Saturday, September 9, 2017

एन्टिबायोटिक शान्त महामारी

पत्र पत्रिका बाट  -साभार   http://nepalihimal.com/article/8565
 - सन्त गाहा मगर र रामु सापकोटा
२०औं शताब्दीको चामत्कारिक आविष्कार एन्टिबायोटिक औषधिको अत्यधिक प्रयोग मृत्युको प्रमुख कारक बन्ने खतरा देखिएको छ।

भानु भट्टराई
गत १५ मार्चमा मनाइएको विश्व उपभोक्ता दिवसको नारा थियो– एन्टिबायोटिक अवशेषरहित खाना। १५ मार्च १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले त्यहाँको कंग्रेसमा उपभोक्ताको विषय प्रवेश गराएको अवसरमा मनाइने उपभोक्ता दिवसमा पहिलो पटक यस्तो नारा तय गरिएको हो। यसले खाद्यान्नमा एन्टिबायोटिक रेसिड्यु विश्व जनस्वास्थ्यका लागि कति ठूलो चुनौती बनेको छ भन्ने स्पष्ट गरेको छ। नहोस् पनि किन? एन्टिबायोटिक औषधिको अधिक प्रयोग र दुरुपयोग अकाल मृत्युको प्रमुख कारण बनिरहेको छ। यसको गलत र अनावश्यक प्रयोगले वर्षेनि लाखौंको ज्यान लिइरहेको विभिन्न अध्ययनले देखाएको छ। एन्टिमाक्रोवायल रेसिस्टेन्स (एएमआर) का कारण विश्वभर वर्षेनि कम्तीमा सात लाख जनाको मृत्यु भइरहेको 'एन्टिमाक्रोवायल रेसिस्टेन्सः टल्किङ अ क्राइसिस फर दि हेल्थ एण्ड वेल्थ अफ नेशन्स्' नामक अध्ययन रिपोर्टमा उल्लेख छ।
त्योभन्दा पनि डर लाग्दो के छ भने सन् २०१४ मा जीम ओनिलको नेतृत्वमा भएको यो अध्ययन प्रतिवेदनमा २०५० सम्ममा हरेक वर्ष एक करोड मृत्युको कारक एएमआर हुने प्रक्षेपण छ। यो संख्या विश्वको कुल वार्षिक मृत्युको २० प्रतिशतभन्दा बढी हो। अहिले विश्वमा मृत्युको प्रमुख कारण बनेको मुटु रोग, पक्षघात, क्षयरोग, झाडापखाला, मधुमेह, सडक दुर्घटना, उच्चरक्तचाप आदिबाट हुने मृत्यु संख्या यो जति ठूलो छैन।
पोष्ट एन्टिबायोटिक इरा!
गत १३ जेठमा अस्पताल भर्ना भएकी अमेरिकाको पेनिस्लाभानिया राज्यकी एक महिलालाई संसारमा उपलब्ध कुनै पनि एन्टिबायोटिकले निको बनाउन नसकेपछि उनी चिन्ताजनक अवस्थामा पुगेको जनाइएको छ। मूत्र प्रणालीको संक्रमणबाट पीडित ती महिलालाई गत अप्रिलमा पेनिस्लाभानियाकै सैनिक अस्पतालमा उपचार गर्दा 'इकोलाई' जिवाणुको संक्रमण पत्ता लागेको थियो। त्यसको लागि 'कोलिस्टाइन' नामक एन्टिबायोटिक औषधि दिंदा काम गरेन, बरु उल्टै साइड इफेक्ट देखियो। शरीरमा भएका जीवाणुलाई एन्टिबायोटिक औषधिले मार्न नसक्दा यो अवस्था आएको हो।
बिरामीको शरीरमा भएका हानिकारक जीवाणु मार्ने एन्टिबायोटिक औषधिको क्षमतामा कमी आएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिकित्सा विज्ञान 'पोष्ट एन्टिबायोटिक इरा' तर्फ जान सक्ने खतरा औंल्याएको छ। डब्लुएचओले सामान्य संक्रमण वा घाउ हुँदा पनि उपचार गाह्रो हुनसक्ने बारे चिन्ता जाहेर गरेको छ।
चर्चित जर्नल 'दि ल्यानसेन्ट' ले ३ मंसीर २०७२ को अंकमा चीनमा एन्टिबायोटिक प्रतिरोधकको मात्रा बढेको अध्ययन प्रतिवेदन प्रकाशित गरेको थियो। अनुसन्धानमा समेटिएका १ हजार ३२२ जना स्वस्थ मानिसमध्ये १६, जनावर ८०४ मध्ये १६६ र मासुको ५२३ नमूनामध्ये ७८ वटामा रेसिस्टेन्ट फेला परेको प्रतिवेदनमा उल्लेख छ। वीपी कोइराला इन्ष्टिच्यूट अफ हेल्थ साइन्स (वीपीकेएचआईएस), धरानका प्राध्यापक बसुधा खनाल रेसिस्टेन्ट ब्याक्टेरिया (जीवाणु) बढेपछि औषधिले काम नगर्ने बताउँछिन्। “एक दशकअघि राम्रो परिणाम देखाएको औषधिले अहिले त्यही रोगलाई नछुने अवस्था आएको छ”, डा. खनाल भन्छिन्, “एन्टिबायोटिक्सबाट उपचार हुने सुनौलो युग अन्त्य हुँदैछ।”
यूरोपियन यूनियनको सहयोगमा नेदरल्याण्ड सरकारले आयोजना गरेको १२ मुलुकका वैज्ञानिक तथा चिकित्सकहरूको सम्मेलनमा एन्टिबायोटिकको बढ्दो प्रयोग र यसले निम्त्याएको महामारी सामना गर्ने विषयमा छलफल भएको थियो। गत २० जेठको सम्मेलनमा नेपालका तर्फबाट सहभागी सेन्टर फर मोलीक्यूलर डायनामिक्स, नेपालका अनुसन्धान निर्देशक डा. समीरमणि दीक्षित अब एन्टिबायोटिकको विकल्प के? भन्ने विषयमा व्यापक छलफल भए पनि निचोड ननिस्किएको बताउँछन्।
