Wednesday, March 20, 2019

१०८ वर्षमा १०८० मेगावाट विद्युत् : अबको १६ महिनामै १२७१ मेगावाट विद्युत् थपिँदै

https://www.nayapatrikadaily.com/news-details/9101/2019-03-20

१०८ वर्षमा १०८० मेगावाट विद्युत् : अबको १६ महिनामै १२७१ मेगावाट विद्युत् थपिँदै

असारपछि वर्षामा बिजुली बढी हुने, इनर्जी बैंकिङमार्फत भारत निर्यात

२०७५ चैत ६ बुधबार ०९:१५:०० | काठमाडाैं
फर्पिङस्थित नेपालको पहिलो जलविद्युत् आयोजना । फाइल तस्बिर : नयाँ पत्रिका
नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा २० आयोजनाका २ सय ८७ मेगावाट विद्युत् चालू वर्षभित्रै जोडिने भएको छ । बितेका ८ महिनामा विभिन्न ९ आयोजनाबाट ३९.३६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिसकिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा जारी प्रगति विवरणमा उल्लेख छ । 
त्यस्तै, आगामी आर्थिक वर्ष प्राधिकरणको राष्ट्रिय प्रसारणमा ९ सय ८४.८३ मेगावाट विद्युत् जोडिने सम्भावना रहेको उल्लेख छ । हाल निर्माणका क्रममा रहेका आयोजनाहरू लक्षित समयभित्रै पूरा भए अबको १६ महिनाभित्र राष्ट्रिय प्रसारणमा १ हजार २ सय ७१ मेगावाट विद्युत् जडित क्षमता थप हुनेछ । यो विद्युत् परिमाण नेपालमा विद्युत् विकासको १ सय ८ वर्षे अवधिको भन्दा बढी हो । 
विसं १९६८ मा ५ सय किलोवाटको फर्पिङ लघु जलविद्युत् परियोजनाबाट नेपालमा विद्युत् परियोजनाको विकास सुरु भएको हो । हालसम्म प्राधिकरणको कुल जडित क्षमता करिब १ हजार ८० मेगावाट मात्र पुगेको छ । यो क्षमतामध्ये हालको आन्तरिक उत्पादन ५ सय ५० मेगावाटको हाराहारी मात्रै रहेकाले ११ सय मेगावाटको माग पूरा गर्न पनि करिब ५ सय मेगावाट विद्युत् भारतबाट आयात गरिँदै आएको छ । 
खपत बढाउने नीति आवश्यक  
विद्युत् उत्पादन बढ्दै जाँदा त्यसलाई सकेसम्म आन्तरिक उत्पादनमूलक क्षेत्रमा खपत गराउनुपर्ने विज्ञहरूले बताउँदै आएका छन् । विद्युत् खपत बढाउनकै लागि सरकारले विद्युतीय सवारीसाधनको आयातमा भन्सार छुटलगायत सुविधा दिँदै आएको छ । सवारी र भान्सामा पेट्रोलियम, ग्यासलाई प्रतिस्थापन गर्न सकिएमा नेपालको व्यापार घाटा कम गर्न र स्वच्छ ऊर्जाको प्रयोग बढाउन सहयोग पुग्ने प्राधिकरणका प्रवक्ता अधिकारी बताउँछन् । 
प्रसारण लाइन समयमा नबने खेर जाने
जलविद्युत् आयोजनाको निर्माणसँगै प्रसारण लाइन निर्माणसमेत पूरा गर्नुपर्ने हुन्छ । तर, कोसी, सोलु, कालिगण्डकीलगायतका करिडोरका प्रसारण लाइन निर्माणमा स्थानीयवासी, स्थानीय सरकार, वनलगायतका निकायबाट विभिन्न किसिमका अवरोधहरू देखिँदै आएका छन् । यस्ता अवरोध समयमै हटाएर प्रसारण लाइन निर्माणमा सक्रिय पहल गरिरहेको उनले बताए ।
प्राधिकरणले विभिन्न नदी करिडोरसहित करिब डेढ दर्जन ठूला प्रसारण लाइन आयोजनाहरू निर्माण अघि बढाएको छ । तीमध्ये चालू आर्थिक वर्षभित्र लमही–घोराही १२ किलोमिटर १ सय ३२ केभीको निर्माण सम्पन्न हुने प्राधिकरणको प्रसारण निर्देशनालयका निर्देशक ब्रजभूषण चौधरीले बताए । त्यस्तै, काबेली करिडोर १ सय३२ केभीअन्तर्गत गोदक–फिदिम ४२.८ किलोमिटर र फिदिम–अमरपुर १३.५ किलोमिटर प्रसारण लाइन निर्माण पूरा हुने उनले जानकारी दिए । 
९ सय गिगावाट आवरसम्म इनर्जी बैंकिङ गर्न सकिने
निर्माणाधीन २० आयोजनाको विद्युत् ०७६ को असारभित्रै राष्ट्रिय प्रसारणमा जोडिए नेपालमा वर्षाको रातको समयको विद्युत् बचत हुने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । ‘हामीलाई अहिले पनि रातको समयमा केही मात्रामा इनर्जी सरप्लस छ,’ उनले भने, ‘प्रणालीमा उत्पादन थपिएपछि यो वर्षाबाट सरप्लस इनर्जीको परिमाण बढ्नेछ, त्यसलाई हामी बैंकिङ गर्न सक्छौँ ।’ 
उनका अनुसार आर्थिक वर्ष ०७६/७७ मा वार्षिक ८ सय गिगावाट आवरसम्म इनर्जी बैंकिङ गर्न सकिने अनुमान प्राधिकरणको छ । त्यस्तै, आर्थिक वर्ष ०७७/७८ सम्ममा माथिल्लो तामाकोसीसहित ९ सय ८२ मेगावाट विद्युत् थप हुँदा वार्षिक ९ सय गिगावाट आवर इनर्जी बैंकिङ गर्न सकिने अनुमान प्राधिकरणले गरेको छ । इनर्जी बैंकिङ गर्ने सहमति यसअघि नै भारतसँग भइसकेको छ । यसका लागि आवश्यक आन्तरिक तथा अन्तरदेशीय प्रसारण लाइन निर्माण, संयन्त्र तथा नीति–निर्माणका विषयसमेत अघि बढाउनुपर्ने उनले बताए ।

No comments:

Post a Comment