Sunday, October 1, 2023

‘भिआइपी’ ठग, जसले एकल महिलादेखि निमुखा किसानसम्मलाई जालमा पारे

 ‘भिआइपी’ ठग, जसले एकल महिलादेखि निमुखा किसानसम्मलाई जालमा पारे (nayapatrikadaily.com)

‘भिआइपी’ ठग, जसले एकल महिलादेखि निमुखा किसानसम्मलाई जालमा पारे 

काठमाडौं जिल्ला प्रहरी परिसरमा मात्र २७ जाहेरी, १८ करोड ठगीको एउटै जाहेरी 

उद्योगमा साझेदार बनाउने आश्वासनपछि कैलालीको धनगढी उपमहानगरपालिका– ४ की निम्मी थापा दोलखाको मेलुङ गाउँपालिका– १ दियालेखर्कका ३९ वर्षीय दिनेश कोइरालासँग नजिकिइन् । भएभरको सबै सम्पत्ति सहकारीमा राखेर १८ करोड थमाइदिइन् । अहिले सोही रकम उनका लागि गलपासो बनिदिएको छ । 


सामाजिक सञ्जालमार्फत भेट भएको थियो दिनेशसँग । चिल्लो गाडीमा टिपटप शैलीमा हिँड्ने दिनेशले उनलाई उद्योगको साझेदार बनाउँछु भने । उनले दिनेशको प्रस्तावलाई सुरुमा टारिदिइन् । तर, दिनेशले हार मानेनन् । दुईबीच सामाजिक सञ्जालमार्फ संवाद चल्दै गयो । नयाँ–नयाँ प्रस्ताव राख्ने क्रम जारी रह्यो । वर्ष दिनसम्मको दोहोरो संवाद र भेटघाटपछि अन्ततः थापा दिनेशको विश्वासमा परिन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारी भन्छन्–
दिनेश ठगको पनि महाठग हो । यसले विशेषगरी एकल महिलालाई ठगी गरेको देखिन्छ । पछिल्लो एउटै जाहेरी १८ करोडको छ । त्यस्ता जाहेरी हामीकहाँ मात्रै २७ वटा पुगेका छन् । अन्य जिल्लामा पनि उसविरुद्ध ठगीको उजुरी परेको छ । अहिले यो हाम्रै हिरासतमा छ । योविरुद्धको केस अहिले अदालतमा पुगेको छ ।

नवदुर्गा हार्डवेयर कम्पनीलाई दिनेशले राधादेवी हार्डवेयर इन्टरप्राइजेज प्रालिमा बदले । थापालाई सोही प्रालिको साझेदार बनाइदिए । काठमाडौंको मनमैजुमा उनको घर थियो । घर हामा बहुउद्देश्यीय सहकारीमा राख्न लगाए । सहकारीबाट ७५ लाख रुपैयाँ ऋण झिके । 

उद्योगमा लगानी अझै बढाउनुपर्ने प्रस्ताव लिएर दिनेश पुनः थापाकहाँ पुगे । थापाले कैलालीको धनगढी उपमहानगरपालिका– ४ स्थित १७ कट्ठा १० धुर जग्गा हनुमानढोका सहकारीमा धितो राखिन् । सात करोड झिकेर दिनेशलाई दिइन् । लगानी अझै पुगेन भने दिनेशले । थापाले धनगढीमै रहेको अर्को २२ कट्ठा जग्गा रिलायन्स फाइनान्समा धितो राखिन् । पाँच करोड झिकिन् र दिनेशलाई नै सुम्पिइन् । 

श्रीमान्को मृत्यु भएपछि थापा घरमा एक्लै थिइन् । दिनेशको चंगुलबाट सचेत गराउने उनलाई कोही भएनन् । दिनेशले यसैको फाइदा उठाउँदै थापासँग रकम माग्दै गए । थापा दिँदै गइन् । करिब वर्ष दिनको बीचमा दिनेशले थापासँग १८ करोड ५६ लाख ३४ हजार एक सय सात रुपैयाँ लिए । जब दिनेश सम्पर्कविहीन बने, बल्ल थापाले ठगिएको भेउ पाइन् । 

