Sunday, June 25, 2017

नारायणगढ–मुग्लिन सडक उच्च जोखिममा, २९ ठाउँमा पहिरो जाने सम्भावना

पत्र पत्रिका बाट  -साभार

http://www.recentnepal.com/news/39833/नारायणगढ-मुग्लिन-सडक-उच्.html

चितवन, असार १२— निर्माणाधीन नारायणगढ–मुग्लिन सडक खण्डमा वर्षासँगै पहिरो जाने समस्या झनै विकरालबन्ने अवस्था देखिएको छ। सडक आयोजनाका अधिकारी, निर्माण व्यवसायी र सुरक्षाकर्मीले यस्तो आँकलन गरेका हुन्। केही दिनयता दिनहुँजसो जाने पहिरोका कारण घन्टौं सडक अवरुद्ध हुनुका साथै यात्रु पनि जोखिममा  छन्।
केही दिनयता दिनहुँजसो जाने पहिरोका कारण घन्टौं सडक अवरुद्ध हुनुका साथै यात्रु पनि जोखिममा  छन्। बिहीबार राति प्रहरी भ्यान पहिरोले पुरिँदा त्यसमा रहेका तीन प्रहरीको ज्यान गएको छ। एक प्रहरी अझै बेपत्ता छन्।
 सडकको अवस्थाबारे समीक्षा गर्न आइतबार चितवन जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक बस्यो। बैठकमा नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले २९ ठाउँमा पहिरोको जोखिम रहेको जानकारी दिए। आयोजनाको नेतृत्वमा भूगर्भविद्ले गरेको अध्ययनबाट यी ठाउँ पहिचान गरिएको हो।
 ुत्यसो हो भने अब आउने वर्षायाममा यो सडक खण्ड हुँदै गरिने यात्रा पक्कै जोखिमपूर्ण हुनेछु, चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बैठकमा आफ्नो निचोड राखे। उनले आकलन गरेको खतराका विषयमा लगभग सबैको सहमति देखियो। खतरा कम गर्नेबारे पनि बैठकमा छलफल भयो।
 नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुप दुई लेनको बनाउने काम सुरु भएको छ। सडक फराकिलो बनाउन ठाउँठाउँमा पहाड काटिएको छ। पहाड काटेको ठाउँबाट पहिरो झर्ने गरेको छ। राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई पूर्वी र पश्चिम नेपालसँग जोड्ने यो सडक खण्डमा दिनहुँ १० हजारसम्म गाडी ओहोरदोहोर गर्छन्।
 ुयति धेरै गाडीको व्यवस्थापन गर्न चुनौतीपूर्ण छ। वर्षायाममा गाडी चलाउँदा खतरा पनि उत्तिकै छु प्रमुख जिल्ला अधिकारी भट्टले भने। जलवीरेदेखि मुग्लिनसम्म पहिरोको जोखिम धेरै रहेको आयोजना कार्यालयले जनाएको छ। इन्जिनियर खनालका अनुसार पहिरोको जोखिम रहेका २९ मध्ये आधा स्थान सोही क्षेत्रमा छन्। मुग्लिनदेखि जलवीरेसम्मको दूरी सात किलोमिटर छ।
 पानी पर्न थालेका कारण अब सडक निर्माण सुस्त हुनेछ। पहाड काट्ने काम पनि बन्द हुनेछ। अहिलेसम्म दिउँसो छ घन्टासम्म गाडी रोकेर निर्माण कार्य हुँदै आएको छ। पहाड काट्ने काम बन्द भएपछि ६ घन्टा गाडी चलाउन लगाइएको रोक फुकुवा हुने आयोजनाका अधिकारी बताउँछन्। अहिले बिहान १० देखि दिउँसो चार बजेसम्म गाडी चल्न नदिएर निर्माण कार्य हुँदै आएको छ। अब सोमबारदेखि उक्त समयमा गाडी बन्द नहुने सडक आयोजनाका सूचना अधिकारी शिव खनालले बताए।
पहिरो नजाँदा दिउँसो गाडी चलाए पनि रातिमा भने बन्द गर्नुपर्ने अवस्था आएको छलफलमा सहभागीले बताए। तर राति बाटो बन्द गर्ने विषयमा तत्कालै कुनै निर्णय गर्न नसकिने चितवनका प्रमुख जिल्ला अधिकारी भट्टको भनाइ थियो। अब एकदुई दिन रातको समयमा गाडी चलाएर अध्ययन गरेपछि यसबारे निर्णय लिने उनले बताए।
ुरातिमा गाडी चलाउन ठप्पै नै गर्ने भनेर अहिले नभनौं। एकदुई दिन हेरौं। कुनै सुरक्षित विधि अपनाएर रातिमा पनि गाडी चलाउन सकिन्छ भने बन्द नै किन गर्नुपर्‍यो रु, प्रमुख जिल्ला अधिकारी भट्टले भने। यसबारे अध्ययन गर्न चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्त सम्मिलित अध्ययन टोली बनाइएको छ। टोलीले एकदुई दिनभित्रै यसबारे अध्ययन गरेर  प्रतिवेदन दिने भट्टले बताए।
असार लागेपछि कालीखोला क्षेत्रमा लगभग दिनहुँजसो पहिरो गएको छ। बिहीबार राति गएको पहिरोका कारण बन्द भएको यातायात सेवा २० घन्टापछि मात्रै खुलेको थियो। यसअघि असार ३ गते शनिबार सोही क्षेत्रमा पहिरो जाँदा नौ घन्टा यातायात सेवा अवरुद्ध भएको थियो।
असार सात गते पनि पहिरो खसेर दुःख दिएको थियो। शनिबार राति र आइतबार दिउँसो पनि पहिरो गयो। पहिरोले पटकपटक दुःख दिँदा यात्रु हैरान छन्। सो सडकखण्ड ३६ किलोमिटर लामो छ। जसमध्ये ३३ किलोमिटरमा मात्रै विस्तारको काम भएको छ। विस्तारको काम सुस्त छ।
सडक निर्माण र विस्तारका लागि सन् २०१५ को अप्रिलमा सम्झौता भएको थियो। सम्झौता भएको दुई वर्षभित्र काम सक्ने सर्त हो। सम्झौता हुँदाका बेला तय भएको अवधि सकिएको छ तर आधामात्रै काम पूरा भएको छ। निर्माण गर्ने अवधि थप गरेर आउँदो डिसेम्बरसम्म पुर्‍याइएको छ। तर त्यो बेला पनि काम सकिने सम्भावना छैन। राजधानी जोड्ने मुख्य मार्ग विस्तारमा भएको ढिलासुस्तीले धेरैलाई पिरेको छ। सडक विस्तार गर्न थालिएपछि पहिरोमा परेर पाँचजनाको निधन भइसकेको छ आजको नागरिक दैनिकमा समाचार छ ।

No comments:

Post a Comment