Thursday, October 19, 2017

उस्मानको तस्करी यात्रा : लबबर्ड र मैनाचरी हुँदै चिम्पान्जी र कछुवातिर

पत्र पत्रिका बाट  -साभार     http://kantipur.ekantipur.com/news/2017-10-20/20171020074402.html

- कान्तिपुर संवाददाता , अब्दुल्लाह मियाँ
कार्तिक ३, २०७४-अफ्रिकी मुलुक नाइजेरियाबाट चिम्पान्जी, बाँदरलगायत चरा भित्र्याएको आरोपमा मंगलबार समातिएका मोहम्मद उस्मान पहिलोपटक वन्यजन्तु तस्करीको अभियोगमा समातिएका होइनन् । 
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरी वन कार्यालय काठमाडौंसमक्ष बुधबार बुझाइएका ६ जनामध्येका ३४ वर्षीय छोटु भनिने उस्मान नामुद वन्यजन्तु र चरा तस्कर हुन् । 
यसअघि पनि खरायो, कछुवा र विभिन्न प्रजातिका विदेशी चरा तस्करीमा संलग्न भएको पाइएपछि उनी २०७१ र २०७३ को असार र मंसिरमा प्रहरीको फन्दामा परेका थिए । जेल परी सजाय भोगेर निस्किए पनि यिनले तस्करी गर्न भने छोडेका छैनन् । करिब १५ वर्षदेखि काठमाडौंलाई केन्द्रविन्दु बनाएर यिनले अफ्रिकी मुलुकका साथै मलेसियालगायतका मुलुकबाट चरा र वन्यजन्तु तस्करी गर्ने गरेका छन् । 
रोचक त के छ भने भारत पटना स्थायी घर भई स्वयम्भू बस्ने यिनका ५ दाजुभाइमध्ये ४ जना वन्यजन्तु र चराचुरुंगी तस्करीकै काममा संलग्न छन् । सीआईबीमा लामो समय वन्यजन्तु तस्करीबारे अध्ययन गरेका डीएसपी प्रवीण पोखरेलका अनुसार उस्मानसहित उनका भाइहरू अनवर, अफसर र फिरोज वन्यजन्तु तस्करीकै काममा संलग्न छन् । उनका कान्छा भाइ भने पटनामै कपडा व्यवसाय गर्छन् ।
‘वन्यजन्तु र चरा तस्करीमा ५ जनाको मुख्य नेटवर्क देखिएको छ,’ डीएसपी पोखरेलले भने, ‘त्यो नेटवर्कलाई विमानस्थलस्थित भन्सारका एजेन्ट राजकुमार तिवारीले मुख्य सहयोग गर्ने गरेका छन् ।’ पछिल्लोपटक चिम्पान्जी र बाँदरसहित चरा तस्करीमा सहयोग गरेको अभियोगमा बारा, डुमरबाना स्थायी घर भई कपन बस्ने तिवारी पनि समातिएका छन् । उनलाई बुधबार वन कार्यालय काठमाडौंले बयान लिएर हिरासतमा पठाएको छ । 
नेटवर्ककका ५ जनामध्ये एक नेपाली अमिन आलम हुन् भने दुई भारतीय र दुई पाकिस्तानी छन् । नुवाकोट घर भएका अमिन लामो समयदेखि काठमाडौंमा बसेर चरा तस्करीमा सहयोग गर्ने गरेको सीआईबीको भनाइ छ । 
यसअघि उस्मान गत वर्षको मंसिरमा कतारी नागरिकलाई बेचिएका ६ वटा हुचिल छोड्न विमानस्थल गएका बेला पक्राउ परेका थिए । त्यतिबेला उनलाई वन कार्यालयले ४ महिना जेल सजायको फैसला गरेको थियो । ‘जेलमुक्त हुनेबित्तिकै फेरि वन्यजन्तु तस्करीमै संलग्न भएको देख्दा म पनि अचम्मित छु,’ काठमाडौंका डीएफओ डा. इन्द्रप्रसाद सापकोटाले भने । 
गत मंसिरमा उस्मानले नेपाल आएका कतारी नागरिक फैजल मोहम्मदलाई महँगो मूल्यमा हुचिल बिक्री गरेका थिए । विमानस्थलमा फैजलको लगेज (सुटकेस) परीक्षणका क्रममा ६ वटा हुचिल भेटिएपछि प्रहरीले फैजलसहित उस्मानलाई पक्राउ गरेर वन कार्यालय बुझाएको थियो । कतारी नागरिकलाई भने तत्कालीन वनमन्त्री शंकर भण्डारीको दबाबमा उन्मुक्ति दिइएको थियो । 
