Sunday, July 9, 2017

ट्राफिक व्यवस्थापनका लागि नयाँ नियम ल्याइँदै -Part 1

पत्र पत्रिका बाट  -साभार  http://www.abhiyan.com.np/new/Articles/view/100656

ट्राफिक व्यवस्थापनका लागि नयाँ नियम ल्याइँदै -Part 1

काठमाडौं । काठमाडौं उपत्यकामा दिनप्रतिदिन बढ्दै गएको जनसङ्ख्या तथा सवारी चाप, साँघुरा सडक, सवारी नियम तथा ट्राफिक सङ्केतसम्बन्धी सडक प्रयोगकर्तामा रहेको ज्ञानको कमी हटाउन ट्राफिक प्रहरी महाशाखाले नयाँ नियम ल्याउने तयारी गरेको छ । काठमाडौं उपत्यकामा ट्राफिक जाम हुन नदिई सवारी आवागमन चुस्त बनाउन प्रहरीले नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको हो । यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाइसेन्स वितरणमा पनि परिमार्जनको तयारी थालेको छ । ट्राफिक व्यवस्थापन सहजीकरण गर्न प्रहरीले राजधानीका विभिन्न आठ स्थानमा ‘वान वे’ थप गर्ने गरी गृहकार्य गरिरहेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । नयाँ व्यवस्थाअनुसार थप १३ स्थानमा दायाँ मोड्न (राइट टर्न) निषेध पनि गरिएको छ । ट्राफिक प्रहरीले यो नियम यथाशीघ्र लागू हुनेगरी कार्य गरिरहेको पनि उल्लेख गरेको छ । नयाँ नियम लागू भएपछि ट्राफिक प्रहरीले प्रचार र कारबाही सँगसँगै गर्ने भएको छ । नयाँ नियम लागू भएपछि वान वेमा सवारी चलाए र दायाँ मोड्न निषेध गरेको स्थलमा गाडी मोडेको पाइएमा १ हजार ५ सय रुपैयाँ जरीवाना गर्ने व्यवस्था छ ।
काठमाडौं उपत्यकाको शहरी विकासको अनुपातमा सडक विस्तार र सडक पूर्वाधार निर्माण हुन नसक्नु, विविध कारण यातायात क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसक्नु, यातायात क्षेत्रमा रूट, सिण्डिकेटलगायतमा निश्चित समूहको मात्र पहुँच हुनु प्रमुख चुनौती रहेको भनाइ ट्राफिक प्रहरीको छ । अवैज्ञानिक प्रतिस्पर्धा, सार्वजनिक सवारीसाधन सञ्चालकहरूमा रहेको सेवाग्राहीभन्दा नाफामुखी सञ्चालन पद्धतिलाई नियमित गर्न नयाँ नियमको तयारी गरिएको महाशाखा प्रमुख डीआईजी मिङ्मार लामाले बताए । प्रक्रियागत त्रुटिपूर्ण सवारी चालक अनुमतिपत्र वितरण प्रणाली आदि विद्यमान रहेकाले सरकारले यातायात क्षेत्रको विकासलाई उच्च प्राथमिकता प्रदान गरी समयमै आवश्यक अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना तयार गर्न नयाँ पहलकदमी चालेको जानकारी उनले दिए ।
काठमाडौं उपत्यकाको ट्राफिक परिचालन व्यवस्थापनको जिम्मेवारी महानगरीय ट्राफिक प्रहरी महाशाखाको कार्य क्षेत्रभित्र पर्छ । यसैले, त्यसतर्फ संवेदनशील भई ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने काम सरोकारवाला सबै पक्षहरूको सहभागिताबाट मात्र सम्भव हुन्छ ।
लाइसेन्समा नयाँ नियम
लिखित र ट्रायल परीक्षा दिएर सवारी अनुमतिपत्र (लाइसेन्स) लिन पाइने व्यवस्थामा थप गर्दै सडकमै प्रयोगात्मक परीक्षापछि मात्रै लाइसेन्स दिने तयारी सरकारको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका डीआईजी लामाका अनुसार ट्रायल परीक्षा पास भएपछि पनि सडकमा प्रयोगात्मक परीक्षा लिइने तयारी सरकारको छ । उनले भने, ‘ट्रायल परीक्षापछि सडकमा प्रयोगात्मक परीक्षा लिँदा फेल भएमा लाइसेन्स दिइने छैन ।’
प्रयोगात्मक परीक्षामा पास भएपछि पनि एक घण्टा ट्राफिक सचेतना कक्षामा अनिवार्य रूपमा बसिसकेपछि मात्र लाइसेन्स लिन यातायात व्यवस्था कार्यालय जान पाइनेगरी ट्राफिक प्रहरीले योजना बनाइरहेको छ । अहिले ट्राफिक प्रहरीले प्रयोगात्मक परीक्षा लिने सडकको पहिचान गरिरहेको छ ।
अब मोटर वासिङ प्वाइण्ट
