Saturday, June 10, 2017

नर्बिसौं लाहुरेको योगदान

पत्र पत्रिका बाट  -साभार

http://annapurnapost.com/news/72865
काङमाङ नरेश राई शनिवार, जेठ २७, २०७४  0 3875 पटक पढिएको

SHARE THIS

 265  21 Google +0  286

नेपालीमा रहेको बिदेसिने परम्पराको पहिलो इतिहास हुन सक्छ लाहुरेहरूको इतिहास । यो इतिहास स्वेच्छाले जन्मिएको हैन, राज्य सत्ताले जन्माएको हो । यो संसारकै दुर्लभ इतिहासमध्ये एक हो- एउटा देशको नागरिक कुनै अर्को देशको रक्षार्थ लड्ने । नेपालका आदिवासी-जनजाति र खस-क्षत्रीका लक्का जवानहरू बेलायती सेनामा प्रवेश गरेको दुई शताब्दी भइसकेको छ ।
Naresh-Kangmang-Rai-copyयो दुई शताब्दीमा हजारौंको मृत्यु भएको छ । त्यत्तिकै संख्यामा हराएका छन् । कैयौं विभिन्न देशमा विस्थापित भएका छन् । युद्धमा हराएका धेरैजसो बर्मा, इटाली, फिजीजस्ता देशमा विस्थापित भएका छन् । ती जवानहरूको संख्यालाई गणितीय हिसाबमा उतार्ने हो भने झन्डै एक करोडभन्दा धेरै युवा अहिले नेपाली माटोमै हुन्थे । युद्धमा नमरेका र नहराएका भए उनीहरूका सन्तान यतिबेला देशको विभिन्न निकायमा हुन्थे । कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका सबै ठाउँमा हुन्थे ।
भर्ती परम्पराको सुरुमा जबर्जस्ती भर्तीमा पठाइयो । पूर्वी नेपालतिर पगरी, सुब्बा र मुखिया लगाएर हुकुमको भरमा भर्तीमा पठाइन्थो । पश्चिम नेपालतिर मुखिया र कटुवाल लगाएर भर्ती लगाइन्थ्यो । समयक्रममा गोर्खा भर्ती एउटा संस्कार बन्यो । बेलायती सेनामा स्वेच्छाले भर्ती जान थाले जवानहरू । कहरको लाहुरे संस्कार रहरमा परिणत भो । गोर्खा भर्ती आयआर्जन गर्ने राम्रो माध्यम बन्यो । अहिले नेपालीका लागि सबैभन्दा राम्रो पैसा कमाउने र सरल जीवन जिउने माध्यम बनेको छ- गोर्खा भर्ती । झन् बेलायतीले बराबर नै मासिक तलब सुविधा पाउन थालेपछि गैर-आदिवासी जनजातिमा पनि धमाधम भर्ती लाग्ने संस्कार बनिसकेको छ ।
नेपालमा रेडियोको स्थापना भोजपुरमा भूपूलाहुरे नारदमुनि थुलुङको नेतृत्वमा भएको थियो । भोजपुरमा स्थापना गरिएको रेडियो स्टुडियो पछि विराटनगर सारियोे । रेडियोमा पहिलोपटक बोल्ने व्यक्ति नारदमुनि थुलुङ थिए तर उनको नाम गुमनाम छ ।
आदिवासी लाहुरे भने बेलायत र नेपालमा अनागारिक जस्तो भएका छन् । नेपालमा छोरो पुस्ता समानताको लडाइँ लडिरहेको छ भने बेलायतमा बाउ र काका पुस्ता समान पेन्सन र क्षतिपूर्तिको लडाइँ लडिरहेको छ, किन ? प्रश्न त उठ्छ नै राज्यसत्तासँग । विडम्बना पुस्तौंपुस्तासम्म राज्यसत्ताबाट बाहिरै परेर पनि लाहुरेले दिएको योगदान राज्यले बुझ्न सकेको छैन ।
देशको लागि लाहुरेले दिएको योगदानबारे चर्चा गरौं ।
राजनीतिक
