Sunday, June 18, 2017

भेडे खुर्सानीको व्यावसायिक खेती

पत्र पत्रिका बाट  -साभार
http://kantipur.ekantipur.com/news/2017-06-18/20170618084607.html

- कान्तिपुर संवाददाता , सिद्देश्वर (पाल्पा)
असार ४, २०७४- यहाँ भेडे खुर्सानी (क्याप्सिकम) को व्यावसायिक खेती सफल भएको छ । रैनादेवी छहरा १ सिद्देश्वरस्थित देउले अर्चलेमा प्लास्टिक मल्चिङ र डिप इरिगेसन (थोपा सिँचाइ) प्रविधिमा आधारित रहेर खेती गरिएको हो । पहाडी भेगमा पहिलोपटक २० रोपनी क्षेत्रफलमा खुर्सानी लगाइएको छ । जिल्ला कृषि कार्यालयका अनुसार तराईमा सफल यो खेती पहाडमा यति धेरै क्षेत्रफलमा लगाइएको छैन ।
२७ वर्षीय सुदर्शन पन्त र दुर्गा पन्तले २० लाख लगानीमा यसै वर्षदेखि खुर्सानीको व्यावसायिक खेती थालेका हुन् । इजरायली प्रविधिमा गरिएको खेती सिक्न भारत र चितवन पुगेको पन्तले बताए । यातायातको सुविधा भएकाले बजारलाई खासै समस्या छैन । ‘मेरो आफ्नै जग्गा हो,’ पन्तले भने, ‘जोखिम मोलेरै यसको परीक्षण गरेकोमा सफल भएका छौं ।’
उनका अनुसार यसको मुख्य बजार बुटवल, तानसेन र गुल्मी हो । हरियो हाइब्रिड जातको भेडे खुर्सानी लगाइएको पन्तले छ । ‘सातामा दुईपटक हार्भेस्टिङ गर्दा नै २० क्विन्टल उत्पादन भएको छ,’ उनले भने, ‘अब एकपटकमा १० क्विन्टल निस्कने अनुमान छ ।’ दुर्गा पन्तले बुटवलमा बजार व्यवस्थापन गर्छन् । फर्म व्यवस्थापन सुदर्शनले गर्दै आएका छन् । यसपटक लगाएको खुर्सानीबाट १५ देखि २० लाखको बिक्री हुने अनुमान गरेका छन् ।
दैनिक भेडे खुर्सानी टिप्नेदेखि गोडमेल गर्ने काममा ५–७ जना कामदार खटिने गरेका छन् ।
जिल्ला कृषि विकास अधिकृत किशोरमान श्रेष्ठले युवा लक्षित कार्यक्रमबाट नगद साथै प्राविधिक सहयोग दिएको बताए । ‘मुख्यतया प्राविधिक सहयोग दिएका छौं,’ उनले भने, ‘आगामी दिनमा कार्यक्रम अनुसार दिन मिल्ने सहयोग दिने नै छौं ।’
प्रकाशित: असार ४, २०७४


http://kantipur.ekantipur.com/news/2017-06-18/20170618084607.html

No comments:

Post a Comment