Tuesday, September 19, 2017

मल्चिङ प्रविधिमा अकबरे खेतीले मनग्गे आम्दानी

पत्र पत्रिका बाट  -साभार  http://kantipur.ekantipur.com/news/2017-09-15/20170915175943.html
  • 'अब विदेश नजाने निधो गरेको छु'    - कुम्भराज राई, ज्यामिरे (ओखलढुंगा)
भाद्र ३०, २०७४-
सिद्धिचरण नगरपालिका–५, ज्यामिरेका एक युवाले मल्चिङ प्रविधिबाट अकबरे खेती गरेर मनग्गे आम्दानी गर्न थालेका छन् । ३० वर्षीय तेजनारायण श्रेष्ठले मासिक १ लाख ६० हजारसम्मको अकबरे खुर्सानी बेचिरहेका छन् ।
‘हप्तामा ४० हजारको बिक्रि हुन्छ’  तेजनारायणले भने, ‘प्रतिकेजी २ सयले सदरमुकाममै बिक्रि गर्छु । मैले हप्तामा २ सय किलोसम्म टिपेर बेच्ने गर्छु ।’ मल्चिङ प्रविधिबाट व्यावसायिक अकबरे खेती शुरु गर्ने उनी जिल्लाकै पहिलो कृषक हुन् । उनले खुर्सानी मात्र नभएर यो प्रविधिबाट रायोको साग, बोडी, आलु, टमाटर, भेंडे खुर्सानीमासमेत अभ्यास गरिसकेका छन् ।
माटोको ड्याङ बनाई मल्चिङ प्लाष्टिक भित्र बेर्ना रोपेर गरिने यो खेती विकसित मुलुकमा सफल खेती प्रणाली मानिन्छ । खुल्ला प्रविधि भन्दा यसले उत्पादन तेब्बर दिने र कम परिश्रम गर्नुपर्ने भएकोले सजिलो भएको तेजनारायणले बताए । मल्चिङ प्लाष्टिकको कारणले फेदमा धेरै झार नउम्रिने, गोडमेल गर्नु नपर्ने भएकोले यो प्रविधि सजिलो भएको उनको भनाई छ ।
मल्चिङ प्रविधिबाट रोपिएको अकबरे खुर्सानीको बोट ।
उनले जम्मा ११ रोपनीमा १ हजार ३ सय बोट स्थानीय अकबरेको बेर्ना रोपेका थिए । त्यसमध्ये ९ रोपनी जतिमा १ हजार २ सय बोटले उत्पादन दिएको छ । पाकेर रातो भएको खुर्सानी मात्र उनले टिपेर बिक्रि गर्ने गरेका छन् । परिश्रम बाहेक नगद २ लाख लगानी गरेर शुरु गरेको यस खेतीबाट उत्पादन शुरु भएको तीन महिनामै लगानी उठेको श्रेष्ठले बताए ।
रोजगारीका लागि दुईपटक कतार र एकपटक मलेसिया गरि सात वर्ष विदेशमा बिताएका उनले घर फर्केर यो खेती शुरु गरेका हुन् । उनलाई हाल बुवा, आमा, भाई र बहिनीले समेत सहयोग गरेका छन् । भाई र उनी दैनिक ६ घण्टासम्म खेतीमा खटिने गर्छन् । वर्षामा आकाशे पानी संकलन गरि सिंचाई गर्ने गरेका छन् । हिउँदमा पिउने पानीसमेत अभाव हुने ज्यामिरेमा गाडीबाट ड्रममा पानी बोकेर समेत सिंचाई गर्ने गर्छन् ।
तेजनारायाणका बुवा हेमनारायण र आमा इन्द्रकुमारी पहिले यही जग्गा जमिनमा कोदो मकै लगाउने गर्थे । नगद पैसाका लागि बुवाले काठको काम गर्न हिँड्नु पर्थ्यो । तर अहिले त्यो समस्या समाधान भएको छ । ‘परम्परागत खेतीसँग त अहिलेको आम्दानी तुलनै गर्न सकिन्न’ उनले भने, ‘अब विदेश नजाने निधो गरेको छु । अरु जान खोज्नेलाई पनि नजान अनुरोध गर्छु ।’
उनलाई कसैले यो प्रविधि सिकाएको होइन । इन्टरनेटको माध्यमबाट कोरिया, जापानमा मल्चिङ खेती हेरेर शुरु गरेका हुन् । शुरुमा गाउँले मात्र नभएर बुवाआमाले समेत उनलाई गाली गरेका थिए । तर, उत्पादन दिन थालेपछि भने सबैले विश्वास गरे । एउटा खुर्सानीको बोटले दुईवर्षसम्म उत्पादन दिने भएकोले अन्य खेती यही प्रविधिबाट लगाउने तयारी उनको छ ।
उनले आफ्नो कान्छो भाईलाई कृषि जेटिए पढाईरहेका छन् । कसैको सहयोग बिना व्यक्तिगत पहलमा खेती शुरु गरेका उनलाई अहिले भने विभिन्न संघ/संस्था र जिल्ला कृषिले समेत प्रोत्साहन दिने गरेको छ । मल्चिङ प्रविधि बुझ्नका लागि किसानहरु आउने गरेका छन् । 
 

प्रकाशित: भाद्र ३०, २०७४

No comments:

Post a Comment