Sunday, September 24, 2017

दशैंमा रातो टीका लगाउने सभ्यता पहाडी जनजातिले सुरु गरेका हुन्- जगमान गुरुङ

पत्र पत्रिका बाट  -साभार

http://www.chakrapath.com/content/an-interview-with-jagaman-gurung-abaut-dashain.html 

संस्कृतका धुरन्धर विद्वान तथा संस्कृतिविद डा.जगमान गुरुङ नेपाली संस्कृतिलाई गहिरोसँग बुझ्ने इतिहासकार पनि हुनुहुन्छ । नेपालका विभिन्न भागका हरेकजसो संस्कृतिबारे गहिरो अध्ययन गर्नुभएका संस्कृतिविद् गुरुङसँग नेपाली समाजमा दशैं र यसका अनेक आयामबारे चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको संवादः 
दशैं त आइसक्यो, दशैं कहाँ मनाउनुहुन्छ ? 
दशैं मनाउन म मेरो घर कास्कीकोट आइपुगेको छु । हामी यहाँ एक भएर दशैं मनाउँछौं । हामीले हाम्रै संस्कृति, परम्परा, र चाड पर्वहरु छोड्यौं भने नेपाली हुनको अर्थ पनि गुमाउँछौं । कसैले पनि परम्परा र संस्कृति भुल्नु हुँदैन  । आत्मादेखि मान्छेलाई शान्त हुन संस्कृतिले मदत गरेको हुन्छ । इतिहास भुल्नु, संस्कृति भुल्नु भनेको नेपाली हुनुको अस्तित्व मेटाउनु हो । त्यसैले यहाँको शानदार सभ्यतालाई निरन्तरता दिंदै संरक्षण गरौ भन्छु म । 
तपाईंले नेपाली संस्कृतिको मसिनोगरी अनुसन्धान गर्नुभएको छ, भन्दिनुस् न यो दशैं कसरी सुरु भएको हो ? 
खासगरी दशैं ऋतु पर्व हो । छ वटा ऋतु मध्ये चार ऋतु मुख्य छन् । हेमन्त ऋतुमा पौष शुक्लपक्षमा मनाइने दशैं हैमन्तिका, वसन्त ऋतुमा चैत्र शुक्लपक्षमा मनाइने वासन्तिका, गृष्ममा आषाढ शुक्लपक्षमा मनाईंने दशैं गृष्मीय, शरद ऋतुमा आश्विन शुक्लपक्षको दिन मनाइने दशैं शारदीय भनिन्छ । शात्रीय मान्यतामा के छ भने हेमन्त ऋतुमा देवी भगवती भोजनम् अर्थात भोजनको लागि बस्नुहुन्छ । बसन्त ऋतुमा स्वायनम् अर्थात सुत्नुहुन्छ । गृष्म ऋतुमा परिवर्तनम् भनेको कोल्टे फेर्नुहुन्छ । र शरद ऋतुमा प्रवोधनम् अर्थात उठ्नुहुन्छ भनिएको छ । 
अन्य समयमा पनि पूजा गरिन्छ देवीको । अन्य महिनामा अन्य आसनमा हुने तर, शरद ऋतुमा देवी उठ्ने हुनाले यो वेलाको दुर्गा पूजालाई विशिष्ट मानेर बडा दशैंको रुपमा धुमधामका साथ मनाइन्छ । 
अर्को कुरा त्यो बेला धर्मयुद्ध हुन्थे । अहिले जस्तो मिसायल थिएनन् । अहिले जस्तो गुरिल्ला थिएनन् । त्यसैले पानी पर्ने र बाढी आउन बन्द भएपछि, खेतीको मैझारो गरेर युद्धको अभ्यास गर्ने गरिन्थ्यो । घटस्थापना देखि दशमीसम्म, क्रमशः सबै हातहतियार एकैठाउँ भेला गरेर सफा गर्ने, त्यसमा साँध लगाउने अर्थात् उध्याउने, पूजा गर्ने गरिन्छ । बडा दशैंको दिन घटस्थापनाको दिन राखिएको घडाको पानीले अभिशेक गरेर अविर र दहिमा चामल मुछेर सबैलाई लगाइदिने र हर्षवढाईंका साथ हतियार निकालेर युद्धको अभ्यास गर्न निस्कने गर्दथे । यसरी मनाइन थालिएको हो दशैं । दशैंमा दिने आशिर्वादमा भएका नामहरुको पनि अर्थ छ । 