उनका अनुसार, सम्मेलनले नयाँ एन्टिबायोटिकको खोज गर्न अनुसन्धानको दायरा बढाउने तय भने गरेको छ। गएको १५ वर्षयता नयाँ एन्टिबायोटिकको विकास नभएको बताउँदै डा. दीक्षित भन्छन्, “मानव शरीरमा जीवाणुसँग लड्ने अस्त्र विश्वबाट सकिनुले खतराको संकेत गरिसकेको छ।”
नेपालको अवस्था
डब्लुएचओको २०७१ वैशाखको प्रतिवेदनको निष्कर्ष छ– 'एन्टिबायोटिकको अनावश्यक प्रयोग भविष्यको नभएर आजको ज्वलन्त समस्या हो।' अलेक्जेण्डर फ्लेमिङले १९४५ मा आविष्कार गर्दा चामत्कारिक औषधिको रूपमा लिइएको एन्टिबायोटिकको अवस्था नेपालमा कस्तो छ त? “झ्न् जटिल छ, किनभने हामीकहाँ सरसफाइ, नियमित खोप र औषधिको सही प्रयोगबारे जनचेतनाको कमी छ”, ग्लोबल एन्टिबायोटिक पार्टनरसिप (गार्प), नेपालका अध्यक्ष डा. बुद्ध बस्नेत भन्छन्।
चिकित्सकका अनुसार मानव शरीरमा दुई तरीकाले अनावश्यक एन्टिबायोटिक प्रवेश गरिरहेको छ– पहिलो, बालीनाली वा पशुपक्षीको उपचार तथा वृद्धिका लागि दिइने एन्टिबायोटिक जुन खाना, पशुपक्षीसँगको सम्पर्क वा वातावरण (हावा, पानी, माटो) बाट। यसमा डरलाग्दो पक्ष के छ भने एन्टिबायोटिक प्रवेशपछि पशुपक्षीको शरीरमा औषधि प्रतिरोधक (ड्रग रेसिस्टेन्ट) जिवाणु उत्पादन हुन्छन्। यस्तो हुनु भनेको बिरामी हुँदा मात्रै खानुपर्ने औषधि पहिल्यैबाट खाइरहे जस्तो हो। “औषधि प्रतिरोधक ब्याक्टेरिया मानव शरीरमा प्रवेश गरेपछि हाई डोजको एन्टिबायोटिकले पनि काम गर्दैन”, डा. दीक्षित भन्छन्।
विभिन्न प्रलोभनमा परेका चिकित्सकको सिफारिशको कारणबाट पनि मानव शरीरमा अनावश्यक एन्टिबायोटिक प्रवेश गरिरहेको डब्लुएचओको निष्कर्ष छ। नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष बाबुराम हुमागाईं एन्टिबायोटिक उद्योगले चिकित्सकलाई मेरो कम्पनीको औषधि सिफारिश गर्नुहोस् भनेर विभिन्न अफर दिने गरेको बताउँछन्। यस्तो कृत्यमा औषधि कम्पनी र औषधि पसलेदेखि चिकित्सकसम्मको मिलिभगत हुन्छ। “अत्यधिक एन्टिबायोटिक्स प्रयोग हुनुको मूल कारण चिकित्सकको अनावश्यक सिफारिश हो” हुमागाईं भन्छन्, “औषधि कम्पनी, पसले र चिकित्सकको स्वार्थका लागि बिरामीले धेरै एन्टिबायोटिक खाइदिनु परेको छ।”
काउन्सिल अध्यक्ष हुमागाईंका अनुसार कुल औषधि आयातको ३० प्रतिशत एन्टिबायोटिक्स छन्। वर्षेनि करीब रु.१० अर्ब बराबरको एन्टिबायोटिक नेपाल आउने गरेको हुमागाईं बताउँछन्। देशभरि ५० कम्पनीले ठूलो परिमाणमा एन्टिबायोटिक औषधि उत्पादन गरिरहेकै छन्। औषधि व्यवस्था विभागका अनुसार, करीब सय कम्पनीले एमोक्सिसिलिन मोलिक्युलरबाट उत्पादन गरेका ३६५ ब्रान्डका एन्टिबायोटिक्स नेपाली बजारमा उपलब्ध छन्। त्यस्तै, फर्मास्युटिकल होरिजिन अफ नेपालका अनुसार सन् २००९ को एक वर्षमा नेपालमा रु.२७ करोडका एन्टिबायोटिक्स औषधि आयात भएको थियो।
नेपाल सरकारले एन्टिबायोटिक औषधि प्रयोगबारे स्वास्थ्य मन्त्रालयका सचिव संयोजक रहने गरी १४ सदस्यीय टोली गठन गरेको छ। एन्टिबायोटिक्स सम्बन्धी नीति बनाउन खटिएको उक्त टोलीले मस्यौदामा कुन एन्टिबायोटिक कस्तो अवस्थामा प्रयोग गर्ने, पशुपक्षी र मानिसहरूलाई कस्ता–कस्ता एन्टिबायोटिक्स दिन हुने, चिकित्सकको सिफारिश विनाका एन्टिबायोटिक प्रयोग गर्न नपाइने जस्ता विषय समावेश छन्। नेपाल भेटेरिनरी संघका पूर्व महासचिव उमेश दाहाल भने पशुपक्षी ऐन नै आवश्यक भएको बताउँछन्। उनी भन्छन्, “ऐनको अभावमा जुनसुकै औषधि जोसुकैले प्रयोग गर्ने अवस्था छ।”
ज्यानमारा खेलबाड!
गएको ३२ जेठमा सिन्धुलीकी सम्झ्ना लामा (२९) ले वीर अस्पताल छेवैमा रहेको औषधि पसलबाट 'इन्फेक्ट भी' एन्टिबायोटिक औषधि किनिन्। (हे.तस्वीर)पाठेघर पोल्ने समस्या लिएर चार दिनअघि थापाथलीस्थित प्रसूति गृहमा भर्ना भएकी उनलाई त्यहाँ चिकित्सकले जाँचेर औषधि दिएका थिए। “त्यो औषधिले काम नगरेपछि आफैंले महाबौद्धको पसलबाट 'इन्फेक्ट भी' किनें”, लामा भन्छिन्।
