Saturday, September 23, 2017

जसले नेपालको जग बसाए

पत्र पत्रिका बाट  -साभार 

http://kantipur.ekantipur.com/news/2017-09-23/20170923104348.html 
आश्विन ७, २०७४-नेपालको इतिहासको अध्ययन गर्दै जाँदा धेरै व्यक्तिहरू महत्त्वपूर्ण पात्रका रूपमा अगाडि आउने गर्छन् । पहिले–पहिले राजा–महाराजहरूको मात्र इतिहास लेख्न चलन थियो । आजभोलि आम जनताको पनि इतिहास लेख्ने चलन सुरु भएको छ । जनताबाट पनि उत्तिकै महान् व्यक्ति अगाडि आइरहेका छन् । त्यसैले उनीहरूबारे पनि अध्ययन र अनुसन्धान गर्ने प्रवृत्ति सुरु भएको छ । तर पनि पृथ्वीनारायण शाहको कार्य र व्यक्तित्व नेपाली इतिहासमै महत्त्वपूर्ण छ । 
पृथ्वीनारायण शाहले आफ्नो सानो गोर्खा राज्यलाई विस्तार गर्ने कार्यबाटै अहिलेको बृहत् नेपाल राज्य निर्माण भएको हो । उनीपछाडि बुहारी राजेन्द्रलक्ष्मी, छोरा बहादुर शाह र अन्य बहादुर लडाकुहरूले गोर्खा राज्य विस्तार गर्ने काम क्रमिक रूपमा गरे । बहादुर शाहको पालामा त कुमाउँसम्म सिमाना पुगेको थियो । यसरी उनको पालामा बृहत् नेपाल तयार भएको थियो । पछि नेपाल राज्य पूर्वमा टिस्टा र पश्चिममा सतलज नदीसम्म विस्तार भयो । 
युरोपेली इतिहासको अध्ययन र त्यसको विश्लेषण गर्दा पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तार गरेको सय वर्षपछि इटाली र जर्मनीमा त्यस्तै एकीकरणका कार्य भएको पाइन्छ । इटाली र जर्मनीको एकीकरण हुँदा त्यहाँ कति राज्य र क्षेत्र मिलेपछि त्यो पूरा हुने हो, त्यो तय थियो । नेपालबारे चर्चा गर्दा यो कहाँ कतिसम्म पुग्छ त ? कति भयो भने नेपाल एकीकरण भएको मानिन्छ ? यो प्रश्न टड्कारो थियो । नेपाल र अंग्रेजबीच युद्ध हुनुअगाडि नेपालको सिमाना पश्चिम धेरै टाढा पुगिसकेको थियो । 
इतिहासको विद्यार्थीको नाताले भन्नुपर्दा नेपालको सीमाक्षेत्र तय गर्न मगध सम्राट् समुद्रगुप्तको इलाहावादको शिलालेखको सहयोग लिनुपर्ने हुन्छ र यो ठीक पनि छ । समुद्रगुप्तलाई उत्तर भारतका सम्राट् भन्दा उपयुक्त हुन्छ । उनको शिलालेखमा आफ्नो देशको क्षेत्रबारे उल्लेख गर्दा उत्तरमा तीन राज्य रहेको भनिएको छ । ती हुन्— कामरूप, नेपाल र कर्तृपुर । त्यो अर्थमा नेपालको क्षेत्रफल कामरूप र कर्तृपुरको बीचमा थियो । कामरूप भन्दा आजभोलि आसाम, भुटान र सिक्किम आदि क्षेत्र हुन्छ । कर्तृपुर भन्दा कुमाउ–गढवाल बुझिन्छ । त्यो शिलापत्रअनुसार नेपाल भनेर यिनै दुई स्थानको बीचको भाग भन्ने बुझिन्छ । नेपालको सीमाबारे बुझ्न यो व्याख्या उपयुक्त छ र यसकै सहयोग लिनु उपयुक्त छ । पृथ्वीनारायण शाहले आफ्नो गोर्खा राज्य विस्तारका क्रममा यही क्षेत्र आफ्नो अधीनमा लिने कार्यको थाली गरे । उनले आफ्नो दिव्य उपदेशमा यसरी नै व्याख्या गर्ने प्रयास गरेका छन् । 
