Monday, March 11, 2019

विद्यालयमा ‘दिवा खाजा’ : २ अर्ब १५ करोड बजेट, कार्यक्रम प्रभावहीन

http://rajdhanidaily.com/155744/

विद्यालयमा ‘दिवा खाजा’ : २ अर्ब १५ करोड बजेट, कार्यक्रम प्रभावहीन

प्रशान्त वली
20 hours ago
11/03/2019

काठमाडौं । सरकारले देशभरका सामुदायिक विद्यालयमा लागू गरेको दिवा खाजा कार्यक्रम प्रभावहीन देखिएको छ । सरकारले १३ लाख ५४ हजार विद्यार्थीलाई लक्षित गर्दै दिवा खाजा कार्यक्रम लागू गरे पनि सो कार्यक्रम लक्षित वर्गसम्म पुग्न सकेको छैन ।
दाङ तुलसीपुर उपमहानगरपालिका–११ का वडा सदस्य सुवास डीसीका अनुसार दिवा खाजा कार्यक्रम प्रभावकारी रूपमा अघि बढ्न नसकेको हो । उनले भने, ‘हाम्रो वडामा चारवटा सामुदायिक विद्यालय छन् । तर, उपमहानगरपालिकाले हामीसँग समन्वय गरेको छैन । विद्यार्थीहरू दिवा खाजा कार्यक्रममा समावेशसमेत भएको देखिएन ।’
धनुषा बटेश्वर गाउँपालिका उपाध्यक्ष प्रमिला देवीले शैक्षिक सत्र सकिन लाग्दा दिवा खाजा कार्यक्रम सुरु गर्ने तयारी थालिएको बताइन् । उनले भनिन्, ‘दिवा खाजा कार्यक्रम लागू गर्न आरपी (स्रोत व्यक्ती)सँग कुरा भइरहेको छ ।’ बटेश्वर गाउँपालिकामा १६ वटा विद्यालय छन् ।
शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले यस वर्ष ४० जिल्लाका सामुदायिक विद्यालयमा सो कार्यक्रम लागू गरेको हो । सो कार्यक्रमका लागि २ अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । तर, अधिकांश सामुदायिक विद्यालयले यो कार्यक्रमलाई प्रभावकारी रूपमा लागू गर्न नसकेको देखिएको छ ।
बालबालिकालाई खाजा उपलब्ध गराउन विद्यालयगत तथ्यांकका आधारमा प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँका दरले १ सय ८० दिनका लागि एकमुष्ट विद्यालयको खातामा निकासा गरिएको छ ।
विशेष क्षेत्र तथा अति सीमान्तकृत, लोपोन्मुख जातिका बालबालिका र जिल्लाका अन्य विद्यार्थीका लागि समेत दिवा खाजा उपलब्ध गराउन शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले अनुदानस्वरूप विद्यालयलाई सो रकम उपलब्ध गराएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता दीपक शर्माका अनुसार दिवा खाजा कार्यक्रम सन्दर्भमा स्थानीय तहको मागका आधारमा शिक्षा विकास तथा समन्वय इकाइले सहजीकरण गर्ने बताए ।
उनले भने, ‘स्थानीय सरकारले व्यवस्थापन गर्न नसकेर कार्यक्रम लागू नभएको हुन सक्छ । तर, इकाइसँग समन्वय गरेर कार्यक्रम लागू गर्नैपर्छ ।’ क्रियाकलाप र कार्यान्वयन प्रक्रिया निर्देशिकामा यससम्बन्धी अनुदान निकासा दिँदा विद्यालय सञ्चालन भएको दिनलाई आधार मानेर मात्र उपलब्ध गराउने उल्लेख छ । दिवा खाजा उपलब्ध गराइएका विद्यालयको विद्यार्थीले दैनिक हाजिरी पुस्तिकाको प्रतिलिपि विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षबाट प्रमाणित गराई स्थानीय तहबाट यकिन भएपश्चात् थप निकासा दिने व्यवस्था सो निर्देशिकामा भनिएको छ ।
सामुदायिक विद्यालयका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सञ्चालन कार्यविधि २०७३ मा स्थानीय स्तरमा उपलब्ध हुने खाद्य पदार्थबाट सम्बन्धित विद्यालयका खाजा व्यवस्थापन समितिले विद्यार्थीलाई खाजा उपलब्ध गराउने भनिएको छ । जसमा कार्बोहाइड्रेट समूह (शक्ति दिने) चामल, गहुँ, मकै, कोदो, फापर, जौ, आलु, तरुल, सखरखण्ड आदि समेटिएको छ । यस्तै, प्रोटिन समूहअन्तर्गत भटमास, सिमी, केराउ, चना, गेडागुडी, माछा, मासु र अन्डा पर्छन् । यसैगरी, शरीरका अंगहरूको सन्तुलित विकास र कार्य क्षमता वृद्धि गर्ने स्याउ, सुन्तला, जुनार, नासपती, मेवा, केरा र चिल्लो पदार्थ समूहहरू घिउ तेल, नौनी, दूध, दहीलगायत पर्छन् ।
(Visited 50 times, 10 visits today)

No comments:

Post a Comment