Friday, July 14, 2017

नेपालको उर्जा संकट समाधानको उपाय

पत्र पत्रिका बाट  -साभार   http://www.onlinekhabar.com/2015/03/247150/

ग्यास वितरणको अहिलेको अव्यवस्थाको कारण जे भए पनि नेपालमा दीर्घकालीन रुपमा इन्धनमा आत्मनिर्भर हुने हो भने विदेशबाट आयातीत तथा अन्तराष्ट्रिय राजनीतिमा भैरहने उथलपुथलबाट प्रत्यक्ष प्रभावित ग्यास लगायतका पेट्रोलियम पदार्थको बिकल्प खोज्नैपर्छ ।

अनलाइनखबर
समयदेखि नेपालमा खाना पकाउने ग्यासको अभावले धेरैलाई आक्रान्त बनाएको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य न्युनतम बिन्दुमा पुगेको बेला मूल्यमा केही राहतसहित सहज आपूर्ति हुनुपर्नेमा स्थिति ठीक विपरीत छ ।
Dr-Lila-Raj-Dahalग्यास वितरणको अहिलेको अव्यवस्थाको कारण जे भए पनि नेपालमा दीर्घकालीन रुपमा इन्धनमा आत्मनिर्भर हुने हो भने विदेशबाट आयातीत तथा अन्तराष्ट्रिय राजनीतिमा भैरहने उथलपुथलबाट प्रत्यक्ष प्रभावित ग्यास लगायतका पेट्रोलियम पदार्थको बिकल्प खोज्नैपर्छ ।
तत्कालै यातायातको साधनमा उर्जाको श्रोतको रुपमा प्रयोग हुने पेट्रोल र डिजेल लगायतका पेट्रोलियम पदार्थको बिकल्प नभए पनि खाना पकाउने ग्यासको बिकल्प खोज्न सकिन्छ । अहिलेको अवस्थामा सबैभन्दा दुखद पक्ष गाउँघर, जहाँ थोरै मिहिनेत गरेर जैविक उर्जामार्फत खाना पकाउन सकिन्छ, मा पनि ग्यासप्रतिको परनिर्भरता दिनानुदिन बढ्नु हो । विदेशमा ज्यान हत्केलामा राखेर कमाएको पैसाको उल्लेख्य भाग नेपालमा परिवारका मान्छेले ग्यास किन्नमा खर्च विदेशमै फर्काउनु आफैंमा विडम्बनापूर्ण छ ।
गाउँघरका लागि खाना पकाउने उर्जाको सबैभन्दा उत्तम विकल्प गोबरग्यास हुन सक्छ, जुन एकपटक लगानी गरेपछि बीसौं वर्षसम्म निर्वाध चलिरहन्छ । यसै पनि संसारमा वायो-ग्यास कार्यक्रम अत्यधिक सफल भएका मुलुकमध्ये नेपाल पनि एक हो ।
दुई, तीनवटा गाईवस्तु पाल्यो, दूध दही खाएर शरीरलाई आवश्यक प्रोटिन लगायतका पौष्टिक पदार्थ पनि प्राप्त हुने भयो, अलि बढी भए बजारमा बेचेर दुई-चार पैसा आम्दानी पनि हुने भयो, र सँगसँगै उर्जा पनि । कति राम्रो बिकल्प ?
यति गर्न पनि अल्छी लाग्ने, अनि ग्यास पाइएन भनेर सरकारलाई गाली गरेर बस्नुको औचित्य हुँदैन । पैसा छ भन्दैमा सबैकुरा समयमैं उपलब्ध हुनैपर्छ भन्ने छैन, र हुँदैन पनि । त्यसमा पनि ग्यासजस्तो बाहिरबाट आउने कुरा र हामीकहाँ गैर जिम्मेवार तथा ब्यापारीको चंगुलमा परेको सरकार छ, कसरी वितरण सहज हुन सक्छ ?
शहरमा चाहिँ उर्जाको विकल्पको रुपमा विद्युत नै हुनसक्छ, यद्यपि अहिले नेपाल विद्युत प्राधिकरणबाट उपलब्ध विद्युतले बत्ती बाल्न पनि नपुगेको अवस्था छ, र दैनिक करिब आधा समय लोड सेडिङ भैरहेको छ । अहिलेलाई राज्यले जलविद्युतका ठूला योजनामा लगानी आकर्षित गरिरहेको र वातावरण मैत्री भएकाले राज्यस्तरमा जलविद्युत पहिलो प्राथमिकतामा पर्नु स्वाभाविक हो । जलबिद्युत बाहेक नेपालमा वायु उर्जाको पनि प्रचुर सम्भावना छ । रामेछाप, धादिङ, मुस्ताङ जस्ता नियमितरुपमा ठूलो वेगका साथ हावा चल्ने ठाउँमा वायु मिल (wind mill) राखेर स्वच्छ उर्जा उत्पादन गर्न सम्भाव्यता अध्ययन भैरहेको कुरा सुन्नमा आएको छ ।
चाँडो भन्दा चाँडो त्यसलाई कार्यान्वयन गराएर वायुबाट उर्जा उत्पादन गराउनुपर्छ । राज्य पक्षबाट मात्र नभर्इ निजी क्षेत्रलाई पनि आकर्षित गराउने नीति बन्ने हो भने चाँडो उत्पादन सुरु गर्न सकिन्छ ।
जलविद्युत, वायु उर्जा तथा परम्परागत र केही सुधारिएको रुपमा प्रयोग भैरहेका जैविक उर्जाबाहेक नेपालमा प्रचुर सम्भावना भएको श्रोत सौर्य उर्जा पनि हो ।