समस्या बताएपछि उनलाई पसलेले सहजै औषधि दिएका थिए। नेपालमा किराना पसलबाट दालचामल किनबेच भएजस्तै एन्टिबायोटिक्सको कारोबार हुने गरेको यसले देखाउँछ। जबकि, औषधि ऐन, २०३५ को दफा १७ ले औषधि खरीदमा चिकित्सकको प्रेस्त्रि्कप्सन अनिवार्य गरेको छ। ऐन अनुसार, 'चिकित्सकको प्रेस्त्रि्कप्सन बमोजिम औषधि बिक्री–वितरण गर्दा फर्मासिष्ट वा फार्मेसी सहायक वा व्यवसायी आफैंले गर्नुपर्छ।
अरूले बिक्री–वितरण गर्दा पनि फर्मासिष्ट वा फार्मेसी सहायक वा व्यवसायीको उपस्थितिमा गर्नुपर्छ। यो व्यवस्था उल्लंघन भएर बिरामीको ज्यानलाई खतरा पुगेको भए जन्मकैद वा दश वर्षसम्म कैद र जरिवाना, शरीरको कुनै अंगको शक्ति क्षीण वा हरण हुनसक्ने भएको भए दश वर्षसम्म कैद र जरिवाना र अन्य अवस्थामा पाँच वर्षसम्म कैद वा जरिवाना वा दुवै हुने ऐनको दफा ३४ मा उल्लेख छ।
गार्प नेपालका अध्यक्ष डा. बस्नेत एन्टिबायोटिक्सको अनावश्यक प्रयोगले रोग निको पार्न अस्पताल जाने बिरामी उल्टै रोग थपेर फर्किनु परेको बताउँछन्। सहज उपलब्धता एन्टिबायोटिकको अधिक प्रयोगको एउटा कारण भएको बताउँदै उनी निमोनिया, क्षयरोग, झ्ाडापखाला, यौनजन्य रोग, मूत्र प्रणालीको संक्रमण र रगत सम्बन्धी रोग लागेका बेला आवश्यकता भन्दा बढी डोजका एन्टिबायोटिक औषधि सेवन गर्दा ज्यानै जोखिममा पर्ने बताउँछन्।
नेपालमा श्वासप्रश्वासको संक्रमणका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ। सन् २००४ देखि २०११ सम्म मुलुकभित्र भएका आठ वटा अध्ययनले एन्टिबायोटिक रेसिस्टेन्सका कारण श्वासप्रश्वासमा संक्रमण भई निमोनिया रोग लागेको देखाएको थियो। 'इकोलाई' जस्तो सामान्य जीवाणु मार्न 'सिप्रोफ्लक्सासिन' काफी हुने गरेकोमा अहिले कडा खालका कोलिस्टाइन र इमिपेनम जस्ता कडा एन्टिबायोटिक चाहिने भएको डा. बस्नेतको अनुभव छ। २०१५ को एक अध्ययनले इकोलाई जीवाणु मार्ने एन्टिबायोटिक औषधिको कार्य क्षमतामा क्रमशः कम भइरहेको देखाएको थियो। (हे.टेबल)
वीपीकेईएचएसकी डा. खनाल अस्पताल र चिकित्सकले लापरवाही गर्दा बिरामीकहाँ अनावश्यक एन्टिबायोटिक पुगिरहेको बताउँछिन्। एन्टिबायोटिकको अनुचित प्रयोग मानिसमा मात्र नभई, पशुपन्छीमा पनि व्यापक छ। मासु खान पालिने बोइलर कुखुरा र माछामा यसको प्रयोग उच्च दरमा भइरहेको छ।
दूधदेखि माछासम्म
पशुपक्षी छिटो बढाउन पनि एन्टिबायोटिक्स प्रयोग भइरहेको छ। ग्लोबल एन्टिबायोटिक रेसिस्टेन्स पार्टनरसिपको 'दि सेन्टर फर डिजिज डायनामिक्स, इकोनोमिक्स एण्ड पोलिसी' रिपोर्टका अनुसार, विश्वमा पाँच वर्ष पहिले नै ६३ हजार २०० टन एन्टिबायोटिक खपत भएको थियो। यो खपत वर्षेनि ३० प्रतिशतका दरले बढिरहेको रिपोर्टमा उल्लेख छ।
कन्ज्युमर इन्टरनेशनलका अनुसार उत्पादित कुल एन्टिबायोटिकमध्ये ५० प्रतिशत कृषि तथा कृषिजन्य उत्पादनमा प्रयोग हुन्छ। दूध, अण्डा र मासु बढाउन गाईभैंसी र कुखुरालाई एन्टिबायोटिक प्रयोग गरिएको दाना दिइन्छ। पोषणका लागि खाइने दूध र माछामासु नै एन्टिबायोटिक्सयुक्त भएपछि उपभोग गर्नेहरूले उल्टो रोग बेसाउँछन्।
पोल्ट्री व्यवसायीहरूले कुखुरा हलक्कै बढाउन हानिकारक ग्रोथ हर्मोनको प्रयोग गर्ने गरेका छन्। हिमाल (११–१७ जेठ २०७१) ले ब्रोइलरको मासुमा टेट्रासाइक्लिन, म्याक्रोलिड्स, अमिनो ग्लिसाइड्स, सल्फोनामाइड, पेनिसिलिन आदिको मात्रा बढी पाइएको खुलासा गरेको थियो। भेटेरिनरी चिकित्सकले सन् २००३ मा गरेको अध्ययनले नेपालका ६ जिल्लामा वार्षिक रु.४९ करोड २० लाख बराबरको एन्टिबायोटिकयुक्त कुखुराको दाना बिक्री भएको पाएको थियो।
विशेषज्ञहरूका अनुसार, ग्रोथ हर्मोनले एकातिर उमेरभन्दा चाँडो शारीरिक विकास गराउँछ भने अर्कातिर मधुमेह, हृदयघात, उच्च रक्तचाप जस्ता रोगको सम्भावना बढाउँछ। नेपाल भेटेरिनरी संघका पूर्व महासचिव डा. उमेश दाहाल विदेशमा प्रतिबन्धित भइसकेका एन्टिबायोटिक समेत नेपालमा निर्धक्क प्रयोग भइरहेको बताउँछन्। दुई किलोभन्दा ठूलो कुखुरामा मूल्य बढी पाइने, किसानलाई सरकारले राहत नदिने र जनचेतना अभाव जस्ता कारणले पोल्ट्री व्यवसायमा एन्टिबायोटिक्सको प्रयोग बढेको उनको भनाइ छ। दाहाल भन्छन्, “मानव स्वास्थ्यमा गम्भीर असर पार्ने औषधि पनि प्रयोगमा छन्।”