नेपालको इतिहासमा पृथ्वीनारायण शाहले दिएको योगदानबारे लेख्दा उनको राज्य विस्तार निकै ठूलो कामका रूपमा अगाडि आउने गर्छ । उनको समयमा गोर्खा सानो राज्य थियो । यो चौबीसे राज्यको एउटा भाग थियो । त्यति बेला यो चौबीसे राज्यको समूहमा पनि आत्मीयता थिएन । लमजुङबाट छुट्टिएर गोर्खा राज्य बनेको थियो । त्यसैले गोर्खा राज्यसँग धेरैको राम्रो सम्बन्ध थिएन । यस्तो स्थितिमा पनि पृथ्वीनारायण शाहले आफ्नो राज्यविस्तारको काम गरे । नेपालको अहिलेसम्मकै इतिहासमा यो सर्वाधिक महत्त्वपूर्ण काम हो । उनले यो काम नगरेको भए, अहिले नेपाल भन्ने देश रहने थिएन । नेपाल अहिलेको जस्तो स्वतन्त्र राज्य रहने थिएन । इतिहासको विद्यार्थीको नाताले म यो तथ्य ठोकुवा गरेर भन्न चाहन्छु ।
पृथ्वीनारायण शाहका कदमका सकारात्मक र नकारात्मक धेरै पक्ष छन् ।  राज्य विस्तारको अभियानका क्रममा कैयौं मानिस मारिए पनि । तर उनले राज्य विस्तार नगरेको भए के हुने थियो ? त्यो अनुमानको विषय हो । इतिहासका विद्यार्थीले निष्पक्ष रूपमा भन्न सक्नुपर्छ । उनको समयदेखि अहिलेसम्मको इतिहास केलाएर भन्ने हो भने पृथ्वीनारायण शाहले गोर्खा राज्यलाई विस्तार गरेर नेपाल राज्यको निर्माणको थालनी नगरेका भए, अहिले हामी नेपाली भनेर रहने स्थिति हुने थिएन । 
यहाँनिर त्यति बेला अंग्रेजहरूको एउटा नीतिबारे पनि उल्लेख गर्न आवश्यक छ । त्यसअनुसार अंग्रेजहरूले भारतमा आफ्नो साम्राज्य बनाउने क्रममा र त्यहाँका विभिन्न राज्य गाभ्दा उनीहरूको चाहना उत्तरमा चीनसँग झगडा गर्न नपरोस् भन्ने थियो । त्यो सोचाइअनुसार उत्तरतर्फका साना–साना राज्य सिक्किम, भुटान र कश्मीरलाई स्वतन्त्र राखौं भन्ने नीति तयार भएको थियो । यसलाई भारतमा उपलब्ध रहेका ऐतिहासिक तथ्यले पुष्टि गर्छन् । 
यता नेपालमा मुख्तियार भीमसेन थापाको समयमा बृहत् राज्य तयार भयो । पछि नेपाल–अंग्रेज युद्धपछि भएको सुगौली सन्धिपछि आधुनिक नेपालको आकार परिवर्तन भयो । जंगबहादुरको पालामा अहिलेका चार जिल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता पायौं । यसरी तयार भएको आधुनिक नेपालको निर्माणको थालनीको श्रेय कसैलाई जान्छ भने त्यो पृथ्वीनारायण शाहलाई नै जान्छ । पृथ्वीनारायण शाहको सबैभन्दा ठूलो योगदान नै यही हो । त्यसैले उनलाई नेपाल राष्ट्रका निर्माता भन्न सक्छौं । मैले आफ्नो जीवनमा गरेको अनुसन्धानको सार पनि यही हो । 
राज्य विस्तार कि एकीकरण ?