राणा शासनविरुद्व भोजपुर जिल्लाबाट भूपूलाहुरेहरू नारदमुनि थुलुङ, रामप्रसाद राई र जसमान राई आदिले हतियार उठाएका थिए । पल्टनमा हुँदै राणाविरुद्ध लड्ने योजना बनाएको बताउँछन्, ९९ वर्षीय जसमान राई । बेलायतबाट भारत स्वतन्त्र भएपछि उनले ६ महिना लामो योजनाका साथ राणाविरुद्धमा हतियार उठाएका थिए । भोजपुरमा प्रत्येक शनिबार हटिया लाग्ने गर्थो र अहिले पनि लाग्ने गर्छ । भूपूलाहुरेहरू कोही साग व्यापारी, कोही अम्बा व्यापारी, कोही सूर्ति व्यापारी, कोही सुँगुरको पाठा व्यापारी भएर हटियामा छरिएका थिए।
जसमान राई भन्छन्, 'नारदमुनि थुलुङको नेतृत्वमा टुँडिखेलमा नाचगान देखाउन सुरु भयो । सबैजसो बजारका मान्छे र प्रहरी नाचगान हेर्नतिर लागे । धनकुटाबाट हतियार साहित आएका प्रहरी मालअड्डामा हतियार बिसाएर खाना खान गएको मौकामा भोजपुरको मालअड्डा हतियारहरू सहित कब्जा जमायौं ।' त्यो दिन थियो- २००७ साल मंसिर २४ गते शनिबार ।त्यसपछि उनीहरूले ओखलढुंगा, संखुवासभा, चरीकोट, धनकुटा आदि ठाउँमा राणालाई पराजित गरे । भोजपुरबाट वीरगन्ज, विराटनगरजस्ता ठाउँमा किराँतीहरूले राणाशासन अन्त्य गर्न सेना पठाएका थिए ।
शिक्षा र विकास
विकासको लागि लाहुरेहरूले देशमा महत्वपूर्ण योगदान दिएका छन् । राणाशासन हुँदा नै उनीहरूले गाउँगाउँमा स्कुलको स्थापना गरेका छन् । दोस्रो विश्वयुद्धको समाप्तपछि १९४७ मा भारत स्वतन्त्र भयो । गोर्खाहरूको कटौती गरी राखेको पैसा फिर्ता दिने निर्णय गर्‍यो बेलायतले । भारतका तत्कालीन प्रधानसेनापति र नेपालका तत्कालीन प्रधानसेनापति बबरशमशेर जबरालाई पैसा छाडेको जानकारी गरायो बेलायतले । इन्डियाका तत्कालीन प्रधानसेनापतिले नेपालको तत्कालीन प्रधानसेनापति बबरशमशेरलाई उक्त रकम हस्तान्त्रण गरेका थिए।
२००५ साल कात्तिकमा प्रधानसेनापति बबरशमशेरले भूपूगोर्खा अफिसरहरूलाई काठमाडांै बोलाएका थिए । बैठकमा बबरशमशेरले सोधेका थिए, 'यो पैसा तिमीहरूले के गर्छौं ? ' तीन महिना लामो छलफलपछि भूपूलाहुरेहरूले उक्त रकम गाउँहरूमा स्कुल र स्वास्थ्यचौकीहरू बनाउने निर्णय गरे । धेरै जिल्लामा डिस्ट्रिक सोल्जर बोर्डको स्थापना भयो । अहिले वेलफेर भनिन्छ । नेपाल सरकारले प्रत्येक डिस्ट्रिक सोल्जर बोर्डमा एकजना कर्मचारी खटाएका थिए । बोर्डको अध्यक्ष र उपाध्यक्षमा भूपूलाहुरेलाई नियुक्ति गरेको बताउँथे स्व. दिलकर्ण राई र बुद्धिबखत राई । बैठकमा पूर्वी नेपालवाट भूपूक्याप्टेन कमान सिंह, सरदार बहादुर लिम्बू, चैनपुरबाट जगतबहादुर याख्खा, भोजपुर निवासी सरदारबहादुर हर्कराज राई 'उनले पहिलो विश्वयुद्धमा सरदारबहादुर पदक पाएका थिए ।' र, सरदारबहादुर मानसेर राईको उपस्थिति रहेको थियो । त्यसैगरी नेपालको पश्चिमबाट छैटौं गोर्खा राइफलका हनेरी क्याप्टेन रडकसिंह गुरुङ चारौंं गोर्खा राइफलका हनेरी क्याप्टेन नरबहादुर गुरुङ (उनीपछि मन्त्री पनि भएका थिए) लगायत भूपूलाहुरेहरू बैठकमा उपस्थित थिए ।
