Wednesday, March 13, 2019

पाँच करोड लगानीमा कृषि फर्म सञ्चालन

 https://www.nayapatrikadaily.com/news-details/8505/2019-03-13

पाँच करोड लगानीमा कृषि फर्म सञ्चालन

२०७५ फाल्गुण २९ बुधबार ११:४७:०० | लमजुङ
लमजुङको सुन्दर बजार नगरपालिका १ कुन्छामा ५ करोडको व्यक्तिगत लगानीमा कृषि फर्म सुरु गरिएको छ । २०६० सालमा चितवन बसाइँ सरेर गएका ५५ वर्षीय गोबर्द्धन गौलीका परिवार पुनः गाउँ फर्केर कागती नर्सरी लगायतका कृषि फर्म सुरु गरेका छन् । 
चितवनमा घरजग्गाको कारोबार गरेका गौलीले चार वर्ष अगाडिबाट पाँच करोड बढी लगानी गरेर कागती खेती सुरु गरेका हुन् । १० वर्ष चितवन बसेका गौली श्रीमती तारा भट्टराई गौलीसँगै गाउँ फर्किएर व्यावसायीक कृषिमा लागेका हुन्
यसअघिको घरजग्गा कारोबारको जिम्मा छोरा सम्बर्द्धन गौलीले सम्हालेका छन् । गाउँको जग्गामा घर बनाएर हिर्कुस एग्रो फर्म प्रालि सञ्चालन गरी कृषि कर्ममा लागेको हिर्कुस एग्रो फर्म प्रालिका अध्यक्ष समेत रहेका गोबर्द्धन गौलीले बताए । 
डेढ लाख कागतीका बिरुवा
हिर्कुस एग्रो फार्म प्रालिका अध्यक्ष समेत रहेका गौलीका अनुसार करिब १५ रोपनी जग्गामा कागतीका बिरुवा छन् । उनले भने फर्ममा डेढ लाख कागतीका बिरुवा रहेको नर्सरी स्थापना गरिएको छ । 
कागती नर्सरी नेपालकै सबैभन्दा ठूलो रहेको गौलीले दावी गरे । फर्ममा ‘हाइडेन्सिटी’ प्रविधिमार्फत चार हजार पाँच सय कागती र पाँच सय सुन्तलाका बोट लगाइएको छ । कफी र अदुवा खेती पनि शुरु गरिएको उनले बताए । उनले भैँसी र बाख्रापालन पनि थालेका छन् । फर्ममा १ सय बाख्रा पाल्ने उनले बताए । 
कागतीका बिरुवा बिक्रीबाट १२ लाख आम्दानी
गत वर्ष ३० हजार कागतीका बिरुवा बिक्रीबाटै १२ लाख आम्दानी गरेको गौलीले बताए । उनको फर्मबाट कागतीको प्रतिबिरुवा ४० रुपियाँमा बिक्री गरिएको छ । यस वर्ष १ लाख कागतीका विरुवा विक्री गरी ४० लाख रुपियाँ आम्दानी हुने उनको अनुमान छ । 
२० क्विन्टल कागती आयत
फर्ममा भोजपुर, धनकुटा, गुल्मी, जाजरकोट र तनहुँबाट २० क्विन्टल कागती ल्याएर बीउ राखिएको थियो । फर्ममा सुन कागती १, सुन कागती २ र तेह्रथुम लोकल कागतीका बिरुवा छन् । पाइनपल र वासिङ्टन डीसी प्रजातिका जुनार साथै खुखु, उन्सु, मर्कट, किन्नु, ओता प्रजातिका सुन्तला पनि नर्सरीमा लगाइएको छ । कलमीका लागि कागतीका १३ वटा ‘मदर प्लान्ट’ रहेको ‘हाइटेक’ नर्सरीसमेत स्थापना गरिएको छ । 
बीस लाख अनुदान
फर्म सञ्चालनमा ल्याएसँगै फलफूल तथा सुन्तला जात बाली विकास परियोजना कीर्तिपुरले २० लाख अनुदान दिएको छ । कुल चार सय रोपनी जग्गा रहे पनि हाल दुई सय रोपनी जग्गा प्रयोगमा छ । 