भएभरको सम्पत्ति सकेर अदालतको चक्कर काटिरहेकी उनले नयाँ पत्रिकासँग भनिन्, ‘श्रीमान् बितेपछि म घरमा एक्लै थिएँ । उद्योगमा साझेदार बनाउने भनेपछि म यो (दिनेश)सँग नजिकिँए । यसले मलाई वर्ष दिन फलो गर्‍यो । मलाई प्रलोभनमा पार्‍यो । मबाट १८ करोड रुपैयाँ लिएर गयो । न यसले मलाई उद्योगको साझेदार बनायो, न मेरो रकम फिर्ता दियो । आफ्नै सम्पत्ति फिर्ता लिन अहिले म अदालत धाइरहेकी छु ।’

श्रीमान् गुमाएकी काठमाडौंकी जमुना थापासँग पनि दिनेशले सामाजिक सञ्जालबाटै सम्बन्ध अघि बढाए । उद्योगमा साझेदार बनाउने प्रलोभन बाँडे । दिनेशको प्रलोभनमा जमुना सजिलै फस्न पुगिन् । भएभरको सम्पत्ति सहकारीमा राखेर दुई करोड ८२ लाख झिकेर दिइन् । जब रकम हात लाग्यो, त्यसपछि दिनेश सम्पर्कविहीन बने । 

एकल महिला लक्षित गरी ठगी गर्ने काइदा दिनेशको नौलो नभएको तथ्य जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारी बताउँछन् । उनका अनुसार दिनेशविरुद्ध काठमाडौं प्रहरीमा मात्रै त्यस्ता ठगीका २७ मुद्दा दर्ता भएका छन् । त्यसबाहेक धनगढी, मोरङ, झापालगायतका जिल्लामा पनि दिनेशविरुद्ध ठगीका मुद्दा रहेको डिएसपी अधिकारीको भनाइ छ । 

उनले भने, ‘दिनेश ठगको पनि महाठग हो । यसले विशेषगरी एकल महिलालाई ठगी गरेको देखिन्छ । पछिल्लो एउटै जाहेरी १८ करोडको छ । त्यस्ता जाहेरी हामीकहाँ मात्रै २७ वटा पुगेका छन् । अन्य जिल्लामा पनि उसविरुद्ध ठगीको उजुरी परेको छ । अहिले यो हाम्रै हिरासतमा छ । योविरुद्धको केस अहिले अदालतमा पुगेको छ ।’

झापा, मोरङ र सुनसरीका विपन्न पनि ठगिए
सुन्दर घर बनाई सुखी जीवन बिताउने मोरङ उर्लाबारी– ८ दुर्गापुरीका विष्णुबहादुर धिमालको सपना तीन लाख रुपैयाँले अड्किरहेको थियो । भाइ नाता पर्ने रामप्रसाद धिमाललाई उनले आफ्ना सपना सुनाए । 

जग्गा धितो राखे ऋण जति पनि पाइने भन्दै रामप्रसादले विष्णुलाई हौस्याएनन् मात्रै, ऋण दिने साहु पनि खोजिदिने आश्वासन दिए । विष्णुलाई ढुंगा खोज्दा देउता मिलेजस्तै भयो । भएजति जग्गाको लालपुर्जा बोकेर विष्णु रामप्रसादकहाँ गए । रामप्रसादले विष्णुलाई दिनेशसँग भेट गराइदिए । जग्गाको कारोबार गर्ने दिनेश त्यसवेला उर्लाबारीमै थिए । 