राज्य, राज्य बीचका लडाईंमा मात्र हैन, रामायण र महाभारतको लडाईंमा गााउँ नै रित्तिनेगरी मान्छेहरु मरे । धेरै विधवा भए । धेरैले सन्तान गुमाए । कति अनाथ भए  । यसले परिवारहरु विश्रृंखलित मात्र भएनन्, वातावरण नै विशाक्त भयो । त्यो अवस्थाले मान्छेको सातो गयो । अहिले भन्दा, मान्छेमा डिप्रेशन भयो । अब केही छैन भनेर पूरै नैराश्यता छायो । त्यो अस्तब्यस्त समाज र निराश मान्छेलाई हौसला बढाउन रामायण र महाभारतको युद्धमा ख्याती कमाएकाहरु जस्तै बन्नु भनेर आशिष दिइएको हो । यसबाट मान्छेमा उत्साह जगाइन्थ्यो । त्यसैले अहिलेसम्म पनि त्यहि आशिष दिइने गरिन्छ ।  
अनि जनजातिका केही अगुवाहरु रामले रावणलाई जितेको दिनदेखि दशैं मनाउने गरिएको र रावण भनेका हाम्रा पूर्खा हुन् त्यसैले बाहुनले जनजातिमाथी जित हासिल गरेको दिन भएकाले दशैं मनाउने परम्परा हामी मान्दैनौं भन्छन् त ? 
यो सबै अनविज्ञहरुले गर्ने कुरा हो । हेर्नुस् है, दशैं कसरी मनाउन थालिएको हो भन्ने कुरा दशैंमा के को पूजा गरिन्छ त्यस्ले प्रष्ट बनाउँछ । दशैंमा हामी रामको कतै पूजा गर्छाैं ? गर्दैनौं । रामलाई कहिँ सम्झन्छौं ? सम्झन्नौं। दशैंमा त देवीको पूजा हुन्छ । दुर्गा भगवतीको पूजा हुन्छ । नौ दिनमा हामी नौ वटा देवीहरुको पूजा गर्छौं । दुर्गा भनेकी शक्तिको प्रतीक हुन् ।  दशैं शक्ति उपसनाको पर्व हो । त्यो बेलाका सुर भनेको सत्यको पक्षमा लड्ने र असुर भनेको असत्यको पक्षमा रहेका मान्छे हुन् । तिनै सुरले असुरहरु माथि विजय प्राप्त गरेको दिन अर्थात् दानवहरु माथि विजय प्राप्त गरेको दिनलाई विजयको रुपमा मनाउन थालिएको हो । 
रावण आर्थात् महिषासुरको सन्तान भनेर जनजातिहरु भन्नेले किन भनेका हुन् मलाई थाहा छैन । जहाँसम्म रावणलाई रामले मारेर विजय भएको दिनलाई दशैंको रुपमा मनाइने भन्ने कुरा छ, यो हाम्रो संस्कृति होइन । आयातित कुरा हो । यो कुरा भारतको गंगाको मैदानमा विकास भएको संस्कृति हो । दुर्गा पुजा नेपालको पहाडमा विकास भएको संस्कृति हो । जसलाई यहाँका जनजातिले विकास गरे । गंगाको किनारमा विकास भएको संस्कृति बाहुनहरुले ल्याए । दुइटै संस्कृति उल्लासबाट सुरु भए पनि आएको समय र पृष्ठभूमी फरक छ । तर पछि पछि विस्तारै समान्य हुदै आयो । हाम्रोमा पनि तराईतिर रावणलाई जलाएर दशैं मनाउने गरेको पाइन्छ र उनीहरुले सँगसँगै दुर्गा पूजा पनि गर्न थाले । 
