Tuesday, July 11, 2017

एउटै गाउँबाट २ हजार केजी टिम्मुर विक्री

पत्र पत्रिका बाट  -साभार  http://www.abhiyan.com.np/new/Articles/view/101155

२०७४-०३-२८ मा प्रकाशित     ५६ पटक पढिएको   
म्याग्दी (अस) । म्याग्दीको बेनीनगरपालिका–९ तोरीपानीबाट २ हजार केजी टिम्मुर निकासी भएको छ । केही समय अगाडिसम्म कौडीको मूल्यमा विक्री हुने टिम्मुरको स्वदेश तथा विदेशबाट अत्यधिक माग हुन थालेपछि खेतीमा आकर्षित भएका तोरीपानीबासीले एकल तथा सामूहिक प्रयासबाट १ वर्षमा ३० लाख रुपैयाँ आम्दानी गरेका छन् ।
पाखो बारी तथा सामुदायिक वनमा फलेको टिम्मुर घरायसी प्रयोगका साथै विक्री हुन थालेपछि शुरू भएको टिम्मुर खेतीमा अहिले गाउँका १ सय ५० घरधुरी सक्रिय रहेको भूमेसिद्ध टिम्मुर कृषक समूहका अध्यक्ष सागर बानियाँले बताए ।  
प्रतिकेजी १ हजार ४ देखि १ हजार ७ सय रुपैयाँसम्ममा टिम्मुर विक्री भइरहेको उनले जानकारी दिए । कमजोर आर्थिक अवस्था भएकालाई अनुदानमा बिरुवा वितरणसमेत गर्ने गरिएको छ । गाउँमा उत्पादन भएको टिम्मुर मुस्ताङ, पोखरा, काठमाडौंलगायत देशका विभिन्न जिल्लाका साथै यूरोपमा समेत पुग्ने गरेको छ । गाउँमा १९ ओटा समूह गठन गरी टिम्मुर खेती विस्तार भइरहेको बानियाँले जानकारी दिए । सामुदायिक बनमा रहेको टिम्मुर आर्थिक अवस्था कमजोर भएका र एकल महिलाले सङ्कलन गरेर विक्री गर्ने गरेका छन् ।
दलित र एकल महिलालाई सामुदायिक वनमा फलेका टिम्मुर टिप्न छूट दिइएको छ । गाउँमा गुमानसिंह बानियाँ र सागर बानियाँले नर्सरीसमेत स्थापना गरी वार्षिक ५ हजारको हाराहारीमा बिरुवासमेत विक्री गर्ने गरेका छन् ।
जिल्ला वन कार्यालय, म्याग्दी उद्योग वाणिज्य सङ्घलगायत सङ्घसंस्थाको पहलमा प्राविधिक तालीम लिएर स्थापना गरिएको नर्सरीबाट प्रतिबिरुवा २५ रुपैयाँमा विक्री हुने गरेको छ । गतवर्ष देवीभक्त रिजालको एउटै बोटबाट १८ केजी टिम्मुर उत्पादन भएको थियो । एउटै बोटबाट रिजालले ३० हजार आम्दानी गरेका थिए ।
एउटा बोटबाट ४ हजार देखि ३० हजारसम्म आम्दानी हुन थालेको र  कृषक अन्य खेतीबालीसमेत छोडेर प्राविधिक तालीमसहित टिम्मुर खेतीमा सक्रिय हुन थालेपछि जिल्ला वन कार्यालयले प्राविधिक सहयोग बढाएको सहायक वन अधिकृत एवम् टिम्मुरविज्ञ चन्द्रमणि सापकोटाले बताए ।
जिल्लाभर वार्षिक करीब ३ हजार केजी टिम्मुर उत्पादनको सम्भावना रहेको सापकोटाको भनाइ छ । उद्योग वाणिज्य महासङ्घको एक गाउँ एक उत्पादनअन्तर्गत जिल्लाका विभिन्न गाउँमा १९ हजार ५ सय बिरुवासहित प्राविधिक सहयोग गरिएको छ ।

 


No comments:

Post a Comment