Monday, July 24, 2017

नेवार थर र सिम्रौनगढ

पत्र पत्रिका बाट  -साभार  http://www.nagariknews.com/news/24115/

शनिबार, ०७ साउन २०७४, १३ : १३ निर्मल श्रेष्ठ




मौजुदा संविधानको एउटा सुन्दर पक्ष भनेको पहिचानको उठान हो। संविधानले पहिचानलाई सुरक्षित गरेको छ भने आफ्नो पहिचानका लागि सबै जागरुक छन्। नेपाल बहुभाषिक, बहुधार्मिक र बहुजातीय देश हो। विभिन्न जातजातिको बसोबास रहेको यस इन्द्रधनुषीय मिलनभित्र नेवार जाति पनि एक हो। काठमाडौं खाल्डोलाई नेवारको उद्गमस्थलको रूपमा लिने गरिन्छ। काठमाडौं खाल्डोमा नेवार कहाँबाट आए भन्नेबारे विभिन्न मान्यता रहेका छन्। उच्च वर्गका नेवारले आफूहरू भारतबाट आएको भन्ने गर्छन् भने उत्तर पूर्वतिरबाट आएको भन्ने मत पनि रहेको छ। साथै, कसैले 'नायर' भन्ने ठाउँबाट आएका हुन् भन्ने गर्छन्। हिन्दू नेवारले तिब्बेटो–बर्मिज समूहका बुद्धिस्टभन्दा आफूलाई उच्च मान्ने गर्छन्। 'नायर विचार'सँग जोडिएका नेवारले नेवार नायरसँग नजिक रहेको ठान्दछन्। भाषागत रूपमा नेवारी भाषा, तिब्बेटो–बर्मिज भाषासँग सादृश्यता रहेकाले नेवार उत्तरतिरबाट आएको भन्ने मत रहेको छ। तर, नेवारी भाषाको धेरैजसो अंश संस्कृत भाषाबाट प्रभावित छ। साथै, नेवारी पुराना शब्द तिब्बेटियन भाषाभन्दा प्राचीन उत्तरी भारतको कुटिला लिपिबाट आएको देखिन्छ। विभिन्न मत र छलफलका विषय रहँदारहँदै पनि नेवारको उद्गमस्थल काठमाडौं खाल्डोलाई नै मान्ने गरिन्छ।
जयस्थिति मल्लले नेपाल संवत् ५१५ माघ सुदी १०, रोहिणी नक्षत्र, बुद्धियोग, बिहानको १३ घडी चढ्दा कलश स्थापनाका साथ कोट्याहुति यज्ञ गरी जातिको घोषणा गरेपछि श्रेष्ठ नेवारको ३६ थर र अन्य सात सय २५ उपथरमा नेवार थर बाँडिन गयो। यस स्थितिले नेवार विभिन्न थरमा विभाजित भए पनि समयको अन्तरालसँगै धेरैजसो नेवारले 'श्रेष्ठ' थर नै लेख्न रुचाएको पाइन्छ। सेनकालदेखि नै नेवार व्यापार, सरकारी नोकरी र विभिन्न कामको सिलसिलामा काठमाडौं खाल्डोबाट पाल्पा आएको देखिन्छ।
काठमाडौं खाल्डोमा पनि नपाइने डिफरेन्ट मात्र होइन, इनडिफरेन्ट 'सिमाङ्गैडा' थर भएका नेवार पाल्पामा धेरै पहिलेदेखि बसोबास गर्दै आएका छन्। 'सिमाङ्गैडा' थरका यी नेवार तानसेन नगरपालिका– ५ अन्तर्गत चुत्राभञ्जाङ (कैलाशनगर)का बासिन्दा हुन्। पाल्पा राज्य नेपाल अधिराज्यमा विलय भएपछि पाल्पाको तैनाथवाला भएर आएका साना काजी अमरसिंह थापासँग सरकारी कर्मचारीको रूपमा नेवार पाल्पा आएको अभिलेखमा पाइन्छ। अभिलेखअनुसार 'सिमाङ्गैडा' थरका नेवारमा तहविल्दार हर्षनारायण, सुब्बा दलबहादुर, चौधरी रूपनारायण, डिट्ठा जितनारायण जिमिदार र उनका छोरा लप्टन जोतिमान, खरिदार जुजुमान र उनका छोरा मुखिया (पछि खरिदार) हीरामान साथै उनका छोरा गृहेन्द्रध्वज साथै सुवदार भीमबहादुर आदि राणाकालमा प्रशासन सेवामा रहेको देखिन्छ। राष्ट्रसेवक भई अहं