम लोकतान्त्रिकका सचेतक छन् भने लक्ष्मण थुनामा छन्। यस्तै अर्का नेतृत्वकर्ता रामजनम चौधरी पनि फोरम लोकतान्त्रिकमा छन्। उनी यही दलबाटै मन्त्री समेत बनिसकेका छन्। आन्दोलनका अर्की अगुवा थरूहट तराई पार्टी नेपालकी गंगा थारूले पनि थरूहट आन्दोलनका नाममा खोलिएको दल त्यागिसकेकी छन्। उनी अहिले बाबुराम भट्टराई नेतृत्वको नयाँ नेपालमा प्रवेश गरेकी छन्। उनीसँगै थुप्रै नेता नयाँ शक्तिमा प्रवेश गरेको पनि उनले बताइन्। आन्दोलनका अर्का नेतृत्वकर्ता आदिवासी जनजाती महासंघका पूर्व अध्यक्ष राजकुमार लेखी सद्भावना पार्टीमार्फत अहिले मधेसमा आन्दोलनरत राजपामा छन्। उनी राजपाका केन्द्रीय सदस्य हुन्।
तथापी पार्टी परिवर्तन भएपनि आफूहरू थारू मुद्दाबाट विचलित नभएको दाबी नेताहरूको छ। आफूहरूलाई आन्दोलनका नाममा नेतृत्वले राजनीतिक भर्‍याङ् बनाएको भन्दै स्थानीय तहमा थरूहट आन्दोलनप्रति बितृष्णा बढिरहेको छ। उनीहरूले मधेशसँगको सहकार्यलाई अनुपयुक्तसमेत भन्दै आएका छन्।

No comments:

Post a Comment