Thursday, June 1, 2017

‘इम्बोस्ड’ नम्बर प्लेटमा ७ अर्ब खर्च हुँदै

पत्र पत्रिका बाट  -साभार 

http://www.karobardaily.com/news/79395

‘इम्बोस्ड’ नम्बर प्लेटमा ७ अर्ब खर्च हुँदै 

     
समाचार प्रतिनिधि स्केच
काठमाडौंः सवारीसाधनमा प्रयोग गर्न लागिएको उच्च प्रविधियुक्त नम्बर प्लेट ‘इम्बोस्ड’का लागि सवारीधनीले करिब ७ अर्ब रुपैयाँ खर्चनुपर्ने भएको छ । सवारीको वर्गअनुसार इम्बोस्ड नम्बर प्लेटको शुल्क सिफारिस भएको छ । सिफारिस कार्यान्वयन भए सेवाग्राहीबाट राज्यले ठूलो रकम असुल्ने देखिएको हो ।  
इम्बोस्ड नम्बरका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको समितिले शुल्क निर्धारण गरेको हो । समितिले  न्यूनतम २५ सयदेखि ३६ सय रुपैयाँसम्म लागत राख्दै तीन तहको शुल्क सिफारिस गरेको छ । हाल देशभर २६ लाखभन्दा बढी सवारी दर्ता भएका छन् । यी सबैले यस्तो नम्बर लिनुपर्ने भएकाले राज्यले यसबाट अर्बौं आम्दानी गर्ने देखिएको छ । 
सवारी तथा यातायात व्यवस्था ऐन ०४९ ले परिकल्पना गरेको उच्च प्रविधिको यस्तो नम्बर प्लेट अब भने लागू हुने चरणमा छ । वैशाखदेखि नै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने भनिए पनि नम्बर प्लेटको लागत निर्धारण नहुँदा कार्यान्वयनमा आउन सकेको थिए । मन्त्रालयले सवारीसाधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेटको लागत यसैसाता सिफारिस गरेको हो ।
मन्त्रालय अन्तर्गतको कमिटीले गरेको सिफारिसअनुसार मोटरसाइकल तथा स्कुटर धनीले इम्बोस्ड नम्बर जडानमा २ हजार ५ सय  रुपैयाँ  खर्च गर्नु पर्नेछ । यसैगरी कार,जिप,भ्यान तथा ट्र्याक्टरले ३ हजार २ सय र यसबाहेकका सबै प्रकारका ठूला सवारी साधनले इम्बोस्ड नम्बर जडान गर्दा ३ हजार ६ सय रुपैयाँ  खर्च गर्नुपर्ने छ ।
समितिले सिफारिस गरेको उक्त मूल्य मन्त्रालयले सदर गरी मन्त्रिपरिषद्मा पेश गर्नुपर्नेछ । मन्त्रिपरिषद्ले पास गरेपछि अनुसूचि परिवर्तन गरी कार्यान्वयनमा ल्याउने यातायात व्यवस्था विभागले जनाएको छ । चालू आर्थिक वर्षको ८ महिनासम्मको तथ्यांकअनुसार देशभर २६ लाख २ हजार ९ सय ८६ सवारीसाधन दर्ता भएको विभागको तथ्यांकमा देखिएको छ ।
यही तथ्यांकलाई आधार मान्दा ३ हजार ६ सय रुपैयाँको इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सवारी (बस, मिनीबस÷ट्रक, डोजर÷लोडर, ट्रक÷टिपर लगायत) को संख्या करिब १ लाख ५० हजार ७ सय ५१ छ । यी सवारीमा इम्बोस्ट नम्बर प्लेट जडान गर्दा ५४ करोड २७ लाख ३ हजार ६ सय रुपैयाँ लाग्छ । यस्तै, मोटरसाइकल÷स्कुटरको संख्या २० लाख ३४ हजार ९ सय ३६ छ, जसको लागत ५ अर्ब ८ करोड ७३ लाख ४० हजार रुपैयाँ पर्छ ।
हलुका चारपांग्रे सवारी (कार÷जीप÷भ्यान, पिकअप, माइक्रो, ट्याक्टर लगायत) को संख्या ३ लाख ९६ हजार ६ सय २१ रहेको भने यसको लागत करिब १ अर्ब २६ करोड ९१ लाख ८७ हजार २ सय पर्ने देखिन्छ । त्यस्तै देशभर दर्ता भएका ई–रिक्साको संख्या २० हजार रहेको छ जसको नम्बर प्लेट लागत ३ हजार २ सय जोड्दा कुल ६ करोड ६१ लाख ६९ हजार ६ सय रुपैयाँ पर्नेछ ।
यसरी हाल दर्ता भएका सबै सवारीको इम्बोस्ड नम्बर प्लेट लागत ६ अर्ब ९६ करोड ५४ लाख ४ सय रुपैयाँ पर्ने देखिन्छ । सवारी संख्या दिनदिनै थपिने क्रममा रहेकाले इम्बोस्ड नम्बर प्लेटका लागि गरिने खर्च बढ्दै जान्छ ।  
मन्त्रालयको मूल्य सिफारिस समितिले इम्बोस्ड नम्बर जडानमा सवारीधनीले तिर्नु पर्ने मूल्य निर्धारण गरेको यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले जानकारी दिए ।
“सवारी तथा यातायात व्यवस्था ऐनले अनुसूचि परिवर्तन गर्ने अधिकार सरकारलाई दिएकाले मन्त्रालयले उक्त सिफारिस मन्त्रिपरिषद्मा पेश गर्नेछ,” उने भने, “अब इम्बोस्ड नम्बर प्लेट जडानको काम छिट्टै अघि बढ्नेमा हामी आशाबादी छौं ।” विभागले अब अनुसूचि संशोधन भएर आएको एक साताभित्रै सरकारी सवारी साधनबाट इम्बोस्ट नम्बर प्लेट जडानको काम अगाडि बढाउने योजना बनाएको छ । 
सवारीको वर्गअनुसार इम्बोस्डको लागत
  • मोटरसाइकल,स्कुटर – २५ सय
  • कार/जिप/भ्यान र ट्र्याक्याट– ३२ सय
  • ठूला सवारी – ३६ सय
     