भूमिका निभाएका सिमाङ्गैडाहरूको त्यसताका समाजमा पनि त्यति नै प्रभाव रहेको देखिन्छ। गुठ बन्देजको सवालमा जमिनदार डिट्ठा जितमानले सनायगुठलाई एक सय रुपैयाँ चढाई मर्दापर्दा मलामी जानुपर्ने गुठको बाध्यकारी नियमलाई थाती राखी आफ्ना छोरा जोतिमानसम्मले मलामी जानुनपर्ने थिति बसालेका थिए। यसरी राष्ट्र सेवामा र समाजमा दख्खल राख्ने यी सिमाङ्गैडाका दरसन्तानले केही दशकयता आफ्नो थर 'सिमाङ्गैडा' लेख्न किन हिचकिचाए र 'श्रेष्ठ' थर थाले यो मार्केबल कुरा छ।
अहिले सिमाङ्गैडाहरूले आफ्नो पहिचानको खोजी गर्दै मिसिङ लिंकको अध्ययन गर्न थालेका छन्। राम्रो कामको थालनी भएको छ। यिनीहरूले किन 'सिमाङ्गैडा' थर लेख्न छोडे जिज्ञासा उठ्नु स्वाभाविक हो। समाज र जीवनसँग जोड्ने कडी विवाह हो। नेवार समुदायमा विवाहमा थर गोत्रको खोजी अचाक्ली हुने गर्छ। होरिजेन्टल डिस्त्रि्कमेसनको बहुतै लेखाजोखा हुन्छ। छोरी र छोराको विवाह हुँदा थर मिल्छ कि मिल्दैन भनी धेरै सोधिखोजी हुने गर्छ। विवाहको समयमा सिमाङ्गैडा के थर हो? भनी सोधनी हुँदा काठमाडौं खाल्डो र अन्य ठाउँमा सिमाङ्गैडा थर भएको नेवार जाति नहुनाले थरको पहिचान दिन नसक्दाको अवस्थामा 'सिमाङ्गैडा' थर नभनी सहज बाटो अपनाइएको जस्तो देखिन्छ। यस थरको कुरामा नेवारी साहित्य पनि उदासीन छ। यी समस्याका कारण 'सिमाङ्गैडा' थरमा अलमलिनुभन्दा चलनचल्तीको 'श्रेष्ठ' थर लेख्ने सजिलो बाटो अपनाई आफ्ना पितापुर्खाले कायम गरेकोे थरलाई बिर्सेको हो भन्ने बूढापाकाको भनाइ छ।
इतिहासलाई वर्तमानको धरातलमा टेकेर भविष्यको निर्माण गर्नु समाज विकास शृंखलाको कडी हो। वंशावली, कागजपत्र र अभिलेखको खोजिनिती नहुँदा इतिहास मेटिएझैँ हुन्छ। यी समस्या सिमाङ्गैडामा देखिएको छ। तर 'सिमाङ्गैडाहरू' सम्बन्धी अभिलेख नभएका भने पक्कै होइनन्। सोधखोजकोे खाँचो छ। एउटा हस्तलिखित घरायसी भात भान्छा चलाउनेसम्बन्धी पत्रमा 'स्वस्तिश्री सर्वोयमा वो ग्यज्यादी सकल गुण गरीष्ट राजभारा समर्थ श्री श्री श्री तान्सेनका भला मानिस भाजु देउ न्हाताहा. वीर नरसिं तगो. जयनरसिं गैडा. गुन वीर मग. वीर मग. भाजु घन पाषापु सर्वके.... वि.सं. १९०२ज्येष्ठ वदी १० रोज ६ का दिन सुभ्म्' भन्ने उल्लिखित शिरबोलले 'गैडा' भन्ने थरको उपस्थिति पाल्पामा पहिलेदेखि रहेकोे देखिन्छ।
श्री ३ जंगबहादुरको उदयपहिले नै तानसेनका बस्दै आएका 'सिमाङ्गैडाहरू'ले आफ्ना पुर्खाले लेख्दै आएको 'गैडा' थरलाई परिमार्जित गरी १९१७ सालतिर सिमाङ्गैडा थर लेख्न थालेेको देखिन्छ। जयनरसिं गैडाका छोरा भाजुवीर गैडाले गुठी बन्देज सवालमा आफ्नो थर 'सिमाङ्गैडा' दरेकोे पाइन्छ। पंक्तिभेदका कारण हो वा आफ्नो पहिचानलाई टेकाउनेे उद्देश्यले हो, 'गैडा' थरको ठाउँमा 'सिमाङ्गैडा' लेख्ने यी नेवारले सिमाङ्गैडा पनि लेख्न बिर्सिएर आफ्नो थर 'श्रेष्ठ' लेख्न थालेका थिए। तर अहिले पहिचानको खोजी गर्ने सिलसिलामा आफ्नो थर 'सिमाङ्गैडा' लेख्ने निधो गरेका छन्। साथै आफूहरू सिमरौनगढबाट आएका र तिरुहतराज्य स्थापना गरी सिमरौनगढ निर्माण गर्ने नान्यदेव एवं हरिसिंह देवसँगको सादृश्यता बताउने गर्छन्। 