गोपेन राई
सिन्धुलीकी सम्झना लामा महाबौद्धस्थित औषधि पसलबाट चिकित्सकको सिफारिशविना एन्टिबायोटिक किन्दै।
भेटेरिनरी जनस्वास्थ्य कार्यालयका निर्देशक डा. बोधनाथ अधिकारी ७० प्रतिशत भेटेरिनरी औषधि विना सिफारिश पसलबाट बिक्री भइरहेको बताउँछन्। त्यस्तै, पशुसेवा विभागका महानिर्देशक डा. केशवप्रसाद प्रेमी एन्टिबायोटिक रेसिस्टेन्ट जनस्वास्थ्यको प्रमुख समस्याको रूपमा देखा पर्न थालेको बताउँछन्। कृषि उत्पादनमा मात्रै यस्तो प्रयोग घटाउन सक्दा पनि समस्या धेरै न्यून हुने उनको बुझाइ छ।
अब के गर्ने?
अत्यावश्यक अवस्था बाहेक अरू बेला एन्टिबायोटिक प्रयोग नगर्नु सबभन्दा राम्रो हो। औषधिको रूपमा कम प्रयोग गर्ने र कृषि उत्पादनमा प्रयोग नै नगर्नु राम्रो उपाय हो। चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरू एन्टिबायोटिक औषधिको विकल्पबारे टुंगो लागिनसके पनि नेपाल सरकारले खोप (भ्याक्सिन) कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिन्छन्। “खोपले शरीरलाई बलियो र स्वस्थ बनाउन मद्दत पुर्‍याउँछ”, डा. दीक्षित भन्छन्, “स्वस्थ शरीरका लागि एन्टिबायोटिकको जरुरत पर्दैन।”
औषधि व्यवस्था विभागका पूर्व महानिर्देशक डा. गजेन्द्रबहादुर भुजु यूरोपमा जस्तै नेपालमा पनि बालीनाली र पशुपक्षीमा एन्टिबायोटिक्सको प्रयोग रोक्नुपर्ने बताउँछन्। नेपालमा मानिस र जनावरका लागि एउटै एन्टिबायोटिक औषधि चलाउने गरिएको बताउँदै उनी भन्छन्, “हामीकहाँ भेटेरिनरी क्षेत्रमा एन्टिबायोटिक्सको प्रयोग व्यापक छ, त्यसलाई तत्काल रोक्नुपर्छ।”