मानिसहरू बहस गर्छन्— उनले गोर्खा राज्यको विस्तार गरेका हुन् कि नेपाल राज्यको निर्माण ? म यस विषयलाई दोहोर्‍याएर उल्लेख गर्न चाहन्छु— निश्चित रूपमा पृथ्वीनारायण शाहले आफ्नो राज्य विस्तार गरेका हुन् । र उनको त्यही राज्य विस्तारको कामले नै नेपाल राज्य स्थापना भएको हो । यसै कारणले अहिले हामी नेपालीले मेचीदेखि महाकालीसम्मको सीमालाई आफ्नो देश भन्न सकेका छौं । र, गर्वले आफूलाई नेपाली भन्न पाएका छौं । 
इतिहासलाई वस्तुगत ढगले विश्लेषण गर्नुपर्छ । त्यो बेलादेखि अहिलेसम्म उपलब्ध तथ्यको आधारमा भन्ने हो भने पृथ्वीनारायण शाहकै कारण नेपाल राज्य बन्यो । उनले सुरुमा नेपाल राज्य बनाउँछु भनेर आफ्नो काम सुरु गरेका होइनन् । यो गोर्खा राज्यको विस्तार नै हो । गोर्खा राज्य विस्तारकै क्रममा पछि नेपाल राज्य बन्न गयो । यो कार्यको थालनी गरेकोमा पृथ्वीनारायण शाहलाई ठूलो श्रेय दिनुपर्छ । 
आश्चर्यको कुरा, त्यति बेला उनले नेपालको एकीकरण भनेका छैनन् । दिव्य उपदेशमा पनि एकीकरण शब्द उल्लेख छैन । पृथ्वीनारायण शाहले सामाजिक, सांस्कृतिक र राजनीतिक आदि पक्षहरूमा धेरै बोले, तर उनले नेपाल एकीकरण गर्न यस्तो काम गरें भनेर कहीं बोलेका छैनन् । दिव्य उपदेशमा बोलेको भए, त्यो अति राम्रो प्रमाण हुन सक्थ्यो । त्यसबाट पनि भन्न सकिन्छ— यो वास्तवमै गोर्खा राज्यको विस्तार हो, यही विस्तारकै क्रममा नसोचेको किसिमले पछि गएर नेपाल एकीकरण हुन गयो । 
सुरुमा गोर्खा राज्य विस्तारकै क्रमलाई नै गोर्खालीकरण भन्न थालियो । उनले कहीं पनि म नेपाली हुँ भनेका छैनन् । दिव्य उपदेशमा पृथ्वीनारायणले ‘तीन सहर नेपाल र नौलाख किरायत (किराती) र हिन्दुपति (सेनराज्य) आज्र्याथ्येउ’ भनेर बोलेको उल्लेख छ । यस ग्रन्थमा २२ पटक ‘नेपाल’ शब्द उल्लेख छ, तर यसले काठमाडौं उपत्यकालाई मात्र जनाउँछ, नेपाल राज्यलाई होइन । त्यसैले राज्यको नाम गोर्खा रह्यो । जनता गोर्खाली । चन्द्रशमेशरको पालामा बनाएको राष्ट्रिय गीतमै ‘हामी गोर्खाली भाइ साराले’ भनिएको छ । भाषा गोर्खा भनियो । तक्माको नाम ‘गोर्खा दक्षिणबाहु’ । सरकारले निकालेको पत्रिका पनि ‘गोर्खापत्र’ । जुद्धशमशेरले गोर्खाली शब्दको स्थानमा नेपाली लेखेका हुन् । गोर्खा राज्यका स्थानमा ‘नेपाल राज्य’ लेखिन थालेको जुद्धशमशेरकै पालामा हो । 
नेपाली इतिहासले पाएका अहिलेसम्मकै सबैभन्दा ठूला व्यक्तित्व पृथ्वीनारायण शाह नै हुन् । नेपाल राज्य स्थापनाका लागि दिएको योगदानका आधारमा यो सत्य र वास्तविकता हो । 
शासकीय दूरदृष्टि
पृथ्वीनारायण शाहको अर्को महत्त्वपूर्ण योगदान उनले दिएका दिव्य उपदेश हुन् । राज्य कसरी चलाउने हो भनेर उनले दिएका उपदेशहरू अहिले पनि उत्तिकै सान्दर्भिक छन् । यी सबै अनुकरणीय छन् । उनको बिरामीका कारण आकस्मिक रूपमा निधन भयो र आफूले थालेका सबै काम पूरा गर्न सकेनन् । आफू गम्भीर रूपमा बिरामी भएपछि आफ्नो नजिकका मान्छेलाई बोलाएर इच्छाहरू व्यक्त गरे । यी नै उनका दिव्य उपदेश हुन् र यसै कारण उनलाई दूरदर्शी भन्न सक्छौं । 
