Wednesday, March 13, 2019

जनप्रतिनिधिको गाडी मोह : कर बढाएर ६ करोडको सवारी

https://www.nayapatrikadaily.com/news-details/8539/2019-03-14

जनप्रतिनिधिको गाडी मोह : कर बढाएर ६ करोडको सवारी

उदयपुरका स्थानीय तहमा निर्वाचनपछि सात गाडी र ९३ मोटरसाइकल किनियो

२०७५ फाल्गुण ३० बिहीबार ०६:२६:०० | उदयपुर
स्थानीय तहको निर्वाचनपछि  जनप्रतिनिधिमा गाडीमोह देखिएको छ । चार गुणासम्म कर बढाएका उदयपुरका आठवटा  स्थानीय तहले ९३ वटा मोटरसाइकल र सातवटा विभिन्न ब्रान्डका गाडी किनेका छन् । सवारी खरिदमा तिनले ५ करोड ९४ लाख खर्च गरेका छन् । नगरपालिका तथा गाउँपालिका प्रमुखका लागि गाडी र वडाध्यक्षका लागि मोटरसाइकल किन्ने चलन चलेको छ । जिल्लामा सवारीसाधनको दैनिक खर्च नै औसतमा एक लाखको हाराहारीमा हुने गरेको छ ।
 त्रियुगा नगरपालिका 
जिल्ला सदरमुकाम क्षेत्रमा रहेको त्रियुगा नगरपालिकामा चुनावअघि पनि सवारीसाधन थिए । मेयरले चुनावपछि पनि पुरानै महिन्द्राको बोलेरो प्रयोग गरिरहेका छन् । उपमेयर देवीकुमारी चौधरीका लागि भने ४६ लाख पर्ने टाटाकोे नेक्सन कार किनिएको छ । वडाध्यक्ष र विभिन्न शाखाका लागि भनेर २५ वटा मोटरसाइकल किनिएको छ । जसको औसत मूल्य प्रतिगोटा २ लाख ८० हजार परेको देखिन्छ । यसरी सवारी खरिदमा त्रियुगा नगरपालिकाले मात्र १ करोड १६ लाख खर्चेको छ । तिनको सञ्चालन खर्च दैनिक ५० हजार रुपैयाँ हुने गरेको छ ।
 चौदण्डीगढी नगरपालिका 
नगरपालिकामा हाल १६ वटा मोटरसाइकल, एउटा स्कार्पियो र एउटा टाटासुमो छन् । यसमध्ये १० वटा मोटरसाइकल र मेयर खगेन्द्र राईका लागि ५५ लाख पर्ने स्कार्पियो निर्वाचनपछि किनिएको नगरपालिकाका सूचना अधिकारी जंगम राईले बताए ।
 बेलका नगरपालिका 
जिल्लाको सबैभन्दा कान्छो नगरपालिका बेलकाले पनि निर्वाचनपश्चात् वडाध्यक्षहरूको सुविधाका लागि १० वटा मोटरसाइकल किनेको छ । त्यस्तै, उपमेयरका लागि एउटा स्कुटर र मेयर दुर्गाकुमार थापाका लागि ५५ लाखको स्कार्पियो किनिएको छ । नयाँ नगरपालिका भएकाले पुराना सवारीसाधन नभएको र अन्य विकल्प नभएकाले मात्र सवारी खरिद गर्नु परेको मेयर थापाले बताए ।
 कटारी नगरपालिका 
जिल्लाको पश्चिमी व्यापारिक केन्द्र कटारी नगरपालिकाले १४ वडाका अध्यक्षका लागि १४ थान विभिन्न शाखाका लागि पाँच थान गरी जम्मा १९ वटा मोटरसाइकल किनेको छ । पुरानो बोलेरो जिप हुँदाहुँदै मेयर ज्ञानेन्द्र श्रेष्ठका लागि ८५ लाख पर्ने टोयोटाको हाइलक्स किनिएको छ । सवारी खरिदमा नगरपालिकाले १ करोड ३८ लाख रुपैयाँ खर्च गरेको छ ।

 रौतामाई गाउँपालिका 

८ वडा रहेको रौतामाई गाउँपालिकाले निर्वाचनछि आठवटा मोटरसाइकल र एउटा ३० लाख पर्ने महिन्द्राको कार किनेको छ । मोटरसाइकल वडाध्यक्षले र गाडी अध्यक्ष गजेन्द्रबहादुर खड्काले प्रयोग गरिरहेका छन् ।
 उदयपुरगढी गाउँपालिका
यस गाउँपालिकाले पनि आठवटा मोटरसाइकल र एउटा ३० लाख पर्ने महिन्द्राको बोलेरो गाडी खरिद गरेको छ ।
 ताप्ली गाउँपालिका 
गाउँपालिकाले आठवटा मोटरसाइकल र ३० लाख पर्ने महिन्द्राको बोलेरो किनेको छ ।
 लिम्चुङबुङ गाउँपालिका 
५ वडा रहेको लिम्चुङबुङ गाउँपालिकाले पनि अध्यक्ष, वडाध्यक्ष तथा विभिन्न शाखाका प्रमुखले प्रयोग गर्ने गरी तीन लाख मूल्य पर्ने आठवटा मोटरसाइकल खरिद गरेको छ । यो गाउँपालिकाले हालसम्म चारपांग्रे सवारी खरिद गरेको छैन ।

No comments:

Post a Comment