Sunday, October 1, 2023

करिब ८० प्रतिशत बिग्रेपछि मात्र मिर्गाैलारोगको लक्षण देखिन्छ

 करिब ८० प्रतिशत बिग्रेपछि मात्र मिर्गाैलारोगको लक्षण देखिन्छ (nayapatrikadaily.com)

करिब ८० प्रतिशत बिग्रेपछि मात्र मिर्गाैलारोगको लक्षण देखिन्छ

मिर्गाैलारोग लागेमा सुरुको चरणमा कुनै लक्षण देखिँदैन, त्यसैले यस रोगलाई साइलेन्ट किलर पनि भन्ने गरिन्छ 

मिर्गाैलाले हाम्रो शरीरमा भएको विकारलाई पिसाबका माध्यमबाट शरीरबाहिर फाल्न मद्दत गर्छ । त्यस्तै, रक्तचाप सन्तुलनमा राखी रगत उत्पादन गर्ने र हड्डीलाई समेत स्वस्थ राख्न सहयोग गर्छ । व्यायामको कमी, अस्वस्थ खानपान तथा अव्यवस्थित जीवनशैलीका कारण मानिसमा मिर्गौलासम्बन्धी समस्या देखिन्छ । मिर्गाैलारोगको सुरुको चरणमा कुनै लक्षण देखिँदैन । करिब ८० प्रतिशत बिग्रेपछि मात्र यसको लक्षण देखिन्छ । त्यसैले मिर्गाैलारोगलाई साइलेन्ट किलर पनि भन्ने गरिन्छ । यो रोगको उपचार पनि महँगो छ । त्यस्तै, सबै ठाउँमा मिर्गाैलाको उपचार पहुँचमा छैन । 


लक्षण 
सुरुमा केही लक्षण हुँदैन । सामान्यतया मिर्गाैलारोगलाई पाँच चरणमा विभाजन गरिन्छ । पहिलो, दोस्रो, तेस्रोलाई प्रारम्भिक रोग भनिन्छ । चौथो र पाँचौँलाई एड्भान्स मिर्गाैलारोग भनिन्छ । पहिलो र दोस्रो चरणमा खासै लक्षण देखिँदैन । यदि देखिहाले पनि सुरुवाती चरणमा ज्यान सुन्निने, भोक नलाग्ने, थकान लाग्ने, रगतको कमी हुने, उच्च रक्तचाप हुने, सास फेर्न गाह्रो हुने हुन्छ । 

हिँड्न नसक्ने, रगतको कमी हुने, बान्ता आउने तथा खानामा रुचि नहुने, सास फेर्न अप्ठ्यारो हुने, शरीरका विभिन्न अंग सुन्निने, छाला सुक्खा हुने, पिसाब कम हुनेलगायत लक्षण पनि देखिन्छन् ।

मिर्गाैलारोगका कारण 
मिर्गौलारोग लाग्नुका विभिन्न कारण छन् । लामो समय मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा राखेन भने मिर्गाैलामा समस्या निम्तिन्छ । यसबाहेक मिर्गौलामा पत्थरी, औषधिको जथाभावी प्रयोग, वंशानुगत कारण, जन्मजात र विभिन्न संक्रमणका कारण रोग लाग्न सक्छ । पानीको मात्रा कम भयो भने मिर्गाैलामा पत्थरी हुन सक्छ । दूधजन्य पदार्थ बढी खायो भने, प्रोटिन भएको खानेकुरा अधिक खायो भने र युरिक एसिडको समस्या छ भने पनि पत्थरी हुन्छ । 

बच्न के गर्ने ?

कम्तीमा वर्षमा एकपटक स्वास्थ्य परीक्षण गर्न आवश्यक हुन्छ । जसकारण मिर्गौला स्वस्थ भए/नभएको थाहा हुन्छ । विलासी जीवनशैलीले मोटोपनसँगै विभिन्न समस्या निम्त्याउँछ । त्यसैले गर्दा सन्तुलित खाना, सरल जीवनशैली र पर्याप्त मात्रामा व्यायाम जरुरी हुन्छ । बिहान वा बेलुका हिँडडुल गर्ने, खानामा नुनको मात्रा कम गर्ने गर्नुपर्छ । शरीरमा बोसोको मात्रा घटाउनुपर्छ । पानी प्रशस्त पिउनुपर्छ । 

- खानपान र अस्वस्थ जीवनशैलीका कारण मधुमेहको समस्या बढ्दै गइरहेको छ । मधुमेहरोग लागेको छ, सन्तुलनमा छैन भने यस्ता व्यक्तिलाई मिर्गाैलाको समस्या हुने जोखिम रहन्छ । त्यसैले चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गर्नुपर्छ । 

- उच्च रक्तचापका कारण मिर्गाैला फेल हुन सक्छ । त्यसैले रक्तचापलाई नियन्त्रणमा राख्नुपर्ने हुन्छ । 

- धेरैलाई जोर्नी दुख्ने, टाउको दुख्ने, ढाड दुख्ने समस्या भइरहेको हुन्छ । त्यस्ता व्यक्तिले दुखाइ कम गर्ने औषधि सेवन गरेका हुन्छन् । कतिपयले डाक्टरलाई नजँचाई यस्ता औषधि सेवन गर्छन् । तर, दुखाइ कम गर्ने औषधि जथभावी सेवन गर्नुहुँदैन । यसले मिर्गाैलामा समस्या निम्त्याउन सक्छ ।

- दुखाइ कम गर्ने औषधि लामो समयसम्म सेवन गरेका मानिसमा पनि मिर्गाैलामा समस्या देखिन सक्छ । अधिकांशमा ५० वर्ष कटेपछि यस्तो समस्या देखिने गरेको पाइन्छ । त्यसैले वर्षमा एकपटक अनिवार्य रूपमा मिर्गाैला परीक्षण गर्नुपर्छ । 

- परीक्षणमध्ये पिसाबमा प्रोटिनको जाँच, रगतमा क्रियाटिनिनको स्तर र अल्ट्रासोनोग्राफी एसजीमार्फत मिर्गाैलाको अवस्था बुझ्नुपर्छ । 

No comments:

Post a Comment