एन्टिबायोटिक्सबाट उपचार हुने सुनौलो युग अन्त्य हुँदैछ। प्रा.डा. बसुधा खनाल
वीपीकेएचआईएस, धरान
एन्टिबायोटिक सिफारिश गर्नुअघि चिकित्सकले बिरामीको भरपर्दो ल्याबमा परीक्षण गराएकै हुनुपर्छ। त्रिवि शिक्षण अस्पताल, फर्माकोलोजी विभागमा कार्यरत सह–प्राध्यापक सतिशकुमार देव सरकारले एन्टिबायोटिकको अनुचित प्रयोग रोक्न ल्याब परीक्षणको व्यवस्था गर्नुपर्नेमा जोड दिन्छन्। राम्रोसँग ल्याब परीक्षण नहुँदा बिरामीहरूले अनावश्यक रूपमा एन्टिबायोटिक औषधि खानु परिरहेको उनको भनाइ छ।
एन्टिबायोटिक औषधि विज्ञानको वरदान हो। अझै पनि नेपालका दुर्गम गाउँमा निमोनिया लगायतका रोगबाट बच्न यसको खाँचो छ। अधिक र गलत प्रयोगबाट भने बच्न जरूरी छ। नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष हुमागाईं अस्पतालहरूले रिजर्भ एन्टिबायोटिक राख्नुपर्ने बताउँछन्। गार्प नेपालको सिच्युएसन एनालाइसिस एण्ड रिकमेन्डेसन्समा भनिएको छ, “एन्टिबायोटिकको सही उपयोगका लागि राष्ट्रिय कार्ययोजना बन्नुपर्दछ।”

एन्टिबायोटिकले छोएन
इकोलाई जीवाणुका कारण पिसाब संक्रमित भई एक वर्षयता टेकूस्थित शुक्रराज ट्रपिकल अस्पताल आएका ११८ मध्ये ४१ मा एन्टिबायोटिक औषधिको असर पाइएन। जसमध्ये ८ जनालाई ओफ्लोक्ससिन, १६ जनालाई टेट्रासाइक्लाइन, ६ जनालाई नाइट्रोफुरेन्टाइन, ९ जनालाई नालीडिक्सिक् एसिड र दुई जनामा सेफिक्जाइम एन्टिबायोटिकले काम नगरेको अस्पतालस्थित ट्रपिकल मेडिसिनका कन्सल्ट्यान्ट फिजिसियन डा. अनुप बास्तोला बताउँछन्।
यस्तै, अस्पतालमा टाइफाइडको समस्या लिएर आएका दुई जनालाई पनि सिप्रोफोक्सासिनले कुनै प्रभाव पारेन। “टाइफाइडका अन्य चार बिरामीको साल्मानेला जीवाणुलाई एम्पीसिलिन एन्टिबायोटिकले मार्न नसकेको देखियो”, बास्तोला भन्छन्।
क्षयरोगका बिरामीका लागि एन्टिबायोटिकले असर नगर्ने नयाँ समस्या होइन। डा. बास्तोलाका अनुसार क्षयरोग लागेकाहरुले जथाभावी औषधि खाँदा एन्टिबायोटिकको प्रभाव कम हुँदै जान्छ र बिरामीको मृत्यु हुन्छ। सन् २०१३ को विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार एचआईभी संक्रमित भएर ज्यान गुमाएका मध्ये २५ प्रतिशतमा क्षयरोग कारक रहेको छ।
नखाएको एन्टिबायोटिक्स भेटिएपछि...
डा. अनुप बास्तोला
कन्सल्टेन्ट फजिसियन
शुक्रराज ट्रपिकल अस्पताल
'ड्रग इरप्सन' को समस्या लिएर शुक्रराज ट्रपिकल अस्पतालमा एक जना बिरामी आए। कुनै एन्टिबायोटिक औषधि लिनुभएको छ भनेर सोध्दा उनले कुनै औषधि नखाएको बताए। लामो गफ गरेपछि थाहा भयो, उनले बाख्रा बिरामी हुँदा भेटेरिनरीबाट एमोक्सिलिन र टेट्रासाइक्लिन ल्याएर खुवाएका रहेछन्। र पनि, बाख्रा नबाँच्ने भएपछि काटेर खाएछन्। त्यही बाख्राको मासुबाट उनलाई 'फिक्स ड्रग इरप्सन' भएको पत्ता लाग्यो।

