Sunday, July 16, 2017

सम्पत्ति शुद्धीकरणमा कडा बन्दै राष्ट्र बैंक

पत्र पत्रिका बाट  -साभार   http://www.karobardaily.com/news/80741

    supervisor_accountकारोबार संवाददाता   visibility342
समाचार प्रतिनिधि तस्विर
काठमाडौंः नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ग्राहक पहिचानको व्यवस्थामा थप कडाइ गरेको छ । अरूको खातामा निक्षेप संकलन गरी दिँदा पनि निक्षेपकर्ताको विवरण लिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै ग्राहकलाई २ तहमा पहिचान गर्नुपर्ने निर्देशन दिएको छ । सरलीकृत ग्राहक पहिचान र बृहत ग्राहक पहिचान गर्न केन्द्रीय बैंकले निर्देशन दिएको हो । सरलीकृतअन्तर्गत ग्राहकको विवरण लिनुपर्ने छ भने बृहतअन्तर्गत ग्राहकको इनह्यान्स कस्टमर ड्यू डेलिजेन्स गर्न भनिएको छ ।
नेपाल राष्ट्र बैंकले उच्च पदस्त अधिकारीले खाता खोल्दा वा कारोबार गर्दा पहिचान हुने गरी संयन्त्र बनाउन भनेको छ ।  सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्न यो आर्थिक वर्षदेखि उच्च अधिकारीको बैंक खाता र कारोबार निगरानीमा राख्न भनेको हो ।
खाता खोल्दा, कारोबार गर्दा र विवरण नियमित रूपले अद्यावधिक गर्दा उच्च अधिकारीको पहिचान हुने संयन्त्र स्थापना गर्न केन्द्रीय बैैंकले निर्देशन दिएको हो । उच्च अधिकारीसँगै उनीहरूको परिवारको समेत पहिचान हुने तथा पदीय हैसियत र संलग्नता बमोजिमको जोखिम पहिचान हुने संयन्त्र बनाउन केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । 
बैंकसँग कारोबार गर्ने वास्तविक धनीको पहिचान गरेर कारोबार विवरण पाँच वर्षका लागि अभिलेख राख्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । विद्युतीय माध्यमबाट कारोबार गर्ने ग्राहक, उच्च नेटवर्थ भएका ग्राहक, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिसम्बन्धी अपराधमा लगानी गर्न सक्ने तथा आपराधिक कार्यमा उच्च जोखिममा रहेका मुलुकका ग्राहकलाई समेत पहिचान गर्न बृहत ग्राहक पहिचान गर्नुपर्ने व्यवस्था गरेको छ । 
राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले उच्च पदस्थको पहिचान सम्बन्धित व्यक्तिबाट सूचना लिएर वा सार्वजनिक रूपमा उपलब्ध सूचनासमेत खोजेर तथा अन्य तथ्यांकबाट गर्नुपर्छ । राष्ट्र बैंकले उच्च पदस्थ हो वा होइन भनी छुट्याउने अधिकार भने सम्बन्धित बैंक वित्तीय संस्थालाई नै दिएको छ । 
साथै केन्द्रीय बैंकले उच्च पदस्थको अभिलेख पदबाट अवकाश भएको ५ वर्षसम्म राख्न निर्देशन दिएको छ । यसैगरी सामाजिक सञ्चालमा उपलब्ध सूचनाको विश्लेषण तथा व्यावसायिक रूपमा उपलब्ध तथ्यांकहरू पनि संकलन गर्न पनि निर्देशन दिएको छ । 
उच्च जोखिममा देखिएका ग्राहकको वर्षमा कम्तीमा एकपटक विवरण अद्यावधिक गर्न तथा ग्राहक पहिचान विवरण अनुरूप कारोबार मेल नखाएको अवस्थामा, ग्राहक पहिचान पूरा नभएको अवस्थामा, ग्राहक विवरणमा शंका लागेको अवस्थामा पनि अद्यावधिक गर्न केन्द्रीय बैंकले निर्देशन दिएको हो ।
एकै पटक वा पटक–पटक गरी एक दिनमा १० लाखभन्दा बढी रकमको नगद कारोबार गरेमा बढीमा १५ दिनभित्र वित्तीय जानकारी एकाइमा जानकारी दिनुपर्ने व्यवस्थासमेत बैंकले गरेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाले एकैपटक वा पटक पटक गरी पाँच लाख वा सोभन्दा बढी रकमको विदेशी मुद्रा साट्ने ग्राहकको जानकारी दिन राष्ट्र बैंकले निर्देशन दिएको छ ।
यसैगरी राष्ट्र बैंकले ब्यक्ति, कम्पनी, साझेदार फर्म, क्लब, गैर सरकारी संस्था, सहकारी, गुठी, स्कुल तथा क्याम्पस, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, बिदेशी कम्पनी वा व्यक्तिको खाता खोल्नका लागि छुट्टाछुट्टै व्यवस्था गरेको छ ।

No comments:

Post a Comment