विष्णु, रामप्रसाद र दिनेश उर्लाबारीस्थित मालपोत कार्यालय पुगे । विष्णुको नाममा एक बिघा आठ कट्ठा जग्गा थियो । सबै जग्गा दिनेशको नाममा पास गर्ने, त्यसबापत तीन लाख रुपैयाँ विष्णुलाई दिने, दुई वर्षसम्म ऋण फिर्ता नगरे विष्णुको जग्गा स्वतः दिनेशको नाममा हुने व्यहोराको कागज बन्यो । रामप्रसादको विश्वासमा परेर विष्णुले कागजमा हस्ताक्षर गरे । लालपुर्जा दिनेशलाई थमाए । कागजअनुसार उनले तीन लाख रुपैयाँ बुझे, घर फर्किए । 

त्यसपछि पो थाहा भयो, दिनेशले गाउँका अरूलाई पनि त्यसैगरी ऋण दिएका रहेछन् । जसका लागि उनले मतियारका रूपमा रामप्रसादलाई प्रयोग गरेका रहेछन् । विष्णुलाई अब दिनेशको गतिविधिप्रति शंका लाग्न थाल्यो । दिनेशलाई तत्काल सम्पर्क गर्न खोजे । तर, दिनेश त्यसवेलासम्म बेपत्ता भइसकेका थिए । बेचैन बनेका उनले रामप्रसादलाई समाते । जग्गा तुरुन्तै फिर्ता गरिदिन भने । तर, रामप्रसादले न दिनेशलाई भेटाइदिए, न जग्गा नै फिर्ता गरिदिए । 

विष्णुका अनुसार दिनेशले यसैगरी गाउँका दीपा धिमाल, रिता मगर, शिवलाल पुरी, राम धिमाललाई पनि सुकुमबासी बनाएका छन् । आर्थिक अभावको कारण उनीहरूसँग आफ्नै सम्पत्ति खोज्न सक्ने हैसियत छैन । 

सुनसरी इटहरी– ५ का सहदेव गुरुङलाई घरायसी कारोबारका लागि २० लाख रुपैयाँ आवश्यक पर्‍यो । ऋणको खोजी गर्ने क्रममा उनको भेट मितेरी साइनो पर्ने इटहरी– ८ का तीर्थराज रेग्मीसँग भयो । घर धितो राखे ऋण मिलाइदिने भन्दै तीर्थराजले दिनेशलाई भेट गराइदिए । दुवै पक्ष मालपोत पुगे । तीर्थराजको विश्वासमा सहदेवले ५० लाख रुपैयाँ पर्ने घर दिनेशको नाममा पास गराए । कागजात लिए, दिनेश फरार बने । सहदेव आफ्नै घरमा सुकुमबासी बन्नुपर्‍यो । 

उनीसँगै भेटिएका मोरङ कानेपोखरी– ५ का उमेश गुरुङसँग पनि दिनेशले जग्गा कारोबारको साझेदार बनाइदिने भन्दै एक करोड ५० लाख रुपैयाँ लिए । दुवैबीच रकम लेनदेनको कागजात भयो । रकम लिएपछि न दिनेशले उमेशलाई कारोबारमा साझेदार बनाए, न रकम नै फिर्ता गरे । 

त्यसैगरी, उनले इटहरी– ८ की यशोदा भट्टराईसँग ३० लाख रुपैयाँ लिए । उनकी आमासँग ५० लाख रुपैयाँ लिए । उनीहरूलाई भने झापाको दमकस्थित तारबारीमा सञ्चालित कृषि फर्ममा साझेदार बनाइदिने भनेका थिए । तर, उनले न कबुल गरेझैँ व्यवसायमा साझेदार बनाए, न रकम नै फिर्ता गरिदिए । निकै दबाबपछि दिनेशले आफ्नो र श्रीमतीको नाममा रहेको विभिन्न बैंक एकाउन्टबाट चेक काटे । तर, ती सबै बाउन्स भए । 

No comments:

Post a Comment