Saturday, September 9, 2017

दुई हजार वर्षदेखि अर्कैको शासनमा नेपाल

पत्र पत्रिका बाट  -साभार

http://annapurnapost.com/news-details/79806

सौरभ शनिवार, भदौ २४, २०७४ 0 6935 पटक पढिएको


दृष्टिकोण : अवचेतनमै उपनिवेश



saurav_1बितेका २५ सय वर्षमा हामी करिब २५ पटक उपनिवेश भएका रहेछौँ । प्रत्येक एक शताब्दीमा कम्तीमा एकपटक दास हुनैपर्ने नियति रहेछ हाम्रो ।
१.
कर्णले हिमाल प्रदेशका सबै राजालाई जिते र नेपाल मण्डलमा जति राजा थिए, ती सबैलाई जितेर पहाडबाट ओर्ली पूर्व दिशातिर लागे (महाभारतको वन पर्व, २२४, अ, ६-७ श्लोकबाट नेपाल निरुक्त पेज. २८ मा उद्धृत) । लेखकले यसलाई पछि थपिएको मान्ने गरिएको जनाएका छन् ।
२.
अर्जुनले नेपाल विजय गरे (ऐजन) । त्यसबाहेक 'किरातार्जुनियम'मा भारवीले पनि त्यस्तै कुरा व्यक्त गरेका छन्- अर्जुन जित्दै आए ।
३.
मिथिलामा गएर जनकलाई जितेका भीमसेनले त्यहीँ बसेर इन्द्रकिल पर्वतका नजिकैका सातवटा किरातका अधिपतिहरूलाई पनि जिते (ऐजन) ।
यी तीनवटा घटना कति बेला घटेका होलान्, अनुमान गरौँ । व्यासको समय इसापूर्व पाँच सयदेखि तीन सयबीच भएको अनुमान गर्न सकिन्छ (पेज ५८५, सुवेदी, २०७३) ।
४.
मञ्जु श्रीले चीनबाट आएर खड्ग प्रहार गरी चोभारको पानी बगाए र उपत्यकालाई बस्नयोग्य बनाए । अनि, धर्माकारलाई राजा बनाए (स्वयम्भू पुराण, तेस्रो अध्याय, १६औं शताब्दी) । मञ्जु श्री बौद्धमार्गी अवधारणा भएकाले २५ सय वर्ष अघिकै घटना मान्नु पर्‍यो, चलन पनि त्यही छ ।
५.
सोमवंशी रुचिराश्वका छोरा पार नामक राजाले हिमाल प्रदेशमा आएर गर्भदेशमा किल्ला बनाएकाले पारकोट नाम रहेको हो (पेज. ११६, गण्डकी महात्म्य, २०५५) ।
रुचिराश्वका सन्तान दरसन्तानको विवरण दिने कृति 'विष्णु पुराण' हो, जसलाई इसापूर्व पाचौं शताब्दीको मानिएको छ । बाँकी अरू कल्पना हो, विक्रम संवत् १७७१ मा 'गण्डकी महात्म्य' लेख्ने काशीराम सुरीको । किनभने, विष्णु पुराण (४.१९) अनुसार रुचिराश्वका छोरा पृथुसेन हुन्, नाति हुन् पार । उनका पनि छोरा हुन् निप । निपका सय छोरा छन् तर निप भनिने क्षत्रीय शाखा पूरैलाई उग्रयुद्धले समाप्त पारिदिन्छ- कथैअनुसार कुरा गर्दा पनि ।
६.
कतिपय इतिहासकारका अनुसार अशोककालमा सिंगो नेपाल मौर्य साम्राज्यको अभिन्न अंग थियो (पेज १६, मिथिलाको इतिहास ः संस्कृति र कला, बिमल, २०६२)।
यसो भन्ने कतिपय इतिहासकार भनेका को को हुन् ? खुलाउनु पनि नपर्ने, आधारहरू पनि दिनु नपर्ने, कस्तो सजिलो ?
