https://nagariknews.nagariknetwork.com/social-affairs/1159901-1682774158.html
बालबालिकाको मुटुको उपचारका लागि ५० लाख सहयोग

नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री डा.मिनेन्द्र रिजालले गरिब बालबालिकाको मुटुको उपचारमा मद्दत गर्ने उद्देश्यले ५० लाख रुपैयाँ सहयोग गरेका छन्।
शनिबार मोरङको रतुवामाईमा एक कार्यक्रमको आयोजना गरी बालबालिकाको मुटुको उपचारका लागि काठमाण्डौं इन्स्टिच्युट अफ हेल्थ साईन्सको दमक शाखालाई ५० लाख रुपैयाँ सहयोग प्रदान गरेका हुन्।
काठमाण्डौं हेल्थ साईन्सले नेपालका बालबालिकाको मुटुको उपचारका लागि देशैभर अभियान सञ्चालन गरिरहेको जनाएको छ। झापाको दमकमा पनि बालबालिकाको मुटु रोगको उपचारका लागि अस्पताल स्थापना गरेको इन्स्टिच्युट अफ हेल्थ साइन्सले जानकारी दिएको छ।
रिजालले बाबु –आमाको नाममा पुण्यश्री फउण्डेशन स्थापना समेत गरेका छन्। सोही फाउण्डेशनका नामबाट रिजालले बालबालिकाको मुटु उपचारमा सहयोग पुर्याउन काठमाण्डौं इन्स्टिच्युट हेल्थ साइन्सका अध्यक्ष डा.भगवान कोइरालालाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै डा.रिजालले आफ्नो निर्वाचन क्षेत्र पनि भएको र बाबु–आमाको नामबाट समाजसेवाको क्षेत्रमा काम गर्ने चाहनाले बालबालिकाको मुटु रोगको उपचारका लागि आफूले सहयोग गरेको जानकारी दिए।
रिजालले फाउण्डेशनको सहयोगले बालबालिकाहरूको मुटु रोगको उपचारमा सहयोग पुग्ने धारणा राखे। कार्यक्रमलाई सम्बोधन गर्दै डा भगवान कोइरालाले नेपालमा बर्सेनि धेरै बालबालिकाले मुटु रोगको उपचार नपाउँदा मृत्यु वरण गरिरहनु परेको भन्दै गरिबीकै कारण बालबालिकाले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले देशैभर अभियान सञ्चालन गरिरहेको जानकारी दिए।
डा.रिजालले दिएको रकम दमक स्थित चाइल्ड हेल्थ अस्पतालमा पूर्व क्षेत्रका बालबालिकाको मुटुको उपचारका लागि खर्च गरिने छ। डा.कोइरालाले रिजालले दिएको रकम पुण्यश्री फाउण्डेशनको सिफारिसमा पूर्व क्षेत्रका बालबालिकाको मुटुको उपचारका लागि खर्च गरिने बताए।
कार्यक्रममा रतुवामाई नगरपालिकाका प्रमुख नागेश्वरप्रसाद सिंह, दमक नगरपालिकाका कार्यबहाक प्रमुख भीम पौडेल लगायतले बालबालिकाको मुटु रोगको उपचारमा चाइल्ड हेल्थ दमक स्थापना भइसकेको र सबै दाताहरूको सहयोग आवश्यक रहेको बताए।
प्रकाशित: १६ वैशाख २०८० १९:०० शनिबार
No comments:
Post a Comment