Monday, June 19, 2017

मेलम्ची खानेपानी आयोजना- सुरुङ खन्न २९ सय मिटर बाँकी

पत्र पत्रिका बाट  -साभार

http://kantipur.ekantipur.com/news/2017-06-20/20170620075704.html

- दीपेन्द्र विष्ट, काठमाडौं
असार ६, २०७४- मेलम्ची खानेपानी आयोजनाले सुरुङ खन्न २९ सय मिटर मात्र बाँकी रहेको जनाएको छ । आयोजनाका अनुसार सिन्धु–ग्यालथुम, ग्यालथुम–अम्बाथानसम्मको केही भाग खन्न बाँकी छ । आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले सिन्धुदेखि ग्यालथुम खण्डको केही भौगर्भिक अवस्था कमजोर भएकाले सोचेजति सुरुङ खन्न नसकिएको बताए ।
‘भौगर्भिक अवस्था निकै कमजोर छ, संवेदनशील पनि उत्तिकै छ,’ उनले भने, ‘तैपनि ठेकेदारलाई चाँडो पूरा गर्न निर्देशन दिएका छौं ।’
सुन्दरीजलदेखि सिन्धुसम्म करिब ९ किमि सुरुङ खन्ने काम ६ महिनाअघि सम्पन्न भइसकेको छ । उनले दैनिक १७ मिटर जति खन्ने काम भइरहेको बताए । पुराना औजार, कमजोर भूगोललगायत कारणले सुरुङ खन्न ढिलाइ भएको उनको भनाइ छ । ‘काम सकिने बेला भएकाले ठेकेदारले नयाँ औजार ल्याउन मानिरहेको छैन, जे छन् तिनीहरूलाई नै मर्मत गरी काम चलाउन चाहन्छ,’ उनले भने, ‘त्यस कारण अनुमान गरेको समयमा सुरुङ खन्न सकिँदैन कि भन्ने लागेको छ ।’
सरकारले आगामी असोजमा मेलम्चीको पानी उपत्यका ल्याउने प्रतिबद्धता जनाएको छ । तर, निराशाजनक अवस्था नरहेको भन्दै उनले असोजमा पानी ल्याउन नसके पनि फागुनसम्ममा सुरुङ निर्माणको सबै काम पूरा हुने दाबी गरे ।
‘सुरुङ खन्न मात्र ठूलो कुरा होइन, भित्री ढलानदेखि त्यसको संरचना बलियो बनाउनुपर्छ,’ उनले भने, ‘सुरुङ खन्नेबित्तिकै पानी आउँछ भन्ने होइन । सिन्धु अडिटदेखि सुन्दरीजलसम्म सबभन्दा लामो सुरुङ खण्ड हो । त्यो जोडिइसक्यो, सम्पूर्ण सुरुङको ८५ प्रतिशत काम पूरा भइसकेको छ ।’ तीनवटा अडिटमध्ये सुन्दरीजल–सिन्धु (साढे ९ किमि), सिन्धु–ग्यालथुम (८ किमि) र ग्यालथुम–अम्बाथान अडिट (९ किमि) छन् । ‘अम्बाथानमा हेडवर्कको निर्माण पनि तीव्र गतिमा भइरहेको छ,’ उनले भने, ‘सबैतिर काम सन्तोषजनक रूपमा भइरहेको छ ।’
त्यसैगरी ३ स्थानमा सुरुङभित्रको हावा बाहिर निकाल्न भेन्टिलेर निर्माणका लागि जग्गा मुआब्जा तथा अन्य कानुनी प्रक्रिया पनि पूरा गरिसकिएको उनले बताए । सिन्धु, शिवपुरी वन्यजन्तु आरक्ष र ग्यालथुम खण्डमा भेन्टिलेटर निर्माण हुने आयोजनाले जनाएको छ ।
दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट पानी ल्याउने तयारीसमेत भइरहेको उनले जानकारी दिए । ‘१ वर्षभित्र याङ्ग्री र लार्के खोलामा सुरुङको डीपीआर तयार हुन्छ,’ उनले भने, ‘डीपीआर तयार हुनेबित्तिकै निर्माण अघि बढ्छ ।’ मेलम्चीबाट याङ्ग्रीबीचको सुरुङको लम्बाइ ९ किमि र याङ्ग्री–लार्केबीचको सुरुङको लम्बाइ करिब २ किमि रहेको आयोजनाले जनाएको छ । याङ्ग्रीसम्म सडकको पहुँच भए पनि लार्केमा पुर्‍याउन कठिन रहेको उनले बताए ।
मेलम्चीदेखि लार्केबीचको सुरुङको लम्बाइ ११ किमि छ । मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानी ट्यांकीमार्फत उपत्यकाका ३५ लाख बढी जनतालाई समानुपातिक ढंगले वितरण गरिने उनले बताए । १७ करोड मेलम्ची, १७ करोड याङ्ग्री र १७ करोड लार्के खोला गरी दैनिक ५१ करोड लिटर पानी उपत्यकामा ल्याइनेछ । हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सुन्दरीजललगायत विभिन्न स्थानबाट ल्याएको पानी वितरण गर्दै आएको छ ।
केयूकेएलले उपत्यकामा दैनिक ३८ करोड लिटर पानी आवश्यक भए पनि १२ करोड लिटर मात्र आपूर्ति गर्दै आएको छ । बर्खामा भने उपत्यकामा १७ करोड लिटर पानी आपूर्ति हुन्छ ।  उनका अनुसार ८० हजार धारामध्ये ३८ हजार जडान गरिसकिएको छ ।
प्रकाशित: असार ६, २०७४

No comments:

Post a Comment