उनले आफूले भनेका सबै उपदेश आफ्ना सन्तानलाई सुनाउनू पनि भनेका छन् । उपदेशअनुसार देश अगाडि बढाउनुपर्छ भनेका छन् । उनले तय गरेका नीति लागू गर्ने हो भने अहिले पनि त्यसले फाइदा मात्र गर्छ, बेफाइदा गर्दैन । उनले दिएका उपदेशमा सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक पक्ष सबै समेटिएका छन् । उनले भनेका छन्, नेपाल चार वर्ण र छत्तीस जातको फूलबारी हो । यो निकै राम्रो र उपयुक्त उपदेश हो । यसले यो ठूलो, यो सानो भन्ने हुन्न । एउटा फूलबारीमा जस्तै सबै समान छन् । 
उनले नेपाल आत्मनिर्भर हुनुपर्छ पनि भनेका छन् । आफ्नै देशमा बनेका कपडा लगाउनू भनेका छन् । आफ्नै देशको भयो भने आर्थिक स्थिति राम्रो हुन्छ, बाहिरको वस्तु धेरै उपयोग नगर्ने भनेका छन् । बाहिरका धेरै साहुमहाजनलाई देशमा भित्रिन नदिनू, चाहिएका एक दुई जनालाई मात्र प्रवेश गराउनू भनेर जोड दिएका छन् । उनले भनेका छन्, घूस दिने र लिने देशका महाशत्रु हुन् । यस्तो काम गर्नेको ज्यान लिँदा पनि पाप लाग्दैन भनेका छन् । यो पनि निकै उपयुक्त छ । 
यस्तै पृथ्वीनारायण शाहले ‘नेपाल दुई ढुंगाबीचको तरुल’ हो भने । नेपाल तरुलै हो, उत्तरमा चीन र दक्षिणमा भारत दुई ठूला देश छन् । हामी ठूला देशको बीचमा किच्चिन सक्छौं । यो विदेश नीतिका लागि उत्तिकै सान्दर्भिक छ । उनले जनता बलियो भए मात्र दरबार (सरकार) पनि बलियो हुने बताएका छन् । खालि दरबार मात्र धनी र सम्पन्न भयो भने मात्र केही हुन्न । जनता धनी हुनुपर्छ । 
आफ्नो राज्य विस्तार गर्नुअगाडि उनले बनारस गएर हतियार किन्न खोजे, तर आर्थिक अभाव झेले । यस्तो स्थितिमा उनले गोर्खाको हरेक घरबाट एक–एक रुपैयाँ उठाएका थिए । त्यसपछि मात्र उनले हतियार किन्न सके । यस्तै उनले न्यायनिसाफमा राजाले हेर्नुपर्छ, अन्याय गर्नु हुन्न भनेका छन् । उनले यो देश कम्ती दु:ख सहेर बनाएका होइनन् । 
पृथ्वीनारायण शाहले सुरुदेखि धेरै दु:ख गरे । कीर्तिपुरको युद्धकै क्रममा उनले झन्डै ज्यान गुमाउनुपरेको थियो । एक नेवार सिपाहीले धर्म भावनाले उनलाई मार्न दिएका थिएनन् । त्यति बेला राजालाई ईश्वर मानिन्थ्यो । 
राज्य विस्तारका क्रममा उनले निकै मिहिनेत गर्नुपरेको निश्चित हो । उनी आजको भाषामा भन्दा व्यवहारमा पनि लोकतन्त्रवादी थिए । त्यति बेलै पृथ्वीनारायण शाहले कालु पाँडेलाई अहिलेको प्रधानमन्त्रीजस्तो पदमा राख्न बैठक राखेका थिए । यसका लागि जनतासँग सल्लाह लिइएको थियो । अझ छिमेकीसँग पनि राय लिइएको थियो । उनको रोजाइ विराज बखती थिए, तर सबैले कालु पाँडे नै राम्रो भनेपछि पृथ्वीनारायण शाहले उनलाई नै प्रधानमन्त्री पदमा छाने । 
काम गर्दा भूल