सीआईबीले २०७३ असार २ गते पनि १ सय ९ कछुवा र आकर्षक चरासहित उस्मानलाई सामाखुसीस्थित नरेश शाहीको घरबाट पक्राउ गरी वन कार्यालयलाई बुझाएको थियो । उस्मानले नरेशकै घर भाडामा लिएर कछुवा तथा विभिन्न प्रजातिका चरा पाल्ने र त्यहींँबाट गोप्य ढंगले बिक्री र निकासी गर्ने गरेको पोखरेल बताउँछन् । 
प्रहरीले थाहा पाएपछि उनले बाँसबारीस्थित् सञ्जीव भारीको घरमा कोठा भाडामा लिएर कारोबार गर्दै आएका थिए । पछिल्लोपटकको तस्करीमा घरवाला भारी पनि समातिएका छन् । भारी पनि अहिले उस्मानसँगै प्रहरी हिरासतमा छन् । 
उस्मानले भारतका विभिन्न स्थानका साथै अफ्रिकी मुलुकहरू, इन्डोनेसियाबाट वन्यजन्तु र चरा आयात गर्दै बिक्री गर्ने गरेका छन् । केही वर्षअघिसम्म उस्मान बागबजार, कमलपोखरी र पानीपोखरीमा पनि घर भाडामा लिएर चराचुरुंगीको कारोबार गर्थे । सीआईबीले छापा मार्ने क्रम बढाएपछि उनले आफ्नो व्यवसायलाई गोप्य ढंगले सञ्चालन गर्दै आएका थिए । 
२०७३ असारमा उस्मान साढे दुई महिना जेल बसेर बाहिरिएका थिए । त्यसअघि २०७१ असार ३० मा उनी १ सय ६२ वटा लबबर्ड नामका चरासहित प्रहरीको फन्दामा परेका थिए । त्यतिबेला पनि उनी जेल परेका थिए । 
डीएसपी पोखरेलका अनुसार उस्मानको मलेसियालगायतका मुलुकका अनलाइन व्यापारीसँग सीधा कनेक्सन छ । ‘भारतको पटनाबाट कछुवा र चरालगायतका वन्यजन्तु काठमाडौं ल्याएर सीधै व्यापारीलाई बेच्ने गरेको देखिन्छ,’ पोखरेलले बिहीबार कान्तिपुरलाई भने, ‘जेल जान्छन्, छुटेकै दिनदेखि फेरि तस्करी सुरु गर्छन् ।’ सीआईबीको ‘रेडलिस्ट’ मा समेत परेका उस्मानले जाबा, लबबर्ड, मैना, फेन्सी, काकातिल, बडजेरिगर, बट्टाई, अफ्रिकी ढुकुरलगायत आकर्षक र महँगा चरा तस्करी गर्ने गरेका छन् । 
पछिल्ला वर्षहरूमा उनको आँखा कछुवा, चिम्पान्जी, अल्काटा र बाँदरलगायत वन्यजन्तुतिर गडेको छ । 
सीआईबी स्रोतका अनुसार काठमाडौंमा खुलेका चिनियाँ रेस्टुरेन्टहरूमा कछुवाको मासुको माग बढेपछि तस्करी बढेको हो । भारतबाट माछाका भुरासँगै हालेर कछुवाका बच्चा भित्र्याउने गरिएको छ । चीनसहित मंगोलिया, मलेसिया, लाओस, भियतनामलगायत मुलुकमा कछुवाको माग बढेका कारण काठमाडौंबाट तस्करी हुने गरेको पोखरेल बताउँछन् । 
बुधबार चिम्पान्जीसहित वन कार्यालय पेस गरिएका उस्मानसहित ६ जनाबारे अनुसन्धान जारी छ । ६ मध्ये एक राजकुमार तिवारीसँग मात्र बयान लिइएको छ । अनुसन्धान अधिकृत उत्सव थापाका अनुसार तिहारपछि आइतबार अरू ५ जनाको बयान लिइनेछ । उनीहरू प्रहरी हिरासतमा छन् भने बरामद गरिएका वन्यजन्तु र चरा अनुसन्धानका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) पठाइएको छ । प्रजाति पहिचानपछि निकुञ्ज ऐनअनुसार उनीहरूमाथि कारबाही हुने डीएफओ सापकोटाले बताए ।
वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले समातिएका अधिकांश पुराना र दोहोरिएका तस्कर भएकाले यसपटकको अभियोगबारे अनुसन्धान कडा ढंगले अघि बढाउन निर्देशन दिएका छन् । ‘उन्मुक्ति नपाऊन् भन्नेमै हाम्रो ध्यान छ,’ आचार्यले भने । 

प्रकाशित: कार्तिक ३, २०७४
http://bit.ly/2yUSe4B

No comments:

Post a Comment