Wednesday, March 20, 2019

२ नम्बर प्रदेशले खोस्यो केन्द्रीय वन परियोजना

https://www.kantipurdaily.com/news/2019/03/20/155307295978367734.html

२ नम्बर प्रदेशले खोस्यो केन्द्रीय वन परियोजना

अब्दुल्लाह मियाँ
काठमाडौँ — २ नम्बर प्रदेशले केन्द्र (संघ) मातहत सञ्चालित सागरनाथ वन विकास परियोजना खोसेर आफूमातहत ल्याएको छ । १३ हजार ५ सय हेक्टरमा फैलिएको सागरनाथ परियोजना महोत्तरी, सर्लाही र रौतहटमा फैलिएको छ । यो परियोजनाले वाषिर्क १४ करोड रुपैयाँ आम्दानी गर्दै आएको छ ।

२ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायको ठाडो प्रस्तावमा फागुन २४ मा बसेको ४३ औं मन्त्रिपरिषद बैठकले संविधानको अनुसूची ६ को बुँदा नम्बर १९ अनुसार राष्ट्रिय वन प्रदेशअन्तर्गत रहने व्यवस्था भएको भन्दै प्रदेशअन्तर्गत राखेर संरक्षण र व्यवस्थापन गर्ने निर्णय गरेको हो।


मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव दीपक सुवेदीले त्यसको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सिंहदरबारका साथै केन्द्र (संघ) को वन तथा वातावरण मन्त्रालयलाई पनि गराएको छ।

वन मन्त्रालयका सचिव डा.विश्वनाथ ओलीले प्रदेशले आफूअन्तर्गत् राख्ने निर्णय गरे पनि त्यो नेपाल सरकारकै केन्दि्रय आयोजना भएको र भुगोलका हिसाबले मात्र त्यो आयोजना २ नम्बर प्रदेशमा पर्न गएको बताए। संविधानको अनुसूची ७ को (१०) मा योजना र वैज्ञानिक अनुसन्धानलगायतका विषयलाई संघ र प्रदेशको साझा अधिकारको सूचीमा राखिएको छ।

'प्रदेशको त्यो निर्णयबारे मंगलबार प्रधानमन्त्री कार्यालयमा पनि छलफल भएको छ,' ओलीले कान्तिपुरसित भने, 'सागरनाथ र झापा, केरखाको रतुवामाई वन विकास परियोजना केन्द्रीय आयोजना हुन्।' सागरनाथ वन विकास परियोजनामा ७० स्थाथी, १४० ज्यालादारी र १२ जना करारका कर्मचारी छन्।

मन्त्रिपरिषदको साउन १८ को बैठकले वन पैदावार विकास समिति र टिम्बर कर्पोरेशन अफ नेपाल (टीसीएन) लाई गाभेर वन निगम बनाउने निर्णय गरेको छ। सागरनाथ र झापाको रतुवामाई वन विकास परियोजनाको व्यवस्थापन अहिले वन पैदावार विकास समितिमातहत हुँदै आएको छ। विकास समिति र टीसीएनलाई गाभ्ने प्रक्रिया चलिरहेकै बेला प्रदेशले सागरनाथ परियोजना आफूमातहत ल्याएको हो।

मसला, टीक, सिसौ र साल प्रजातीका रुख छन्। विरुवा रोपेर बनाइएको जंगल हो। त्यहाँ १ सय, ५० र २५ हेक्टरका विभिन्न प्लट छन्। ६ वर्षमा मसलाका रुखको सर्पट कटान गरी पोल निकालिन्छ। काटिएकै रुखबाट मुनाबाट अर्को विरुवा उम्रेर रुख बन्छ। टीक भने हरेक २० देखि २५ वर्षमा काटिन्छ।

प्रदेश २ ले सागरनाथ आफूअन्तर्गत राख्ने निर्णय पछि २ नम्बर प्रदेशको वन निर्देशनलायका निर्देशक जगदीशप्रसाद गुप्ताले आर्थिक वर्ष ०७५/७६ मा सम्पादन हुने कार्यक्रमको विस्तृत योजना बनाएर पेश गर्न परियोजनाको सर्लाही, सागरनाथस्थित कार्यालयलाई पत्र लेखेको छ।

५ चैतमा निमित्त परियोजना प्रमुख देवेशमणी त्रिपाठीले निर्देशन माग गर्दै बबरमहलस्थित वन पैदावार विकास समितिलाई पत्र लेखेको अधिकृत अमरबहादुर चन्दले बताए। वन तालिम तथा वन अनुसन्धानसम्बन्धी तालिम पनि सागरनाथमै खोलिएको छ।

प्रकाशित : चैत्र ६, २०७५ १४:५७

No comments:

Post a Comment