काम गर्दा भूल हुने गर्छन् नै । कीर्तिपुरको पहिलो युद्ध नै खासमा भन्ने हो भने पृथ्वीनारायण शाहको भूल हो । उनले कीर्तिपुर आक्रमण गर्दै छ भनेर थाहा पाएपछि ललितपर, भक्तपुर र कान्तिपुरका राजाहरू मिलेर त्यसको रक्षा गर्ने नीति लिए । यो थाहा पाएपछि कालु पाण्डेले पृथ्वीनारायणलाई युद्ध नगर्ने सल्लाह दिए । तर यो सुनेर उल्टै पृथ्वीनारायण शाह रिसाए र कालु पाँडेलाई युद्धदेखि डराएको आरोप लगाए । आखिरमा त्यसै युद्धमा कालु पाँडे मारिए ।यही युद्धका क्रममा उनको आफ्नो ज्यान पनि जान लागेको थियो । 
उनले राज्य विस्तारका क्रममा केही स्थितिमा जबरजस्ती पनि गरेका छन् । जयन्त रानालाई छाला काढेर मार्नु कतिसम्म ठीक हो, यो पनि प्रश्न उठ्न सक्छ । पृथ्वीनारायण शाहले जयन्ती रानाप्रति जे गरे, त्यो ठीक थिएन । दरबारिया षड्यन्त्रकै कारण जयन्त रानाले गोर्खा छाडेर कान्तिपुरका राजा जयप्रकाश मल्लसँग मिल्नुपरेको थियो । यसै कारणले पृथ्वीनारायण शाहको आदेश नमान्ने हो भने यस्तो सजाय हुने त्रास पनि उत्पन्न भयो । 
कीर्तिपुरको लडाइँमा त्यहाँको जनताको नाक काटेको पनि भनिन्छ । यो अत्यन्त विवादास्पद विषय हो । यसमा दुई–तीन खाले भनाइ छन् । वंशावली र भारतमा रहेका ऐतिहासिक प्रमाणका अनुसार दोस्रो कीर्तिपुर युद्धका क्रममा पृथ्वीनारायण शाहका भाइको आँखामा वाण लागेको थियो । तेस्रो युद्धका बेला पृथ्वीनारायण शाहले निकै चलाखी गरे र यसै क्रममा उनले आफ्ना भाइलाई फेरि युद्धमा पठाए । त्यति बेला उनलाई देखेर कीर्तिपुरका जनताले अन्धो मान्छे आयो भनेर जिस्क्याए रे । त्यसैमा रिसाएर उनले कीर्तिपुरको जनताको नाक काट्ने आदेश दिए भनिन्छ । यो सुनेर पृथ्वीनारायण शाह आपैंmले भाइलाई गाली गरे पनि भनिन्छ । 
फेरि यो काम पृथ्वीनारायण शाहकै हो पनि भनिन्छ । यसअघिका युद्धमा बेहोरेको हारका कारण उनी रिसाएर यस्तो काम गरेको भनिन्छ, आपैंm मारिन लागेको र कालु पाँडेले पनि ज्यान गुमाएकाले । त्यति बेला उनलाई कान्तिपुर, ललितपुर र भक्तपुर अझै जित्नु थियो । त्यसैले ती राज्यमा डर उत्पन्न गराउन पनि पृथ्वीनारायण शाहले यो काम गरे भनिन्छ । 
केहीले कीर्तिपुरका सबै जनताको नाक काटिएको भन्छन् । तर मैले गरेको शोध कार्यको सिलसिलामा खोजी गर्दा थाहा पाएअनुसार सबैको होइन, केही खास–खास व्यक्तिको नाक भने काटिएको थियो । युद्धमा सक्रिय भएकाहरूको मात्रै नाक काटिएको थियो । यसबारे अझै तथ्य आउन बाँकी छ । यो कामले गोर्खाका शत्रु त्रसित भएको मानिन्छ । त्यसै कारणले कान्तिपुर र ललितपुरसँग गोर्खाले राज्य विस्तारका क्रममा युद्ध गर्नुपरेको थिएन । चाहे सीमित संख्याका कीर्तिपुरका जनताको होस् अथवा चाहे खास–खास व्यक्तिको होस्, नाक काटिएको भने हो । यो कामले अन्तत: पृथ्वीनारायण शाहलाई फाइदा पुगेको थियो । 
(लुम्बिनी विश्वविद्यालयका पूर्वउपकुलपति तथा त्रिभुवन विश्वविद्यालयका इतिहास विभागका पूर्वप्रमुख, वैद्यसँग गरिएको कुराकानीमा आधारित ।)

प्रकाशित: आश्विन ७, २०७४

No comments:

Post a Comment