पत्र पत्रिका बाट -साभार https://www.onlinekhabar.com/2017/10/633812
मन्त्रिपरिषद्को निर्णय आए दुई वर्षभित्र सक्ने लक्ष्य रविन्द्र घिमिरे 2 प्रतिक्रिया
६
कात्तिक, काठमाडौं । काठमाडौंको बाहिरी चक्रपथ आयोजना उपभोक्ता
समितिमार्फत् निर्माण गरिने भएको छ । उपत्यका विकास प्राधिकरणले हरेक एक
किलोमिटरमा स्थानीय जग्गाधनीको सहभागितामा उपभोक्ता समिति बनाएर निर्माण
गर्ने मोडेल ल्याएको हो ।शहरी विकास मन्त्रालयले जग्गा अधिग्रहणको प्रक्रिया थाल्ने प्रस्ताव मन्त्रिपरिषद्मा नलैजाँदा चक्रपथ योजना अलपत्र परेको छ । मन्त्रिपरिषद्ले आयोजना अगाडि बढाउने निर्णय लिए दुई वर्षभित्रै ट्रयाक खोल्ने काम सक्ने योजना रहेको मन्त्रालयका शाखा अधिकृत ध्रुव सापकोटाले जानकारी दिए । यसअघि सापकोटा बाहिरी चक्रपथ आयोजनाका निमित्त प्रमुख थिए ।
उनका अनुसार ७२ किलोमिटरको आयोजनामा ७२ वटा उपभोक्ता समिति बन्नेछन् । सम्बन्धित नगरपालिकाका मेयर अध्यक्ष रहने उपभोक्ता समितिलाई नै बजेट उपलब्ध गराएर काम गराउने योजना बनाइएको छ ।
अधिग्रहणमा अल्झिएको योजना
पहिलो चरणमा चोभारदेखि भत्केको पाटी, मच्छेगाउँ, गाम्चा हुँदै सतुंगलसम्मको खण्डमा जग्गा अधिग्रहणका लागि आयोजनाले प्रस्ताव गरेको छ । यसका लागि आयोजनाले जग्गाधनीको गुनासो सुनुवाइ पनि गरिसकेको छ ।
सुविधासम्पन्न चक्रपथ निर्माण गरेर त्यससँगै जोडिएका जग्गामा आधुनिक घडेरी विकास गर्ने र पुनः जग्गाधनीलाई जग्गा फिर्ता गर्नेगरी अधिग्रहण प्रक्रिया सुरु गर्न लागिएको छ ।
जग्गा प्राप्तिको प्रक्रियामा सरकारले कुनै ठूलो रकम खर्चिनुपर्ने छैन । मन्त्रिपरिषद्ले जग्गा अधिग्रहणको निर्णय गरेलगत्तै जिल्ला प्रशासन कार्यालयले ३५ दिने सूचना प्रकाशित गर्नेछ ।
त्यसको १५ दिनभित्र अधिग्रहणको प्रक्रिया टुंगिएर त्यसमा पर्ने सबै जग्गा सरकारको नाममा आउनेछ । बाहिरी चक्रपथमा पर्ने जग्गाको बिक्री वितरण आयोजनाले यसअघि नै रोकिसकेको छ ।
पहिलो खण्डको ६ दशमलव ६ किमिको डीपीआर पनि स्वीकृत भइसकेको छ । अब जग्गा अधिग्रहणको प्रक्रिया सक्नासाथ उपभोक्ता समितिबाट ट्रयाक खोल्ने काम सुरु गरिने सापकोटाले बताए ।
पहिलो खण्डमा जग्गाप्राप्तिको प्रक्रियामा स्थानीय बासिन्दासँग सहमति जुटिसकेकाले अब काम सुरु गर्न समस्या नहुने आयोजनाको दाबी छ ।
‘आयोजनामा विवाद छैन,’ अधिकृत सापकोटाले भने, ‘जग्गा हाम्रो नाममा आउनासाथ पहिलो खण्डमा काम थालनी हुन्छ । चाँडै मन्त्रिपरिषद्बाट स्वीकृति पाए लक्ष्यअनुसार काम गरिसक्छौं ।’
‘गिभ एन्ड टेक’ अवधारणा
चक्रपथको पहिलो खण्ड निर्माणका लागि ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । अधिग्रहणपछि पहिलो खण्डमा सात हजार आठ सय रोपनी सरकारको नाममा आउनेछ ।
त्यसमध्ये करिब २५ सय रोपनी सडककै भागमा पर्नेछ भने बाँकी जमिनलाई सरकारले व्यवस्थित आवास क्षेत्रका रुपमा विकास गर्नेछ ।
सापकोटाका अनुसार बाहिरी चक्रपथ खण्डमा अधिग्रहण हुनेमध्ये सात दशमलव आठ प्रतिशत जग्गा मात्रै सडक क्षेत्रमा पर्छ ।
आयोजनाले बाहिरी चक्रपथ निर्माण गर्दा स्थानीयवासीसँग ‘गिभ एन्ड टेक’ मोडेलमा जग्गा लिँदैछ । हाल चलिरहेको जग्गा अधिग्रहण गर्ने प्रक्रिया यसमा अवलम्बन गरिने छैन ।
