पत्र पत्रिका बाट -साभार http://annapurnapost.com/news-details/82556
जलसरोकार
कालीगण्डकी ए ले पूर्ण उत्पादन सुरु गरेको
तीन वर्षसम्म नेपालमा बिजुली ‘जगेडा’ थियो । त्यतिबेला नेपालले भारतलाई
बिजुली बेच्न प्रस्ताव गरेको थियो । भारतले प्रतियुनिट २ रुपैयाँ ४० पैसा
(भारु) दिने भएपछि कुरो मिलेको थिएन र नेपालले पहिलो वर्ष ८० करोड र दोस्रो
र तेस्रो वर्ष क्रमशः ६० करोड युनिट बिजुली ‘खेर’ फाल्यो । तत्कालीन
जलस्रोत मन्त्रीले वर्षायाममा खेर जाने यस्तो बिजुली यहीं खपत गर्नुपर्छ
भनेर ‘मौसमी महसुल’ का लागि महसुल निर्धारण आयोगमा प्रस्ताव गरेका थिए ।
प्राधिकरणले ६० करोड युनिट वर्षायाममा
एकसाथ खपत गर्न सकिंदैन, उल्टै ट्रान्सफरमर पग्लन्छन् र पड्कन्छन् भनेर
आयोगले वास्तै गरेन । उक्त प्रस्ताव कार्यान्वयन भएको भए केही वर्षका लागि
जगेडा बिजुली खपत हुन्थ्यो होला । त्यतिमात्र होइन, एउटा पद्धति र
प्रणालीलाई सन्तुलित राख्ने कोसेढुंगो सावित हुन्थ्यो । परम्परागत मानसिकता
र धारणा भएका ऊर्जा क्षेत्रबाटै निवृत्त व्यक्तिहरु आयोगमा रहेकाले नयाँ
कार्य हुन पाएन । यसको असर अबका दिनहरुमा पर्दै जानेछ ।
माथिल्लो तामाकोसी (४५६ मेगावाट) लगायतका
स्वदेशका निजी र सार्वजनिक क्षेत्रबाट करिब २०० मेगावाट बिजुली उत्पादन
हुँदैछ । तर विडम्बना के छ भने यी उत्पादनहरुले हिउँदको माग धान्न सक्दैनन्
भने वर्षायाममा चाहिने भन्दा बढी उत्पादन हुन्छ र ‘जगेडा’ रहन्छ ।
प्राधिकरणलाई सम्भावित जगेडा बिजुली अहिलेदेखि नै टाउको दुखाइको विषय
भइसकेको छ । उसले खेर जाने विद्युत् विद्युतीय सवारी साधनमार्फ उपयोग गर्ने
सोच बनाइरहेको छ । वर्षायाममा बिजुली सस्तो र हिउँदमा केही महँगो हुने गरी
तयार पारिएको प्रस्ताव कार्यान्वयन हुन पाएको भए २०५९ सालदेखि नै बिजुली
कम उत्पादन हुने समयमा कम खपत गर्ने बानी बसिसकेको हुन्थ्यो ।
यसले प्रणालीमा सन्तुलन कायम भई लोडसेडिङ
व्यवस्थापन सहज हुने थियो । यसपालिको हिउँदमा बिजुलीको माग र आपूर्ति
(भारतबाट आयातीतसमेत) करिब-करिब बराबर हुने भएकाले विगतका वर्षहरुमा जस्तो
उल्लेखनीय लोडसेडिङ नहोला तर प्रणालीलाई स्थिर राख्ने कार्य भने
चुनौतिपूर्ण देखिन्छ । कदाचित् कुनै विद्युत्गृह अनिवार्य मर्मतका लागि
बन्द गर्नुपर्यो वा बिग्रेमा एकाध घण्टा लोडसेडिङ हुने अवस्था छ ।
लोडसेडिङ नहुँदा ‘हामीले लोडसेडिङ गरेनौं’ भनेर ऊर्जा मन्त्रीहरुले छाती
फुलाएर भन्न पाउँछन् ।
यस्तो गर्व भित्रको पीडा भने अर्के छ ।
यसपालिको डिसेम्बर महिनाभित्र ढल्केबर सवस्टेशन पूरा हुने निर्धारित योजना
असफल हुँदा भारतबाट थप बिजुली ल्याउन नपाएर लोडसेडिङ हुने पो हो कि भन्ने
पिरलो छ । अन्य नाकामा उल्लेखनीय परिमाणमा बिजुली ल्याउने प्रसारण लाइन छैन
। नेपालको लोडसेडिङ कम गर्न भारतीय बिजुलीको हिस्सा करिब ३६ प्रतिशत छ ।
यो परिमाण बढ्दो छ ।
झन्डै १२ अर्ब रुपैयाँ बराबरको बिजुली
आयात हुने गरेको छ । यो क्रम २०६२ सालदेखि निरन्तर छ र आगामी अझ कयौं
वर्षसम्म पनि जारी रहने छाँटकाँट देखिएको छ । भारतीय बिजुली विस्थापित गरी
