Friday, September 8, 2017

अस्ट्रेलियामा विद्यार्थी प्रवेशाज्ञा र त्यसपछिको जीवन: भ्रम र यथार्थ

पत्र पत्रिका बाट  -साभार  https://www.onlinekhabar.com/2017/09/624575

सम्भाव्य विद्यार्थीका लागि उपयोगी जानकारी  - विज्ञान श्रेष्ठ



१. पार्टटाइम काम गरेर ट्युसन फी तिर्न सकिन्छ
अस्ट्रेलियन परिभाषामा पार्टटाइम भनेको १५ दिनमा ४० घण्टा काम गर्नु हो र त्यति काम गरेर बाँकी ट्युसन फी तिर्न सकिदैन । दैनिक जीवनका लागि आवश्यक खर्च र ट्युसन फीको केही अंश भने जुटाउन सकिन्छ ।
त्यसैले फी कसरी तिर्ने भनेर विद्यार्थीसँग स्पष्ट योजना हुनु जरुरी छ । कोर्सको पूरा अवधिभरि कसरी फी तिर्ने र दैनिक जीवन चलाउने भनेर विद्यार्थी र अभिभावकले समयमै ठोस योजना बनाउनुपर्छ ।
उता गएपछि काम गरेर दैनिक खर्च अनि ट्युसन फी पनि जुटाउने आशामा उडेका विद्यार्थीहरूलाई भने दोस्रो वा तेस्रो सेमेस्टरमा पुगेपछि फी तिर्न धौधौ पर्छ ।
२. सस्ता विश्वविद्यालयमा आवेदन दिँदा भिसा पाइँदैन
यो सही होइन र यसमा विश्वास गर्दा विद्यार्थीेले अस्ट्रेलियामा दुःख पाइरहेका छन् र अझ दुःख पाउन सक्छन् ।
विद्यार्थीले आफ्नो आर्थिक स्थिति सुहाउँदो कलेज वा विश्वविद्यालय छान्नुपर्छ । तर आफूले पैसा तिर्न सक्ने विश्वविद्यालय गुणस्तरीय पनि हुनुपर्छ किनकि भिसा दिने वा नदिने कुरा विश्वविद्यालयको गुणस्तरमा पनि भर पर्छ ।
तर फेरि, भिसाका लागि मुख्य कुरा भनेको विद्यार्थीको प्रोफाइल हो । यदि तपाईँको पढाइ र आइइएल्टिएस् दुबैमा राम्रो अङ्क (क्रमशः ६० प्रतिशतभन्दा माथि र ६.०) छ, आर्थिक कागजात सबै ठिक छन् अनि अस्ट्रेलियन शिक्षा प्रणालीबारे राम्रो अध्ययन गर्नुभएको छ भने तपाईँका लागि भिसा कुनै समस्या नै होइन ।
त्यसैले आफूले पैसा तिर्न नसक्ने विश्वविद्यालय छानेर भिसा पाउने, अनि पैसा तिर्न नसकेपछि अर्को सस्तो विश्वविद्यालयमा सर्ने नगर्नुहोस् । यसले तपाईँको पैसा र समय दुबै खर्च हुन्छ । पैसा तिर्न नसकेर वा फेल भएर विश्वविद्यालय बदल्दा भिसा खारेज हुन सक्छ ।
३. राम्रा एजेन्टले भिसा सुनिश्चित गर्न सक्छन् 
कसैले पनि भिसा सुनिश्चित गर्न सक्दैन । राम्रा एजेन्टले खालि तपाईँलाई सम्भव भएसम्मको सबभन्दा राम्रो तरिकाले अस्ट्रेलियामा पढ्नका लागि तयार रहन सहयोग गर्न सक्छन् । त्यसैले यस्तो भ्रममा नपरी आफैँलाई विश्वास गरौँ र भिसा आवेदन दिनु अगाडि पर्याप्त तयारी गरौँ ।
४. डिप्लोमा वा एड्भान्स्ड डिप्लोमा कोर्स पछाडि काम गर्न पाइन्छ
डिप्लोमा वा एड्भान्स्ड डिप्लोमा कोर्सका लागि आवेदन दिने विद्यार्थीहरू पढाइपछिको श्रम (पोस्टस्टडी वर्क) भिसाका लागि योग्य हुँदैनन् । पोस्टस्टडी वर्क भिसाका लागि आवेदकले कम्तीमा २ वर्ष लगाएर ब्याचलर्स वा मास्टर्स पढेको हुनुपर्छ । डिप्लोमा वा एड्भान्स्ड डिप्लोमा कोर्स गरेका विद्यार्थीले पनि पोस्टस्टडी वर्क भिसाका लागि आवेदन दिने हो भने क्रेडिट छुट सहित पुनः ब्याचलर्स पढ्नुपर्छ ।
५. स्टि्रमलाइन भिसा पाउन आर्थिक कागजात सजिलो हुनुपर्छ
स्ट्रिमलाइन भिसा पाउनका लागि आवेदन दिने व्यक्तिले आर्थिक कागजात बुझाउनु अनिवार्य त छैन । तर पनि उनीहरूको आर्थिक कागजात अत्यन्त सबल हुनुपर्छ ।
त्यसैले कतिपय एजेन्टले धेरै विद्यार्थी आकषिर्त गर्न विद्यार्थीलाई सजिलो गरी आर्थिक कागजात बनाउन लगाउँछन् । तर अध्यागमन तथा सीमा सुरक्षा विभागले विभिन्न आर्थिक कागजात बनाउन लगाउने तर भिसा प्रक्रियामा नबुझाउने यी सबै एजेन्टबारे अभिलेख राखेको हुन्छ । भिसाको आवेदनसँगै सबै आर्थिक तथा शैक्षिक कागजातहरू बुझाउनु राम्रो हुन्छ । यसले गर्दा भिसा प्रक्रिया सहज र छिटो हुन्छ ।
(लेखक  युनिक्याम्पस ग्लोबल, पुतलीसडक, काठमाडौँका  प्रबन्ध निर्देशक हुन् )

२०७४ भदौ २३ गते १५:५७ मा प्रकाशित

 

No comments:

Post a Comment