Wednesday, July 19, 2017

मौरीबाट वार्षिक १४ लाख कमाउँछन् मोहराज

पत्र पत्रिका बाट  -साभार    http://www.nagariknews.com/news/23850/ 

सोमबार, ०२ साउन २०७४, १७ : ०८ संगम घर्ति मगर


बाग्लुङ (जैदी)- जिल्लाको जैमिनी—७ मोहराज उपाध्यायले मौरी पालेर वार्षिक १४ लाख रुपैयाँ आम्दानी गर्छन्।  साविकको जैदी गाविस धुल्लुको आफ्नै घरमा २०४५ सालदेखि मौरी पाल्न शुरु गरेका मोहराजले २०५२ सालदेखि मौरीलाई व्यवसायिक बनाएका थिए। अहिले मह विक्री गरेर मात्र वार्षिक १० लाख रुपैयाँ बढि कमाउने गरेको उनी बताउँछन्। ‘मसंग अहिले तीन सय घार मौरी छन्,’ उपाध्याले भने,‘मह बेचेर वर्षमा १० लाख जति कमाउन गरेको छु।’ राम्रो सिजन परेको बखत तीन सय घार मौरीबाट वर्षमा १२ क्विन्टलसम्म मह काढ्ने गरेको उनले अनुभव साटे। मौरी सहितको घार विक्रीबाट वार्षिक चार–पाँच लाख कमाउने उनले बताए। ‘मह र मौरीको घार सहितको गोला विक्री गर्दा यो वर्ष करिब १४ लाख जति आम्दानी भयो,’ उनले भने। यहाँ प्रतिकिलो महको मूल्य नौ सय ५० रुपैयाँ देखि एक हजारसम्म पर्ने गर्छ।
राम्रो मौसम परेको बेला एउटा घारबाट एक पटकमा ७–८ किलो मह काढ्न सकिन्छ । मौसम अनुकुल भए एउटा घारबाट वर्षमा ८ पटकसम्म मह निकाल्न मिल्ने उपाध्याय बताउँछन् । स्थानीय सेरेना जातको मौरीबाट उत्पादित मह घरबाटै खोसाखोस विक्री हुने गरेको उपाध्यायले बताए। ‘मह बेच्नका लागि बजारको कुनै समस्या छैन,’ उपाध्याय भन्छन्,‘घरबाटै विक्री हुन्छ। माग अनुसार उत्पादन गर्न सकेको छैन ।’ उनले उत्पादन गरेको मह उपहार स्वरुप जापान, अमेरिका, बेलायत लगायतका मुलुकमा समेत पुग्ने गरेको छ । ‘यहाँ वनका फलफुलका रसबाट बनेको अर्गानिक मह भएकाले विदेशमा आफन्तहरुलाई पठाउनेहरुले धेरै खोज्ने गरेका छन्,’ उनले भने।
 काठमाडौंमा तीन सय रुपैयाँ तिरेर मौरी पालन तालिम लिएपछि व्यवसायिक रुपमा मौरीपालन शुरु गरेको उनले बताए । ‘मौरी पालनका लागि सिप सिक्नु आवश्यक छ, मैले पनि सिकेरै लागेको हुँ,’ उनी भन्छन्,‘सिप सिकेर काम गर्ने यो भने यो भन्दा सजिलो काम अरु छैन ।’ मह विक्री गरेरै ३० लाख बढिको जग्गा जमिन जोड्न सफल भएको उनले सुनाएँ । ‘ घरखर्च चलाउन समस्या परेको छैन, केही जग्गा जमिन पनि जोडेको छु,’ उपाध्यायले भने । उमेरले अर्धसतक पूरा गरेको १७ वर्ष (६७) पुगे पनि उनीमा जोश जाँगर भने अझै तन्नेरी छ । माहुरीको घार थपेर एक हजार पुर्‍याउने उनको लक्ष्य रहेको उनले सुनाए।
मौरीपालनबाट मनग्य आम्दानी गरेर जिल्लामै कहलिएका उपाध्यायको विगत भने फरक छ। २०४०/४१ सालतिर विदेश जाने चक्करमा काठमाडौं धाउँदा ठक्कर खाएपछि आफ्नै गाउँघरमा बसेर केही गरौं भन्ने उनको चेत खुलेको थियो । ‘विदेश जाने भनेर दुई–तीन वर्ष काठमाडौं धाईयो, त्यो बेला १५–२० हजार रुपैयाँ दलाले खाईदियो,’ उनले भने,‘विदेशमा पनि जान सकिएन, ऋण पनि लाग्यो । त्यसपछि आफ्नै ठाउँमा केही गरौं भनेर मौरी पालन सम्बन्धी तालिम लिएँ ।’ शुरुमा रेशम खेती गर्ने सोच बनाए पनि बुझ्दै जाँदा माहुरी पालनका लागि उपयुक्त भएको थाहा पाएपछि मौरी पाल्न थालेको उनले बताए।
जिल्लाको जैदीलाई जिल्ला कृषि विकास कार्यालय बाग्लुङले मौरी पालनको ‘पकेट क्षेत्र’ घोषणा गरेको छ। उपाध्याय पकेट क्षेत्रको अध्यक्ष समेत हुन् । नेपालको मध्येपहाडका सबै क्षेत्र मौरीपालनका लागि अनुकुल रहेकोले सरकारले मौरीपालन सम्बन्धी उपयुक्त कार्यक्रम ल्याउन सके नेपाल मह निर्यात गर्ने मुलुक बन्ने उनको बुझाई छ । किसानका लागि निःशुल्क तालिम र सुपथ मूल्यमा घारको व्यवस्था राज्यले गर्नुपर्ने उनले बताए । विदेश पलायन भैरहेको युवाशक्तिलाई स्वदेशमा राख्न उपयुक्त सीप कम ब्याजमा ऋण सरकारले उपलब्ध गराउनुपर्ने उपाध्याय बताउँछन् ।
मौरी पालनलाई व्यवसायिक बनाएर मनग्य आम्दानी गर्न सफल भएका मोहरालाई आजकाल छिमेकीहरु ‘महराज’ समेत भनेर बोलाउँछन्। धेरै मह उत्पादन गरेपछि उनलाई छरछिमेकीले ‘महराज’ भनेर बोलाउन थालेको स्थानीय लिलबहादुर राना बताउँछन् । ‘मोहराजजीले मौरी पालेर ठूलो सफलता प्राप्त गर्नुभएको छ,’ रानाले भने,‘त्यसैले पनि उहाँलाई आजकाल ‘महराज’ भनेर पनि बोलाउने गरिन्छ।’

No comments:

Post a Comment