Sunday, October 1, 2023

सहकर्मीमाथि यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी पालले दिए राजीनामा

 सहकर्मीमाथि यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी पालले दिए राजीनामा (nayapatrikadaily.com)

सहकर्मीमाथि यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी पालले दिए राजीनामा

राजीनामा स्वीकृत गर्ने गृहको तयारी, यौन दुर्व्यवहारमा कानुनी कारबाहीबाट भने उन्मुक्ति

सहकर्मी महिला प्रहरीलाई कार्यालयभित्रै यौन दुर्व्यवहार गरेको आरोपमा कारबाही सिफारिस भएका नेपाल प्रहरीका एसएसपी योगबहादुर पालले राजीनामा दिएका छन् । छानबिन समितिको प्रतिवेदनका आधारमा प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाएपछि उनले राजीनामा दिएका हुन् । 

प्रहरी प्रधान कार्यालयले उनको राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालय पठाएको छ । स्रोतका अनुसार निलम्बन फुकुवा गरी राजीनामा स्वीकृत गर्न लागिएको छ । तर, यौन दुर्व्यवहारमा कानुनी कारबाहीबाट भने उनले उन्मुक्ति पाएका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरको प्रमुखका रूपमा कार्यरत रहँदा गत जेठमा उनले महिला कर्मचारीलाई दुव्र्यवहार गरेका थिए । बिदामा घर जान लागेकी कर्मचारीलाई उनले ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्दै आफूसँगै बस्न प्रस्ताव गरेको छानबिनमा खुलेको छ । 


महिला प्रहरीले सुदूरपश्चिम प्रदेश कार्यालयमा उजुरी दिएपछि छानबिन सुरु भएको थियो । सोही दिन उनलाई जिम्मेवारीबाट हटाइएकोमा प्रारम्भिक छानबिनपछि गृह मन्त्रालयले निलम्बन गरेको थियो । पछि डिआइजी सुरेन्द्र मैनालीको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेर स्थलगत अध्ययन गरिएको थियो । सबै पक्षसँगको कुराकानी र प्राविधिक विश्लेषणका आधारमा उनले महिला हवल्दारलाई दुव्र्यवहार गरेको पुष्टि भएको थियो । 

समितिको निष्कर्षपछि पाँच ग्रेड घटुवाको कारबाही गर्न लागेपछि राजीनामा दिएर उनले संगठनबाट बाहिरिने प्रस्ताव गरेका थिए । सोहीअनुसार उनको निलम्बन फुकुवा गरेर राजीनामाको अवसर दिइएको प्रहरी स्रोत बताउँछ । पालले अन्य महिला प्रहरीलाई पनि विगतमा त्यसैगरी दुर्व्यवहार गरेकोसमेत खुलेको थियो ।  विगतमा पनि यौन दुर्व्यवहारका घटनामा एसएसपी पाल मुछिँदै आएका थिए । तर, राजीनामा दिलाएर उनलाई यौन दुव्र्यवहारको मुद्दामा उन्मुक्ति दिइएको छ । उनी राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण गरिएका अधिकृत हुन् ।

No comments:

Post a Comment