Saturday, April 29, 2023

काठमाडौं उपत्यकामा सुधारिएको बस सेवा सञ्चालनको तयारी

 https://www.nayapatrikadaily.com/news-details/113097/2023-04-27 

काठमाडौं उपत्यकामा सुधारिएको बस सेवा सञ्चालनको तयारी 

रातो बत्तीमा पनि नरोकिने, सेवा द्रुत र विश्वसनीय हुने 

पाकिस्तानको पेसावरमा सञ्चालित बिआरटी बस । तस्बिर : एजेन्सी

सरकारले काठमाडौं उपत्यकामा रातो बत्तीमा पनि नरोकिने सुधारिएको द्रुत बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्बन्धित निकायहरूसँग छलफल अघि बढाएको छ । यस किसिमको बस सेवालाई बिआरटी (बस र्‍यापिड ट्रान्जिट) सिस्टम भनिन्छ । उपत्यकाको ट्राफिक जाम कम गर्न, स्टेसनहरूमा धेरै समय नरोकी यात्रुहरूलाई गन्तव्यमा छिटो पुर्‍याउन र सार्वजनिक यातायातप्रति सर्वसाधारणको आकर्षण बढाउन बिआरटी बस सेवा सञ्चालन गर्न लागिएको हो । 

नेपालमा यस्तो सुविधासहितको बस सञ्चालन हालसम्म हुन सकेको छैन । यही कारण पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार विज्ञटोलीलाई बोलाएर यस्तो बस सेवा सञ्चालन गर्नेबारे छलफल गरेको थियो । यसअघि सन् २०१८ मा पनि द्रुत बस सेवा सञ्चालनबारे लगानी बोर्डको टोलीले अध्ययन गरेको थियो । उक्त अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय, तत्कालीन समयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागलगायतमा बुझाएको थियो । तर, बिआरटी बस सञ्चालन गर्नेबारे सरकारले बेवास्ता गर्दै आएको थियो । 

गणेश पाण्डे, सचिव, प्रधानमन्त्री कार्यालय
सुधारिएको बस सेवा सञ्चालन गर्ने गरी योजना बनाएका छौँ । हाल भइरहेकै केही बसलाई यो नियमअनुसार सञ्चालन गर्ने हो, यसका लागि १५ दिनपछि अध्ययन समितिले प्रतिवेदन बुझाउँछ । त्यसपछि कार्यान्वयनतर्फ लाग्छौँ । यो किसिमबाट बस सेवा सञ्चालन गरेपछि यात्रुहरू गन्तव्यमा पुग्न छिटो हुन्छ ।

यसपटक भने सो प्रतिवेदनलाई आधार मान्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञ र मातहतका निकायलाई उक्त प्रवृत्तिका बस सञ्चालन गर्न निर्देशन दिएका छन् । त्यसलगत्तै प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डे, उपत्यका प्रहरी कार्यालय (मेट्रो) प्रमुख श्यामलाल ज्ञवाली, काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी, यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, यातायातविज्ञ आशिष गजुरेल, सहरी पूर्वाधारविज्ञ सूर्यराज आचार्य, साझा यातायात प्रालिका अध्यक्ष कनकमणि दीक्षितलगायतको सहभागितामा बिआरटी प्रणालीबाट बस सेवा सञ्चालन गर्नेबारे छलफल भएको थियो । बैठकमा सहभागी विज्ञ तथा प्रमुखहरूले यस किसिमबाट बस सेवा सञ्चालन गर्न सम्भव रहेको भन्दै अघि बढ्नुपर्ने निष्कर्ष निकालेका थिए । 

अध्ययन समिति गठन
बस सेवा सञ्चालनका लागि अध्ययन गर्न १५ दिनको समयसीमा राखेर ‘सुधारिएको बस सेवा सञ्चालन गर्नेबारे अध्ययन’ समिति गठन गरिएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको अध्यक्षतामा रहेको समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ ।