नेपालमा एन्टिबायोटिक्सको अनावश्यक प्रयोग र यसले पारेको असरबारे हिमाल ले विशेषज्ञसँग गरेको अन्तरक्रियाः

तस्वीरहरुः गोपेन राई
मुलुकमा एन्टिबायोटिक औषधिको अनावश्यक प्रयोगको समस्या कुन तहमा पुगेको छ? डा. बुद्ध बस्नेत, अध्यक्ष, ग्लोबल एन्टिबायोटिक रेजिस्टेन्स पार्टनरसिप, नेपालः हिजोआज उपचारका लागि अस्पताल पुगेका बिरामीलाई एन्टिबायोटिक औषधिले छुन छाडेको छ। टाइफोइड, टीबी जस्ता रोग निको पार्न कडा एन्टिबायोटिक चलाउनु परिरहेको छ। एन्टिबायोटिकको अनावश्यक प्रयोगले निम्त्याउने अदृश्य समस्यालाई 'साइलेन्ट एपिडेमिक' भन्ने गरिएको छ।
एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) का कारण संसारभर हरेक वर्ष सात लाख मानिस मर्ने गरेको तथ्यांक छ। एन्टिबायोटिक्सले काम नगर्दा नेपालमा कति मानिसले ज्यान गुमाउँछन् भन्ने यकिन तथ्यांक छैन। एएमआरका कारण पीडितहरू यात्रा गर्दा अरूमा पनि सर्ने सम्भावना रहन्छ। जस्तो, नेपालबाट 'इकोलाई' जस्ता जीवाणुहरू विदेश निर्यात भइरहेका हुनसक्छन्। त्यसैले, नेपालमा एएमआरको समस्या बढ्दा विदेशीहरू आत्तिन्छन्।
मूत्र प्रणालीमा भएको संक्रमण लिएर नेपालका विभिन्न अस्पताल पुग्ने बिरामीलाई सामान्य एन्टिबायोटिक औषधि चलाउँदा शरीरभित्र भएका इकोलाई जस्ता जीवाणु मार्न सकिएको छैन। इकोलाई जस्तो सामान्य जीवाणु मार्न इमिपेनम र कोलिस्टाइन जस्ता कडा एन्टिबायोटिक चलाउनु परिरहेको छ। यसरी एन्टिबायोटिक औषधिको क्षमतामा ह्रास आउँदा साल्मोनेला जीवाणु चुनौती बनेको छ। नेपालमा टाइफाइडका बिरामी बढ्नुको कारण साल्मेनेला जीवाणु नै हो।
डा. सतिशकुमार देव, एसोसिएट प्रोफेसर, त्रिवि शिक्षण अस्पताल, क्लिनिकल फर्माकोलोजी विभागः विश्वभर नै एन्टिबायोटिक्स रेसिस्टेन्सको समस्या व्यापक भएको छ। अब नेपाल सरकारले एन्टिबायोटिक्सको अनुचित प्रयोग रोक्न ल्याब परीक्षणको व्यवस्था गर्नुपर्छ। राम्रोसँग ल्याब टेष्ट नहुँदा बिरामीहरूले अनावश्यक रूपमा एन्टिबायोटिक औषधि खानु परिरहेको छ।
डा. अनुप बास्तोला, कन्सल्ट्यान्ट ट्रपिकल मेडिसिन फिजिसियन, शुक्रराज ट्रपिकल अस्पतालः एन्टिबायोटिक औषधिको जथाभावी प्रयोग बढ्नुको कारण सहजै उपलब्ध हुनु हो। जथाभावी रगतमा भएका जीवाणुहरू मर्नुको सट्टा झ्न् सक्रिय हुन्छन्। रगतको नमूना संकलन, परीक्षण र कल्चरमा कमजोरी हुँदा रोगको पहिचान हुन नसकेर बिरामीले अनावश्यक एन्टिबायोटिक औषधि सेवन गरिरहेको अवस्था छ।
२०७२ साल जेठयताको तथ्यांकले रुघाखोकीका बिरामी बढिरहेको देखाउँछ। नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, ललितपुर, भक्तपुरलगायतका ठाउँबाट उपचारका लागि शुक्रराज ट्रपिकल अस्पतालमा आउने बिरामीमा रुघाखोकीको समस्या बढी देखिएको छ।
शुक्रराज ट्रपिकल अस्पतालमा वार्षिक कम्तीमा ६०० बिरामी रुघाखोकीको समस्या लिएर आउँछन्। तर, चिकित्सकहरूले रोगको पहिचान हुन नपाई अन्दाजको भरमा एन्टिबायोटिक्स चलाइराखेका छन्। एन्टिसिलिन एन्टिबायोटिक सेवन गरेका ४१ बिरामीमध्ये चार जनामा मात्र एन्टिबायोटिक रेसिस्टेन्स देखियो।