कलिंग युद्धमा बगेको रक्तधाराबाट द्रवित भई बौद्ध भिक्षुकसँग अशोक बुद्ध धर्मको प्रचारका लागि मिथिलाका विद्वान्समेत चीन, तिब्बतसम्म गए- यो वाक्य आएको छ ठ्याक्कै माथिको वाक्यपछि । यसैबाट पनि माथिल्लो वाक्य कति अर्थहीन छ, स्पष्टै छ ।
७.
समुद्रगुप्तले नेपाल विजय गरे (पेज २७, रेग्मीबाट उद्धृत) । भारतको इलाहाबादस्थित खम्बामा रहेको उनको प्रशस्ती (सन् ३२०-३५०)बाट यो कुरा ज्ञात हुन्छ । तर, यहाँ त्यसको कुनै चिह्न पाइँदैन । यो चिह्न भनेको कुनै न कुनै किसिमको स्थानीय दस्तावेज वा अवशेष हो ।
८.
बुधगुप्त (४७६-७७६) को राज्य सीमा हिमालयसम्म फैलिएको थियो र त्यसमा नेपाल पनि पर्दथ्यो भन्ने अनुमान इतिहासकारहरूको छ (पेज. १८, मिथिलाको इतिहास, बिमल, २०६२)।
७७६ होइन ४९५ हो, यहाँ पनि अनुमानले प्रमाणको काम गर्‍यो र इतिहासकारहरू को हुन् ? खुलाउनु परेन । यथार्थ के भने उत्तरमा मथुरा उनको अन्तिम सिमाना मानिएको छ ।

    
९.
हिमवत् खण्डअनुसार शंकु भन्ने किरातीका अन्तिम राजालाई वैशालीबाट आएका धर्मदत्त राजाले जितेर नेपाल उपत्यकामा राज्य गरेका छन् (पेज. ५, नेपाल र नेपाली, भट्टराई) ।तर, त्यही 'हिमवत् खण्ड' आफैँले काञ्चीश्वर धर्मदत्त भनेर पेज. १६१-१७२ मा उल्लेख गरेको छ । शंकु होइन शिंघु भन्ने नाम सत्रौं राजाका रूपमा गोपालराज वंशावलीको पेज. ७४ मा पनि दिइएको छ । लेखक आफैँ कन्फ्युज्ड छन् ।
१०.
(क) किरात राजा गलिज नेपाल मण्डलको राज्य गरिरहँदा समय दक्षिण दिशाका श्री निमिष्टङ्कार बर्मा महाप्रतापसँग धेरै दक्षिणी सैन्य साथ आई युद्ध गरी राजा भया । वैशालाधिप कहलाया.... गलिजका पुर्खागरी जम्मा २८ पुस्ताले... (पेज ५, भाषा वंशावली)।
३० औंमा गिरिजं छ गोपाल वंशावली पेज ७४ मा शासकको नाम । गलिजंलाई गिरिजं नै मानौं अहिले । वैशालीका सूचीमा निमिष्टङ्कार भन्ने नाम छैन भन्ने कुरा त परैको भयो, कहिले सत्रौं किरातीलाई हराउने, त्यतिले पनि नपुगेर २९औंलाई पनि हराउने, अनि हराउनलाई पटकपटक उही विहारको वैशालीबाटै आइरहने ।
(ख) धर्मागत नाम गर्‍याका राजा ... बज्रयोगिनीका परम् भक्त भइरह्याका थिया ... विक्रमसेनलाई नेपाल भूमिमा आउनुभन्या हुकुम भया... उज्जैन देशबाट प्रस्थान गरी नेपालतिर गमन गरी विशालनगरमा... यसपछि धर्मागतले विक्रमलाई राज्य दिया (पेज. ६१, भाषा वंशावली)।
गजब छ, नेपालभित्र आएर यहाँ वैशाली र उज्जैनको लडाइँ भयो । वैशालीलाई जित्यो उज्जैनले ।
काञ्चीश्वर धर्मदत्त भन्ने शब्द हिमवत् खण्डको १६१-७२ मा परेको छ । काञ्चीका राजाले... विशालनगर जितिरहँदा (पेज. ८, भाषा वंशावली) भन्ने पनि छ ।
विदेशी नभई, उसले शासित नगरी, आफैँ शासित भएका, आफ्नै राज्य प्रणाली गरेका र गर्ने हामी होइनौँ भन्ने आजको मानसिकता नयाँ होइन । कम्तीमा दुई हजार वर्षदेखि हामीले पाल्दै आएको मान्यता नै हो । कुन शताब्दीमा गएर अन्त्य हुन्छ भन्न सकिन्न ।