विभिन्न मुलुकमा निर्माण गर्ने कम्पनी आफैले नै मोटर वासिङ प्वाइण्टको व्यवस्थापन अनिवार्य रूपमा गर्नुपर्ने प्रावधान रहेको छ । निर्माण स्थलमा हिलोमा गुडेको गाडी कालोपत्र वा पक्की सडकमा गुड्न पहिलो वास गर्नुपर्ने व्यवस्था छ । यसैगरी कच्ची सडकबाट पक्की सडक पस्नुअघि पनि वास गर्नुपर्नेछ । नेपालमा यस्तो व्यवस्था नभएकै कारणले कालोपत्र सडकसमेत धुलाम्मे हुने गरेको छ । त्यसैले, प्रहरीले उपत्यका भित्रिने चारओटा नाकामा मोटर वासिङ प्वाइण्ट स्थापनाको तयारी पनि गरेको छ । उपत्यकाभित्रकै कच्ची सडकबाट आउने सवारीसाधनलाई भने के गर्ने भन्ने विषयमा ट्राफिकले योजना नबनाएको बताइएको छ ।
ट्राफिक प्रहरी निगरानी वाहन राखिने
ट्राफिक व्यवस्था सुधार गर्न प्रहरीले ट्राफिक निगरानी भ्यानसमेत सञ्चालन गर्ने भएको छ । यो भ्यानमा छतमा चारओटा सीसी क्यामेरा जडान हुने बताइएको छ । क्यामेराले १ किलोमिटरसम्म सवारीको नम्बरसमेत देख्न सक्ने र भ्यानमा चारजना प्रहरीले निगरानी गरिरहने बताइएको छ । ट्राफिक नियम उल्लङ्घन गर्नेलाई ‘ठाउँको ठाउँ’ कारबाही गर्न ट्राफिक निगरानी भ्यानको व्यवस्था गर्न लागिएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका डीआईजी लामाले जानकारी दिए । ट्राफिक प्रहरी निगरानी गर्न एशियाली विकास बैङ्क (एडीबी)को सहयोगमा सीसीटीभी र रेडियो कम्युनिकेशनजडित दुईओटा गाडी १ महीनाभित्रै प्राप्त हुने जानकारी महाशाखाले दिएको छ ।
स्मार्ट स्ट्रिट साइन बोर्ड राखिने
जाम र सवारी व्यवस्थित गर्न राजधानीका विभिन्न स्थानमा सीसी क्यामेरा जडानका साथ स्मार्ट स्ट्रिट साइन बोर्ड राखिने भएको छ । लामो दूरी चल्ने सवारीसाधनलाई बसपार्कको व्यवस्था, यात्रुको सहजताका लागि ३ सय ५० स्थानमा सार्वजनिक सवारीको आगमन र गन्तव्य स्थानसहितको भाडादर राख्ने तयारी पनि ट्राफिक प्रहरीको छ ।
लामो रुट बसपार्क भित्रबाट मात्रै
डीआईजी लामाका अनुसार अबउप्रान्त लामो रूटका गाडीले ठाउँ–ठाउँमा यात्रु टिप्न पाउनेछैनन् । गोङ्गबुदेखि चाबहिल, गौशाला, सिनामङ्गल, कोटेश्वरलगायतमा यात्रु पर्खिने पद्धति खारेज गरी बसपार्क भित्रैबाट गन्तव्यमा जानुपर्ने गरी नयाँ नियम ल्याइने जानकारी उनले दिए । बसपार्कमै टिकट काट्ने र यात्रु चढेपछि गुड्ने व्यवस्था मिलाउने तयारी प्रहरीको छ ।
वान वे रूटहरू
–    मैतीदेवी चोकबाट मैतीदेवी मन्दिरतर्फ जान नपाइने
–    खिचापोखरीबाट एभरेष्ट बैङ्कतर्फ जान नपाइने
–    सातदोबाटोबाट चापागाउँ मोडतर्फ जान नपाइने
–    स्वयम्भू चोकबाट आनन्दकुटी भगवान पाउ किमडोल हुँदै जान पाइने, स्वयम्भू चोक तर्फबाट किमडोल हुँदै छाउनीतर्फ जान नपाइने
–    बाटुलेघरबाट चारखालतर्फ जान नपाइने
–    राष्ट्रपति कार्यालय पर्खालको बाटोमा हेवी सवारीसाधन जान नपाइने
–    कृष्णपाउरोटी चोकबाट बैङ्क अफ काठमाण्डूतर्फ जाने गल्लीको बाटो प्रयोग गर्नुपर्ने
–    मैतीदेवी मोडबाट मैतीदेवी चोकतर्फ जान पाइने तर मन्दिरतिर आउन नपाइने
–    पाटन चापागाउँ मोडबाट आउन पाइने तर सातदोबाटो तर्फबाट जान नपाइने
दायाँ मोड्न नपाउने ठाउँहरू
–    त्रिपुरेश्वरदेखि कालीमाटी सडकसम्मको कनक पेट्रोल पम्प र नयाँ बाटोमा दायाँ मोड्न नपाइने
–    नयाँ बानेश्वरबाट पुरानोबानेश्वर सडक खण्डबाट भिमसेनगोलातर्फ नपाइने
–    कान्तिपथको ज्याठा गल्ली, कानदेवतास्थान, हनुमानस्थान, इनारमोड, बखुल्डोल, दमकल मोडमा दायाँ मोड्न नपाइने
–    छातेगणेश, न्यूरोड पिपलबोट, अमृत साइन्स क्याम्पस, सोह्रखुट्टे ओरालो, बाँसघारी, कुमारी मन्दिर र ज्ञानेश्वर ओरालोमा दायाँ मोड्न नपाइने
–    एयरपोर्टबाट बाहिरिने गाडीे सिनामंगल घुमेर जानुपर्ने
–    नयाँ बानेश्वरतर्फबाट आएका भीमसेनगोलातर्फ जान नपाउने

No comments:

Post a Comment