Wednesday, July 19, 2017

माहुरी पालनबाट मनग्य आम्दानी

पत्र पत्रिका बाट  -साभार     http://www.onlinekhabar.com/2017/07/611297/

धुव्र भट्टराई


४ साउन, विराटनगर । मोरङ लेटाङका कृषक इमानाथ पोख्रेलले व्यवसायिक माहुरी पालनबाट मनग्य आम्दानी गरेका छन् ।
स्थानीय स्तरमा माहुरीपालनबाट उनले वाषिर्क १२ लाख आम्दानी गर्ने गरेका छन ।
लेटाङ नगरपालिका-९ स्थित मदन चौककमा ५४ वर्षीय पोख्रेलले २०५८ सालबाट माहुरी पालन सुरु गरेका थिए ।
३२ हजार लगानीवाट ८ घार माहुरी पालेका पोख्रेलले यहासम्म आइपुग्दा माहुरीको घार विस्तार गरी १४५ घार पुर्‍याएका छन् ।
करिव दुई कठ्ठा क्षेत्रफलमा व्यवस्थित रुपमा आधुनिक घारमा एपीसनेलीफेस जातको माहुरी पालेका पोख्रेलले व्यवसायिक माहुरी पालनबाट मनग्य आम्दानी हुने देखेपछि सरकारी जागिर समेत छोडर माहुरी पालनमा लागेका हुन् ।
उनी जिल्ला विकास समिति अन्तर्गत तत्कालिन गाउँ विकास कार्यक्रममा सोसियल मोभिलाइजरका रुपमा कार्यरत थिए ।
‘जागिर भन्दा माहुरी पालनबाट मनग्य आम्दानी देखिपछि जागिरे जीवनलाई त्यागी माहुरी पालनमा प्रवेश गरेको थिए अहिले यही पेसाबाट नाम र दाम दुवै कमाउन सफल भएको छु, । ५४ वर्षीय पोख्रेलले भने ।
उनले माहुरी पालन सुरु गर्नु भन्दा एक वर्ष अघि मात्र जिविसको जागिरे भएका थिए ।
पोख्रेलले व्यवसायिक माहुरी पालन गर्ने सोचलाई साकार बनाउने उद्देश्य राखी ०६२ साल फागुनमा जागिरबाट राजीनामा दिएको वताए ।
आफूले माहुरीपालनबाट मह मात्र नभई मौरीका घारहरू समेत बिक्री गर्ने गरेको उनले बताए ।
वाषिर्क ५० केजी मह उत्पादन
पोख्रेलले आधुनिक माहुरीको १४५ घाराबाट वाषिर्क २२ क्वाइटेल मह उत्पादन गर्ने गरेको बताए ।
एक घार बराबर वार्षिक सरदर ५० केजी मह उत्पादन हुने माहुरीपालक कृषक पोख्रेलले बताए ।
महको झापा, मोरङ र सुनसरीमा सरदर प्रतिकेजी ६ सय मूल्य पर्छ ।
माहुरीपालन व्यवसायमा पाएको सफलतासँगै उत्पादन भएको मह बिक्री गरेर पोख्रेलले छोराछोरीको पढाई खर्च र घरव्यवहार चलाएका छन् ।
उनले व्यवसायिक माहुरीपालनबाट दुई सन्तानलाई राम्रो कलेजमा उच्च शिक्षासम्मको अध्ययापन गराइरहेका छन् ।
पोख्रेलले माहुरी पालनवाट मनग्ये आम्दानी लिन सफल भएपनि जनशक्तिको अभावका कारण भने समस्या भएको गुनासो गरे ।
माहुरीको व्यवसायिक पालन गर्न माहुरी चराउन लानु पर्ने अवस्थामा भने उपयुtm स्थानको अभाव रहने गरेको पोख्रेलको भनाइ छ ।
मंसिरदेखि वैशाख महिना माहुरी चरणको समय हो यसका लागि उपयुtm वनस्पिती अभाव रहन्छ । जसले गर्दा माहुरी चरणको समस्या धेरै हुने गरेको छ उनले बताए ।
बहुराष्ट्रिय कम्पनीको उत्पादनसंग प्रतिष्पर्धा गर्न गाह्रो
स्थानीय तहमा उत्पादन गरिएको महप्रति उपभोताको विश्वास काम गर्ने भएकाले वहुराष्ट्रिय कम्पनीले वजारमा ल्याएका महसंग प्रतिस्पर्धा गर्न गाह्रो भएको पोख्रेलले वताए ।
स्थानीय स्तरमा उत्पादित महको गुणस्तर कम हुने जनस्तरको सोच रहँदा ठूला कम्पनीले उत्पादनमा ल्याएका महसंग स्थानीय कृषकले उत्पादन गरेर महले प्रतिस्पर्धा गर्न चुनौती भएको उनले बताए ।
कृषकहरुले उत्पादन गरेको महको बजार बिस्तारका लागि बजारिकरणमा सरकारले सहयोग गर्नुपर्ने पोख्रेलको भनाइ छ ।
नेपाल माहुरीपालक महासंघ केन्द्रीय लेखा समिति सदस्य रहेका पोख्रेलले भने महको माग नेपाल भित्रै पनि धेरै रहेको बताए । तर, त्यसका लागि सरकारले हामी आफू जस्ता कृषकले उत्पादन गरेको महको गुणस्तरका बारेमा सर्बसाधारणलाई बुझाउन सहयोग गर्नु पर्ने आवश्यता रहेको बताए ।
२०७४ साउन ४ गते १५:४८ मा प्रकाशित

No comments:

Post a Comment