(ग) धर्मदत्त टोखाका राजा थिए जसले भारतबाट आएका विक्रमादित्यलाई राज्य सुम्पे । यो कुरा नेपाल महात्म्य र भाषा वंशावली-१ मा पाइन्छ (टोखा, सापकोटा, २०५६) ।
जबकि, नेपाल महात्म्यमा त्यस्तो कुरा कतै पनि भनिएको छैन । केवल पेज. ६५, संस्करण २०२८ मा एक ठाउँ धर्मदत्त व्यापारी श्लेषमान्तक वननेरको सानो गाउँमा थियो भन्ने पंक्तिमात्र छ ।
टोखाका छेउमा दक्षिणपट्टि धर्मपुर नाम गरेको ठाउँ छ र अर्कोतिर धर्मस्थली । अब के चाहियो ? धर्मसँग धर्म नजोडिएर के जोडिन्छ त ?
यसरी धर्मदत्त काशी, काञ्ची, वैशाली कताकताबाट हो, कताकताबाट आइपुगेका छन् । हाम्रो माटोले एउटा धर्मदत्त पनि दिन सकेनछ । धर्मदत्त भन्ने नाम काउसो भएको छ हाम्रा इतिहासज्ञहरूलाई । उसको ईमेल ठेगाना बनाइदिन सबैका सबै लागेका छन् । तर, धर्मदत्त माछोजस्तो छ, फुत्किहाल्छ । क्या फसाद !
११.
उज्जयनीका विक्रमादित्यले नेपाललाई जितेर आफ्नो संवत् चलाएका थिए (पेज. १८, खण्ड २, लेभी) । हिन्दुस्तानका शक्तिशाली राजा विक्रमजित आएर नेपालमा आफ्नो संवत् चलाए (पेज. १३१, राइट) ।
अब टिप्पणी । विक्रम संवत् इसापूर्व ५७ मा विक्रमादित्यबाट सुरु भएको हो भन्न कठिन छ (पेज ३१८, ४२१, खण्ड ४, पी.बी. काणे) ।
चन्द्रगुप्त द्वितीय (सन् ३८०-४१५)लाई खास विक्रमादित्य मान्छन् । विक्रम भनिएको सन् ४८२ मा र विक्रम संवत् भनिएको ८९८ मा हो । यसको पुरानो नाम क्रता, क्रित, मालव जातिको युग र संवत् मात्र थियो (इन्टरनेट) ।
इश्वीको ८८० भनेको ठ्याम्मै नवौं शताब्दी नै हो । शंखधर साख्वाको संवत् सुरु भएको समय । अब स्पष्टै छ, 'क्रित'लाई पढेर राष्ट्रऋण चुकाएपछि सुरु गरिएको हो, यो संवत् भन्ने कथा बन्न गयो । जसको निम्ति सुनमा परिणत भइदियो बालुवा ।मालवलाई जितेर त्यसैको उज्जैनलाई दोस्रो राजधानी बनाएका थिए चन्द्रगुप्त द्वितीयले । यो घटना इस्वीको पहिलो शताब्दीमा लेखिएको 'बृहत् कथा'का काल्पनिक नायक विक्रमादित्यसँग उनको व्यक्तित्व फ्युजन गर्नलाई प्रशस्त थियो ।
मानदेवका बाबु हुन् धर्मदेव ठ्याक्कै इस्वीको पाचौँ शताब्दीका, जति बेला चन्द्रगुप्त द्वितीय उज्जैनमा शासन गर्दैथिए । तिनै विक्रमादित्य हुन्, यिनै धर्मदत्त हुन् । त्यसैले लिच्छवी धर्मदत्तलाई बिहारको वैशालीबाट आएर वैशालाधिपति भएको हिमवत् खण्डले पनि लेख्यो । काञ्चीबाट आएर उनले स्थापना गरेको कुरा भाषा वंशावलीले पनि लेख्यो ।
तर, धर्मदेवको शासनकाल अनुमानित छ सन् ४३९-४६३ बीचको (पेज. १७, रेग्मी, २०५३) । चन्द्रगुप्त द्वितीय अर्थात् विक्रमादित्य÷अर्थात् विक्रम संवत्का कथित विक्रम बितिसके, उनको शासन हुनुभन्दा २५ वर्षअघि नै ।

११.