एन्टिबायोटिक्स बन्द गर्ने होइन, जथाभावी प्रयोग रोक्ने हो। डा. बुद्ध बस्नेत

सरकारले एन्टिबायोटिक्सको अनुचित प्रयोग रोक्न ल्याब परीक्षणको व्यवस्था गर्नुपर्छ। डा. सतिशकुमार देव
अहिले मुलुकका कतिपय अस्पतालमा धेरै प्रकारका एन्टिबायोटिक औषधि (मल्टिड्रग) एकै पटक प्रयोग गर्ने गरिएको छ। 'मल्टिड्रग' को धेरै प्रयोग राम्रो होइन। देश भित्रका विभिन्न अस्पतालमा डाक्टरहरूले तेस्रो दिनपछि नै बिरामीलाई कडा खालका एन्टिबायोटिक औषधि दिन थालेका छन्। जस्तो सिप्रोफ्लोक्सासिन खाइरहेका बिरामीलाई नयाँ एन्टिबायोटिक दिने चलन बसेको छ। टीबीका बिरामीलाई एटीडी औषधि अनावश्यक रूपमा सिफारिश गर्दा पनि समस्या निम्तिएको छ।
डा. बुद्ध बस्नेतः नेपालमा साल्मोनेला कीटाणु लिएर अस्पताल आएका बिरामीलाई एन्टिबायोटिक औषधिले काम गर्न छोड्यो। पहिला सामान्य एन्टिबायोटिकले काम गर्ने गरेकोमा अहिले जीवाणुले रूप बदलेका कारण औषधिले छुनसकेको छैन।
दक्षिणएशियामा सिप्रोफ्लोक्सासिन प्रयोग गर्न नहुने बहस चल्न थालेको छ। तर नेपालको राष्ट्रिय उपचार निर्देशिकाले सिप्रोफ्लोक्सासिन औषधिको प्रयोगमा जोड दिएको छ। नेपालमा भएका कतिपय अनुसन्धानले सिप्रोफ्लोक्सासिन जस्ता औषधि चलाउन नहुने अवस्था आएको देखाएका छन्। तर त्यो औषधि गाउँघरदेखि शहर बजारसम्म सहजै पाइन्छ। अध्ययन अनुसन्धानको निचोडलाई व्यवहारमा ल्याउन नसक्नु विडम्बना भएको छ।
गजेन्द्रबहादुर भुजु, पूर्व महानिर्देशक, औषधि व्यवस्था विभागः एन्टिबायोटिक्स रेसिस्टेन्सको समस्या गम्भीर बनेकोमा शंका छैन। हामीसँग प्रमाणित रूपमा एकीकृत तथ्यांक भने छैन। तथ्यांक नहुँदा समस्याको मात्रा पहिचान हुनसकेको छैन। भरपर्दो ल्याब नहुँदा पनि एन्टिबायोटिक्सको असर पत्ता लाग्नसकेको छैन। अस्पतालहरूले डाटा राख्न सकेका छैनन्।

रगतको नमूना संकलन, परीक्षणमा कमजोरी हुँदा रोगको पहिचान हुन नसकी बिरामीले अनावश्यक एन्टिबायोटिक सेवन गर्नुपरेको छ। डा. अनुप बास्तोला

हामीसँग प्रमाणित तथ्यांक, भरपर्दो ल्याब नहुँदा एन्टिबायोटिक्सको असर पत्ता लाग्न सकेको छैन। गजेन्द्रबहादुर भुजु
एन्टिबायोटिक्सको उपचार निर्देशिका नहुँदा पनि यसको प्रयोग जथाभावी बढेको छ। स्वास्थ्य नीतिमा एन्टिबायोटिक औषधिको अनुगमन तथा नियमन हुनुपर्छ भनिए पनि त्यसो हुन सकेन।
चिकित्सकले बिरामीलाई धेरै एन्टिबायोटिक औषधि सिफारिश गर्ने गरेका छन्। औषधि व्यवस्था विभागको महानिर्देशक हुँदा नयाँ एन्टिबायोटिक औषधि दर्ता रोक्ने सकेसम्म प्रयास गरेको थिएँ, तर जनशक्ति कम भएकाले दर्ता र अनावश्यक प्रयोग नियन्त्रण भएन। राजनीतिक प्रतिबद्धता नभएसम्म नियन्त्रण गाह्रो हुन्छ।
डा. बस्नेतः चीनमा हुन लागेको जी ट्वान्टीको बैठकमा एन्टिमाइक्रोबियल रेसिस्टेन्सको विषय महt/वका साथ उठ्ने भएको छ। राजनीतिक इच्छाशक्ति नभइकन यो जल्दोबल्दो समस्याको समाधान हुन सक्दैन।
एन्टिबायोटिक औषधिको अनावश्यक प्रयोग बढ्नुको कारण के हो?
भुजुः औषधि सिफारिश गर्ने व्यक्तिका कारण अनावश्यक प्रयोग बढेको हो। बिरामीलाई जथाभावी सिफारिश गर्नु व्यापारिक मानसिकताको उपज हो। एन्टिबायोटिक्सलाई नाफा कमाउने माध्यम बनाउँदा समस्या भएको हो। ज्वरो निको नभए खाँदै गरेको एन्टिबायोटिकमा नयाँ थपिदिने परिपाटी छ।
एन्टिबायोटिक्सको प्रयोगबारे सरकारी स्तरबाट अध्ययन अनुसन्धानका काम हुनसकेका छैनन्। एन्टिबायोटिक्सले काम गर्न छाड्नुका कारण नक्कली औषधि त होइनन् भन्ने शंका पनि छ। टीजीसाइक्लिनपछि नयाँ एन्टिबायोटिकको विकास भएको छैन। यसले मुलुकमा एन्टिबायोटिक्सको दुरुपयोग भएको देखाउँछ। यसलाई रोक्न तत्काल कदम नचाले स्थिति भयावह बन्न सक्छ।
डा. बस्नेतः क्यान्सरलगायतका दीर्घरोग विरुद्धका औषधिहरू व्यापारिक मानसिकताबाट बने। छोटो समय प्रयोग हुने एन्टिबायोटिक्स औषधिबाट नाफा नहुने भएपछि औषधि कम्पनीहरू लामो समय खाइरहनुपर्ने औषधिको उत्पादन बढाउन लागे।
डा. समिरमणि दीक्षित, अनुसन्धान निर्देशक, सेन्टर फर मोलिक्युलर डाइनामिक्स, नेपालः नेपालमा भएका अध्ययनहरूले मानिसमा मात्र होइन, जनावरहरूमा समेत एन्टिमाइक्रोबियल रेसिस्टेन्सको समस्या बढेको देखाएका छन्। मुलुकमा आयातीत एन्टिबायोटिक्सको समस्या बढ्दो छ, तर जनस्वास्थ्य प्रयोगशालाले आधिकारिक तथ्यांक नराख्दा यसको स्तर पत्ता लगाउन गाह्रो छ।