खास कुरा के हो भने मनमुखी बोलेको हो या गुरुमुखी बोल्या हो भनिन्छ गाउँमा । अहिले मान्छे आफैंले बोल्दैछ या अरुका लागि बोलि दिंदैछ, भन्ने नै बुझ्न गाह्रो पर्न थालेको छ । आफ्ना लागि भए सत्य कुरा खोजेर पनि बोल्छ । अरुका लागि बोल्नेलाई जे जे भने पनि भो । तथ्य बिनाकै कुरा ल्याइदिए पनि भयो । दशैं जनजातिको होइन, रावणलाई मारेर सुरु गरिएको उल्लास हो भन्नेहरु आफूले देश जानेर बोलेका होइनन् । मनमुख होइन, गुरुमुख भएर अरुको लागि बोलिरहेका छन् । अहिले केही जनजाति भन्नेहरुले मनको देशलाई माया गर्नेगरी होइन कि अरुको देशमा गएर पैसा कुम्ल्याएर आएकाहरुले यस्तो बोलिरहेका छन् । हिन्दु सभ्यता मास्ने आदिवासी जनजातिको पहिचान मास्ने, देशका जातजाति लडाएर देश तहसनहस बनाउने सात समुन्द्र पारीका क्रिश्चियनहरुको योजनामा आर्थात् गुरुमुख बोलिरहेको छ । 
दशैं मान्ने कुरा हाम्रो राष्ट्रियता बचाउने कि मास्ने भन्नु जस्तै हो । राष्ट्रियता बचाउने भए आफू जन्मेर हुर्केको सभ्यता बचाउनु पर्यो । देशको माया लाग्छ हाम्रो संस्कृति बचाउन लागौं, होइन भने फेरि सुर र असुरको लडाईं लड्न तयार हुनु पर्छ हामी । हाम्रो सभ्यतामाथि क्रिश्चियनको आक्रमण बिरुद्ध उभिनु पर्यो नि । हिजो राष्ट्रियताका लागि भएको युद्धमा हासिल गरेको जितमा दशैं मनाउन थालिएको हो, अव फेरि अर्को लडाईं चले पनि तयार रहौं भन्छु म त । 
तपाईं त्यसो भन्नुहुन्छ तर, जनजातिका केही अगुवाहरु त कति बर्ष देखि दशैंको विरोधमा सेतो टीका लगाएर दशैं मनाउँछन् । रातो टीका हाम्रो पुर्खाको रगत हो भन्छन् नि, होइन र ? 
टीका त पहिले जनजातिले मात्र हैन, खसआर्यहरुले पनि सेतो नै लगाउँथे । किनकी आज पनि हाम्रोमा रातो रङ बनिदैन भारतबाट आउँछ भने त्यो बेला कहाँबाट पाउनु र लगाउनु ? नेवार बजारमा बस्थ्यो । उ ब्यापार पनि गथ्र्यो । त्यसैले उसले पहिला रातो टीका लगाउन थाल्यो । पछिल्लो समयमा अविर आयो, सबैले रातो टीका लगाउन थाले । 
साँच्चै भन्ने हो भने बाहुनहरु हानबैरी गर्ने जात नै होइनन् । हुन त अहिले सेनामा बाहुन छन् । हिजो क्षत्री, ठकुरी, गुरुङ, मगरहरु मात्र सेनामा हुन्थे । आजजस्तो सेना, हात हतियार थिएनन् । शत्रुलाई मार्न नजिकै गएर काट्नै पथ्र्यो । जनजाति सुरा थिए । सुरा जनजातिहरु मार हान्नेमा हुन्थे । देउराली, देवीथानमा मार हान्ने र त्यसबाट चुहिएको रगत थालको चामलमा चुहाइन्थ्यो र त्यो रगतमा मुछिएको चामल सबैलाई तिनै मार हान्नेले शक्तिको प्रतीक मानेर लगाइदिन्थे । अहिले आएर रातो टीका रगत हो, हाम्रो होइन भन्न पाइन्छ ? पाइन्न । किनकी संस्कृति जोगाउने जिम्मा हामी पहाडमा सभ्यता लिएर आएका जनजातिहरुको नै हो । त्यसबेला लडाका जाति भनेका दुश्मनलाई उत्तानो पारेर, पछारेर, दुश्मनको छातीमा घुँडाले टेकेर, छाती चिरेर मुटुको रगत झिकी त्यसको टीका लगाउने प्रमुख जाति हुन् हाम्रा पुर्खा । यसमा त गर्व पो गर्नु पर्यो । हाम्रा पुर्खाको त्यो शानको ब्याख्या पो गर्नु पर्यो । उल्टो भाग्ने होइन नि । 
तपाईं इतिहास नविर्सनु भन्नुहुन्छ, जनजाति अगुवाहरु आफू राजाको पाला देखि हेपिएको भन्दै विरोध गर्छन् त ? 