कर्णाटकवंशीय राजा नान्यदेव, मिथिला, तिरुहत, हरिसिंहदेव, सिम्रौनगढ र सिमाङगैडा थरका नेवारको अन्तर्सम्बन्धको सोधखोज गर्न विक्रमको ११औँ शताब्दीतिर फर्कनुुपर्ने हुन्छ। पूर्वमध्यकालमा पश्चिममा गढवाल, उत्तरमा मानसरोवर, दक्षिणमा तराई र पूर्वमा त्रिशूली नदीसम्म फैलिएको खस अधिराज्य, तराईको मिथिला क्षेत्रमा फैलिएका तिरहुतको कर्णाटकराज्य र नेपाल मण्डल गरी नेपाल तीन भागमा विभाजित थियो। कन्नड भाषा बोलिने मैसुर र हैदराबाद क्षेत्रलाई कर्णाटक देश भनिन्थ्यो। ११औँ शताब्दीको मध्यतिर यस क्षेत्रका कल्याणीका चालुक्य राजा सोमेश्वर प्रथम र विक्रमादित्य चौथोले उत्तर भारतमा धेरैपटक आक्रमण गरेका थिए। चालुक्य राजाका सेनापति नान्यदेवले बंगालको सेनवंश र मिथिला प्रदेशमा आक्रमण गरी तिरहुत कर्णाटक राज्यको स्थापना गरेका थिए। कन्नाड भाषामा 'नान्य' भन्नाले 'प्रिय' र 'देव' भन्नाले 'भगवान' भन्ने बोध हुन्छ। उनै 'भगवानका प्रिय' नान्यदेवले (सन् १०७६–११२६) 'सिम्रौनगढ'को निर्माण गरी सन् १०९७ मा आफ्नो राजधानी भारत चम्पारणको नानपुरबाट नेपालको बारा जिल्लामा पर्ने 'सिमरावनगढ'मा सारेका थिए। वनको माझमा गढ भएकाले यस गढलाई 'सिमरा वनगढ' भनियो। प्राचीन नाम 'सिमरा वनगढ'लाई पछि 'सिम्रौनगढ' भनिएकोे भाषावंशावली र गढीको सिंहद्वारको शिलालेखले पुष्टि गरेको छ। यस गढलाई नेवारी भाषामा 'सिमधनीगु गढ' भनिन्छ।
भाषावंशावली अनुसार नान्यदेवको ६ पुस्तापछिका कर्णाटक राजा हरिसिंह देवले सिम्रौनगढमा राज्य गरिरहेका बखत सुल्तान गयासुद्दीन तुगलकले हमला गर्ने आशंकाले शाके संवत् १२४५, नेपाल संवत् ४४४ साल पौष मासका शुक्ल पक्ष नवमी तिथि शनिश्चर बारका दिन तुलजा भवानीसहित हरिसिंह देवले नेपाल खाल्डो प्रवेश गरेका थिए। उनका साथमा ब्राह्मण, अचार, नेवार वैद्य, तेली, रजिक गरी सात जातलगायत सुवार र ज्यापुहरू पनि थिए। सिम्रौनगढबाट आएका हौँ भन्ने दाबी गर्ने यिनीहरूको 'गैडा' थर यस समूहमा उल्लेख छैन। तर ती समूहमध्येका थरहरू कालान्तरमा परिवर्तन भई 'गैडा' थर रहन गएको हुन सक्छ। किनकि इल्लकार, स्वरूपकार, पाद् मंगलकार, इतच्चेरी नायरलगायत बाह्रवटा नायरका उपजातिको नाम केही साहित्यमा उल्लेख रहेको छ। तर अहिले ती थर पनि जीवन्त छैनन्। यसरी नै 'गैडा' नेवारमा यो थर लोप हुने अवस्थामा पुगेको हुन सक्छ। नान्यदेव र हरिसिंहदेवको सिम्रौनगढ, तुलजा भवानीसँग 'सिमाङ््गैडा'लाई जोड्ने केही मिसिङ लिंक नभएको भने होइन। हरिसिंह देवले नित्य तुलजा भवानीलाई बलि दिने गर्थे। सिम्रौनगढ छाड्ने दिन हतारमा हिँड्नुपर्ने भएकाले बाटोमा पुगी बलि दिनका