राजा कृत बर्मा, वर्ष ७६ । यी अर्कै वंशका हुन् । गौडका राजा आए । तिनको महाप्रतापले नेपालमा राज्य गरे । (पृष्ठ ७८, गोपाल राजवंशावलीको अनुवाद, बज्राचार्य र मल्ल) ।
'यहाँ एते वसान्तरे महीपाल' भन्ने वाक्यको अर्थ यी अर्कै वंशका राजा हुन् भन्ने अर्थ गरियो । त्यसपछि गौडका राजा आए भनी अंग्रेजीमा पनि स्पष्टसँग लेखियो । यसरी महीपालको अर्थ राजा, गवुडेश्वरको अर्थ गौड (बंगाल), भन्ने पनि स्पष्ट लेखियो । ...कृत बर्मापछि राज्य भोग वर्ष नभएका महीपाल नामका राजा भए भनि थपक्क नाम राखेको छ पृष्ठ. २३१ मा (पेज. ११, पशुपतिनाथको स्पर्शन, दर्शन आदि..., नेपाल) ।
१३.
राजा भाष्कर बर्मा सातौं शताब्दीमा आसाम, नेपाल र उत्तरी बर्माका प्रसिद्ध राजा थिए ।
कुमार भाष्कर बर्मा (सन् ६००-६५०) कामरूप, आसामका राजा हुन् । न उनको इलाकाको वर्तमान नक्सा र अरू कुनै जानकारीले उनी नेपालको शासक भएको जनाउँछ, न अरू कुनै कुराले । तर, सुनीतिकुमार चटर्जीले 'किरात जनकृति'मा यो के लेखिदिए, त्यही प्रमाण भयो यता ।
१४.
मगध प्रदेश तथा तिरहुतसहित हिमालय प्रदेशको सम्पूर्ण क्षेत्र कान्यकुब्जका राजा यशोवद्र्धनको अधिनस्थ भयो (पेज. १९, मिथिलाको इतिहास, बिमल, २०६२) ।
यशोवद्र्धन इस्वीको आठौं शताब्दीको पूर्वाद्र्धका शासक हुन् । यद्यपि उनको अस्तित्वको पनि पुष्टि राम्रो छैन । तैपनि, उनका अनेक विजय अभियान भएका ठाउँहरूमा नेपाल पर्दैन । हेरे हुन्छ नेट।
१५.
स्रङचङ गम्पोले नै अंशुवर्मापछि एक वर्ष कुरिया गाउँमा बसेर नेपालको शासन गरेका थिए (पेज. ८९, चेम्जोङ) ।
स्रङचङ गम्पो (सन् ६२९-६४९) तिब्बतका राजा थिए । विष्णुगुप्तले राज्य कब्जा गरेपछि शरणार्थीजस्तै हुन आएका नरेन्द्रदेवलाई पुनस्र्थापना गराइदिएकाले तिब्बतकै अधीनमा थियो यो जस्तो अपव्याख्या गरिएको मात्र हो ।
टिप्पणी २ । यहाँनेर गजब कुरो छ, नेपालमा आसाम र तिब्बतको द्वैध शासन छ । एउटाको मात्र हो र ? दुईवटाको एकैपटक उपनिवेश क्या गजब !