तपाईंलाई एउटा उदाहरण दिउँ । संखुवासभाको खाँदबारीमा पाङवा भन्ने गाउँ छ । म २०४७ सालमा जाँदा त्यहाँ गंगाप्रसाद राई त्यस गाँउका मुखिया थिए । उनलाई ५२ पगरीको राई भनिन्थ्यो । किनकी त्यहाँ ५२ जातका मान्छे बस्थे । उनलाई गाउँलेले पैसा उठाएर दिने र उनले मालपोतमा गएर काम गर्ने गर्दथे । दशैंको समयमा बाहुन दहि र केरा बोकेर मुखिया मान्न पुग्थे । अन्यले बली दिएका कुरा लिएर जान्थे । 
बाहुन त जाँड रक्सी नखाने, मासु नखाने जात हो । तर बाहुन बात लाग्दा जातबाट तल झर्ने हुन्थ्यो । ती बात लागेकाहरुलाई गंगाप्रसादको आँगनमा बोलाईंन्थो । गोवरले लिपेर ठिक्क पारेको ठाउँमा ती बात लागेका तागाधारीलाई झिकाइन्थ्यो । अनि गंगाप्रसाद राई, जसले सुगुरको मासु खान्थे, काटमार गर्थे । उनले सुनपानी छर्केर तिनलाई झरेको जातबाट माथि उक्लेको घाषणा गर्थे । त्यहाँ उनले जे भन्यो त्यहि हुन्थ्यो ।
त्यस्तै तनहुँको भिमादमा बिष्णुबीर आले अहिले पनि हुनुहुन्छ । उहाँले त्यस्ता जात खसेका बाहुनलाई सुनपानी छर्केर आफ्नो जातमा फर्कएको कुरा सुन्न अहिले पनि सकिन्छ । अनि हामी जनजातिले त्यो बेला कति धेरै पावर ‘इन्ज्वे’ गरेर बसेका रहेछौं त ? त्यो भुलेर आज नचाहिँदो अफवाह फैलाउने काम गर्नु हुँदै हुँदैन । 
पुराना यस्तै गाउँहरु अनगिन्ती छन् हेर्नुस है  । पोखरामा एउटा मिया पाटन भन्ने ठाउँ छ । त्यो मुसलमानहरुको बस्ती भएको ठाउँ हो ।  त्यो टोल र अन्य टोल मिलेर एउटा गाउँ बनेको थियो । त्यहाँ रहिमद अली र महमोद मिया गाउँका मुखिया थिए । दशैंको बेला त्यहाँ वरिपरीका बाहुन, क्षेत्री, गुरुङ, दमाई सबै मुखिया मान्न जान्थे । त्यो मुसलमानलाई हिन्दुले गाउँको मुखिया मानेको परम्परा मुसलमान देशमा छ ? ल देखाउन् त ? हाम्रोमा छ । त्यसैले दशैंको उच्च परम्परालाई जातजातिमा लगेर नचाहिँदो हल्ला फैलाएर, नराम्रो बनाउने अधिकार कसैलाई छैन । त्यसकारण दशैं विशिष्ट समन्वयकारी संस्कृति हो । यसले हरेक जातजातिको उच्च सम्मान गरेको छ । अनि अपमानको कुरा कहाँबाट आयो ? 