उनीहरूले स्कुल स्थापना गर्न एकजना प्रतिनिधि तोकी ठाउँठाउँमा पठाएका थिए । भोजपुर जिल्ला टेम्के मैयुंग गाउँपालिका वार्ड नम्बर १ तिम्मामा चहकमान राईलाई खटाएका थिए । सानो दुंग्मामा भूपूसुबेदार जितवीर राईको उपस्थिति रहेको बताउँथे, स्वर्गीय बुद्धिबखत राई । नेपालमा सरकारी स्कुलहरूको निर्माण नहुँदै लाहुरेहरूले स्कुलहरू बनाएका थिए ।
सेवारत लाहुरेले वर्षमा एक दिनको तलब गोर्खा वेयलफेयर ट्रस्टलाई दिने गरेका छन् । उक्त रकमबाट वेलफेयरले स्कुल, हेल्थपोस्टहरू निर्माण गर्छ नेपालमा । खानेपानी अभाव भएका ठाउँमा खानेपानी पुर्‍याउने गरेका छन् । डीएफआईडीको नाममा प्रत्येक वर्ष बेलायत सरकारले नेपाललाई आर्थिक अनुदान प्रदान गर्दछ । जुन अनुदान लाहुरेसँग सरोकार राख्छ ।
सञ्चार
नेपालमा रेडियोको स्थापना भोजपुरमा भूपूलाहुरे नारादमुनि थुलुङको नेतृत्वमा भएको थियो । रेडियो अपरेटरको नाम हो, कुबेरमान राई । रेडियो अपरेट गर्ने काम गरेपछि कुबेरमान राई अपरेटरमा परिणत भएको थियो । सबैले उनलाई अपरेटर नै भन्थे । उनको नाम नै अपरेटर हुन पुग्यो । उनी गोर्खा सिंगनलबाट टेक्निसियनमा अवकाश प्राप्त थिए ।भोजपुरमा स्थापना गरिएको रेडियो स्टुडियोपछि विराटनगर सारियोे । रेडियोमा पहिलोपटक बोल्ने व्यक्ति नारदमुनि थुलुङ थिए तर उनको नाम गुमनाम छ ।
साहित्य संगीतमा
नेपाली साहित्य, संगीत र सञ्चार क्षेत्रमा पनि उति नै उल्लेखनीय योगदान दिएका छन् लाहुरेले । नेपाली भाषामा पहिलो फोनिङ कार्यक्रम चलाउने व्यक्ति हुन्, भूपूलाहुरे किशोर गुरुङ हुन् । उनले बीएफबीएस गोर्खा रेडियोमा लामो समय काम गरे । हङकङ फोइन इन कार्यक्रम चलाउँथे । पाण्डव सुनुवार कोरियाबाट हङकङ पुग्दा उनले फोनिङ कार्यक्रम चलाएको देखे । त्यसपछि नेपालमा पाण्डव सुनुवारले फोनिङ कार्यक्रमको सुरुवात गरेका हुन् । पहिलो नेपाली गायक मास्टर मित्रसेन थापामगर हुन् । उनले रत्नदासले भन्दा पहिले इन्डियामा ग्रामोफोन डिक्समा गीत रेकर्ड गरेको इतिहास पाइन्छ । नेपाली पपगायनको प्रवर्तक नोरदेन तेन्जिङ हुन् । उनले भर्ती हुनुअगावै दार्जिलिङमा ब्लुस्टोन ब्यान्डमा ड्रम बजाउँथे र गीत पनि गाउँथे ।
अन्य योगदान
नेपाल फर्केपछि कति लाहुरेले कम्पाउन्डरको काम गरे । बच्चा जन्माउन नसकी कैयौं छोरीचेलीको अकालमा ज्यान जान्थ्यो । गाउँघरमा धामीझाँक्रीभन्दा अर्को कुनै उपाय थिएन । पल्टनमा सिकेको सीप सदुपयोग गर्दै उनीहरूले छोरीचेली र नवजात शिशुको ज्यान बचाए । उनीहरूले त्यो बेला पारामेडिकको काम गरेका थिए । धरान, पोखरा आदि ठाउँलाई नयाँ सहर बनाउन महत्वपूर्ण योगदान दिएका छन् लाहुरेले ।

No comments:

Post a Comment