Wednesday, December 19, 2018

यी हुन् काठमाडौंका पाकेटमार ! ५० प्रहरी खटाउँदा ७७ पक्राउ

https://www.onlinekhabar.com/2018/12/728137
यी हुन् काठमाडौंका पाकेटमार ! ५० प्रहरी खटाउँदा ७७ पक्राउ

पाकेटमारको कोड भाषाः प्रहरीलाई ठूल्दाइ !


४ पुस, काठमाडौं । कैलालीका सुरेन्द्रबहादुर सिंह नातिको उपचारका लागि पैसा बोकेर २५ मंसिरमा काठमाडौं आए । नयाँ बसपार्कमा ओर्लिएपछि अन्तरराष्ट्रिय बालमैत्री अस्पतालसम्म जान कान्तिपुर यातायातमा चढे ।
‘गाडी एकदम भिड थियो’, उनले स्मरण गरे, ‘हतार थियो, जसोतसो बसमा चढेँ ।’



गाडीभित्र एक छेऊमा गएर उनी उभिए ।
केहीबेरमै ७/८ जना युवकहरुको समूहले उनलाई घेरे । एउटा सिट खाली गरिदिँदै त्यहाँ बस्न भने । ‘होला त नि भनेँ ! सिटमा बसेँ’, सिंह सम्झन्छन्, ‘एउटा केटाले झोला पनि समातिदियो ।’
त्यसरी दया देखाउने युवकहरुले नै नातिको उपचारका लागि ल्याएको पैसा लुट्लान् भनेर उनले सोचेका पनि थिएनन् । तर, भइदियो त्यस्तै ।
जब नारायण गोपाल चोकमा उनी पुगे तब थाहा भयो, उनको गोजीमा भएको पैसा गायब भइसकेको थियो । ती युवकहरु गाडीमा थिएनन् ।
‘काठमाडौंमा यस्तो हुन्छ भन्ने थाहा पनि थिएन’, सिंह भन्छन्, ‘साहारा दिने बहानामा यहाँ लुटिँदोरहेछ ।’ ती युवकहरुले उनको साथमा भएको ७५ हजार रुपैयाँ नगदसहित एटीएम कार्ड पनि लगे । ‘पिन बिर्सिन्छु भनेर कागजमा लेखेर राखिदिएका थिए’, उनले थपे, ‘तर, त्यो पनि उनीहरुले लगेछन् ।’
बसबाट ओर्लिनेवित्तिकै उनले प्रहरीमा खबर त गरे तर, त्यतिबेलासम्म पकेटमारहरुले उनको एटीएममा भएको ३५ हजार रुपैयाँ पनि झिकिसकेका रहेछन् । ‘गाउँले मान्छे हुँ, कहाँ जाने, के गर्ने, रकम लुटिएपछि केही टुंगो लागेन’, उनले भने, ‘बच्चाको पनि पूरा उपचार गराउन पाइएन ।’
पक्राउ परेकाहरूबाट बरामद सामग्री ।
एटीएमको फुटेजबाट पाकेटमार भेटिए
काठमाडौं प्रहरी परिसरले चलाएको पाकेटमार विशेष अपरेशनका क्रममा सुरेन्द्रबहादुरलाई लुट्ने पाकेटमारहरु समातिएका छन् । उनीहरुले पैसा निकालेको एटीएमकै फुटेजमार्फत प्रहरीले घटनामा संलग्नहरुलाई पक्राउ गरी रकम फिर्ता गराउन सफल भयो ।
परिसरका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त लामा भन्छन्, ‘उहाँको घटनामा संलग्नसहित १५ मंसिरदेखि यता भएका लुटपाटमा संलगन ७७ जनालाई पक्राउ गरेका छौं ।’
लामाका अनुसार प्रहरीले सार्वजनिक यातायातमा हुने लुटपाट र पकेटमारीका घटनालाई नियन्त्रण गर्न ५० जना सादा पोशाकका प्रहरी नै खटाएको थियो । त्यसक्रममा नगद, मोबाइल, गरगहना लगायत चोरी गर्दा गर्दै उनीहरुलाई रंगे हात पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा महिलाहरू समेत थिए ।