पाँच वर्षभित्र दशभरका सबै सावरी साधनमा इम्बोस्ड नम्बर जडानको लागि अनुमति पाएको बंगलादेश र अमेरिकी संयुक्त कम्पनी डेकाटोर टाइगरले प्लेटको नमूना समेत तयार गरिसको छ ।
विभागले नमूना प्लेट जडान गर्ने तयारीमै कानुनी अड्चन आएपछि अनुसूचि संशोधन प्रक्रिया अघि बढाएको थियो । सरकारी सवारीसाधनसँगै निजी तथा सार्वजनिक सवारी साधनमा समेत इम्बोस्ड नम्बर प्लेट जडानको काम सुरु हुनेछ ।
इम्बोस्ड नम्बर प्लेट जडानसँगै सवारी चोरीको समस्या अन्त्य हुने र लामो समयदेखि करको दायारभन्दा बाहिर रहेका सवारी साधन पनि करको दायरामा आउने विभागको विश्वास छ । 
के हो इम्बोस्ड नम्बर ?
एउटा सवारीसाधनमा अगाडि र पछाडि दुइवैतर्फ इम्बोस्ड नम्बर प्लेट जडान हुनेछ । त्यही प्लेटमा प्रयोग भएको स्टिकरलाई ‘आरएफआईडी स्टिकर’ भनिन्छ । यही स्टिकरलाई आरएफआईडी ट्र्याकिङ गेटमा प्रयोग भएको ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइस’ले क्याप्चर गरेर सम्पूर्ण विवरण हेर्नेछ ।
यसको माध्यमबाट सवारीसाधन कहाँ बनेको, कसको हो, कसले प्रयोग गरिरहेको छ, कुन ठाउँको कहाँ पुगेको छ, जस्ता सबै तथ्य यातायात व्यवस्था विभाग कार्यालय अथवा ट्राफिक कक्षमा बसेर थाहा पाउन सकिन्छ ।
सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट प्रयोग गरिसकेपछि ५ देखि १० वर्षसम्म परिवर्तन गर्नु नपर्ने हुन्छ । परिवर्तन गर्नुपरेमा प्लेट कसेको लक नै काट्नुपर्ने हुन्छ । सवारीसाधन दुर्घटनामा परेर टुट्फुट भएमा मात्र प्लेट परिर्वतन गर्न सकिन्छ । 

No comments:

Post a Comment