लागि जंगलमा खोज्न पठाउँदा महिष (राँगो) भेटे छन्। साथमा लगेका ज्यापुद्वारा बलि दिएपछि ती ज्यापु, खड्गी जात हुन गएको भाषावंशावलीमा उल्लेख छ। नेवारवासी नेवारले अझ पनि जनै धारण गर्ने गर्छन्। तर नेपालका नेवार जो नायरसँग जोडिएका छन्, ती नेवारले किन जनै धारण गरेनन् भन्ने सन्दर्भमा नेपाल प्रवेश गरेका नेवारले महिषको मासु प्रसादको रूपमा खानुका साथै जनै पनि धारण गर्ने गर्थे। एकदिन शिवदत्त नामका मैथिली महापुरुष आई महिषको मासु खानेले जनै धारण गरेको कहीँकतै छैन भनी राजाकन कहे, राजाले कि जनै लगाउन छाड कि मासु खान छाड भन्दा महिषको मासु ईश्वरीको प्रसाद भएकाले मासु खान नछोडी जनै लगाउन छाडेको भाषावंशावलीमा उल्लेख छ। सिमाङ्गैडाहरूको संस्कार र संस्कृतिसँग तुलजा भवानीकोे प्रसादको रूपमा महिषको मासु, हरिसिंह देव र सिम्रौनगढको सादृश्यता देखिनुले सिमाङ्गैडाहरू सिम्रौनगढबाट आएको देखिन्छ। सिमाङ्गैडाहरूले विजया दशमीको फूलपातीको दिन महिषको मासु एक टुक्रा भए पनि प्रसादको रूपमा भवानीलाई चढाउनुका साथैै केही दशक अगाडिसम्म सिमाङ्गैडाहरूले दसैँको बेला भवानीको पूजासहित केही दिन थुनिराखेको राँगोलाई चुत्राभञ्ज्याङको खुला ठाउँमा छोडी सो चम्केको राँगोलाई लखेटीलखेटी मार्ने गरेको बूढापाकाले बताउने गर्छन्। जुन अहिलेसम्म प्रचलनमा रहेको गढीमाईको राँगोको बली दिने प्रथासँग अलग राख्न सकिँदैन।
सिम्रौनगढको स्थान नामसँग जोडिएर 'सिमाङ्गैडा' थर रहेन गएको भन्ने सवालमा स्थान नामबाट जसरी 'पलान्चोके', 'गोर्खाली' थर साथै जाजरकोट भेरी नगरपालिका– ४ खलंगामा रहेको खलंगा एफएमसँग आबद्ध पत्रकार दिनेशकुमार श्रेष्ठ जसको पुर्खा पाल्पाबाट गएका थिए, उनको थर 'पाल्पाली श्रेष्ठ' रहेको सन्दर्भलाई जोड्न सकिन्छ। यसरी नै थारूहरूमा राजपुतानाको सम्पर्कबाट 'राना थारू', मौख्मेर वा किरातको सम्पर्कबाट 'बोक्सा थारु', कर्णाट वा सेन राजघरानाको सम्पर्कबाट 'रजनिया थारू' आदि उपजातिको उत्पत्ति भएको देखिन्छ भने स्थान नामले कोशलबाट 'कोचिला', चितवनबाट 'चितौनियाँ', सप्तरीबाट 'सत्तरिया', दाङ–देउखुरीबाट 'डंगोरिया', नवलपुरबाट 'नवलपुरिया', मोरङबाट 'मोरंगिया' आदि स्थानमूलक थारू थरहरू बनेको पाइन्छ। कुमाल जातिमा पनि स्थानमूलकबाट उपथर बनेको पाइन्छ। गुल्मी जिल्लाको चन्द्रकोटबाट आएर पाल्पा हेक्लाङमा बस्ने कुमालहरूलाई 'चन्द्रकाटे कुमाल' भन्ने गरिन्छ भने प्युठानबाट आएकालाई 'प्युठानी कुमाल' र अर्घाखाँचीबाट आएकालाई 'अर्घेली कुमाल' भन्ने गरिन्छ। यसैगरी पाल्पाबाट बसाइँ सराइँ गरी नवलपरासी गएका कुमाललाई 'पाल्पाली कुमाल' भन्ने गरिन्छ। यसरी स्थान मूलक कारणले थरमा स्थानको नाम जोडिने परम्परालाई हेर्दा 'सिमाङ्गैडा' थरका यी नेवार नायर–सिम्रौनगढ हुँदै काठमाडौं खाल्डो भएर पाल्पा आएको बलियो सम्भावना रहेको छ।

No comments:

Post a Comment