पाकेटमारको अनेक कोड भाषा
परिसरका अधिकारीहरुका अनुसार पाकेटमारीमा संलग्नहरुले विभिन्न सांकेतिक भाषाको प्रयोग गर्ने गरेको खुलेको छ ।
परिसर प्रमुख लामा भन्छन्, ‘सर्वाजनिक बसहरुमा २/२ जनाको दरले ६ जनासम्मको समूह बनाएर बसभित्र छिर्ने गरेको देखिन्छ । त्यसपछि पैसा भएको यात्रु पत्ता लगाएर अगाडि पछाडिबाट घेराबन्दी गरेर ठेलम ठेलको अवस्था बनाउने गरिन्छ ।’
त्यही मौकामा यात्रुको नगद र सरसामान चोरी हुने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनीहरुले पकेटमारी गर्दा एक अर्कामा सांकेतिक भाषाको प्रयोग गर्ने गरेका छन् ।
उनीहरुले पैसालाई ‘द’, मोबाइललाई ‘कान’, पीडितलाई ‘रामे’, पकेटमारी गर्नेलाई ‘मास्टर अथवा कासी’, पैसा धेरै भएको अवस्थालाई ‘टानको द’, पैसा थोरै हुँदा ‘जुटेको द’ भनेर सम्बोधन गर्ने गरेको प्रहरीको भनाइ छ ।
त्यस्तै, गाडीलाई ‘काँचा’, केटालाई ‘छापा’, केटीलाई ‘भद्री’, प्रहरी आयोलाई ‘ठूल्दाइ आयो’, ड्राइभरलाई ‘माम’, खलासीलाई ‘मले’, गाडीबाट झरेर भागभन्दा ‘टप्की’, गाडीभित्र अगाडि सरभन्दा ‘अकल जा’ र गाडीभित्र पछाडि सर्न लगाउँदा ‘चिछल जा’ भन्ने गरेको प्रहरीले जानकारी दियो ।
पाकेटमारीमा प्रयोग भएका सामग्री
३९ मोबाइल र १ लाख ६० हजार बरामद
एसएसपी लामाका अनुसार प्रहरीले विभिन्न क्षेत्रमा चलाएको अपरेशका क्रममा १ लाख ६० हजार ७ सय रुपैयाँ बरामद भएको छ । त्यस्तै, ३९ वटा मोबाइल, ४ वटा आइप्याड र ५ वटा ल्यापटप बरामद भएको छ ।
त्यस्तै, पाकेटमारी गर्दागर्दै समातिएका व्यक्तिहरुको साथबाट बरामद ५ लाख ९६ हजार रुपैयाँ तत्काल सम्बन्धित पीडितलाई दिइएको लामाले बताए ।
महानगरीय प्रहरी वृत्त, लैनचौरका डीएसपी गौतम केसीले बरामद गरिएको सामानहरुको धनी खोज्ने काम भइरहेको बताए । ‘कतिपय सामान धनीको पहिचान भइसकेको छ र बुझाएका छौं’, उनले भने, ‘तर, कतिपय सामान भने बेबारिसेझैँ छन् । पीडितहरु खोजी रहेका छौं ।’
परिसरका प्रवक्ता एवं डीएसपी होविन्द्र बोगटीका अनुसार पक्राउ परेकाहरुमाथि चोरी मुद्दा अन्तरगत कारबाही हुनेछ । कानुनतः पहिलो पटक पाकेटमारी गरे १ महिना जेल तथा बिगो बराबरको जरिवाना सजायँ हुनेछ भने दोस्रो पटक दुई महिनाको कैद तथा बिगो बमोजिमको जरिवाना हुनेछ ।
बुधबार प्रहरीले पत्रकार सम्मेलन गरेर पाकेटमारहरुलाई सार्वजनिक गरेको थियो । त्यसवेला परिसर वरिपरि पाकेटमारहरुको भीड देखिएको थियो ।

No comments:

Post a Comment