तपाईं सबै जातजातिबीच परस्पर सम्मान थियो भन्नुहुन्छ, तर जनजाति हेपिएको कुरा चाहिँ कसरी आयो ?
यो सरासर गलत हो । पैसाका लागि यस्तो प्रचार भएको हो । हाम्रो इतिहास मास्न गरिएको नियोजित प्रचार हो । इतिहास जोगाउनु पर्नेमा उल्टो  यसरी गलत प्रचारले मार्न पाईंदैन । चीनमा लामो समय लडाईंपछि माओले राज्य गरे । लडाईंको समयमा सबै भत्काइयो । तर जव १० बर्ष अघि चीनले ओलम्पिकको आयोजना गर्यो । चराको गूँड नाम गरेको स्टेडियम बनायो । त्योबेला चीनले आफ्ना ५ हजार बर्ष पुराना कुरा झल्काउने गरी त्यो स्टेडियम बनाएको थियो । हरेक देशले आफू बलियो देखाउन गर्ने भनेकै आफ्नो इतिहासमा गर्व गरेर हो, मासेर होइन । त्यसलाई भनिन्छ सिंहावलोकन । हामीले पनि यहि गर्नुपर्छ । 
उहिले तागाधारी र मतवाली अर्थात जाँड खाने र नखाने भनेर सम्बोधन हुन्थ्यो । राज्याधिकार र धर्माधिकारी भन्ने हुन्थ्यो राज्याधिकारी भनेको राजा हो र धर्माधिकारी भन्या वडागुरुज्यू हुन्थे । राजा भन्दा बडागुरुज्यू एक स्थान माथि हुन्थे । राजालाई श्री ५ र वडागुरुज्यूलाई श्री ६ लेखिन्थ्यो । कत्रो सम्मान ? 
सुरुका बेलामा खान र सेन राजाका हातमा राज्य थिए । मगर पुजारी र बाहुन पुरेत थिए । कसरी मिलेर बसेका थिए ? बडा दशैंको पूजा गर्दा पनि राज्याधिकारीका वडागुरुज्यूका प्रतिनिधि बाहुन पुरोहितले संकल्प बाक्य भन्ने र कोटको मुख्य ब्यक्तिले पानी समातेर मौलो पूजा गर्ने परम्परा छ । कोट भनेको कोठा हो । त्यहाँ मगर पुजारी बाहेक अन्य कोही बाहुन पनि पस्न पाउँदैनथ्यो । देशभरीका बडा दशैंको मौलो पूजा गर्ने ठाउँमा तिनै बीर उमराउले पूज्ने गर्थे । बीर उमराउहरु  प्रायः तागाधारी भन्दा आदिबासी नै छन् । अनि हाम्रो दशैं होइन भन्न कहाँ पाइन्छ ? 
दशैं देशैभरका जातजातिको हो भन्ने केही सांस्कृतिक उदाहरण दिन सक्नुहुन्छ ? 