बाहिरी चक्रपथ खोल्न लागिएका क्षेत्रमा जग्गा दिने स्थानीयवासीलाई सडकले नै ठूलो फाइदा दिने भएकाले उनीहरुलाई जग्गामा योगदान गर्न लगाइँदैछ । सबै स्थानीय बासिन्दा आफ्नो स्वामित्वको जग्गा विकसित घडेरीका रुपमा परिणत हुने भएकाले जमिन दिन तयार भएको प्राधिकरणको दाबी छ ।
आयोजनाले चक्रपथसँगै पाँच सय मिटर जग्गा एकीकरण गर्ने भएकाले यसले स्थानीय बासिन्दालाई धेरै लाभ मिल्नेछ । निःशुल्क जग्गा उपलब्ध गराउँदा उनीहरुले चक्रपथ र जग्गा एकीकरणको कुल लागतमा आठ प्रतिशत योगदान गर्नेछन् । सरकारले यसवापत उनीहरुको ८० हजार रोपनी एकीकरण गरिदिनेछ ।
मन्त्रालयका अनुसार चक्रपथको दायाँ–बायाँ २५०/२५० मिटर जग्गा एकीकरण गरिनेछ । यसलाई व्यवस्थित बस्तीका रुपमा विकास गर्न सडक आसपासका पाँच सय मिटर क्षेत्रफलमा विभिन्न पूर्वाधार बनाइदिनेछ, आयोजनाले ।
यसरी सडक आसपास जग्गा विकास गर्दा अहिले प्रतिआना दुई लाख रुपैयाँ पर्ने घडेरीको मोल उच्च हुने र त्यसबाट स्थानीय बासिन्दालाई बढी फाइदा हुने विश्वास आयोजनाको देखिन्छ ।
सडक आसपासमा सडक, विद्युत, खानेपानी, सार्वजनिक पार्क, खुला स्थान, मनोरञ्जन स्थललगायत पूर्वाधारसहितको व्यवस्थित बस्ती विकास गर्ने योजना छ ।
त्यसवापत उनीहरुलाई छुट्टै क्षतिपूर्ति या मुआब्जा दिइने छैन । पहिलो खण्डमा पर्ने करिब दुई सय घरलाई भने सरकारकै तर्फबाट क्षतिपूर्ति दिएर हटाइनेछ ।
कस्तो बन्छ चक्रपथ ?
काठमाडौंमा ३५.०८ किमि, ललितपुरमा १५.८० किमि र भक्तपुरमा २१.०५ किमि रहनेगरी चक्रपथ निर्माण गरिनेछ ।
चोभारबाट गम्चा, सतुंगल, नैकाप, पूरानो भञ्ज्याङ, सीतापाइला, गोंगबु, टोखागाउँ, चपली, चुनिखेल, गोकर्णेश्वर हुँदै थलीडाँछी जोडिने छन्, बाहिरी चक्रपथमार्फत् ।
त्यसपछि दुवाकोट, सिर्जनानगर, दधिकोट, लुभु, विष्णुडोल, हरिसिद्धी, धापाखेल बुङ्मती हुँदै चोभारमै जोडिनेछ । यसमध्ये पहिलो चरणमा चोभार–सतुंगल खण्डमा नयाँ ट्रयाक खोल्नेसहित बस्ती विकासको पूर्वाधार निर्माण सुरु हुनेछ । उपत्यकाका तीनै जिल्लालाई जोड्ने उक्त आयोजनाको अवधारणा ११ वर्षअघि नै तयार पारेको थियो, सरकारले ।
७२ किमिको लम्बाईको बाहिरी चक्रपथमा चीन सरकारले सहयोग गर्न चासो देखाएको छ । थप लगानी नेपाल सरकारको हुनेछ ।
प्रतिक्षित आयोजना
बाहिरी चक्रपथ आठ लेनको हुनेछ । सडकका दुवै भागमा साइकल ट्रयाक रहनेछ भने ग्रिन बेल्टसहित किनारामा फुटपाथ पनि विकास गरिनेछ । सडक, फुटपाथ र साइकल ट्र्याकसहित ५० मिटर फराकिलो जमिन प्रयोग हुनेछ ।
यो चक्रपथ बनेपछि काठमाडौंको ट्राफिक व्यवस्थापनमा सहज हुने अपेक्षा छ । अहिले तीन जिल्लाका विभिन्न क्षेत्रसम्म जान मुख्य शहरमै सवारी लिएर प्रवेश गर्नुपर्ने बाध्यता छ । बाहिरी चक्रपथको निर्माणपछि शहरी क्षेत्रमा छिरेरै चक्रपथ रुट आसपासका क्षेत्रमा जानुपर्ने बाध्यता हट्ने अपेक्षा छ ।
उपत्यकाको ग्रामीण र शहरी क्षेत्रको सेवा सुविधाका लागि पहुँच पुग्ने विश्वास गरिएको छ । यस्तै, विभिन्न राजमार्गहरुमा यसको सीधा ‘कनेक्सन’ हुने भएकाले चक्रपथ क्षेत्रमा चहलपहल बढ्ने छ ।
अरनिको र पृथ्वी राजमार्गसहित तराई जोड्ने फास्ट ट्रयाकमा पनि यो सडक जोडिने भएकाले यसले काठमाडौंमा गाडी लिएर आउनुपर्ने बाध्यतालाई हटाउनेछ ।
अव्यवस्थित शहरीकरणलाई रोक्न पनि यो फलदायी हुने सरकारको विश्वास छ । यस्तै, काठमाडौं आसपासको कृषि फसललाई बजारसम्म सजिलै ल्याउन पनि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा छ ।
No comments:
Post a Comment