१६.
त्योभन्दा अघि नै उनका पाँच पुस्ता अघिका नान्यदेवले भक्तपुरलाई राजधानी बनाएर काठमाडौं र पाटनमा राज्य गरे लेखिसकियो (पेज. १६७, राइट) ।
जबकि, ती ११औं शताब्दीमा सिम्रौनगढ आए र अन्तिम शासक हरिसिंहदेव उपत्यकातिर भाग्दाभाग्दै विक्रम संवत् १३८२ मा सिन्धुलीमा बिते भन्ने सर्वज्ञात कुरा हो ।
१७.
सन् १३२४ मा सुल्तान गयासुद्दि तुगलकबाट हरिसिंह पराजित भए र त्यहाँबाट आफ्ना भारदार तथा अनुयायीहरूसँग पलायन गरी नेपाल उपत्यकामाथि आक्रमण गरे । भादगाउँमा त्यहाँका राजा आनन्द मल्ललाई पराजित गरी आफ्ना साथमा ल्याएको भगवती तुलजा भवानीलाई देवताको रूपमा स्थापित गरी त्यहीँ राज्य चलाई बसे (पेज. २४, मिथिलाको इतिहास, बिमल, २०६२) ।
बुँदा १६ को राइटले दिएको विवरण पेज. २० मा उद्धृत गरिसकेका लेखकले पेज. २४ मा यस्तो लेखिदिँदा गजब भएको छ । नान्यदेवकै राजधानीलाई सोही समयमा उनका खनातीले आक्रमण गर्न किन पर्‍यो ? यति त सोचिनुपथ्र्यो ।
१८.
विज्जलले नेपालमा आधिपत्य गरे (पेज. १३८, खण्ड २, लेभी) ।
विज्जल द्वितीय (सन् ११३०-११६७) बीचका पात्र हुन् । दक्षिण भारतीय हुन् । कर्णाटकका हुन्, चालुक्य शासकका रजौटा हुन् । सन् ११६२-६७ बीचको पाँच वर्ष उनी स्वतन्त्र रहे । विजय अभियान चलाए । तर, उत्तर भारत नाघेर कहिल्यै आएनन् ।
१९.
यसैगरी प्राकृतिक आगो बल्ने ठाउँ (मुक्तिनाथ)सम्म लद्दाखी राजा ल्हछेन उइपल (सन् १०००-१११०)ले शासन गरेको भन्ने दाबी पनि पाइन्छ (फ्रांके, १९७२, ३५, ९६ बाट पेज. ६१ गण्डकी प्रसवण क्षेत्रका... गुरुङ, २०६१ मा उद्धृत) ।
फ्रांकेबाहेक एक स्थानीय प्रकाशनले ल्हछेन उत्पल (सन् १०८०-१११०)ले मुस्ताङ र पुराङमा पनि शासन गरेको दाबी अवश्य गरेको छ (नेट) । तर, नामै काल्पनिक छ शासकको । ल्हछेनको अर्थ महादेव, उत्पलको अर्थ नीलकमल हो ।
र, त्यो बेलाको हाम्रो इतिहास भन्छ, 'चलनअनुसार क्राचल्ल, पहिलेका राजा प्रत्येकलाई २० वर्षको राज्यअवधि दिने हो भने विक्रमको १२औं शताब्दीको मध्यतिर नागराजले पश्चिम नेपालमा खस साम्राज्यको जग बसालेको विदित हुन्छ (पेज. ३७, खस साम्राज्यको इतिहास, अधिकारी, २०६१) ।'
विक्रमको १२औं शताब्दी भनेपछि ११९९ बाट ५७ घटाउँदा इस्वीको ११४२ हुने भयो । त्यसको मध्य भनेपछि १०९२ भयो । नागराज हुन् महादेव, काँधमा नाग भिर्ने भएकाले, नीलो बनाइन्छ महादेवको शरीर । तिब्बतीमा नामहरू सांकेतिक हुने चलन पुरानो हो । यसैले ल्हछेन उत्पल नागराज हुन्, जसको राजधानी थियो सिञ्जा, अधीनमा थियो पुराङ । त्यति नाघेर मुस्ताङमा लद्दाखीले शासन गर्ने कुरै छैन । बरु यसबाट थाहा हुन्छ, नागराज १०८०-१११० बीच सिञ्जाका राजा भएका रहेछन् । र, तिनको राज्यमा लद्दाख पनि पर्दो रहेछ ।
यसैले खस साम्राज्य नेपालको इतिहासमा सबैभन्दा ठूलो थियो... सम्भवतः लद्दाख पनि समाविष्ट थिए (पेज १९६, सूर्यमणि अधिकारी) भन्ने वाक्य सही ठहर्छ ।
२०.