अध्ययन समितिले प्रतिवेदन बुझाएपछि विभागले विज्ञसहितको टोली राखेर भाडा निर्धारण, बस संख्या र रुटको निक्र्योल गर्नेछ । यात्रुलाई छिटो–छरितो गन्तव्यमा पुर्‍याउने यस किसिमको बस सेवा सञ्चालन आए सार्वजनिक यातायतामा यात्रुहरूको आकर्षण बढ्ने प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेले जानकारी दिए ।  ‘हामीले सुधारिएको बस सेवा सञ्चालन गर्ने गरी योजना बनाएका छौँ,’ उनले भने, ‘भइरहेकै केही बसलाई यो नियमअन्तर्गत सञ्चालन गर्ने हो ।’ 

के हो सुधारिएको बस सेवा ?
सुधारिएको बस सेवाअन्तर्गतका बस चल्ने छुट्टै लेन, नियम, टाइमकार्ड, रुट हुन्छ । सरकारले बस र्‍यापिड ट्रान्जिटको नियम लागू गरेपछि यातायात व्यवस्था विभागबाट अनुमति लिएर निजी बस कम्पनीले सञ्चालन गर्न सक्नेछन् । यस नियमअनुसार ‘प्रायोरिटी सिग्नलिङ सिस्टम’मा बस सञ्चालन गरिन्छ ।

यातायातविज्ञ आशिष गजुरेलका अनुसार बिआरटी (बस र्‍यापिड ट्रान्जिट) सुधारिएको बस सेवा हो । यसमा छुट्टै नियम, स्तरीय बस, छुट्टै भाडा, तालिकाको व्यवस्था हुन्छ । ‘यस्तो किसिमको बस सेवा काठमाडौंसहित अन्य सहरहरूमा आवश्यक छ,’ उनले भने, ‘यस सिस्टममा बस सञ्चालन गर्दा ट्राफिक जामको समस्या पनि केही कम हुन्छ ।’ यो बस सेवा सञ्चालनका लागि सडकमा छुट्टै सिग्नलिङ सिस्टम हुने र रातो बत्ती वा अन्य सवारीसाधन ट्राफिक जाममा परेका वेला ट्राफिकले यस्ता बसलाई रोक्दैनन् । 

यस्ता बसले पूर्ण रूपमा रोकिएर यात्रु कुर्न पाउँदैनन् । उनीहरूलाई स्टप तथा एक्जिट प्वाइन्टमा ६०–९० सेकेन्डको समय तोकिनेछ । यदि नियम उल्लंघन गरे कारबाही हुनेछ । यी बसको निगरानी भने ट्राफिक प्रहरीले गर्न सक्छन् । 

तत्काल छुट्टै बस नकिनिने
यो सेवाका लागि सरकारले तत्काल नयाँ बस नकिन्ने र हाल सञ्चालनमै रहेका बसलाई यो नियमअनुसार चलाउने योजना छ । ठूला बसहरूलाई यो नियममा हिँड्न प्रोत्साहन गरिनेछ । सडकमा फरक नियमसहित गुड्न पाउने भएकाले बस कम्पनीहरू यसमा आकर्षित हुने प्रधानमन्त्री कार्यालयका सचिव पाण्डेको भनाइ छ । आगामी वर्षदेखि यस्ता बस थप्ने गरी कार्ययोजना बनाइने पाण्डेको भनाइ छ । यस किसिमको बस सेवा सञ्चालनका लागि सडक तथा यातायात पूर्वाधार पनि फरक चाहिन्छ । बस पनि ठूला र दुवैतर्फ ढोका भएका आवश्यक हुन्छन् ।  

कहाँ–कहाँ सञ्चालनमा छन् यस्ता बस ? 
कोलम्बियाको बोगाटा, अस्ट्रेलियाको सिड्नी, ताइवानको ताइपेई, बेलायतको लन्डन, टर्कीको इस्तानबुल, पाकिस्तानको पेसावरलगायत ठूला सहरमा यस्ता बस सेवा सञ्चालनमा छन् । 

No comments:

Post a Comment