Friday, June 9, 2017

भक्तपुर अस्पताल र मानव अंगबीचको विवाद छताछुल्ल

पत्र पत्रिका बाट  -साभार

http://www.annapurnapost.com/news/72841

ईश्वरकाजी खाइजू शुक्रवार, जेठ २६, २०७४



भक्तपुर : भक्तपुर नगरपालिका १ दूधपाटीस्थित सरकारी स्वास्थ्य संस्था भक्तपुर अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्रबीच आरोपप्रत्यारोप भएको छ। भक्तपुर अस्पतालले आफ्नो आन्तरिक मामिलामा मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले हस्तक्षेप गरेको आरोप लगाएको हो।
भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटाले अस्पतालको सेवा चुस्त दुरुस्त र प्रभावकारी बनाउने क्रममा कार्यकारी निर्देशक डा. श्रेष्ठले आफ्ना चिकित्सकहरुलाई उचालेर आफ्नो विरुद्ध प्रयोग गरेको आरोप लगाउनुभयो।
डा. देवकोटाले अस्पतालको गतिविधिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुलाई डा. श्रेष्ठले अस्पतालमा हस्तक्षेप गरेर भक्तपुर अस्पतालको प्रगति र विकासमा बाधा पु¥याउनुभएको सुनाउनुभयो।
डा. श्रेष्ठले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई उचालेर आफूविरुद्ध हस्ताक्षर अभियानसमेत थाल्नुभएको उहाँको भनाइ थियो।
एनेस्थेसियन चिकित्सक डा. सरिता श्रेष्ठको नेतृत्वमा भक्तपुर अस्पतालका ५५ जनाले मेसु डा. देवकोटाविरुद्ध हस्ताक्षर संकलन अभियान चालिएको थियो। डा. श्रेष्ठले अस्पतालको पूर्णकालीन कर्मचारी भएर पनि हप्तामा दुई दिनमात्रै आएर बाँकी दिनको समेत हाजिर गर्दै आउनुभएको मेसु डा. देवकोटाले सुनाउनुभयो।
आफू अस्पताल प्रशासन प्रमुख भएर आएपछि डा. सरितालाई सार्वजनिक बिदाबाहेक प्रत्येक दिन अस्पताल आउन निर्देशन दिएको रिसमा उक्त हस्ताक्षर अभियान थालिएको र त्यसमा डा. पुकारचन्द्र श्रेष्ठको हात रहेको उहाँले सुनाउनुभयो।
‘मैले आफ्ना चिकित्सकहरुलाई सरकारी निर्णयअनुसार काम गर्न भन्दा उल्टै गाली खानुपर्‍यो, उहाँहरुले हाम्रो पछाडि ठूला मान्छे छन् भन्दै मेडिकल सुपरिटेन्डेन्टको जागिर खाइदिने धम्कीसम्म दिनुभयो’, उहाँले भन्नुभयो, ‘मैले बुझ्दै जाँदा केन्द्रका कार्यकारी प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले मेरा चिकित्सक एवं स्वास्थ्यकर्मीहरुलाई उचाल्नुभएको रहेछ। उहाँले भक्तपुर अस्पताल र केन्द्र मर्ज हुँदैछ अब तपाईहरुको हाकिम पनि म नै हो जस्तो गरेर मेरा कर्मचारीहरुलाई समेत दबाब दिने काम गर्नुभयो।’
मेसु डा. देवकोटाले अस्पतालले आफ्नो सम्पत्ति सुरक्षा गर्न पर्खाल लगाउन खोज्दासमेत भक्तपुर नगरपालिकामा उजुरी दिएर डा. श्रेष्ठले निर्माण कार्य रोक्न लगाएको आरोप लगाउनुभयो।
यता मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी प्रमुख डा. श्रेष्ठले भने आफूमाथि भक्तपुर अस्पतालका मेसु डा. देवकोटाले लगाउनुभएको सम्पूर्ण आरोप अस्वीकार गर्नुभयो।
उहाँले भक्तपुर अस्पताल र केन्द्र फरक फरक स्वास्थ्य संस्था भएकाले आफूले त्यहाँ हस्तक्षेप गर्ने कुरा कपोलकल्पित र झूटो भएको सुनाउनुभयो।
