Tuesday, December 25, 2018

माध्यमिक शिक्षक बन्न फर्स्ट डिभिजन वा ‘बी प्लस’ ग्रेड ल्याउनुपर्ने

http://www.abhiyan.com.np/?p=302576

माध्यमिक शिक्षक बन्न फर्स्ट डिभिजन वा ‘बी प्लस’ ग्रेड ल्याउनुपर्ने

माध्यमिक शिक्षक बन्न फर्स्ट डिभिजन वा ‘बी प्लस’ ग्रेड ल्याउनुपर्ने
तस्वीरः आर्थिक अभियान
पुस ५, काठमाडौं (अस) । माध्यमिक तह (कक्षा ८–१२) को शिक्षक बन्नका लागि तोकिएको विषयमा स्नातकोत्तर (मास्टर्स डिग्री) मा प्रथम श्रेणी वा ‘बी प्लस’ वा सोभन्दा उच्च ग्रेड ल्याउनुपर्ने भएको छ । बिहीवारदेखि काठमाडौंमा शुरु भएको राष्ट्रिय सम्मेलनमा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सातै प्रदेशबाट संकलित सुझावका आधारमा तयार पारेको मस्यौदा छलफलका लागि प्रस्तुत गरेको छ ।
उक्त मस्यौदामा शिक्षकको तलब सुविधामा समेत उच्च वृद्धि गर्ने उल्लेख छ । ‘माध्यमिक वा अन्य विद्यालय शिक्षक पदमा मेधावीहरुलाई आकर्षण गर्न शिक्षकको बेतनमान र सुविधालाई सोही योग्यताको सरकारी पदमा रहेका व्यक्तिले पाएभन्दा १० प्रतिशत बढी बनाउने,’ मस्यौदामा उल्लेख छ । अहिलेको विविध प्रकारका माध्यमिक शिक्षक दरबन्दी व्यवस्था खारेज गरी स्थायी र अर्को अस्थायी (अर्थात् एक वर्षे आवधिक करारका रुपमा) मात्र व्यवस्था गर्ने, युद्धस्तरमा विषय शिक्षक दरबन्दी आपूर्तिको सम्पूर्ण खर्च जुटाउनका लागि संघ, प्रदेश र स्थानीय सरकारले ७०ः१५ः१५ प्रतिशतको अनुपातमा स्रोत जुटाउने नीति अबलम्बन गर्ने मस्यौदामा उल्लेख छ ।
यस्तै कुनै पनि विद्यालयमा एक जना शिक्षक कार्यरत रहने अवधि बढीमा पाँच वर्षको बनाउने र त्यसपछि स्वतः सरुवा गरिने नीति लिइने बताइएको छ । शिक्षक पदमा महिलालाई विशेष ग्राह्यता दिने र दलित वस्ती सघन भएको हरेक विद्यालयमा एक जना दलित शिक्षक अनिवार्यरुपमा हुनुपर्ने नीति अपनाइने मस्यौदामा उल्लेख छ ।
सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्रीहरु माधव कुमार नेपाल र झलनाथ खनाल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेल, सातै प्रदेशका मन्त्री, सांसद, शिक्षाविद् लगायतको उपस्थिति रहेको छ ।
सम्मेलन शुक्रवारसम्म चल्नेछ ।

No comments:

Post a Comment