स्वदेशी उपयोगमा राज्यको ध्यान छैन । सरकारमा बस्नेहरु भारतीय बिजुलीको
बढ्दो आयातमा गौरव गर्छन् । उनीहरुको दिमागमा लोडसेडिङ अन्त्य भनेकै भारतीय
बिजुलीबाट हो भन्ने छ । यो मानसिकताबाट मुक्त नभएसम्म अन्य धेरै
कुराहरुमाजस्तै भारतीय बिजुलीमा नेपाल दीर्घकालसम्म निर्भर रहिरहनेछ ।
प्रणाली चलाउने, पढेका, देखेका, जानेका र
बुझेकाहरुलाई थाहा छ कि जलाशययुक्त बिजुली नभई नेपालको लोडसेडिङ दीर्घकालीन
रुपमा अन्त्य हुँदैन भन्ने । तर उनीहरु सम्भाव्य आयोजनाको पहिचान, विस्तृत
अध्ययन र वित्तीय बन्दोबस्ती त परै जाओस् आयोजनाको अध्ययनमा समेत रुचि
राख्दैनन् । विद्युत् प्राधिकरणको विकल्प छैन किन कि राज्यले अर्काे
समानान्तर संस्था खडा गर्न सक्दैन र विकल्पमा निजी क्षेत्र आउन सक्दैन ।
प्राधिकरणमा सुशासन कायम गर्ने हो भने यो संस्था विश्वकै एक
उत्कृष्टमध्येको सिकाइको केन्द्र बन्न सक्छ । यसको सफल सञ्चालन कसरी
गर्नुपर्छ भन्ने उदाहरण त गत वर्षको भदौ अन्त्यतिर जिम्मेवारी पाएका कुलमान
घिसिङले देखाइसके ।
प्राधिकरण सञ्चालक समितिमा व्यावसायिक,
उच्च नैतिकता भएका र प्रतिष्ठित व्यक्तिहरुलाई ल्याउने र राजनीतिक
हस्तक्षेपमुक्त वातावरण तयार पार्ने हो भने देशका रणनीतिक महत्वका
आयोजनाहरु यही निकायले पार लगाउन सक्छ । तर १४ मेगावाटको कुलेखानी, ३०
मेगावाटको चमेलिया जस्ता आयोजनाहरुमा आधा दर्जनभन्दा बढी नियामक निकायहरु
हावी हुनु र ऊर्जा मन्त्रीको प्रत्यक्ष स्वार्थ जोडिनलेु समयमा निर्माण
सम्पन्न हुन सकेका छैनन् । राजनीतिक हस्तक्षेपले प्राधिकरण कतिसम्म थला
पर्छ भन्ने उदाहरण ऊर्जा मन्त्रीले ल्याउने सञ्चालक समितिका सदस्य हेरे
पुग्छ । उनीहरुसित खासै भिजन र एजेन्डा नै हुँदैनन् । मन्त्रीको
स्वार्थमात्र पूरा गर्ने, मन्त्रीले नचाहेको एजेन्डा रोक्न र चाहेको पारित
गराउनेमा मात्र उनीहरुको ध्यान केन्द्रित हुन्छ ।
भारतीय बिजुली आयातले क्षणिक राहत देला,
तर दीर्घकालमा मुलुकलाई कंगाल बनाइदिन्छ भन्ने तथ्यको उपेक्षा गरिएको छ ।
प्राधिकरणलाई गम्भीर र बृहत् जलाशययुक्त आयोजनाको जिम्मेवारीबाट जसरी विमुख
गरियो, ऊर्जा क्षेत्रको कालोदिन त्यहींबाट सुरु भएको मान्न सकिन्छ ।
प्राधिकरणले अध्ययन गरिरहेको बूढीगण्डकी खोसेर विकास समिति बनाइयो । विकास
समितिले बडो मेहेनत गरेर अध्ययन पूरा गरेपछि नेपालमा काम गर्न नसक्ने
प्रमाणित भइसकेको कम्पनीलाई कमीसनको लोभमा ठेक्का दिइयो । अध्ययन पूरा भएको
झन्डै दुई वर्ष पूरा भइसकेको छ । ऊर्जा मन्त्रालयमा गतिलो नेतृत्व भएको भए
बूढीगण्डकीको वित्तीय बन्दोबस्तीको विषय टुंगो लागिसक्थ्यो । अहिले आएर यो
आयोजना अलपत्र परेको छ । बूढीगण्डकीबाहेक अरु जलाशययुक्त आयोजना अध्ययन नै
भएको छैन ।
अध्ययन गर्न लागेको नलसिंहगाडमा
अख्तियारले सबै काम रोकिदिएको छ । पहिलोपटक फाइल लगेर ‘केही छैन’ भनेर
फिर्ता भएको नलसिंहगाडमा अख्तियारको नेतृत्व परिवर्तन हुनासाथ ‘अनियमितता
भएको आशंका’ मा मुद्दा चलाइयो । अनियमितता गर्नेले उन्मुक्ति पाउनु हुँदैन,
तर कामै रोक्नु भने गम्भीर कुरा हो । यस्तो दोहोरो मापदण्डले पनि