चण्डेश्वरले नेपाल विजय गरे (पेज ८५, खण्ड १, लेभी) ।
चण्डेश्वर विक्रमको १३८२ सम्म सिम्रौनगढ, पारिको तिरहुतका राजा हरिसिंहदेवका मन्त्री हुन्् । 'कतिपय पुष्पिकावाक्यमा हरिसिंहदेवका महामन्त्री चण्डेश्वरको मातहतमा आएको फौजले नेपाल दूनलाई जितेको वर्णन पनि परेको छ' (पेज ७, पशुपतिनाथको दर्शन, स्पर्शन..., नेपाल, २०४३)।
तर, विक्रम संवत् १३८८ मंसिर पूर्णिमाको दिन चण्डेश्वरले राजग्राम कब्जा गरेमात्र स्पष्टै लेखिएको छ (पत्र ४७, गोपाल राजवंशावली) । त्यो आजको रामेछापको एउटा गाउँमात्र हो, काठमाडौं उपत्यका होइन । सिन्धुलीको तीनपाटनमा ६ वर्षअघि भएको राजा हरिसिंहदेवको मृत्यु, राजग्रामका मानिसले तिनमाथि गरेको लुट, युवराज र आफूलाई बन्दी बनाएको घटनाबाट प्रताडित उनी, प्रतिशोध लिनमात्र आएको देखिन्छ ।
२१.
कनकमुनि बुद्धले गौर, बंगालका राजालाई कलियुगको प्रभावबाट स्वयम्भूको ज्योति बचाउन नेपाल पठाए । उनले पनि छोरा शक्तिदेवलाई पठाए, भतिजा गुणकामदेवलाई नेपालको राजा बनाउन (स्वयम्भूपुराण, १६औं शताब्दी) ।
स्पष्टै छ, गुणकामदेव आठौं शताब्दीका हुन् ।
२२.
चम्पारणका राजा नेमितका पालामा नेपाल र खसिया आदिका पहाडवासीले विद्रोह गरेकाले छोरा अशोकलाई पठाई शान्त पारेको कुरा तारानाथले पनि लेखेका छन् (भारत में बौद्ध धर्मका इतिहास, पृष्ठ. १८ बाट पेज. ३१ नेपाल निरुक्तमा साभार) ।
तारानाथ (सन् १५७५-१६३४) तिब्बतको जोखाङ गुम्बाका भिक्षु हुन् । सन् १५३० मा चम्पारण अन्तर्गतको तिरहुतमा आक्रमण गर्ने नुसरत खान हुन् अलाउद्दिनका छोरा । अलाउद्दिन हुन् इब्राहिम लोधीका ज्वाइँ । यहाँ बाबु अलाउद्दिन छोरा अशोक हुन पुगेको छ, बौद्धमार्गी तारानाथका निम्ति । त्यति बेला त्यहाँ नेपालको सिम्रौनगढको अवशेषमा शासन गर्ने ओइनवार वंशका नाममा फाटफुट जमिनदार शासकहरू थिए । ओइनवार शब्द संस्कृत अवनिवालको अपभ्रंश हो, अर्थ पृथ्वी, नदी, आदि हो । तिनै ठाकुर वंशलाई शान्त पारेका हुन् नुसरतले । यो सीमापारिकै घटना हो ।
२३.