‘भक्तपुर अस्पतालमा के हुन्छ र के गर्नुपर्छ त्यो मेरो सरोकारको विषय होइन’, डा. श्रेष्ठले भन्नुभयो, ‘मलाई केन्द्रमै हेर्न भ्याई नभ्याई छ। त्यहाँ किन हस्तक्षेप गर्नुप¥यो ?’
डा. श्रेष्ठले स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पताल र केन्द्र समायोजन (मर्ज) गर्ने प्रक्रिया अघि बढाएकाले आफूमाथि उक्त आरोप लगाइएको हुनसक्ने बताउनुभयो।
स्थापनाको सय वर्षभन्दा बढी भएको भक्तपुर अस्पतालको सेवाप्रति भक्तपुरवासी नै सन्तुष्ट छैनन्। त्यस्तै भक्तपुर अस्पताललाई हेर्ने सरकारको समेत दृष्टि सकारात्मक छैन। सरकारले अन्य अस्पतालको दाँजोमा यस अस्पताललाई पर्याप्त बजेट तथा जनशक्ति पनि उपलब्ध गराउने गर्दैन। जसले गर्दा अस्पतालमा सदैव चिकित्सक अभाव भइरहन्छ।
चिकित्सक अभावले गर्दा अस्पताल पुग्ने बिरामीहरुलाई अन्यत्रै रिफर गरिँदै आएको छ। त्यसैले भक्तपुर अस्पताल एउटा रिफरल अस्पतालको रुपमा मात्रै रहँदै आएको छ।
तर स्थापनाको पाँच वर्षभित्रै मानव अंग प्रत्यारोपण केन्द्रको सेवा तथा सुविधा अन्तर्राष्ट्रियस्तरमै ख्याति भएको छ। त्यस्तै यहाँ बिरामीहरुको चाप थेगिनसक्नुको छ।
सोहीअनुसार सरकारले केन्द्रलाई पर्याप्त बजेट, उपकरण र चिकित्सकहरु उपलब्ध गराउँदै आएको छ। तर केन्द्रको दाँजोमा भक्तपुर अस्पताल झन् झन् गिर्दै गएको छ। अस्पतालकै जग्गामा ठडिएकोमात्रै होइन भक्तपुर अस्पतालकै लागि बनाइएको भवनमा सञ्चालित केन्द्रले सान र मान बढाउँदै ल्याउँदा भक्तपुर अस्पतालको साख गिर्दै गएको छ।
त्यसैले पनि भक्तपुर अस्पताल र केन्द्रबीचको सेवा र प्रगति तुलनै हुन सक्दैन। साथै केन्द्रको प्रगतिलाई अस्पतालले भेट्टाउन त के पछ्याउन पनि नसक्ने अवस्थामा पुगेको छ।
केन्द्रको प्रगतिको कारण डा. श्रेष्ठको चाकडी !
भक्तपुर अस्पतालको पत्रकार सम्मेलनमा केन्द्रले गरेको प्रगतिको पछाडि डा. पुकारचन्द्र श्रेष्ठको चाकडी गर्ने क्षमता भएकोसमेत टिप्पणी गरिएको थियो। डा. श्रेष्ठले जस्तै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट र व्यवस्थापन समितिका अध्यक्ष हुनेहरुले स्वास्थ्यमन्त्री तथा मन्त्रालयका सचिवहरुको चाकडी गर्न नसकै कारण भक्तपुर अस्पतालको विकास र प्रगति नभएको टिप्पणी गरिएको हो।
‘डा. पुकारचन्द्र श्रेष्ठले जस्तै तपाईंहरुले पनि स्वास्थ्यमन्त्री, मन्त्रालयका सचिवहरुको चाकडी गर्नुप¥यो नि !’, पत्रकार सम्मेलनमा सहभागी एक सरकारी सञ्चारमाध्यमकै पत्रकारले भने।
कार्यक्रममा उपस्थित भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खड्का र मेसु डा. देवकोटाले आफूहरु पनि स्वास्थ्यमन्त्री र मन्त्रालयमा गएर अस्पतालको विकास गर्नुपर्ने र सेवा प्रभावकारी बनाउनुपर्ने माग गर्दा कहिल्यै हुँदैन नभन्ने तर सहयोग पनि गर्ने नगरेको स्वीकार गर्नुभएको थियो।
कार्यक्रममा अध्यक्ष खड्का र मेसु डा. देवकोटाले भक्तपुर अस्पतालको रोग एवं समस्या पहिचान भइसकेको अब सल्यक्रिया एवं उपचार गर्नमात्रै बाँकी भएको जानकारी दिनुभएको थियो।

No comments:

Post a Comment