दुई सय रोपनी जग्गामा कागती, सुन्तला, अदुवा, कफी खेती गर्नुका साथै कागतीको नर्सरी गरिएको गौलीले बताए । बाँकीमा कागती, सुन्तलालगायत खेती गर्ने तयारी गरिएको छ । सिँचाइका लागि दुई किलोमिटर तल ताप्ले खोलाबाट पानी लिफ्टिङ गरी ल्याइएको छ । पाँच/पाँच हजार क्षमताको चार वटा ट्याङ्की राखिएको छ । 
किसानलाई लक्षित गरी कृषि सहकारी
गौलीले गाउँका किसानलाई लक्षित गरी पाताल कृषि सहकारी संस्था लिमिटेड सञ्चालनमा ल्याएका छन् । सहकारीबाट गाउँका किसानलाई कृषिमा ऋण दिने र बचत गराउने गरिएको छ । गाउँलेले उत्पादन गरेका कृषिजन्य वस्तुको बजार व्यवस्थापन गरिएको हिर्कुसका अध्यक्षसमेत रहेका सहकारीका अध्यक्ष गौलीले बताए ।
महिनामा १० लाख आम्दानी गर्ने
आफ्नो कागती खेतीको संरक्षण गर्नको लागि तीनवटा जेटीएलाई मासिक १५ हजार तलब दिएर राखेको उनले बताए । उनले भविष्यमा महिनाको १० लाख आम्दानी गरी सरकारलाई वार्षिक ४० लाख रुपैयाँ राजस्व तिर्ने लक्ष्य बनाएको बताए । उनले लगाएको कागतीको पाँच हजार बोटमा ८० प्रतिशत फलिसकेको उनले बताए । उनका अनुसार फर्ममा १६ जनालाई रोजगारी दिइएको छ ।
१० वर्ष शिक्षण पेशामा
उच्च शिक्षाका लागि चितवन झेरका गौलीले बीएससी पास गरेपछि पाल्पाको एक विद्यालयमा १० वर्ष पढाए । शिक्षण पेसा छोडेर तत्कालीन विद्रोही माओवादी पाटीमा प्रवेश गरी भूमिगत भएका गौली दुई वर्ष जेल परे । त्यसपछि झापाबाट चिया ल्याएर चितवन चिया उद्योग खोली साइकलमा घरसेवा दिन थाले । चियाबाट केही पैसा आर्जन गरेँ । त्यसपछि घरजग्गा कारोबारमा लागेंँ ।
अष्टेलियमा रहेका छोरीज्वाइँ नेपाल फर्कदै
अष्टेलियमा रहेका छोरी कुञ्ज र्गौलीसँगै ज्वाइँ पनि नेपाल फर्कने भएका छन् । गौलीले स्वादेशमै केही गर्नुपर्छ भन्ने उदेश्य भएकाले आफ्नो छोरीज्वाइँलाई नेपाल बोलाएको बोलाए । उनले भने व्यावसायलाई अझ राम्रो बनाउन परिवारको साथ चाहिन्छ परिवारका सदस्यलाई पनि व्यावसायमा सहभागी गराई सरकारको अभियान समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सहयोग पुग्नेछ । छोरीज्वाइँ अष्टेलियबाट ४ महिनापछि नेपाल आउने कार्यक्रम तय भएको गौलीले बताए । 
कृषि फार्म सबैको उदाहरणीय : नगरप्रमुख मिश्र
सुन्दर बजार नगरपालिकाका नगरप्रमुख जनकराज मिश्रले गौलीको कृषि फार्म सबैको लागि एउटा उदाहरणीय कार्य भएको बताए । उनले उत्पादक क्षेत्रमा गरेको करोडौं रुपैयाँको लगानीले सबै नगरबासीमा आशाको सञ्चार गराएको बताए । मेयर मिश्रले भने,‘गाउँमा बाँझो भएका जमिनलाई चितवनदेखि आएर यसरी लगानी गर्दा सबै किसानलाई प्रोत्साहन भएको छ । लमजुङको ग्रामीण क्षेत्रमा पनि जागरण आएको छ ।’

No comments:

Post a Comment