(क) सन् १९३८ मा माओत्से तुङले अरूले दबाइराखेका तिब्बतका पाँच औंलामा एउटा भनी नेपालको पनि नाम लिएका थिए । नामको क्रम थियो ः लद्दाख, नेपाल, सिक्किम, भुटान र नेफा (अरुणाञ्चल) । तर, भारतीयहरू यो १९३८ को कुरा हो भन्ने थाहा नपाएर सायद, १९५० को दशक भनिराख्छन् र अन्धाधुन्ध यस वाक्यलाई नेपाल र चीनबीच दूरी गराउने साधनका रूपमा प्रयोग गरिरहन्छन् । चारवटा ठाउँ बंगालनजिकै परेकाले विशेषगरी बंगाली लेखक र पत्रकारहरूका निम्ति यो कहिल्यै गुलियो नसिद्धिने चुइंगमजस्तो घटना हो ।
(ख) सन् १९४९ को सेप्टेम्बर ७ मा तत्कालीन सोभियत संघले नेपाल संयुक्त राष्ट्रसंघको सदस्य हुनका निम्ति भएको पहिलो मतदानमा, स्वतन्त्र राष्ट्र नभएको भन्दै भिटो लगाएको थियो ।
(ग) सन् १९५२ को मार्च ६ तारिख (पेज १३१, स्ट्रगल फर एक्जिस्टेन्स, शर्मा, १९८६) मा नेहरूले भारतको सीमा हिमालय भएको बताएका थिए । र, फेरि १९५४ मा पनि दोहोर्‍याएका थिए।
पुछारमा
यसरी उत्तरमा लद्दाख, तिब्बतदेखि मञ्जुरिया, दक्षिणतिरको दक्षिण भारतको काञ्चीदेखि कर्णाटका, उत्तर-भारतको काम्पिल्य, हस्तिनापुर, इलाहाबाद, वैशाली, चम्पारणदेखि मिथिलासम्मबाट मात्र आएका छैनन् विजेताहरू, गौड अर्थात् बंगालबाट त आएको आएकै छन् ।
आफूले विजय नगरेका ठाउँ पनि विजय गरेको भनी प्रशस्ती लेखाउने चलन थियो, यसैले अनौठो होइन र ? अरू पनि उदाहरणहरू छन् भनी हाम्रा इतिहासज्ञहरूले सजिलै छुट्टी लिनेछन् । तर, यहाँ एउटा समुद्रगुप्तको बाहेक अरू कसैका विजयको फोस्रो दाबी वा प्रशस्तीका कुरा होइनन् । अर्थ हो, बनारस, काशीमा पुगी संस्कृत पढिआएकाहरू (सुरी, भट्टराई ? ) ले हिमवत्खण्ड र भरतखण्ड नछुट्ट्याउने, वेद र पुराणबीचको समयावधिमाथि ध्यानै नदिने गर्दामात्र पनि यसो भएको होइन । उपनिवेश बनाउन पल्किएका मुलुकका अनुसन्धाताहरू (लेभी, राइट)ले आफ्नोबाहेक अरू कुनै उपनिवेश नभइरहनै सक्दैन भन्ने पूर्वाग्रह पालेकाले, मात्रै पनि यसो भएको होइन ।
भन्न खोजिएको कुरा अझै अर्कै हो । विदेशी नभई, उसले शासित नगरी, आफैँ शासित भएका, आफ्नै राज्य प्रणाली गरेका र गर्ने हामी होइनौं (सापकोटा, चेम्जोङ, बिमल) भन्ने आजको मानसिकता नयाँ होइन । कम्तीमा दुई हजार वर्षदेखि हामीले पाल्दै आएको मान्यता नै हो । कुन शताब्दीमा गएर अन्त्य हुन्छ भन्न सकिन्न ।

No comments:

Post a Comment