https://www.kantipurdaily.com/video/2018/12/03/154382199718285587.html\
पौरखी हातहरु
पौरखी हातहरु
काठमाडौँ
— भक्तपुर नगरपालिका ५ स्थित तौमडीकी ३७ वर्षीया राधा मताङ्गी कृषी पेशामा
रमाउन पाउँदा दंग छिन् । अहिले उनलाई फूल टिप्न र बिक्री गर्न भ्याई
नभ्याई छ । सुरुमा बनेपाको उग्रचण्डीमा ४ रोपनी जग्गा भाडामा लिई फूल खेती
सुरु गरेकी थिइन् ।
आउजाउ
गर्न टाढा भयो। घर आसपास जग्गा खोज्न निकै मेहनत गरिन्। कतै प्लटिङले त
कतै धमाधम निर्माण भईरहेका घरले खेतीयोग्य जमिन मासिएको देख्दा निराश भईन्।
लामो प्रयास पश्चात भक्तपुरकै बागेश्वरी डाँडागाउँमा २२ रोपनी जग्गा फेला
पारिन्। १० वर्षका लागि भाडामा लिएर फूल र तरकारी लगाउन थालिन्। २ वर्ष
भयो, फार्म खाली छैन।
उच्च
प्रविधिको ग्रीन हाउस भित्र १२ रंगका जरबेरा ढकमक्क फुलेका छन्। कतै
राताम्य त कतै सेतै, पहेंलै छन्। फुल टिप्न आफैं खटिन्छिन्। पेशामा
श्रीमान् युसवले साथ दिएका छन्। फुल मात्र होइन। उनले आम्दानीकै लागि भनेर
गोलभेंडा, काउली, मुलालगाउन ड्याङ बनाएकी छन्। अबको योजना कार्नेसन र गुलाफ
लगाउने छ। तर उनको एउटा गुनासो छ। सरकारबाट केही सहयोग पाउन सकेकी छैनन्।
मलमा अनुदान छैन। थोपा सिंचाईकालागि सहयोग छैन।
त्यसो त
भक्तपुरको चाँगुनारायण नगरपालिका ९ स्थित ताथलीका २८ वर्षीय सुवास थापाले
विदेश जान पासपोर्ट बनाई सकेका थिए। साथीभाईले विदेशमा दु:ख पाईन्छ। आफ्नै
देशमा परिवारसंग बसेर जीविका चलाउन सकिन्छ भन्दैं संझाए। उनलाई रहरले विदेश
जानु थिएन। बाध्यताले कतारलाई रोजगारीको गन्तब्य बनाउन लागेका थिए। तर
साथीभाईको सुझावले ध्यान खिच्यो। के गर्ने भन्नेबारे निकै सोचे। गाउँमा
नभित्रिएको ब्यवसाय पोल्ट्रीलाई देखे। त्यसका लागि न जग्गाको समस्या न भाडा
नै तिर्नु पर्ने। मकै कोदो फल्ने बारीमा कुखुरा राख्न खोर ठड्याए। करेसामा
कुखुरा पालेको ८ वर्ष भयो। ३ वटा खोरमा ब्रोईलर कुखुरा छन्।
कृषि
विकास बैंकबाट १८ लाख सहुलीय कर्जा लिएर कुखुरा बोक्न जीप किने। कुखुरा
बिक्री गरेर सबै ऋण चुक्ता गरेको उनले सुनाए। अहिले सिको गर्दै गाउँमा
पोल्ट्री ब्यवसाय सुरु गर्ने युवा जमात बढ्दो छ। दाना बोक्नेदेखि लिएर
कुखुरा बिक्री गर्नसम्म गाडी लिएर आफैं हिंड्छन्। बजारको समस्या छैन।
आम्दानीको मुख्य स्रोत यही हो।
मलेसियामा २ वर्ष विताएर
फर्किएका दोलखा शैलुङ गाउँपालिका ३, मागापौवाका २७ वर्षीय विजेश श्रेष्ठले
राम्रै अनुभव संगाले। अहिले विदेशको दु:ख विर्सिएर उनी तरकारी खेतीमा
रमाएका छन्। खेतीमा हात हालेको ३ वर्ष भयो। कलंकीबाट ३ किलोमिटरको दुरीमा
रहेको पुरानो नैकापमा २५ रोपनी र दहचोकमा ५ रोपनी जग्गा भाडामा लिएका छन्।
जग्गाको मात्र वार्षिक चार लाख भाडा बुझाउँछन्। हरेक वर्ष १० प्रतिशतले
जग्गा भाडा बढ्ने गरेको उनले सुनाए। अहिले फार्ममा फूल कोभी, मुला, साग,
ब्रो काउली बिक्रिका लागि तयार छ।
अघिपछि टमटर, फर्सी,
बोडी, सिमी, घिरौला लगाउँछन्। तरकारीमा ४० लाख रुपैयाँ लगानी गरेका छन्।
टनेल बनाएर तरकारी लगाएका छन्। मुख्य बजार कालिमाटी हो। स्थानीय बजारमा पनि
राम्रो माग छ। उनको मेहनत देखेर ठूलो बुवाका छोरा रामभक्त श्रेष्ठले साथ
दिएका छन्। रामभक्त रोजगारीको शिलशिलामा मलेसिया र दुवई पुगेर फर्केका
हुन्। विदेशबाट फर्किएर तरकारी खेतीमा जोडिएको एक वर्ष भयो। दुबै दाजुभाई
विहानैबाट राती अबेरसम्म तरकारीको गोडमेलदेखि फसललाई बजार पुर्याउनमा
ब्यस्त बन्ने गर्छन्।
गोरखा नगरपालिका ४ स्थित फिनामका ३८
वर्षीय अखिल बयालकोटी भने आम सर्बसाधरणलाई नौलो स्वाद दिलाउन तल्लिन छन्।
थापाथली इन्जिनियरिङ क्याम्पसबाट इलेक्ट्रो मेकानिकल इन्जिनियर पढेका उनी
अहिले फलफुलको रेखदेमा ब्यस्त छन्। चन्द्रागिरि नगरपालिका ४ स्थित
पानीघाटमा १० रोपनी जग्गा भाडामा लिएका छन्। जुन करिब १ हजार ८ सय मिटर
उचाईमा छ। उनको फार्म एविसी एग्री कल्चर एण्ड रिसर्च सेन्टरमा लटरम्म किवी
फलेको छ। पहेंलपुर भएर जापानिज् हलुवावेद पाकेको छ। किवि ३ रोपनी र
हलुवावेद चार रोपनीमा लगाएका छन्। अन्य जग्गामा कागती र तरकारी लगाएका छन्।
किवी र हलुवावेद लगाएको ४ वर्ष भयो। किवी ५ सय र हलुवादेव २ सय रुपैंया
किलोमा बिक्री गर्छन्। उनलाई खेतीमा श्रीमती पिंकीले साथ दिन्छिन्। तीन
लाखबाट सुरु गरेको उनले लगानी ३० लाख पुर्याई सके। अबको भविष्य कृषिमा
रहेकाले यही क्षेत्रमा लागेको उनी सुनाउँछन्।
प्रकाशित : मंसिर १७, २०७५ १३:११
प्रकाशित : मंसिर १७, २०७५ १३:११
No comments:
Post a Comment