Sunday, July 23, 2017

फेरि ब्युँतियो मधेस एक प्रदेशको मुद्दा-

पत्र पत्रिका बाट  -साभार  

http://rajdhanidaily.com/2017/07/24/46536/

 माओवादी केन्द्रका नेता यादवको पहलमा ‘मधेसी भ्वाइस एसेम्बली’ गठन-  माओवादी केन्द्रदेखि नया“ शक्तिका नेतासम्म अभियानमा

सुभाष साह / काठमाडौं
मधेसवादी पार्टीले छोडिसकेको ‘समग्र मधेस एक प्रदेश’को मागलाई सत्तारूढ दल नेकपा माओवादी केन्द्रका नेताको पहलमा ब्यँुताइने भएको छ । समग्र मधेस एक प्रदेशको मुद्दा ब्यँुताउन भन्दै माओवादी केन्द्रको भ्रातृ संगठन राष्ट्रिय मधेसी मुक्ति मोर्चाका संयोजक तथा हेडक्वार्टर सदस्य मातृका यादवको सक्रियतामा ‘मधेसी भ्वाइस एसेम्बली’ गठन भएको छ ।
शनिबार काठमाडौंमा एक भेलाको आयोजना गर्दै यादवसहितका नेताले समग्र मधेस एक प्रदेशको माग पूरा गराउन आन्दोलनको तयारीमा जुटन आह्वानसमेत गरेका छन् । नवगठित संगठनमा यादवका साथै मधेसवादी पार्टीका नेताहरूसमेत छन् ।
यो संगठनमा राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादव, नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारी, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी, नयाँ शक्ति पार्टी नेपालका नेता डा. रामकेवल साहलगायतका नेता छन् । यादवसँगै माओवादी केन्द्रका अर्का नेता गोपाल ठाकुरसमेत यो अभियानमा जुटेका छन् । ठाकुर संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिमा समेत छन् ।
मधेस भ्वाइस एसेम्बलीमा सदस्य रहेका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारीले नेताहरूले एक मधेस प्रदेशलगायतका मधेसको मुद्दा बिर्सिएकाले त्यसलाई उठान गर्न जुटेको बताए ।
विभिन्न पार्टीमा रहेका मधेसी नेताहरूको एउटै फोरम निर्माण गर्दै बृहत् आन्दोलनको तयारी गर्न संगठन गठन गरिएको नेताहरूले बताएका छन् । यसका लागि नवगठित संगठनले मधेसमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तिवारीले बताएका छन् ।
संगठनमा सहभागी माओवादी केन्द्रका नेतागोपाल ठाकुरले मधेसका विभिन्न मुद्दालाई एक ठाउँमा ल्याएर समाधानको पहल गर्न फोरम गठन गरिएको बताए । फोरममार्फत मधेसका सबै मुद्दा र माग पूरा गराउन सामूहिक दबाब दिइने जानकारी दिए । समग्र मधेस एक प्रदेशको माग सुरुमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालले गरेको थियो ।
उपेन्द्र यादव नेतृत्वको फोरमले यो मुद्दा छोडेपछि फोरम फुटेको थियो । यही मागसँगै मधेस आन्दोलन सुरु भई यादव मधेस राजनीतिमा स्थापित भए । समग्र मधेस एक प्रदेशको माग पूरा हुने नदेखिएपछि यादव समग्र मधेस दुई प्रदेशमा सहमत भएका थिए । फोरम नेपालकै वरिष्ठ नेता भाग्यनाथ गुप्ताले यादवमाथि मधेसको मुद्दा छोडेको आरोप लगाउँदै मधेसी जनअधिकार फोरम मधेस गठन गरेका थिए । गुप्ताले गठन गरेको फोरमले समग्र मधेस एक प्रदेशको माग गर्दै आएको छ ।
गुप्ताले आफ्नो नेतृत्वमा गठन गरेको दलबाट पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा सहभागिता जनाए पनि एक सिटमा पनि विजयी हुन सकेन ।
यादव नेतृत्वको फोरम नेपाल अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र युवराज कार्की नेतृत्वको खस समावेशी राष्ट्रिय पार्टी पार्टीसँग एकीकरण गर्दै संघीय समाजवादी फोरम नेपाल बनेको हो । हाल फोरम डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालसँग एकीकरण गर्ने तयारीमा रहेको छ ।

No comments:

Post a Comment