ऊर्जाक्षेत्रलाई अधोगतिमा पुर्याएको छ ।
यस्तै दोहोरो मापदण्ड अहिलेका ऊर्जा
सचिवले आयोजनाका लाइसेन्स वितरण गर्दा देखाएका छन् । काबेली ए र हेवा डुब्छ
भनेर ७६२ मेगावाटको तमोरलाई लाइसेन्स नदिएका ऊर्जा सचिवले राष्ट्रलाई
समृद्ध तुल्याउने र पछिल्लो सन्ततिसम्मका लागि नभई नहुने १०८०० मेगावाटको
कर्णाली चिसापानीजस्तो आयोजना ध्वस्त पार्ने गरी दुईवटा लाइसेन्स ‘निजी
क्षेत्र’ लाई दिए । उर्जा सचिवले ६८८ मेगावाटको बेतान कर्णाली र ४२६
मेगावाटको फुकोट कर्णाली दिंदा १०८०० मेगावाटको कर्णाली चिसापानी डुब्ने
कुरालाई नजरअन्दाज गरे । कर्णाली चिसापानी हाललाई अप्ठेरो होला, तर
भविष्यको निम्ति अत्यावश्यक हो । विद्युत् नीति र स्वयं ऊर्जा मन्त्रालयले
पारित गरेको जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र सम्बन्धी
निर्देशकाविपरीत यी दुई कर्णाली (बेतान र फुकोट) को लाइसेन्स जारी भएको छ ।
विद्युत् ऐनले लाइसेन्स दिने अधिकार
सचिवलाई दिएको छ भन्दैमा मुलुकलाई दीर्घकालीन रुपमा गम्भीर असर पर्ने
निर्णय गरिनु हुँदैन । यहाँसम्म कि चिलिमे (२२ मेगावाट) ले निर्माण गर्ने
परिकल्पना गरेको र योजनासमेत बनाइसकेको लाङटाङ जलाशययुक्त आयोजना पनि निजी
क्षेत्रलाई दिइयो । दलालले लाइसेन्स हात पार्छ, अनि त्यसले विदेशीलाई बेच्छ
। त्यो विदेशीले विश्व बैंक, आइएफसीजस्ता निकायलाई हुलेर महँगो पर्नेगरि
डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) का लागि दवाब दिन्छ । सुपर सिक्स
अन्तर्गतको तल्लो सोलु (८२ मेगावाट), माथिल्लो त्रिशुली १ (२१६ मेगावाट) यो
प्रवृत्तिका ज्वलन्त उदाहरण हुन् । विदेशीले भन्दैमा डलरमै दिने, ऐनमा
प्रावधान नभएको आयोजना विकास सम्झौता (पीडीए) गरिदिने र उनीहरुले भनेजसरी
गरिदिने चलन छ ।
स्वदेशका प्रवद्र्धकलाई प्रोत्साहित
नगर्ने तर विदेशीलाई दिन पाएसम्म नेता र सचिव रमाउने गर्छन् । नेपालको निजी
क्षेत्रले ३०० मेगावाटको जलाशययुक्त आयोजना बनाउन सक्दैनन् र दिइएको
लाइसेन्स विदेशीलाई बेचिन्छ भन्ने कुरो ऊर्जा सचिवहरुलाई थाहा छ। तर यसैमा
उनीहरु रमाइरहेका छन् । नेपालको सन्दर्भमा विदेशीलाई आयोजनाको लाइसेन्स
दिनु, हालको अवस्थामा, कि महँगो डलरमा पीपीए गराउनु हो कि होल्ड गर्नु हो।
माथिल्लो कर्णाली, पश्चिम सेती सेता यसका
प्रतिनिधि हुन् । प्राधिकरणले ज्यान फालेर लिन चाहेको तमोर (बूढीगण्डकीको
भन्दा लागत आधा लागत हुने र ऊर्जा बराबर उत्पादन हुने) मा कुनै विदेशीले
चासो दिएको भए हाम्रा नेता र सचिवहरुले दिलाएरै छाड्थे । गुरुयोजनामा परेका
आयोजना धमाधम काट्दै थोरै क्षमतामा जारी गर्दै जाने हो भने नेपालले छाती
फुलाएर भन्ने गरेको ८३ हजार मेगावाट इतिहासमा सीमित हुनेछ । गुरुयोजनाले
सबैभन्दा उत्कृष्ट भनेर पहिचान गरिसकेपछि त्यसको अस्तित्व कुनै हालतमा
समाप्त पार्नु हुँदैनथ्यो । बेथान र फुकोटले कर्णाली चिसापानीलाई समाप्त
परिदिएको छ भने काबेली र हेवाले तमोरलाई । यसरी एकपछि अर्काे गर्दै नेपालका
सम्भाव्य र गौरव गर्न लायक खोलानाला बेचिंदै गए र यो क्रम जारी छ ।
No comments:
Post a Comment