Wednesday, September 20, 2017

प्रचण्डको पहलमा भरतपुर जाने भो स्मार्ट सिटीका लागि २ अर्ब

https://haamrochitwan.wordpress.com/2017/09/12/प्रचण्डको-पहलमा-भरतपुर-ज/

program-photo-1
काठमाडौं,भदौ २७। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पहलमा भरतपुर महानगरमा स्मार्ट सिटीका लागि २ अर्ब रुपयाँ जाने भएको छ ।
सहरी विकास मन्त्रालयअन्तर्गत रहेको सहरी तथा भवन निर्माण विकास समितिले भरतपुर महानगरलाई पाँचवटा सिटीको सहर बनाउने योजनासहित दुई अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको छ ।
‘भरतपुरलाई मेघा सिटी, स्मार्ट सिटी, एक सहर एक सिटी, अर्वन इकोनोमी कोरीडोर र मल्टी सिटी बनाउने योजना अघि बढेको छ’ सहरी तथा भवन निर्माण विकास समितिका महानिर्देशक शिवहरि शर्माले भने । उनले भरतपुरलाई यी पाँचवटा सिटीको रुपमा विकास गर्नको लागि दुई अर्ब लगानी हुने बताए ।
महानिर्देशक शर्माका अनुसार यही वर्ष भरतपुर महानगरलाई पाँच सिटीको सहर बनाउन २० करोडको बजेट परेको छ । महानिर्देशक शर्माले भने, ‘चार वर्षभित्रमा भरतपुरलाई पाँच सिटीको सहर बनाउने योजना छ ।’ त्यसको लागि आवश्यक परे थप बजेट पारिने उनले बताए ।
भरतपुर महानगरपालिकाले भरतपुरलाई कसरी पाँच सिटीको सहर बनाउन सकिन्छ भन्ने विषयमा एकीकृत सहरी विकास कार्यक्रमसम्बन्धी शुक्रबार छलफल चलाएको छ ।
छलफलको प्रमुख अतिथि पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि थिए ।
छलफलमा सहरी तथा भवन निर्माण विकास समितिका उपमहानिर्देशक पदम मैनालीले पाँच सहर बनाउने प्लानिङ प्रस्तुत गरेका थिए । छलफलमा उपमहानिर्देशक मैनालीले भने, ‘देशभरमा भरतपुरलाई चौथो सहरको रुपमा फोकस गरिएको छ ।’ मैनालीले पनि पाँचवटा सिटीको सहर बनाउन मोटामोटी दुई अर्ब रुपैयाँ लाग्ने योजना प्रस्तुत गरेका थिए । उनले यो काम सम्पन्न गर्न महानगरवासी सबैको समन्वयको आवश्यक पर्ने बताए ।
छलफल कार्यक्रममा भरतपुर महानगरका विभिन्न वडाध्यक्षहरुले आफ्नो वडाहरुको समस्या प्रस्तुत गरेका थिए । भरतपुर–१० का वडाध्यक्ष अरुणपीडित भण्डारीले सडक निर्माणमा भ्रष्टाचार बढेको भन्दै डल्लबदेखि मान्द्रोसम्मको उदाहरण दिएका थिए । उनले भने, ‘बजेट डल्लबको पर्छ, सडक बन्ने बेलामा मान्द्रो बन्छ ।’
१४ का वडाध्यक्ष ओमप्रसाद पोख्रेलले शिवनगर हेल्थपोष्टलाई ५१ शैयाको हस्पिटल बनाउन माग गरेका थिए । वडा नम्बर ६ का वडाध्यक्ष हरिविलास कोइरालाले असोजमा गर्ने काम असारे झरीमा भइरहेको बताए । वडा नम्बर ४ का वडाध्यक्ष हरिप्रसाद आचार्यले जग्गाको नापी हुनुपर्ने बताए ।
वडा नम्बर १२ का वडाध्यक्ष नरेन्द्र कन्दङ्वाले गोन्द्राङमा ढलको समस्या भएको बताए । ७ नम्बरका वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले स्वास्थ्यचौकीको समस्या देखाएका थिए ।
कार्यक्रममा पत्रकार सूर्य बरालले ढलको समस्या प्रस्तुत गरे । चितवन उद्योग संघका उपाध्यक्ष राजु पौडेलले महानगरपालिकाले स्वेतपत्र जारी गर्नुपर्ने बताए ।
महानगरको गुरूयोजना बनाउन जोड कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुरलाई बहुआयामिक महानगरपालिका बनाउन एक सयदेखि दुईसय वर्षसम्मलाई हेरेर एउटा वृहत गुरूयोजना बनाउनपर्ने बताए । अध्यक्ष दाहालले भने, ‘दुईसय वर्षको विश्लेषण गरेर भरतपुरलाई एउटा बहुआयामिक सहर बनाउन गुरूयोजना बनाउन आवश्यक छ ।’ उनले संसारले हेर्न लायक महानगर बनाउन आफू सदैव लागिपर्ने बताए ।
अध्यक्ष दाहालले भरतपुरलाई पाँच सिटीको सहर बनाउनभन्दा पहिला व्यवस्थित रिङ रोड बनाउन आवश्यक रहेको बताए । अध्यक्ष दाहालले भने, ‘सुकुम्बासीलाई एकीकृत बस्तीको रुपमा विकास गर्नुपर्छ, सधैँ जग्गा दिएर सकिँदैन ।’
कार्यक्रममा सहरी विकास मन्त्री प्रभु शाहले भरतपुरलाई स्मार्ट सिटीको लागि आवश्यक पर्ने बजेट पार्न सकिने बताए । उनले भने, ‘हाम्रो पार्टी अध्यक्षले भरतपुरलाई विशेष रुपमा हेर्न भन्नुभएको छ, मैले विशेष रुपमा भरतपुरलाई हेरिरहेको छु ।’ उनले भरतपुरलाई बनाउन मन्त्रालयबाट सक्दो सहयोग हुने बताए ।
सांसद कृष्णभक्त पोख्रेलले चितवनमा कुनै योजना निर्माणको लागि सबैभन्दा पहिला गुरूयोजना बन्न आवश्यक परेको बताए । उनले भने, ‘अब हाम्रो एउटै मुद्दा समृद्ध महानगर हो ।’ मेघौली, पटिहानीलाई पर्यटकीय क्षेत्र बनाउनपर्ने, भरतपुर अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्नुपर्ने उनले बताए । महानगरको जग्गा कुन टुक्र्याउने कुन नटुक्र्याउने भनेर छुट्याउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा महानगरपालिकाकी मेयर रेणु दाहालले भरतपुर महानगर सम्भावना बोकेको सहर भएको हुनाले यसलाई पाँच सिटीको सहर बनाउन आफू लागिपर्ने बताइन् । उनले भनिन्, ‘पाँच सिटीको सहरको लागि दुई अर्ब बजेट आउने भएको छ, यसमा ठोस योजना बनाउन जरुरी छ । सबैको सहकार्य आवश्यक छ ।’

No comments:

Post a Comment