Monday, October 9, 2017

टिचिङको शौचालयमा पनि ठगिन्छन् बिरामी

पत्र पत्रिका बाट  -साभार  http://www.nepalihealth.com/2017/09/04/22586/

२०७४ भदौ १९ गते ७:५४ मा प्रकाशित नेपाली हेल्थ काठमाडौँ , १९ भदौ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराउन गएका बिरामी र आफन्त शौचालय प्रयोगमा समेत ठगिने गरेका छन् । बिरामी र आफन्तले शौच गरेबापत रकम असुल्ने गरिएको छ ।
अस्पतालमा दैनिक १५ सय हाराहारीमा बिरामी जाने गरेका छन् । भिडभाड हुने स्थान (अस्पतालको गाइने ओपीडीको पछाडी पट्टी )रहेको शौचालय बिरामीका लागि पासो बनेको चिकित्सकहरू नै बताउँछन् ।
अस्पतालका युरोलोजिस्ट प्रा।डा। प्रेमराज ज्ञवालीले सरकारी अस्पतालमा बिरामीले पिसाब र दिसा गरेको आधारमा रकम उठाउनु गैरजिम्मेवारीपन भएको बताए । ‘२० रुपैयाँको टिकट काट्न नसक्ने बिरामी पनि उपचारमा आउँछन् । उनीहरू पिसाबको ५ र दिसाको १० रुपैयाँ तिर्न बाध्य हुन्छन्,’ उनले भने । शौच गरेवापत बिरामीसँग पैसा उठाउने काम सरकारीमध्ये शिक्षण अस्पतालमा मात्रै भएको उनले बताए ।
ठगी : आठगुना बढी असुली
अस्पतालले दुई कर्मचारीलाई प्रतिव्यक्ति मासिक आठ हजार तलब दिएर शौच गरेबापत पैसा उठाउन खटाएको छ । पिसाब गरेको १ र दिसा गरेको २ रुपैयाँ भनेर बाहिर देखिने गरी टाँसिएको छ । तर, पैसा उठाउनेले पिसाब गरेको ५ र दिसा गरेको १० रुपैयाँ उठाउँछन् । रकम संकलन गर्न बसेका ध्रुव नेपालले माथिको आदेशअनुसार रकम संकलन गरेको बताए ।
‘रकम संकलन गरेबापत मासिक ८ हजार तलब पाउँछु,’ उनले भने, ‘बिरामी र आफन्तले धेरै गुनासो गर्छन् । आफ्नो जिम्मेवारी हो, पूरा गर्नैपर्छ ।’ उनले एउटै बिरामी दिनमा चारपटकसम्म पिसाब फेर्न आउने गरेको बताए ।
‘सुरुमा पिसाब फेरेको एक रुपैयाँ र दिसा गरेको दुई रुपैयाँ भनेर देख्ने गरी शौचालयमा टाँसेको थिएँ । पछि अस्पतालबाट मलाई स्पष्टीकरण सोधियो । त्यसैले अहिले ५ रुपैयाँ र १० रुपैयाँ लिन थालेको हुँ,’ उनले भने ।
सुनुवाइ भएन : स्ववियु अध्यक्ष
शिक्षण अस्पताल महाराजगन्ज क्याम्पसका स्ववियु सभापति मिलन गैरेले पटक–पटक ठगी रोक्ने प्रयास गरे पनि असफल भएको बताए । ‘हामीले प्रशासनसमक्ष शौचालयबाट हुने ठगीलाई रोक्न भनेका थियौँ,’ उनले भने, ‘तर, सुनुवाइ भएन । प्राडा गोविन्द केसीले स्वास्थ्य सेवा सुधारको कुरा उठाउँदै आउनुभयो ।
तर, उहाँकै रुमअगाडि यसरी बिरामी ठगिएको विषयमा सबै मौन बसे । यसले बिरामी र आफन्तलाई ठूलो समस्या थपेको छ ।’
‘निर्देशन दिँदा पनि ठगी रोकिएन’
शिक्षण अस्पताल महाराजगन्जका निर्देशक प्रा।डा। दीपकप्रकाश महराले शौचालयमा भएको ठगी रोक्न निर्देशन दिए पनि नरोकिएको बताए । उनले भने, ‘पटक–पटक हामीले बिरामी र आफन्तसँग रकम नउठाउन भनेका छौँ ।
उनीहरूले लिँदैनौँ भन्ने, तर लिने गरेको देखियो । यसलाई रोक्न तत्काल पहलकदमी लिनेछु ।’ शौच गरेकै आधारमा गरिब बिरामी ठगिन नहुने उनले बताए । यस्तो ठगीबारे प्रशासनमा खबर गरेर सहयोग गर्न उनले आग्रह गरे ।
  • आजको नयाँ पत्रिकामा अर्जुन अधिकारीको समाचार

No comments:

Post a Comment