Thursday, March 21, 2019

गुणस्तरहीन औषधि आयातमा रोक लगाऊ

http://rajdhanidaily.com/157855/

गुणस्तरहीन औषधि आयातमा रोक लगाऊ

सम्पादकीय
10 mins ago
22/03/2019

भारतीय बजारमा गुणस्तर फेल भएका औषधि नेपाली बजारमा ठूलो परिमाणमा खपत हुने गरेको पाइएको छ । भारतको सेन्ट्रल ड्रग स्ट्यान्डर्ड एन्ड कन्ट्रोल अर्गनाइजेसनले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार विभिन्न कम्पनीका औषधि गुणस्तरहीन भएका फेला परेका हुन् । भारतीय कम्पनीका ती औषधि गुणस्तरमा फेल भएपछि भारत सरकारले आफ्ना बजारमा पठाइएका सबै औषधि फिर्ता गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छ । यस हिसाबले ती सबै औषधि भारतीय बजारमा प्रतिबन्ध लागेसरह नै भएको छ । ३७ भारतीय कम्पनीका औषधिहरू गुणस्तरहीन भएको पाइएको हो ।
भारतीय बजारमा बिक्री गर्न नपाइने भएपछि ती सबै औषधि बदनियतपूर्ण रूपमा नेपाल पठाइएको छ । जसले नेपाली उपभोक्तामा गम्भीर स्वास्थ्य समस्या सिर्जना हुने अवस्था देखिएको छ । ती औषधि तोकिएको मापदण्डअनुसार औषधिमा हुनुपर्ने गुण नभएको र घुल्नुपर्ने ठाउँमा नघुलेको पाइएको छ । चिकित्सकका अनुसार त्यस्ता गुणस्तरहीन औषधि खाँदा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने र साइड इफेक्टसमेत हुने खतरा देखिन्छ । जसले गर्दा मानव शरीरमा गम्भीर प्रकृतिका दीर्घकालीन समस्यासमेत देखिने सम्भावना रहन्छ ।
अब, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मन्त्रालय मातहतका विभिन्न सरोकारवाला निकायले भारतबाट नेपाल आएका गुणस्तरहीन औषधिको बिक्रीवितरणमा रोक लगाउन सक्नुपर्छ । ती सबै औषधि नेपालमा पूर्णरूपमा प्रतिबन्ध नै लगाउनुपर्छ । त्यस्ता गुणस्तरहीन औषधिको बिक्री वितरण गरेर सर्वसाधारण उपभोक्ताको ज्यानलाई जोखिममा पार्नेहरूलाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनुपर्छ ।
मानिसलाई नयाँ जीवन दिने महŒवपूर्ण वस्तु हो औषधि । तर, त्यही औषधि गुणस्तरहीन भयो र डेट एक्सापायर भयो भने त्यो नै मानिसको स्वास्थ्यका लागि विष समान हुने गर्छ । गुणस्तरहीन औषधि बिक्री गर्नु भनेको मन्द विषको व्यापार गर्नुसरह नै हो । त्यसैले खुलेआम मन्द विषको व्यापार गर्ने अधिकार कसैलाई छैन । यस्तो कार्य दण्डनीय हो ।
भारतीय सरकार संवेदनशील बनेर त्यस्ता औषधि बजारबाट फिर्ता गर्न थालिसकेको भए पनि नेपाली बजारमा भने त्यस्ता औषधि रोक्न सरकारी स्तरबाट कुनै पहल हुन सकेको छैन । यो सरकारी निकायको चरम लापर्बाही र गैरजिम्मेवारीपूर्ण कार्य हो । आफ्ना सर्वसाधारण जनता गुणस्तरहीन र खानै नहुने औषधिको सेवन गर्न बाध्य भइरहँदा पनि त्यस्ता औषधिबारेमा नेपाल सरकारले हालसम्म कुनै निर्णय गर्न नसक्नु आफंैमा दुःखद् हो ।
भनिन्छ, रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बुद्धिमानीपूर्ण कार्य हो । सरकारले तत्काल जनचेतनामार्फत त्यस्ता औषधिहरूको सेवन नगर्न नागरिकलाई सचेतीकरण गर्नुपर्छ । गुणस्तरहीन औषधिको सेवनले आफ्ना नागरिकहरू दीर्घकालीन रोगबाट ग्रसित हुने सम्भावना बढिरहेको अवस्थामा सरकारले त्यस्तो अवस्था आउन नदिन पनि त्यस्ता सबै खाले गुणस्तरहीन औषधि भारतबाट नेपाल भिœयाउने कार्यमा तत्काल रोक लगाउन ढिलाइ गर्नुहँुदैन ।
(Visited 2 times, 6 visits today)


No comments:

Post a Comment