Wednesday, June 14, 2017

वर्षका उत्कृष्ट मध्येका पनि सर्वोत्कृष्ट कृषकका

पत्र पत्रिका बाट  -साभार
यो वर्षका उत्कृष्ट मध्येका पनि सर्वोत्कृष्ट कृषकका रुपमा हरिपुर नगरवालिका ९, पिडारी सर्लाहीका अफजल हुसेनलाई पुरस्कार प्रदान गरिएको छ । पुरस्कृत कृषकले कृषिबाट सबै नेपालीको समुन्नति सम्भव रहेको बताएका छन् । सर्वोत्कृष्ट कृषक हुसेन आफ्नो उखु मिलको पेशा छाडेर ०६९ सालदेखि साढे १ बिघा जमिनमा पंगास माछाको पालनसँगै व्यावसायिक कृषिमा संलग्न छन् । वार्षिक २ सय टन माछा उत्पादन गर्दै आएका उनको वार्षिक आम्दानी ३ करोडको छ ।
उत्कृष्ट पुरस्कार पाएका नवलपरासीका रजाली मगर पत्रकारितामा स्नातक गरी स्थानीय रूपमा पत्रकारिता गर्दा गर्दै व्यावसायिक कृषिमा लागेका हुन् । ०६८ सालदेखि तरकारी खेतीमा लागेका उनको कमाइ वार्षिक २० लाख रुपैयाँ छ ।
“मलाइ कोदालो खन्न पनि आउँदैन थियोे, व्यवहारले थिचेपछि मुलुकमै केही गरौं भनेर लागें,” संघर्षको कथा सुनाउँदै उनले भने, “श्रीमतीको गहना बेचेर आएको १७ हजार, दिदीसँग सापटी लिएको २५ हजार र थप पाँच हजार गरी ४७ हजारको लगानीमा सुरु गरिएको संघर्षले आजको दिन आएको हो ।”
कृषिमा लागे नेपालमै आर्थिक प्रगति गर्न सकिने भएकाले युवाहरूलाई स्वदेशमै स्वरोजगार बन्न प्रेरित गर्नुपर्नेमा जोड दिन्छन् । अर्की उत्कृष्ट कृषक पाँचथरकी लावती सुन्तला खेती गरेर गाउँमै नमुना बन्दै आएकी छन् । डडेलधुराका विष्ट २० रोपनीमा घाँख खेती तथा बाख्रापालनमा सफल छन् । बाँकेका जबरा साढे ४ हेक्टरमा माछाका भुरा उत्पादन गर्दै आएका छन् ।
उनीहरू कृषि र कृषकलाई सम्मान गरेकोमा खुशी व्यक्त गरेका छन् । उनीहरूले सरकारको मुख ताकेरभन्दा आफ्नै मेहनतले सफलता हात पार्न सकिन्छ भन्दै युवालाई कृषि क्षेत्रमा लाग्न सुझाव दिएका छन् । सरकारले पनि नीति, कार्यक्रम तथा प्राविधिक रूपमा कृषकलाई सहयोग गर्नुपर्ने उनीहरूको धारणा छ ।

No comments:

Post a Comment