मानिसमा मात्र होइन, जनावरहरूमा समेत एन्टिमाइक्रोबियल रेसिस्टेन्सको समस्या बढेको छ। डा. समीरमणि दीक्षित
आगामी सेप्टेम्बरमा राष्ट्रसंघको महासभामा एएमआर पहिलो पटक छलफलको अजेन्डा बन्दैछ। यो भनेको नयाँ एन्टिबायोटिकको विकास गर्ने र भएका एन्टिबायोटिक्सको सदुपयोग गर्नुपर्नेमा विश्व समुदाय अग्रसर हुन थालेको हो। महासभामा नेपालको तर्फबाट एएमआरको समस्या उठाउन लागिएको छ।
डा. बास्तोलाः सामान्य रुघाखोकी लाग्दा एजिथ्रोमाइसिन जस्ता एन्टिबायोटिक खाँदा रोग प्रतिरोधात्मक क्षमता गुमिरहेको छ। अनावश्यक एन्टिबायोटिक्स औषधि सिफारिश गर्ने चलन चुनौती बनेको छ। यसलाई रोक्न नसके नयाँ एन्टिबायोटिक विकास गरेर झ्न् विकृति मौलाउने देखिन्छ।
भुजुः धेरै बिरामी अस्पतालजन्य संक्रमणले मर्ने गरेका छन्। तर, कुन एन्टिबायोटिकले काम नगरेर जीवाणु सक्रिय भएर बिरामीको ज्यान गयो भनेर जान्न आधिकारिक तथ्यांक छैन। एन्टिबायोटिक्स वितरणको आधिकारिक तथ्यांक नराख्दासम्म समस्याको जड पत्ता लगाउन सकिंदैन।
डा. बास्तोलाः नेपालमा एन्टिबायोटिक्सले निम्त्याएको समस्या कुन रूपमा बढिरहेको छ भन्नेबारे तथ्यांक नराख्दा खतरा र जटिलता बढ्न सक्छन्।
डा. देवः एन्टिबायोटिक्सको अत्यधिक प्रयोगले समस्या निम्तिएको पक्का हो, तर नियमनकारी निकायहरू सक्रिय नहुनु पनि समस्या भएको छ। मुलुकभित्र औषधिका क्षेत्रमा काम गर्ने जिम्मेवार निकायको कमी छैन। २२ वटा मेडिकल कलेजमा पाँच–पाँच जना फर्माकोलोजिष्ट छन्। उनीहरूलाई परिचालित गरे धेरै काम हुन्छ। त्यसमा सरकार चुकेकाले मुलुकमा एन्टिबायोटिक्सको दुरुपयोग बढेको छ।
एन्टिबायोटिक्स प्रयोग गर्ने अवस्था आउनै नदिन के गर्नुपर्छ?
डा. बस्नेतः शहर बजारमा एन्टिबायोटिक्स फालाफाल भए पनि दुर्गम इलाकामा मानिसहरू एन्टिबायोटिक औषधि खान नपाएर मरिरहेका छन्। एकातिर दुरुपयोग र अर्कातिर अभाव छ। विना सिफारिश एन्टिबायोटिक्स प्रयोग गर्न बन्देज लगाए गाउँमा बिरामीलाई बचाउन सकिंदैन। एन्टिबायोटिक आफैंमा नराम्रो होइन। यसमा पहुँच र उचित प्रयोगमा ध्यान दिनुपर्छ।
डा. दीक्षितः इन्फ्लुएञ्जाको भाइरसले मान्छे मार्ने होइन, तर भाइरसको कारण निम्तिने जीवाणुका कारण मान्छे मर्न सक्छ। त्यसकारण, इन्फ्लुएञ्जाको भ्याक्सिनमा जोड दिनुपर्छ। भ्याक्सिन प्रयोग नगरेसम्म सेकेन्डरी इन्फेक्सन रोकिंदैन, तर सरकारले भ्याक्सिन प्रयोगलाई प्राथमिकतामा राखेको छैन। सरकारी निकाय काममा एकअर्कोलाई अवरोध गर्छन्। भ्याक्सिन सम्बन्धी फाइल पनि एउटा निकायले अगाडि बढाउँछ, अर्कोले रोकिदिन्छ।
डा. बस्नेतः एन्टिमाइक्रोबियल रेसिस्टेन्सको समस्या टीबी, एचआईभी जस्ता रोगको हाराहारीमा आइसकेको पश्चिमा राष्ट्रहरूले स्वीकारेका छन्। संक्रमणबाट प्रभावित बिरामीको संख्या बढी भएको नेपालमा यो समस्या झ्न् जटिल छ। एन्टिबायोटिक्स प्रयोग गर्नु नपर्ने अवस्था सिर्जनाका लागि टाइफोइड जस्ता रोगको उपचारमा भ्याक्सिनको प्रयोग बढाउनुपर्छ।
सरसफाइमा ध्यान नदिंदा संक्रमणजन्य रोग लाग्ने र त्यसलाई निको पार्न एन्टिबायोटिक्स चलाउने गरिएको छ। सरसफाइमा ध्यान दिए टाइफाइड, हेपाटाइटिस सी, निमोनिया आदिको समस्या नै कम हुन्छ। हेपाटाइटिस सीका कारण गर्भवती महिलामध्ये ३० प्रतिशतले ज्यान गुमाउने तथ्यांक छ। श्वासप्रश्वासका बिरामीलाई निमोकोकल र इन्फ्लुएञ्जामा भ्याक्सिन बढाउनुपर्छ।
डा. देवः दोस्रो विश्वयुद्धको समयमा पत्ता लागेको पेनिसिलिनले धेरै रोगको उपचारमा महत्वपूर्ण योगदान पुर्‍यायो। सन् २०१५ पछि एन्टिसाइक्रोटिनको युग शुरू भयो। अहिले विश्व एन्टी क्यान्सरको युगतिर गइरहेको छ। यही तरीकाले एन्टिबायोटिक्स चलाउँदै गए विश्व एन्टिबायोटिक पत्ता लाग्नुभन्दा अघिको समयमा फर्किने स्थिति आउनेछ।
डा. बस्नेतः महाभूकम्पपछि टाइफाइडका बिरामी बढेका छन्। यसलाई रोक्न भ्याक्सिनको प्रयोग बढाउनुपर्छ। त्यस्तै, जुम्ला–हुम्ला जस्ता विकट जिल्लादेखि शहरबजारसम्मका अस्पतालमा अन्दाजको भरमा नभई परीक्षणमा आधारित उपचार हुनुपर्छ। तर, ठूला भनिएका अस्पतालहरूमै कल्चर गर्ने परिपाटी छैन। न त र्‍यापिड डाइग्नोष्टिक प्रणाली नै विकास हुनसकेको छ। ल्याब टेष्टको अभावमा अन्दाजको भरमा उपचार गर्ने र एन्टिबायोटिक्स चलाउने अभ्यास व्यापक बनेको छ। न्यून आय भएका अरू मुलुकहरूमा पनि यो समस्या भयावह छ।
डा. बास्तोलाः चिकित्सकले अन्दाजको भरमा उपचार गरिरहेका छन्। 'स्कर्पटाइप' समस्या लिएर आएका बिरामीलाई टाइफाइडको औषधि चलाउने गरिएको छ। टाइफाइडको लागि 'विडाल टेष्ट' गर्ने चलन व्यापक छ। नेपालमा ल्याब परीक्षणको अवस्था नाजुक रहेको यसले देखाउँछ।
डा. बस्नेतः अहिले चिकित्सकले लक्षणको आधारमा बिरामीको उपचार गरिरहेका छन्। रोगको पहिचान नहुँदा नयाँ रोग निम्तिने खतरा रहन्छ। नेपालमा संक्रमणका बिरामी धेरै भएकाले रोग पहिचान झ्न् आवश्यक छ। अधिकांश अस्पतालमा इकोलाई जीवाणुबाट संक्रमितको संख्या बढेको छ। यो जीवाणुले रूप बदलेका कारण कडा खालका एन्टिबायोटिक औषधि चलाउनु परेको छ।
मानिसले औषधि बाहेक अन्य कुन–कुन माध्यमबाट एन्टिबायोटिक्स सेवन गरिरहेका छन्?
डा. दीक्षितः कुखुरा, गाईभैंसी र माछाको दानामा एन्टिबायोटिक्सको प्रयोग बढेको छ। निरोगी कुखुरालाई मोटो बनाउन औषधि दिन थालिएको छ। ती कुखुरा र माछा खाँदा मानिसले रेजिस्टेन्स ब्याक्टेरियाहरू लिइरहेका छन्। शरीरमा जीवाणु प्रवेश गरेपछि नन्रेजिस्टेन्स ब्याक्टेरियाहरू पनि रेजिस्टेन्स हुन्छन्। हामीकहाँ अहिलेसम्म भेटेरिनरी औषधि ऐन नभएकोले यो क्षेत्रबाट आउने एएमआर अर्को चुनौती बनेको छ। जीवजन्तुबाट उत्सर्जन भएको एन्टिबायोटिक रेसिस्टेन्स विश्वका लागि अर्को चुनौतीको विषय बन्न पुगेको छ।
एन्टिबायोटिक्सको दुरुपयोग रोक्न के गर्नुपर्छ?
डा. बस्नेतः चिकित्सकले बिरामीलाई एन्टिबायोटिक दिनुपर्ने हो/होइन भनेर दोहोर्‍याएर परीक्षण गर्नुपर्छ। टिरिसाइक्लिन जस्तो महँगो एन्टिबायोटिक औषधि धेरै सिफारिश गर्ने गरिएको छ। अस्पताल र चिकित्सकले नै अनावश्यक सिफारिश रोक्न थाल्नुपर्छ। एन्टिबायोटिक 'स्टोरसिप' को थालनी मुलुकका २२ वटा मेडिकल कलेज र सरकारी अस्पतालबाट हुनुपर्छ।
डा. दीक्षितः भेटेरिनरी क्षेत्रमा चेतना फैलाउनुपर्छ। पोल्ट्री उद्योगमा अहिले बढी प्रयोग भइरहेका एन्टिबायोटिक्सले कुखुरालाई राम्रो बनाए पनि मानिसलाई बिगार्‍यो भने ठीक हुँदैन। त्यसकारण पोल्ट्री उद्योग र भेटेरिनरी क्षेत्रका मानिसमा चेतना फैलाउनु जरूरी भइसकेको छ। पोल्ट्री व्यवसायमा भ्याक्सिनको प्रयोग बढाए एन्टिबायोटिक्सको आवश्यकता पर्दैन।
डा. बास्तोलाः एन्टिबायोटिक्सको अनावश्यक प्रयोग रोक्न चिकित्सकले नै बढी ध्यान पुर्‍याउनुपर्छ। अनावश्यक एन्टिबायोटिक्स चलाउँदा हुने 'साइड इफेक्ट' मा ध्यान दिनुपर्छ। बिरामीले पनि एन्टिबायोटिक खाँदैमा सबै रोग निको हुन्छ भन्ने भ्रम पाल्नु भएन। चिकित्सकको सिफारिश विनै औषधि चलाउने चलन हटाउनुपर्छ।
भुजुः चिकित्सक बाहेकका स्वास्थ्यकर्मीले पनि औषधि सिफारिश गर्ने चलन नजानिंदो गरी व्यापक बनेको छ। यसलाई रोक्न एन्टिबायोटिक टि्रटमेन्ट प्रोटोकल बनाउनु जरूरी छ। यसले सुधार ल्याउन सक्छ।
डा. देवः अनावश्यक ठाउँमा एन्टिबायोटिक्स प्रयोग गर्नु भनेको चिकित्सकले आफ्नो 'इथिक्स' नमान्नु हो। यसलाई रोक्न नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई निर्देशन दिन सक्छ। यस्ता गतिविधि भइरहेका अस्पताल आफैंले अनुचित प्रयोग रोक्नुपर्छ। त्यस्तै, औषधि व्यवस्था विभागले औषधि पसल र उद्योगहरूमा निगरानी बढाउनुपर्छ।

No comments:

Post a Comment