Tuesday, June 20, 2017

असार लागेपछि कान्तिलोकपथमा कालोपत्र शुरू

पत्र पत्रिका बाट  -साभार

http://www.abhiyan.com.np/new/Articles/view/99847 २०७४-०३-७ मा प्रकाशित      

असार लागेपछि कान्तिलोकपथमा कालोपत्र शुरू
हेटौंडा । काठमाडौंसँगै मध्यतराई जोड्ने सबैभन्दा छोटो राजमार्गको रूपमा रहेको कान्तिलोकपथमा असार लागेपछि कालोपत्रको काम शुरू भएको छ । हेटौंडाको बुद्धचोकबाट ७ किलोमिटर पूर्वमा रहेको चुच्चेखोलाबाट कालोपत्र शुरू गरिएको हो । कालोपत्रको जिम्मा पाएको मोतीदान कन्ष्ट्रक्शनले जिल्लाकै नमूना कालोपत्र गर्न शुरू गरेको बताएको छ ।
चुच्चेखोलादेखि जीतपुर भञ्ज्याङसम्मको कुल १५ दशमलव ५ किमी सडकखण्डमा उक्त कम्पनीले कालोपत्रको काम गरिरहेको डिभिजन सडक कार्यालय मकवानपुरले जानकारी दिएको छ । कन्ष्ट्रक्शनले सडक कार्यालयका प्राविधिक प्रतिनिधिको उपस्थितिमा अन्तरराष्ट्रिय गुणस्तरको कालोपत्र गरिरहेको कम्पनीका प्रबन्धनिर्देशक विकास गौतमले जानकारी दिए ।
‘मल्टी एक्सलबेस’मा कालोपत्र
हालसम्म नेपालका सबै राजमार्गमा गरिएको कालोपत्र ‘सिङ्गल एक्सलबेस’ भएको तर कान्तिलोकपथमा ‘मल्टी एक्सलबेस’ कालोपत्र गरिएको उनको भनाइ छ । अत्यधिक भारवाहक सवारीसाधन सञ्चालन गर्न आवश्यक पर्ने बाक्लो कालोपत्रे सडक नमूनाको रूपमा निर्माण गर्ने काम भइरहेको गौतमले बताए । कालोपत्र गर्न आवश्यक अलकत्राको तापक्रमसमेत व्यवस्थापन गरिएको उनले दाबी गरे ।
सडक कार्यालयका इञ्जिनीयर रमेशकुमार पाण्डेले कान्तिलोकपथ आयोजनाको काम जतिसक्दो चाँडो सम्पन्न गर्न निर्माण व्यवसायीले लगनशील भएर काम गरिरहेको बताए । गुणस्तरीय कालोपत्र शुरू भएपछि स्थानीयसमेत खुशी भएको हेटौंडा–६ का उत्सव चौलागाईंले बताए ।
२०१३ सालदेखि ट्र्याक खन्न शुरू गरिएको कान्तिलोकपथ २०१६ सालमा तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेका थिए । तर, सोही वर्षको वर्षामा कान्तिलोकपथमा ठूलो पहिरो गएपछि ५० वर्षसम्म सवारीसाधन सञ्चालनमा आउन सकेको थिएन । २०६५ सालदेखि सरकारले कान्तिलोकपथलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेपछि पछिल्लो वर्ष सडक निर्माणको कामले तीव्रता पाएको हो ।
ट्र्याक विस्तार हुँदै
दोहोरो सवारी सञ्चालन गर्न मिल्ने गरी ट्र्याक विस्तारको काम भइरहेको हेटौंडा–सातदोबाटो ९० किमीको कान्तिलोकपथ सडकमा अहिले ९ ओटा कम्पनीले काम गरिरहेको आयोजनाका सम्बद्ध अधिकारीले जानकारी दिएका छन् । २०७५ सालसम्म पूर्णरूपमा काम सम्पन्न गरी सडक सञ्चालन गर्ने लक्ष्य राखेको आयोजनाले हेटौंडादेखि मकवानपुरगढीको जीतपुर भञ्ज्याङसम्म चालू आवमै कालोपत्रे गरिने बताएको छ ।

No comments:

Post a Comment