म अहिले याङजाकोटमा छु । यहाँ पनि दशैंको पूजा हुन्छ । त्यो परम्परा स्थीर भएको मात्र हो । माथि डाँडामा याङजाकोट छ । त्यहाँको घरलाई कोट घर भनिन्छ । औंशीको दिन पनि बिहानै नगराको पूजा हुन्छ । नगरा बजाउँदै कोटघर पुगेर फर्किइन्छ । यो दशैं आयो है भनेर सबैलाई जनाउ दिइएको हो । यो नगरा बजाउने काम नगर्चिले गर्छ । 
घटस्थापनाको दिनमा मगर पुजारीकी श्रीमतीले नुहाएर चोखोनिधो गरेर मार्सी चामलको जाँड राख्छे । त्यो जाँड फूलपातीमा बसाउन थाल्छ । त्यो जाँड मीठो भएन भने दुर्गा रिसाइन् भन्ने हुन्थ्यो । अब कालरात्रीको मध्यरातमा जुन ढल्केपछि मगर पुजारीले केराको पातमाथि जाँडको पोको पारेर कालीलाई चढाउँछ र बाहुन पुरोहितले संकल्प भन्छ । नौ नौ वटा बोतामा पूज्ने जमरा राखिएको हुन्छ । त्यो टीका लगाउँदा प्रयोग गरिंदैन । टीका लगाउँदा लगाइदिने जमरा घटस्थापनाको दिन राखिन्छ । 
फूलपातीको दिन पुरानो खुँडा, खुकुरी सफा गरेर, साँध लगाएर, रातो सेतो ध्वजा लगाएर सिंगारेर दुर्गा देवीको स्थान स्थापना गरिन्छ । त्यसलाई दुर्गा जगाउँने, खाँडो जगाउँने भनिन्छ । खाँडो भनेको शक्ति हो । यसलाई खड्गसिद्धी पनि भनिन्छ । 
अष्ठमीको दिन विहान झुल्के घाममा वलीपूजा गर्ने गरिन्छ । बलीपूजा मुख्य पूजा हो । कोटमा बाहुन पुरोहित र कोटको प्रमुख कर्ता हुन्छ । अनि नगरा बजाउँदै राग मध्येको पनि बादशाह राग सबैभन्दा राम्रो राग बजाउँदै लगिन्छ । जुन राग शाही कालमा ठकुरीको विवाहमा बाहेक बाहुनको बिवाहमा पनि बजाउन पाईंदैनथ्यो । त्यो बजाउने नगर्ची हुन्छन् । मालसिरी धुन बजाईछ । त्यो पनि नेपालीमा छ । त्यो खासमा त्यो बेलाका सेनाको हौसला बढाउन बजाइएको हो । त्यसमा चारै दिशा नेपालले डंक फिंजायो भनेर लेखिएको छ । सेनाका प्रमुख बाहुन पनि थिए तर अधिकांश जनजाति थिए । अनि हाम्रो होइन दशैं भनेर गलत प्रचार गर्न पाइन्छ ? 
मालसिरी धुन सहित त्यसरी कोटमा पुगेपछि मार हान्ने गरिन्थ्यो । जसले एकै मारमा छिनाउन सक्यो उसलाई पगरी गुथाउने चलन थियो । त्यो मार हान्ने काममा सेना नै हुन्थे र प्रायः जनजाति हुन्थे । धेरै ठाउँमा अहिले पनि जसले मार हान्दै आएका थिए उसैका सन्तानले बिंडो थामेका छन् । जस्तो कास्कीकोटमा फेवाली राना मगरले मार हान्छ । उ बाहेक अरुले मार हान्न पाउँदैन । 
दशैको टीकाको दिन घटस्थापनामा राखिएको घडाको जलले अभिषेक गरी टीका लगाएर रमाइलो गर्ने चलन छ । काठमाडौंका नेवारहरुले दशैंको दिन सेतो फेटा गुथेर सेतै जामा लगाएर हातमा खुँडा बोकेर नगर परिक्रमा गर्ने गर्दछन् । 
गण्डकी क्षेत्रमा चाहिँ सराप खेल्ने भनिन्छ । त्यहाँ पनि खुँडा खुकुरीहरु लिएर निस्कने गरिन्छ । यस्तो सराप खेल्न गुरुङ, मगर, दमाइर्, कामी बाहुन, कसैलाई छेकवार छैन । यो युद्धको अभ्यास स्वरुप गर्ने गरिन्थ्यो ।  दशैंमा साइत गरेपछि अघिपछि साइत हेर्न पर्दैन भन्ने थियो । यसरी हरेक जातिको समन्वयमा चलेको यो दशैं कसैले कसैलाई हेपेको भनेर गलत प्रचार गर्नु राष्ट्रको लागि घात बाहेक हरु केही होइन ।

No comments:

Post a Comment