वर्षभरि करिब करिब बार्है महिना घाम लाग्ने मधेश, तथा पहाडका धेरैजसो स्थानमा सौर्य उर्जा अत्यन्तै राम्रो बिकल्प बन्न सक्छ । सौर्य उर्जालाई ताप र बिद्युत दुवैरुपमा बढी भन्दा बढी उपभोग गर्न सके नेपालको उर्जासंकटबाट पार पाउन ठूलो योगदान हुनेछ ।
भर्खरै विश्ववैंकबाट नेपालमा सौर्य उर्जाको बिकासको लागि स्वीकृत भएको करिब १३ अर्व रुपैयाँको सहूलियत ऋण सहयोग पनि नेपालमा यसको प्रचुर सम्भावनालाई दृष्टिगत गरेर नैं भएको हुनुपर्छ । सौर्य उर्जाको अधिकतम सदुपयोगका लागि राज्य स्तरबाट सोलार फार्मिङको रुपमा सौर्यबिद्युत (Photovoltaics) का ठूला योजनाहरु ठाउँ-ठाउँमा कार्यान्वयन गरेर त्यसबाट उत्पादित बिद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न सकिन्छ । त्यसबाहेक युरोप तथा उत्तरी अफ्रिकामा विद्युतीकरण गर्न अफ्रिकाको सहारा क्षेत्रमा स्थापित गर्ने योजना रहेको विश्वकै सबैभन्दा ठूलो सौर्य ताप (solar thermal) वाष्प यन्त्रमार्फत बिद्युत उत्पादन पनि अर्को सम्भावना हुन सक्छ ।
भर्खरै अमेरिकाको क्यालिफोर्निया राज्यको मरुभूमिमा १६ वर्गकिलोमिटर क्षेत्रमा स्थापित गरिएको संसारकै सबैभन्दा ठूलो सौर्यविद्युत परियोजना ‘डेजर्ट सनलाइट सोलार फर्म’ ले ५५० मेघावाटको विद्युत उत्पादन गर्छ, जुन अहिले नेपालमा उत्पादन भैरहेको जम्मा बिजुलीको हाराहारी हुन आउँछ ।
नेपालमा सौर्यबिद्युत प्रविधिबाट अधिकतम फाइदा लिन राज्यस्तरबाट ठूला योजनामा लगानी सँगसँगै घर-घरमा साना-साना सौर्य प्यानलहरु जडान गर्न प्रोत्साहित गर्नुपर्छ । सुरुमा जडान खर्च महँगो पर्ने भएकाले निश्चित छुट दिएर कमसेकम मध्यमवर्गीय परिवारले घरको सामान्य विद्युत उपभोग धान्नेगरी छतमा स्थापित गर्न सक्ने बनाउनुपर्छ । वातावरणमैत्री उर्जा भएकाले अमेरिका, जापान, तथा जर्मनी, बेलायतलगायतका युरोपका विकशित देशहरुमा पनि राज्य स्तरबाट प्रोत्साहनसहित सौर्यबिद्युतका प्यानलहरु जडान हुने क्रम बढ्दै गएको छ ।
प्रत्येक वर्षको वर्षा ऋतुमा संयुक्त राज्य अमेरिकामा हुने सौर्य विद्युतको विश्व सम्मेलनमा यसबारेका नयाँ नयाँ आँकडाहरु प्रस्तुत भैरहेका हुन्छन् । अमेरिकामा त यहाँका विद्युत प्रदायकहरुले स्वच्छ उर्जाको रुपमा ब्यक्तिको घरबाट उत्पादन गरेर बढी भएको सौर्यबिद्युतलाई अतिरिक्त मूल्य तिरेर किन्ने गरेका छन् ।
जापानमा पनि गत वर्षदेखि नयाँ नीति बनाएर मुख्यतया सौर्य लगायतका वातावरणमैत्री उर्जालाई उत्पादन लागतको आधारमा सेवा प्रदायकहरुले महँगो दरमा किनिदिन थालेका छन, जसले गर्दा निजी क्षेत्रका लगानीकर्ताहरु पनि सौर्यबिद्युत उत्पादनमा आकर्षित हुन थालेका छन् ।
बिस्तारै चीन लगायतका राष्ट्रहरुको रुचीका कारण यो प्रविधि सस्तो हुँदै गएको छ र नेपालको हकमा राज्यतर्फबाट केही समय स्वच्छ उर्जामा लगानिका रुपमा आवश्यक छुट दिएर घर-घरमा सौर्य प्यानलहरु स्थापित गर्ने हो भने छोटो समयमै विद्यमान उर्जा संकटलाई सम्बोधन गर्न सकिन्छ ।
नेपालले कार्बन ब्यापार मार्फत ठूला देशबाट पाउने रकम मात्र लगाउने हो भने पनि सौर्यविद्युतको क्षेत्रमा धेरै काम हुनसक्छ । त्यसको लागि राज्यका नीति निर्माताहरुले सौर्य उर्जाको महत्व र नेपालमा भएको यसको प्रचुर सम्भावनालाई आत्मसात गरेर त्यही अनुसारको नीति तर्जुमा गर्नुपर्छ, जसले नेपाललाई छोटो समयै वर्तमान उर्जा संकटबाट पार पाउन मद्दत गर्न सक्छ ।
(लेखक अमेरिकाको टोलेडो विश्वविद्यालयबाट सौर्य उर्जामा विद्यावारिधि गरेर टोलेडो ओहायोस्थित सीसा कम्पनी एनएसजी ग्रुपमा बरिस्ट बैज्ञानिकको रुपमा कार्यरत छन् )
२०७१ फागुन १७ गते १८:२३ मा प्रकाशित  

No comments:

Post a Comment